सरकारी कार्यालय केही महिनामै दुरुस्त सेवा दिने बनाउनुपर्छ : अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले बजेटका कारण निर्वाचन प्रभावित हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले ६ महिनाभित्र निर्वाचन गर्र्नैपर्ने भन्दै कुनै हालतमा म्याद थप नहुने बताए ।
निर्वाचनका लागि खर्च चालु बजेट प्रणाीलबाटै निकाल्नुपर्ने भन्दै उनले अध्ययन बिना प्रोजेक्ट बैंकमा राखिएका योजना, राजनीतिक पहुँचमा राखिएका योजना र कार्यान्वयन गर्न सम्भव नभएका योजनाबाट बजेट कटौती गर्ने बताएका छन् । उनले भने, ‘पैसा नभएका कारण निर्वाचनमा असर पर्दैन ।’
अर्थमन्त्री खनालले पूर्वतयारी नभएका, टुक्रे आयोजना र फजुल खर्चमा गरिएका आयोजनाहरुको पुनर्मूल्यांकन गर्न कार्यदल बनाउने निर्णय गरेका छन् । कार्यदललाई ३ दिनको समय दिएका छन् ।
अर्थमन्त्री खनालले सिंहदरबारभित्रको भग्नावशेष छिटो भन्दा छिटो हटाउनुपर्ने पनि बताए । भग्नावशेष र आगलागीमा धुवाँले जलेको भाग रङरोगन गर्न उनले अर्थमन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिए ।
‘हामी उठ्यौं हैं भन्ने आशा जगाउनुपर्छ, सार्वजनिक कार्यालय केही महिनाभित्रै दुरुस्तै भएर काम गर्न सक्ने अवस्थामा पुर्याउनुपर्छ’, उनले भने ।
अर्थमन्त्री खनालले नागरिकलाई सेवा दिने कार्यालयको सेवामा पहिले भन्दा फरक महसुस हुनुपर्ने बताए । सरकारी कार्यालयमा नागरिकलाई हेपेर व्यवहार गरिने भन्दै उनले त्यही कारण पनि बिद्रोह भएको बताए ।
आफूहरु जेनजी पुस्ताको प्रतिनिधिको रुपमा काम गर्न आएको भन्दै अर्थमन्त्री खनालले युवाहरुको चाहना विपरीत काम नगर्ने पनि बताए ।
उनले प्राइभेट पीए नराख्ने भन्दै राम्रो बुझेको मान्छे पीएका लागि छनोट गरिदिन अर्थसचिवलाई आग्रह गरेका छन् ।

अहिलेसम्म २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ?

वाणिज्य बैंकको बानेश्वर शाखाबाट ३२ करोडको सुन र ४ करोड नगद लुटपाट

जलेका नोट साट्न जानेलाई हुन सक्छ कारबाही

कुलमानको प्राथमिकता : ट्रंकलाइनको पैसा उठाउने, पुनर्निर्माण कोष बनाउने
