दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता
जेनजी पुस्ताको आन्दोलनले सिंहदरबार र संसद भवनसँगै राज्यका प्रमुख केन्द्रहरु नै कब्जा गरेपछि नेपालमा सत्ता परिवर्तन भयो ।
नेपालमा जस्तै गरी विगतमा दक्षिण एसियाका श्रीलंका र बंगलादेशमा पनि सत्ता परिवर्तन भएको थियो ।
नेपाल अनि श्रीलंका र बंगलादेशमा स्थापित राजनीतिक शक्तिविरुद्ध नागरिकको चर्को आक्रोश थियो, भलै ती सरकारहरु चुनावबाटै निर्वाचित भएका किन नहुन् ।
जनमतको आडमा जनचाहना विपरीत शासन सत्ता सञ्चालन गरेपछि नागरिक चुप लागेर बस्दैनन् भन्ने शिक्षा दक्षिण एसियाका यी तीन देशको आन्दोलनबाट पाउन सकिन्छ ।
श्रीलंकामा सन् २०२२ मा भएको आन्दोलनपछि राष्ट्रपति गोटावाया राजापाक्षे र बंगलादेशमा सन् २०२४ मा भएको आन्दोलनपछि प्रधानमन्त्री शेख हसिना देश छाडेरै भागे ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपर्यो । यद्यपि विदेश गएनन्, नेपालमै सेनाको क्याम्पमा सुरक्षित बसे ।
तीनवटै देशमा प्रमुख प्रशासनिक केन्द्रहरु आन्दोलनकारीले कब्जा गरे । तीनवटै देशको आन्दोलन भ्रष्टाचार, शासकीय शैली र कमजोर डेलिभरीको उपज हो ।
बंगलादेश
सन् २०२४ को अगस्ट महिनामा बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना राजीनामा गरेर विदेश भागेकी थिइन् ।
बंगलादेशको सत्तामा १५ वर्षदेखि उनकै हालिमुहाली थियो । विपक्षीहरुलाई जेल हाल्नेदेखि पार्टी प्रतिबन्ध लगाउनेसम्म गरेकी थिइन् । संसदमा उनको दलको दुई तिहाइ थियो ।
बंगलादेशमा सन् २०२४ को जुलाई १ मा विश्वविद्यालय पढ्ने विद्यार्थीहरुले प्रदर्शन सुरु गरेका थिए । उनीहरुले सरकारी जागिरमा दिँदै आएको आरक्षणको व्यवस्था पुनर्विचार गर्न माग गरेका थिए ।
सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र हुँदा भएको युद्धमा संलग्नहरुको परिवारलाई सरकारले सरकारी जागिरमा ३० प्रतिशत आरक्षण दिएको थियो । विद्यार्थीहरुले यो व्यवस्था विभेदपूर्ण रहेको र प्रधानमन्त्री शेख हसिनाको पार्टीले यो आरक्षणको दुरुपयोग गरिरहेको आरोप लगाएका थिए ।
शेख हसिना सरकारले परिवारवादलाई संस्थागत रुपमा विकास गरेको उनीहरुको आरोप थियो । युवा विद्यार्थीको आक्रोश प्रधानमन्त्री शेख हसिना र उनको पार्टीप्रति थियो ।
आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाले आन्दोलन दबाउन सक्दो कोशिस गरिन् । देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा काटिन् । देशभरि कफ्र्यु लगाइन् । आफूविरुद्ध प्रदर्शन गर्नेहरु आतंककारी र देशलाई अस्थिर बनाउनेहरु हुन् भन्दै भाषण गरिन् ।
सरकारको रवैया र प्रधानमन्त्रीको बोलीका कारण आन्दोलन झन् चर्कियो । सरकारी दमन पनि बढ्यो । अगस्ट ५ मा सडकमा दशौं हजार जम्मा भएर प्रदर्शन गरे । आन्दोलनकारीले प्रधानमन्त्रीको निवास नै घेरे । त्यसपछि प्रधानमन्त्री शेख हसिना हेलिकप्टर चढेर भारत भागिन् । हजारौं आन्दोलनकारी हसिनाको दरबार कब्जा गरे ।
