बाइडेनले सकेनन्, ट्रम्पले रोके इजरायल–हमास युद्ध
अक्टोबर ८ को बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरिदिए, इजरायल र हमास पहिलो फेजको युद्धबिरामका लागि सहमत भए ।
सुरुमा त धेरैले यो पत्याएनन्, तर यो वास्तविकता थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो लक्ष्य हासिल गरे, जुन उनी भन्दा अगाडिका राष्ट्रपति जो बाइडेनले निकै कोशिस गर्दा पनि सकेका थिएनन् ।
सन् २०२५ को सुरुमा युद्धबिराम भएर पनि मार्चमा पुनः युद्ध सुरु भएको थियो । यसपटक के त्यस्तो घटना भयो, जसले इजरायल र हमास फेरि युद्धबिराम गर्न तयार भए ? यसका महत्वपूर्ण तीन फ्याक्टर छन् ।
१. ट्रम्प– नेतान्याहु सम्बन्ध
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग डोनाल्ड ट्रम्पको व्यक्तिगत सम्बन्ध निकै राम्रो छ । ट्रम्प भन्छन् कि अमेरिकाको इजरायल भन्दा नजिकको अर्को साथी छैनन् ।
अनि नेतान्याहु पनि भन्छन्, ट्रम्प इजरायलको अहिलेसम्मै ठूला मित्र हुन्, यत्तिको नजिकको सम्बन्ध ह्वाइटहाउससँग यसअघि कहिल्यै थिएन ।
यो उनीहरुले मुखले भनेको कुरा मात्र थिएन । ब्यवहारमा पनि त्यस्तै थियो ।

ट्रम्पको पहिलो कार्यकालमा इजरायलमा रहेको अमेरिकी दूतावास तेल अविवबाट जेरुसेलममा सारिएको थियो । 
अनि ट्रम्प प्यालेस्टाइनको वेस्टब्यांकमा रहेको इजरायलीहरुको बस्तीलाई अवैध भन्ने अमेरिकी अडानको विपक्षमा उभिएर पनि इजरायलको मन जिते ।
भनिन्छ, इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भन्दा डोनाल्ड ट्रम्पको लोकप्रियता बढी छ । बन्धक बनाइएकाहरुको परिवारलाई पनि ट्रम्पप्रति नै भरोसा थियो । ट्रम्पले मात्र  युद्ध रोक्न र बन्धक बनाइएकाहरुलाई छुटाउन सक्छन् भन्ने आशा थियो । 
इजरायल र नेतान्याहुसँगको नजिकको सम्बन्धका कारण ट्रम्पले उनलाई दबाब पनि दिन सक्थे । 
गत जुनमा इजरायलले इरानमाथि एयर स्ट्राइक गरेदेखि नै ट्रम्पले इजरायलमाथि दबाब सिर्जना गर्न थालेका थिए ।
जुलाइमा इजरायलले सिरियाली सेनामाथि आक्रमण गर्यो । त्यस क्रममा एउटा क्रिस्चियन चर्चमा पनि बम खसाल्यो । त्यसपछि भने ट्रम्पले नेतान्याहुलाई कोर्स चेन्ज गर्न दबाब दिएका थिए ।
ट्रम्पले इजरायली प्रधानमन्त्रीको विश्वास राम्रोसँग जिते र उनीमाथि दबाब बढाइरहे । 
यसअघि कुनै पनि अमेरिकाका राष्ट्रपतिले इजरायलका प्रधानमन्त्रीलाई यसरी आफूले भनेको मान्न दबाब दिने हैसियत बनाएका थिएनन् । 
तर नेतान्याहु सरकारसँग बाइडेनको सम्बन्ध कमजोर रह्यो । अमेरिकी नीति नै मध्यपूर्वमा इजरायललाई समर्थन गर्ने हो । त्यसो भन्दैमा इजरायलको युद्धको आचरणलाई अमेरिकाले समर्थन नै गर्नुपर्छ भन्ने थिएन । त्यसमा अमेरिकाका तर्फबाट दबाब पुगेको थिएन ।
बाइडेनले इजरायललाई समर्थन गरेका कारण गाजा युद्धलाई लिएर डेमोक्र्याटिक गठबन्धनभित्र असन्तुष्टि बढेको थियो । बाइडेनले गाजा युद्धलाई लिएर जे जे कददम चाले, छन्, त्यसले अमेरिकामा उनको समर्थक घटाउने नै काम गरे ।
ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएको ८ महिनामा इजरायल–हमास युद्धमा जे जे भयो त्यसले अमेरिकाको धेरै रणनीतिक उद्देश्यहरु पनि पूरा भइसकेको थियो । त्यसकारण पनि युद्धबिराम सम्भव भयो ।
एकातिर इजरायल पनि बाइडेनको पालामा युद्ध अन्त्य गर्न तयार थिएन, त्यसका कारण पनि युद्धबिराम ढिला भएको हो ।
२. कतारमाथिको आक्रमण
गत सेप्टेम्बर ९ मा इजरायलले कतारको राजधानी दोहामा मिसाइल आक्रमण गरेको थियो । त्यो आक्रमणमा कतारी नागरिकको मृत्यु भएको थियो । त्यहाँ मारिनेहरु हमासका लडाकु थिएनन्, ट्रम्पले यसलाई इस्यु बनाए र नेतान्याहुलाई युद्ध अन्त्य गर्न दबाब दिए ।

