नेभिगेशन
अर्थ

जलेका नोट साट्न जानेलाई हुन सक्छ कारबाही

सामान्य अवस्थामा नेपाल राष्ट्र बैंकले झुत्रा नोटहरु लिएर गए नोट साटिदिन्छ । चलनचल्तीमा ल्याउन नसकिने अवस्थामा पुगेका नोटहरु राष्ट्र बैंकले साट्ने गर्छ ।

सामान्यतया कुनै झुत्रे नोटको ६० प्रतिशतभन्दा बढी भाग लिएर गए पनि राष्ट्र बैंकले त्यसको साटो अर्को नोट दिन्छ । 

तर साट्नुअघि भविष्यमा त्यही नोटको च्यातिएर वा जलेर छुटेको अर्को भाग लिएर कोही आउँदा साट्न सकिंदैन भन्ने सुनिश्चित गरिएको हुन्छ । नोट च्यातिएको हकमा त्यति धेरै समस्या हुँदैन । 

तर जलेको भए राष्ट्र बैंकले त्यसको उचित कारण माग्छ । शंका लागेमा प्रहरी रिपोर्ट समेत माग्छ । 

प्रहरी रिपोर्टका आधारमा मात्रै यस्तो नोट सटही हुनसक्छ । 

तर जेनजी आन्दोलनका क्रममा धेरै नेता र व्यवसायीको घरमा जलेको नोट भेटियो । 

राष्ट्र बैंकका एक अधिकारीका अनुसार प्रदर्शनका क्रममा नेताका घर जल्दा निकालिएका नोटबारे राष्ट्र बैंक सचेत छ । यसरी अर्काको निजी सम्पत्ति आफ्नो भएको दाबी गर्दै नोट साट्न आउनसक्ने अवस्थाप्रति राष्ट्र बैंक चनाखो छ । 

‘हामीले यसबारे अहिलेसम्म नीतिगत निर्णय गरेका छैनौं, केही दिन हेर्छौं, त्यस्ता नोट आउन थाले भने छलफल हुन्छ’, उनी भन्छन् । 

अहिलेसम्म राष्ट्र बैंकमा यस्तो नोट लिएर कोही पनि पुगेका छैनन् । 

तर पुगिहाले भने उनीहरुलाई कर्मचारीले यो भवितव्यमा परेर जलेको आफ्नै नोट हो भन्ने प्रमाण माग्ने छ । 

प्रमाण पुर्‍याउन नसके नोट साटिँदैन । अनि नोट साट्न जाने मान्छे नै कानुनी झमेलामा पर्न सक्छ । किनभने कसैले नोट केरमेट गर्न, जलाउन तथा नोटमा विभिन्न किसिमले हानि–नोक्सानी पुर्‍याउन नपाइने कानुनी व्यवस्था छ । त्यसो गरेमा २ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था मुलुक अपराध संहितामा छ । 

त्यसैले नोट जल्नुको उचित कारण बताउन नसके नियतवस नोटमा क्षति पुर्‍याएकोमा सजाय भोग्नुपर्ने हुनसक्छ । अर्को महत्वपूर्ण कुरा अर्काको घर तथा सार्वजनिक कार्यालयभित्र पसेर अनधिकृत तवरले जलेका नोट जम्मा गरेको अभियोगमा उनीहरुलाई प्रहरीले कारवाही पनि गर्नसक्छ । 

राष्ट्र बैंकका अधिकारीहरु जलेका पैसा लिएर साट्न आउने क्रम बढेमा अझै कडा व्यवस्थाहरु गर्नुपर्ने बताइरहेका छन् । त्यसका लागि सुरक्षा निकाय र सरकारसँग समेत परामर्श गर्ने राष्ट्र बैंकको योजना छ । 

‘नोट जल्ने गरी घटना भएको सिफारिस मागेर सजिलै साटिदियो भने पैसा नै खाएर सिफारिस लेखिदिने हुनसक्छ भन्नेतर्फ सचेत छौं, त्यसैले केही कडा व्यवस्थाहरु गर्नपर्ने हुनसक्छ’, राष्ट्र बैंक स्रोत भन्छ । 

नेताहरुको घरमा जलेको सम्पत्ति वैध थिए वा अवैध ती पैसा कति परिमाणमा थिए ? र, त्यसको स्रोत के थियो भन्ने खुल्न सक्ने अवस्था छैन । 

तर, त्यही पैसा दोस्रो व्यक्तिले लिएर जाँदा त्यो अवैध हुन्छ । किनभने पैसा लिएर जानेको यो वैधानिक कमाइ होइन । लुटको कमाइ हो । त्यसैले त्यो पैसा राष्ट्र बैंकले सजिलै साट्न सक्ने अवस्था छैन । 
अब प्रश्न आउँछ विदेशी मुद्राको हकमा के हुन्छ ? 

डलर वा विदेशी मुद्रा जलेको वा च्यातिएको छ भने त्यसको सटही सम्भव छैन । अहिले नै पनि च्यातिएका र झुत्रे प्रकृतिका विदेशी मुद्रा सटही नगर्ने व्यवस्था छ । झन् जलेको अवस्थाको डलर वा अरु विदेशी मुद्रा नेपालभित्र कतै पनि साट्न सम्भव हुँदैन । त्यो पैसा बैंकहरुले समेत लिने छैनन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