त्यहाँ पनि आन्दोलनकारीलाई मत्थर पार्ने काम सेनाले गर्यो । प्रधान सेनापति वाकर उज जमानले सेनाले अब अन्तरिम सरकार बनाउने घोषणा गरे ।
नेपालमा जेनजी आन्दोलनकारीले प्रधानमन्त्रीमा सुशीला कार्कीलाई छानेजस्तै बंगलादेशका आन्दोलनकारीले नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षका मोहम्मद युनुसलाई छनोट गरे ।
फ्रान्सको पेरिसमा बस्दै आएका युनुस बंगलादेश फर्किए र प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । आन्दोलनकारी विद्यार्थी नेताहरु पनि मन्त्री बने ।
सन् २०२५ को जुनमा शेख हसिनाविरुद्ध अदालतमा कारबाही अगाडि बढेको छ । उनको अनुपस्थितिमा नै उनलाई मानवताविरुद्धको अपराध सरहको मुद्दा लगाइएको छ । सरकारले शेख हसिनाको
पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाएको छ ।
तर बंगलादेशमा संक्रमणकालकै अवस्था छ । चुनाव पनि हुन सकेको छैन । अन्तरिम सरकार प्रमुख युनुसले २०२६ को जुन महिनासम्म चुनाव गर्ने बताएका छन् ।
करिब डेढ महिना चलेको आन्दोलनमा करिब १५ सय जनाले ज्यान गुमाएको र ३५ सय भन्दा धेरै घाइते भएको संयुक्त राष्ट्र संघको तथ्यांक छ ।
श्रीलंका
श्रीलंकामा सन् २०२२ को अप्रिलमा सरकारविरुद्ध ठूलो प्रदर्शन भएको थियो । प्रदर्शन सुरु भएपछि मे महिनामा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिए । आन्दोलन चर्किँदै गएपछि २०२२ को जुलाई १४ मा राष्ट्रपति गोटावाया राजापाक्षे देश छाडेरै भाग्नुपर्यो ।
श्रीलंकाको राजनीतिमा झण्डै दुई दशकदेखि राजापाक्षे परिवारको हालिमुहाली थियो ।
महिन्दा राजापाक्षे प्रधानमन्त्री थिए भने उनका भाइ गोटावाया राजापाक्षे राष्ट्रपति थिए, अर्का एक भाइ पनि मन्त्रिपरिषदमा थिए । सन् २०२२ को सुरुवातदेखि नै श्रीलंकामा मूल्यवृद्धि अचाक्ली बढेको थियो । मुलुकमा वैदेशिक मुद्राको सञ्चिती सकिँदै गएपछि इन्धन, खानेकुरा र औषधिसमेत अभाव हुँदै गएको थियो । लोडसेडिङ १३ घण्टासम्म थियो ।
यसका लागि धेरैले राष्ट्रपति गोटावाया राजापाक्षे र उनको परिवारलाई जिम्मेवार ठानेका थिए । राजापाक्षे परिवारमाथि भ्रष्टाचार र सरकारी सम्पत्तिको व्यापक दुरुपयोग गरेको आरोप थियो ।
राजापाक्षे परिवारले राजनीतिलाई जागिरजस्तो बनाएको कुनै योग्यता र क्षमता नहुँदा पनि शासन गरिरहेको भनेर युवाहरु रिसाएका थिए ।
त्यही बेला कोरोना महामारीका कारण श्रीलंकाको पर्यटन उद्योग धरासायी भयो । रुस युक्रेन युद्धका कारण तेलको भाउ पनि महंगो पर्यो । एकातिर राजनीतिमा परिवारवाद हावी भएको, राज्यको स्रोतमाथि राजापाक्ष परिवारको कब्जा रहेको र मूल्यवृद्धि अचाक्ली बढेपछि युवाहरु सडकमा आए ।
दिनमा मात्र नभई रातिको समयमा पनि प्रदर्शन भएको थियो । आन्दोलनकारीको आक्रोशको केन्द्रमा राष्ट्रपति गोटावाया राजापाक्ष नै थिए । एक हप्तामै प्रदर्शनकारीहरु राष्ट्रपति भवन कब्जा गर्न पुगिसकेका थिए ।
राष्ट्रपति गोटावाया राजापाक्षे, उनकी पत्नी र दुई बडिगार्ड श्रीलंकन एयर फोर्सको प्लेनबाट माल्दिभ्सको मालेमा शरण लिन गए । ५ दिनपछि सिंगापुरबाटै राजीनामा पठाएका थिए ।
प्रदर्शनकारीले राष्ट्रपति कार्यालय र निवास तोडफोड र लुटपाट गरे । राष्ट्रपति कार्यालयको स्वीमिङपुलमा प्रदर्शनकारीहरु पौडी खेलिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
प्रदर्शनकारीले राष्ट्रपति कार्यालय मात्र नभई सरकारी कार्यालय र नेताहरुको घरमा पनि लुटपाट र प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले प्रधानमन्त्रीको निजी घर पनि जलाइदिएका थिए ।
राजापाक्षे भागेपछि विपक्षी दलका राजनीतिज्ञ रनिल बिक्रमासिंघे संसदबाट राष्ट्रपति चयन भएका थिए । आन्दोलनपछि गठित सरकारले श्रीलंकामा २०२४ को सेप्टेम्बरमा चुनाव गराएको थियो ।
चुनावपछि पुराना स्थापित राजनीतिक शक्ति र नेतालाई पराजित गर्दै अनुरा कुमारा दिशानायके राष्ट्रपति चयन भएका छन् ।
इन्डोनेसिया
नेपालमा भन्दा करिब एक महिनाअघि एसियाकै अर्को देश इन्डोनेसियामा पनि युवाहरुको ठूलो आन्दोलन भएको थियो । त्यो आन्दोलनले सत्ता ढलेन, तर सरकारलाई ठूलो सबक भने सिकाएको छ ।
इन्डोनेसिया सरकारले ५८० जना सांसदलाई आवास भत्ता बापत मासिक ३ हजार डलर रुपैयाँ दिने निर्णय गरेपछि आन्दोलन चर्किएको थियो । सांसदलाई दिएको घरभाडा इन्डोनेसियाको मजदुरको न्यूनतम तलब भन्दा करिब १० गुणा बढी थियो ।
राष्ट्रपति प्राबोओ सुविनातोले खर्च कटौती भन्दै शिक्षा र स्वास्थ्यमा दिँदै आएको बजेट कटौती गरेका थिए । तर सांसदहरुको सेवा सुविधा बढाइरहेका थिए ।
यसकै विरोधमा अगस्ट २५ बाट त्यहाँ आन्दोलन सुरु भयो । युवाहरुले संसद भवन बाहिर प्रदर्शन गरेका थिए । यो आन्दोलन भ्रष्ट सम्भ्रान्तहरुविरुद्ध भएको युवाहरुको भनाइ थियो ।
सरकार र सरकारका नीतिका कारण सेना र व्यापारिक घरानालाई मात्र फाइदा भएको आन्दोलनकारीको भनाइ थियो ।
राजधानी जाकर्ताबाट सुरु भएको आन्दोलन देशभरि फैलियो, आन्दोलनकै क्रममा अगस्ट २९ मा जाकर्तामा एक २१ वर्षका ड्राइभरको प्रहरीको कुटपिटबाट मृत्यु भयो ।
त्यसपछि प्रदर्शन तात्तियो । अगस्ट २९ मा प्रदर्शनकारीले सरकारी भवनहरु र प्रहरी प्रधान कार्यालय पनि जलाइदिए । त्यस दिन जाकर्तामा ३ जना प्रदर्शनकारी मारिए भने जाकर्ताबाहिर माकासारमा एक जना मारिए ।
अगस्ट ३१ मा अर्थमन्त्री श्रीमुलायनी इन्द्रावतीको घरमा लुटपाट भयो, धेरै सांसदहरुको घरमा पनि तोडफोड र लुटपाट भयो ।
करिब एक हप्ता भएको प्रदर्शनमा ७ जनाको मृत्यु भयो, करिब ७०० जना घाइते भए, १२ सय जना पक्राउ परे । आन्दोलनबाट बस, सबवे र अरु पूर्वाधारमा गरी करिब ३३ लाख अमेकिरी डलरको क्षति भएको छ ।
यो प्रदर्शनका कारण राष्ट्रपतिले चीनमा तय भइसकेको मिलिटरी परेडमा सहभागी हुने भ्रमण रद्द गरे । राष्ट्रपतिले सांसदहरुको आवास भत्ता दिने निर्णय खारेज गरे । विदेश भ्रमणहरु पनि कम गर्ने घोषणा गरे ।
००००
नेपाल, बंगलादेश, श्रीलंका र इन्डोनेसियामा आन्दोलनको विषय उस्तै उस्तै छ । भ्रष्टाचार, सुशासन, शासकहरुप्रति नागरिकको वितृष्णा ।
नेपालमा बेरोजगारी उच्च छ । सामान्य कमाइ हुने कामको लागि पनि बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । भिजिट भिसामा जाँदा पनि सरकारी कर्मचारी र दलालहरुलाई पैसा खुवाउनुपर्ने बाध्यता छ ।
यी देशका युवाहरुको समानता उनीहरु राजनीतिबाट बहिस्करणमा परेको सोच्छन् । अनि आर्थिक रुपमा सीमान्तकृत भएको अनुमान गर्छन् ।
तर डिजिटल रुपमा सचेत युवाहरु नेताहरुको जीवनशैली, उनीहरुले पाइरहेको सहुलियत, भ्रष्टाचार र मनोमानी प्रवृत्तिविरुद्ध लड्ने चाहना उनीहरुमा थियो ।
बंगलादेशका युवाहरुले सत्तारुढ अवामी लिगप्रति आक्रोश पोखेका थिए । नेपालका युवाहरुले नेपालका प्रमुख तीन दल र तिनका नेतृत्व प्रति आक्रोश पोखेका थिए । श्रीलंकाका युवाहरुले राजापाक्षे परिवारप्रति आक्रोश पोखेका थिए । अनि इन्डोनेसियाका युवाले राष्ट्रपति र सांसदविरुद्ध आक्रोश पोखेका थिए ।
सबै देशमा सोसल मिडिया युवाको आक्रोश पोख्ने माध्यम बनेका थिए । बंगलादेशमा प्रदर्शनकारीले सोसल मिडिया फेसबुक र ह्वाट्सएपमा रातो प्रोफाइल पिक्चर राखेका थिए । त्यसको अर्थ सरकारको अवज्ञा थियो ।
नेपालमा सोसल मिडिया फेसबुक, ह्वाट्सएपजस्ता धेरै प्रयोगकर्ता भएको सामाजिक सञ्जालमा सरकारले प्रतिबन्ध लगायो । तर प्रतिबन्ध नरहेको डिस्कर्डबाट युवाहरुले सरकारविरोधी आन्दोलनको क्याम्पेनिङ गरे ।
आन्दोलनले श्रीलंका, बंगलादेश र नेपालमा सरकार परिवर्तन नै गर्यो । आन्दोलनपछि गठित सरकारले गराएको चुनावबाट श्रीलंका लयमा फर्किसकेको छ । बंगदलादेशमा एक वर्षदेखि संक्रमणकाल छ ।
नेपालमा आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते चुनाव घोषणा गरेको छ । ६ महिनाभित्र चुनाव भएमा नेपालमा पनि चुनावबाट आएको शक्तिले शासन सञ्चालन गर्नेछ । अन्यथा यहाँ पनि संक्रमणकाल लम्बिन सक्छ ।
विश्वकै सुरक्षित देश, जहाँ प्रहरीले बन्दुक बोक्दैनन्
दिल्ली मुम्बइ एक्सप्रेस वे, जसले गर्नेछ भारतको व्यापारमा कायापलट
जनसंख्याका आधारमा विश्वका १० ठूला शहर
आन्दोलन दमन गर्ने बाङ्लादेशकी प्रधानमन्त्रीलाई मृत्युदण्ड
सुन उत्पादनमा चीन पहिलो, अमेरिका कति औं स्थानमा ?





-1765982600.jpg)