ट्रम्पले इरानमा इजरायलको कारबाहीमा अमेरिकी सैन्य शक्ति प्रदान गरेका थिए । तर कतारमा इजरायलले आक्रमण गरेको भने ट्रम्पलाई पनि मन परेन । ट्रम्प अरबको पक्षमा लागे, त्यही नै युद्ध अन्त्य गर्नका लागि टर्निङ प्वाइन्ट बन्यो । 
ट्रम्पको खाडी मुलुकहरु साउदी अरेबिया, युएई र कतारसँग राम्रो सम्बन्ध छ । यसै वर्ष उनले यी तीनवटै देशको भ्रमण गरेका थिए । जहाँ उनले युद्ध अन्त्यको मात्र कुरा गरे । मध्यपूर्वमा आउँदा पनि उनी इजरायल भने गएनन् । त्यसैले कतारमा आक्रमण गरेको एक महिना नबित्दै नेतान्याहु कतारसँग माफी माग्नुपर्ने अवस्थामा पुगे ।
त्यसैदिन अर्थात् सेप्टेम्बर २९ मा नेतान्याहुले ट्रम्पको २० बुँदे गाजा पिस प्लानमा हस्ताक्षर गरेका थिए ।
इजरायल एक हजारभन्दा बढी प्यालेस्टिनी कैदीबन्दीलाई मुक्त गर्न तयार भयो ।
ट्रम्पको टर्कीका राष्ट्रपति र खाडी मुलुकका नेताहरुसँग नजिकको सम्बन्ध थियो । उनले यो सम्बन्धलाई इजरायल–हमासबीचको युद्ध अनत्यका लागि उपयोग गरे ।
ट्रम्पले टर्की, कतार र इजिप्टलाई हमासमाथि निरन्तर दबाब दिन आग्रह गरे र इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध आफूले निरन्तर दबाब दिइराखे । यही कारण युद्ध विराम सम्भव भएको हो ।
३. युरोपको दबाब
इजरायलको आक्रमणका कारण गाजाको अवस्था भयाबह भएको थियो । घर र अरु पूर्वाधार ध्वस्त भएको थियो । मानवीय संकट उस्तै थियो । यही कारण पछिल्ला महिनाहरुमा इजरायली सरकार विश्वब्यापी रुपमा एक्लिँदै गएको थियो ।
प्यालेस्टइनमा दिइने खाद्यान्न सहयोगलाई पनि इजरायलले नियन्त्रणमा लिएपछि युरोपेली देशहरु विरोधमा आएका थिए । त्यसो नेतृत्व फा्रन्सका राष्ट्रपति इम्मानुयल म्याक्रोंले गरे ।

युरोपेली नेताहरुले इजरायललाई समर्थन गर्ने अमेरिकाको कदमसँग सहमत हुन नसक्ने अडान राखे ।
इजरायल–प्यालेस्टाइन युद्धमा अमेरिका र युरोपबीच प्रष्ट विभाजन देखियो । जब फ्रान्सले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बतायो, ट्रम प्रशासनले त्यसको आलोचना गर्यो । तर बेलायतले फा्रन्सलाई समर्थन गर्यो ।
फा्रन्सेली राष्ट्रपति म्याक्रोंले शान्ति योजनामा साउदी अरेबियाको संलग्नताको कुरा उठाए । युरोप र अरब देशहरुले हमासलाई गाजामा आफ्नो शासन अन्त्य गर्न र स्वतन्त्र राज्यको रुपमा प्यालेस्टिनी अथोरिटीलाई आफ्नो हतियार बुझाउन आह्वान गरे ।
अन्तत ट्रम्प पनि युरोप र अरब एलायन्सविरुद्ध जान सकेनन् । यो कूटनीतिक रुपमा अरब र युरोपको जित थियो ।
यद्यपि अहिले पहिलो चरणको युद्धबिराम मात्र भएको हो । यसले हमासले बन्धक बनाएकाहरु छुट्ने बाटो खुलेको छ । नेपाली नागरिक विपिन जोशी समेत २ वर्षभन्दा लामो समयदेखि बन्धक छन् । यद्यपि उनको पछिल्लो अवस्थाबारे अन्योल छ । अब यसबारे पनि छिट्टै प्रष्ट हुनेछ ।
गाजामा मानवीय सहायता सामाग्रीहरु जाने छ ।
तर यसलाई दिगो शान्तिमा पुर्याउन धेरै कामहरु बाँकी छ । अब हमासको निशस्त्रीकरण, युद्धले जर्जर भएको गाजालाई सामान्य अवस्थामा ल्याउनु र इजरायली सेना फिर्ताको काम बाँकी नै छ ।
यस वर्षको सुरुमा पनि इजरायल र हमासबीच युद्धबिराम भएको थियो । तर पहिलो चरणको युद्धबिराम गत मार्चमा सकिएपछि पुनः युद्ध भएको थियो । त्यसैले अब पनि युद्ध हुँदैन भनेर विश्वास गर्ने बलियो आधार देखिँदैन ।
                                                    ४ मिनेटमा कसरी लुटियो विश्वकै सुरक्षित संग्रहालय ?
                                                    अनलाइन ठगीका बादशाह चेनको कम्बोडिया कनेक्सन
                                                    फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी जेल चलान
                                                    जापानले पायो पहिलो महिला प्रधानमन्त्री
                                                    
                    
-1761836913.jpg)







