७४ लाख फलोअर्स, ४४ हजार भोट, डा. तस्निम जाराको कथा
बाङ्लादेशको चुनावमा झण्डै १७०० उम्मेदवारले चुनाव हारे । तर एकजना उम्मेदवारको निकै ट्रोल भयो ।
नेपालीहरुले पनि खुब शेयर गरे । उनी थिइन् डा. तस्निम जारा ।
उनको फेसबुकमा मात्र ७४ लाख फलोअर छन् । युट्युबमा ४९ लाख सब्स्क्राइबर । टिकटकमा ७ लाख ९३ हजार फलोअर छन् भने इन्स्टाग्राममा ४ लाख १७ हजार ।
तर चुनावमा भोट आयो, जम्मा ४४ हजार । त्यसपछि त के चाहियो ? सांसर भर उनी ट्रोल भइन् । सोसल मिडियामा फलोअर धेरै हुँदैमा चुनाव जितिँदैन भन्ने नेपालीहरुले उनको तस्वीर खुबै प्रयोग गरे ।
चुनावी नतिजालाई लिएर ट्रोल भइरहेकी बाङ्लादेशी नयाँ राजनीतिकर्मी डा. तस्निम जारा को हुन् ? उनले किन चुनाव हारिन् ?
डा. तस्निम जारा ३१ वर्षकी भइन् । पेशाले फिजिसियन हुन् । बाङ्लादेशबाट एमबीबीएस पास गरिन् ।
त्यसपछि बेलायत गएर अक्सफोर्ड युनिभर्सिटीबाट विशेषज्ञता हासिल गरिन् । त्यहीँको युके नेशनल हेल्थ केयर सर्भिसमा काम गरिन् । तर बाङ्लादेशी नागरिकमाझ पनि उनी निकै लोकप्रिय थिइन् ।
कारण, विभिन्न स्वास्थ्य समस्याको समाधानको उपाय र स्वास्थ्य सम्बन्धी जनचेतनाको भिडियो बनाएर सामाजिक सञ्जालमा राख्थिन् । बंगाली भाषाका ती भिडियो सामान्य मान्छेले पनि बुझ्ने किसिमका हुन्थे ।
कोभिड १९ को महामारीका बेला कोरोनाको खोपबारे धेरै अफवाहहरु थिए, उनले खोपको फाइदाबारे जनचेतना जगाउने काम गरिन् ।
उनले पोस्ट गरेका भिडियो सामग्री युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालमा धेरै लोकप्रिय छन् । त्यही कारण फेसबुक, युट्युब होस् वा टिकटकमा होस्, उनको फलोअर निकै धेरै छ ।
जब सन् २०२४ को जुलाइमा बाङ्लादेशमा विद्यार्थी आन्दोलन सुरु भयो, डा. तस्निम जारा पनि टाढा रहन सकिनन् ।
डा. तस्निम जरालाई राजनीतिमा आकर्षित गर्ने दुई कुरा थिए ।
पहिलो, उनले डाक्टरी पेशाबाट धेरै मानिसहरुलाई सहयोग गर्न पाएकी थिइन् । तर यतिले मात्र देशको सिष्टम परिवर्तन गर्न सकिन्छ भन्ने उनलाई विश्वास थिएन । उनी सिष्टम नै परिवर्तन गर्न चाहन्थिन् । उनी स्वास्थ्य, शिक्षा र सुशासनको अवस्थाामा आमूल सुधार हुनुपर्छ भन्ने मत राख्थिन् ।
दोस्रो, उनी नातावाद र भ्रष्टाचारले ग्रस्त राजनीतिक संस्कारलाई च्यालेन्ज गर्न चाहन्थिन् र यसलाई पारदर्शिता र जवाफदेहिताले विस्थापित गर्न चाहन्थिन् ।
डा. तस्निमले विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलिन् । उनी सहितको समूहले जातीय नागरिक कमिटी बनाएर आन्दोलन हाँक्यो । दुई महिनासम्म चलेको विद्यार्थी आन्दोलनबाट सरकार ढल्यो, प्रधानमन्त्री शेख हसिना देश छाडेर भारतमा शरण लिन पुगिन् ।
त्यसपछि नोबल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम चुनावी सरकार बन्यो । केही विद्यार्थी नेता सरकारमा गए, केही बाहिर बसेर नयाँ पार्टी गठन गर्ने गृहकार्यमा जुटे ।
विद्यार्थीहरुले सन् २०२५ को फेब्रुअरी २८ मा नसिद इस्लामको नेतृत्वमा नेशनल सिटिजन पार्टी एनसीपी घोषणा गरे ।
डा. तस्निम जारा नेशनल सिटिजन पार्टीको वरिष्ठ सहसचिव थिइन् । एनसीपीले सुरुमा एक्लै निर्वाचन लड्ने भनेको थियो । धर्ममा आधारित पार्टीसँग गठबन्धन नगर्ने भनेको थियो ।
तर चुनाव नजिकिँदै गएपछि नेशनल सिटिजन पार्टीले बाङ्लादेशको स्थापित राजनीतिक दल जमात ए इस्लामीसँग गठबन्धन गर्ने निर्णय गर्यो ।
डा. तस्निम पुरानो राजनीतिक शक्तिसँग मिल्न नहुने पक्षमा थिइन् । त्यसो गर्नु वैकल्पिक राजनीति गर्ने आफ्नो उद्देश्य विपरीत भएको मत राखिन् ।
पार्टीले जमात ए इस्लामीसँग गठबन्धन गरेपछि डा. तस्निमले डिसेम्बर २७ मा नेशनल सिटिजन पार्टीको वरिष्ठ सहसचिवबाट राजीनामा दिइन् ।
त्यसबेला तस्निमसहित १४ जना केन्द्रीय नेताहरुले पार्टी छाडेका थिए ।
राजीनामा दिएपछि डा. तस्निमले स्वतन्त्र रुपमा चुनावी अभियान सुरु गरिन् । उनले स्थानीय प्रतिनिधित्व, पारदर्शिता, जवाफदेहिता र राजनीतिक संस्कृतिको विकास जस्ता विषयमा क्याम्पेनिङ गरिन् ।
उनका पब्लिक स्टेटमेन्ट, धेरैजसो बाङलादेशको घरेलु राजनीति, पारदर्शिता र लोकतान्त्रिक व्यवस्थाका विषयमा केन्द्रित हुन्थे । विद्यार्थी आन्दोलनले वैकल्पिक राजनीतिमा नयाँ ढोका खोलेको छ भन्ने विश्वास राख्ने उनी देशमा नयाँ राजनीतिक संस्कार विकास गर्नुपर्छ भन्थिन् ।
जब उम्मेदवारी दर्ताको समय आयो, डा. तस्निमले ढाका–९ बाट स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिन् ।
उनले उम्मेदवारी दर्ता गर्नै अनेक अवरोध खेप्नुपर्यो । सुरुमा त निर्वाचन कार्यालयले उनको उम्मेदवारी नै रद्द गरिदियो ।
बाङ्लादेशमा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा कुल मतदाताको १ प्रतिशत मतदाताको समर्थन बुझाउनुपर्छ ।
तस्निमले ३० घण्टाको समयभित्र ४ हजार ७०० जनाको हस्ताक्षर निर्वाचन कार्यालयमा बुझाउनुपर्ने थियो । उनले सडक छेउमा एउटा तुल टाँगेर उभिइन्, आफ्नो उम्मेदवारी दर्ताका लागि हस्ताक्षर सहयोग मागिन् । यसमा उनलाई सोसल मिडिया फलोअरहरुले पनि सहयोग गरे ।
तर निर्वाचन कार्यालयले मानेन, सम्बन्धित निर्वाचन क्षेत्र भन्दा बाहिरका मानिसहरुको समेत हस्ताक्षर भेटिएको भन्दै उनको उम्मेदवारी खारेज भयो । त्यो निर्णयविरुद्ध उनले निर्वाचन आयोगमा अपिल गरिन् । त्यसपछि बज्ल निर्वाचन आयोगले उनको उम्मेदवारी कायम गरिदियो ।
चुनावको दिन पनि उनका धेरै बुथ एजेन्टलाई मतदान केन्द्रमा प्रवेश गर्न दिइएन, कसैलाई सम्बन्धित केन्द्रमा नाम नभएको आधारमा त कसैलाई मोवाइल बोकेको बहानामा । तर यी सबै निर्णयहरु अनौपचारिक थिए, के कारण बुथ एजेन्ट बस्न नदिएको भन्ने आधिकारिक जानकारी गराइएन ।
ढाका–९ बाङ्लादेशको राजधानीको एक महत्वपूर्ण र शहरी जनमत भएको निर्वाचन क्षेत्र थियो ।
चुनावका क्रममा उनले एलपी ग्यासमा रहेको सिन्डिकेट तोड्ने विषयलाई आफ्नो मुख्य बाचा बनाएकी थिइन् ।
अनि गुणस्तरीय सरकारी सेवा, अस्पताल र क्लिनिकहरुमा राम्रो स्वास्थ्य सेवा र सार्वजनिक सुरक्षा उनका एजेण्डा थिए । चुनावी अभियानका क्रममा डा. तस्निमको समर्थनमा ठूलो समूह देखिन्थ्यो ।
फेब्रुअरी १२ का दिन उनी मतदान गर्न जाँदा मानिसहरुको ठूलो समूह उनलाई पर्खेर बसिरहेको थियो । उनीहरु तस्निमसँग अंगालो मार्न र सेल्फी खिच्न चाहन्थे । माहोल हेर्दा उनले चुनाव जित्न सक्ने अनुमान थियो ।
तर उनको राजनीतिक जीवनको सुरुवात दुःखद भयो । उनले ढाका–९ मा लज्जास्पद हार व्यहोरिन् ।
यो निर्वाचन क्षेत्रमा ४ लाख ६९ हजार ३६० मतदाता थिए । १२ जनाले उम्मेदवारी दिएका थिए ।
बीएनपीका हबिबुर रसिद हबिबले १ लाख ११ हजार २१२ मत ल्याएर जिते । दोस्रो स्थानमा रहेका नेशनल सिटिजन पार्टीका जावेद मियाले ५३ हजार ४६० भोट ल्याए । तस्निम जाराले ४४ हजार ६८४ मत पाइन् । उनको पब्लिक प्रोफाइल जस्तो थियो, त्यसको रिफ्लेक्सन ब्यालेट बक्समा देखिएन ।
चुनाव हारेपछि संसारभर उनलाई ट्रोल गरिएको छ, उनले बाङ्लादेश छाड्छिन् भन्ने हल्लाहरु पनि चले ।
डा. तस्निमले आफ्नो चुनावी नजितालाई लिएर आएको प्रतिक्रियाहरुलई स्वभाविक प्रक्रिया ठानेकी छन् ।
१३ फेब्रुअरीमा उनले फेसबुकमा लामो स्टाटस लेख्दै ढाका–९ बाट जितेका बीएनपीका नेता हबिबुर रसिद हबिबलाई बधाई दिइन् । उनले सांगठनिक रुपमा कमजोर भएकाले चुनाव हारेको स्वीकार गरेकी छन् । उनले राजनीति दिगो बनाउन ग्रासरुटमा बलियो संरचना चाहिन्छ भनेकी छन् ।
अनि, उनले चुनाव हारे पनि आफू राजनीतिमै आफ्नो करिअर अगाडि बढाउने बताएकी छन् । देश छाड्ने हल्लाको खण्डन गर्दै उनले भनेकी छन्, ‘हामीले यो यात्रा केवल एउटा चुनावका लागि सुरु गरेका होइनौं, हाम्रो लक्ष्य राजनीतिक संस्कृति परिवर्तन गर्नु हो, यो लामो यात्रा हो ।’
कुल २९९ सिटका लागि (३०० सिटमध्ये एक सिटमा चुनाव स्थगित छ) भएको चुनावमा बाङ्लादेश नेशनल पार्टी बीएनपीले २१२ सिट जित्यो भने जमात ए इस्लामी गठबन्धनले जम्मा ७७ सिट जित्यो । नेशनल सिटिजन पार्टीले केवल ६ सिट मात्र जित्न सक्यो । अनि, चुनाव हार्ने डा. तस्निम १६८२ जनामा एक हुन् ।
सोसल मिडियामा फलोअर धेरै हुँदैमा चुनाव जितिँदैन भनेर डा. तस्निमलाई ट्रोल गर्नु बेकार छ ।
१७ वर्षसम्म देश फर्किन सकेनन्, अहिले सोझै प्रधानमन्त्री
मरुभूमिबाट कसरी धनाढ्यको शहर बन्यो दुबई ?
ट्रम्पलाई भेनेजुयलाजस्तो सजिलो छैन इरान
हाइ स्पिड रेलमा चीनको असाधारण प्रगति







