इरानको चक्रब्यूहमा फसे ट्रम्प
युद्ध सुरु गरेको पहिलो दिन नै सर्वोच्च नेता मारिएपछि अमेरिका र इजराइलले ठानेका थिए, इरान युद्ध जित्यौं ।
इरान शक्तिहीन भयो, अब उसले आत्मसमर्पण गर्नेछ, हामीले जे चाह्यो त्यही हुनेछ ।
तर इरान सम्हालियो, बरु अमेरिका र इजरायल दुबैलाई ट्रयापमा पारिरहेको छ, तेल ओसार पसार हुने स्ट्रेट अफ हर्मुजलाई नियन्त्रणमा लिएर ।
त्यसैले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान युद्ध निल्नु न ओकल्नु भएको छ । न यसमा जित सम्भव छ, न हारेर मैदान छाड्न सजिलो छ ।
००००
डोनाल्ड ट्रम्पको चाहना हो, इरानमा इस्लामिक गणतान्त्रिक शासनको अन्त्य र आणविक कार्यक्रम कटौती ।
त्यसका लागि अमेरिका र इजरायलले गत २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेका थिए ।
पहिलो दिन नै सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी र अरु उच्च अधिकारीहरु मारिए ।
सर्वोच्च नेता नै मारिएपछि ट्रम्पलाई लागेको थियो, इरान शक्तिहीन भयो, अब उसले आत्मसमर्पण गर्नेछ, हामीले जे चाह्यो त्यही हुनेछ । त्यही आफ्नो सोसल मिडिया ट्रुथमा लेखेका पनि थिए, इरान युद्ध जित्यौं ।
युद्ध अहिले तेस्रो सातामा चलिरहेको छ, इरानले हार मानेको छैन । आत्मसमर्पण गरेको छैन । बरु सम्हालिएर अमेरिका र इजरायलको मुकाबिला गर्दैछ ।
सुरुमा ८ मार्चमा आयोतुल्लाह खामेनीकै छोरा मोजताबा खामेनीलाई सर्वोच्च नेता बनायो । अनि, मध्य पूर्वका देशहरुमा रहेका अमेरिकी सैन्य अखडाहरुलाई निशाना बनाएर जवाफी आक्रमण गर्यो ।
अब त इरानले विश्वव्यापी तेल ओसारपसार गर्ने प्रमुख मार्ग स्ट्रेट अफ हर्मुजलाई नियन्त्रणमा लिएर अमेरिकासहित विश्वलाई नै अप्ठेरोमा पारिदिएको छ ।
ट्रम्पको कमजोरी : हर्मुज
इरानले स्ट्रेट अफ हर्मुजलाई विश्वभर दबाब दिने अस्त्र बनाउनुअघि नै उसलाई आत्मसमर्पण गर्न बाध्य पार्न सक्छु भन्ने विश्वास ट्रम्पलाई थियो ।
यथार्थमा ठीक उल्टो भयो । ट्रम्पको सबैभन्दा मिस क्याल्कुलेसन नै यही भयो ।
गत फेब्रुअरी १८ मा डोनाल्ड ट्रम्प आक्रमण गर्ने कि नगर्ने भनेर विचार गरिरहँदा तेलको सप्लाइ अवरुद्ध हुनसक्छ भन्ने कुरा सोचेका थिएनन् ।
तर जब अमेरिका र इजरायलले निरन्तर आक्रमण गरे, इरानले हर्मुजलाई आफ्नो हतियार बनायो ।
स्ट्रेट अफ हर्मुज एउटा साँघुरो समुद्री घाँटी हो, जसले खाडी राष्ट्रहरुलाई अरेबियन सागरसँग जोड्छ ।
स्ट्रेट अफ हर्मुजको उत्तरी सीमा इरानसँग जोडिन्छ भने दक्षिणी सीमा ओमान र युनाइटेड अरब इमिरेट्ससँग जोडिन्छ ।
र, सबभन्दा महत्वपूर्ण कुरा, विश्वभर तेल ओसार पसार गर्ने प्रमुख बाटो यही साँघुरो समुद्री घाँटी हो ।
यो बाटो भएर विश्वको कुल तेल खपतको २० प्रतिशत तेल ढुवानी गरिन्छ ।
जम्मा ३३ किलोमिटर फराकिलो घाँटी भएकाले त्यहाँबाट पानीजहाजहरु क्रस हुँदा इरानको अधिकार क्षेत्रमा पर्ने जलसतह पनि प्रयोग गर्नुपर्छ ।
हर्मुज बन्द गर्न इरानलाई कुनै कठिनाइ पनि छैन । ठूलो सैन्य बल लगाइरहन पनि पर्दैन ।
फाट्टफुट्ट घटना घटाइदिए हुन्छ । एक जना सिपाही, सानो डुंगा र सामान्य हतियार भए पनि पुग्छ । यत्तिले विश्वभर तेलबजार प्रभावित भइहाल्छ ।
युद्ध चर्किँदै गएपछि इरानले त्यही गर्यो । यसको प्रत्यक्ष प्रभाव विश्वभर परेको छ ।
इरान युद्ध सुरु भएको दिन २८ फेबु्रअरीमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७३ डलर थियो । १८ मार्चसम्म आइपुग्दा यो बढेर १०० डलर पुगिसकेको छ । यसले विश्वव्यापी रुपमा सामानको ढुवानी लागत बढिसकेको छ, पानीजहाजहरुको बीमा खर्च पनि ह्वात्तै बढेको छ ।
अनि विश्वभर मूल्यवृद्धि भइसकेको छ ।
अर्को कमजोरी : इजरायलमाथि विश्वास गर्नू
इरान युद्ध सुरु गर्दै गर्दा इजरायलले ठानेको थियो, शीर्ष नेतृत्वमाथि आक्रमण भएपछि इरान निकै कमजोर हुन्छ ।
त्यही मौकामा खामेनीको शासनको विरोध गरिरहेका सर्वसाधारण सडकमा आउँछन् । अनि, लोकतान्त्रिक पद्धतिबाट अर्को सरकार बन्छ ।
इजरायलले अमेरिकालाई देखाएको सपना पनि त्यही थियो –एउटा निर्णायक प्रहार, त्यसपछि द्रुत, अनि लामो युद्धबिनै इरानको राजनीतिक परिवर्तन ।
ट्रम्पले यसमै विश्वास गरे । तर इजरायलको यो अनुमान फेल खायो । इरानको पुरानो व्यवस्था कोल्याप्स भएन । अनि इजरायल र अमेरिकाले अनुमान गरेजस्तो इरानी नागरिक पनि सडकमा आएनन् ।
सर्वोच्च नेता मारिँदा पनि ठूलो पोलिटिकल भ्याकुम हुन पाएन । इरानको यो मुभले अमेरिका र इजरायलको गठबन्धनलाई तनाब दिएको छ ।
त्यसैले अमेरिका अहिले इरान र उसले आक्रमण गरिरहेको हर्मुजलाई खुला गर्न ध्यान दिइरहेको छ । तर इजरायल भने यो युद्धलाई अझै फराकिलो बनाउन खोज्दैछ । उसले लेबनानमाथि आक्रमण गर्न थालेको छ ।
खाडी राष्ट्रहरु पनि युद्ध नटुंग्याई अमेरिकाले हात नझिकोस् भन्ने चाहन्छन् । किनकी अहिलेकै अवस्थामा अमेरिका ब्याक हुने हो भने मध्यपूर्वमा इरान झन् शक्तिशाली भएर रहन्छ । तर इरानले खाडी देशमा रहेका अमेरिकी सैन्य क्याम्पलाई निशाना बनाइरहँदा उनीहरु पनि झस्केका छन् ।
सबभन्दा महत्वपूर्ण चाहिँ, विश्वभर तेल आपूर्ति गरिरहेको खाडी क्षेत्रको अशान्तिले विश्व अर्थतन्त्र नै तरल अवस्थामा पुगेको छ । त्यसैले ट्रम्पलाई इरानमाथिको युद्ध छिटो टुंग्याउन दबाब बढिरहेको छ ।
००००
अमेरिका, युद्धलाई टुंग्याउनु अगाडि कम्तीमा दुई वटा कुरा होस् भन्ने चाहन्छ ।
पहिलो, स्ट्रेट अफ हर्मुजको बाटो खुला गर्ने ।
दोस्रो, इरानसँग आणविक र युरेनियम स्टोरबारे सम्झौता गर्ने ।
तर यो तत्काल सम्भव देखिएको छैन । युद्ध लम्ब्याइराख्न पनि अमेरिकालाई सहज छैन ।
युद्ध लम्बिँदै जाँदा अमेरिकाको खर्च पनि बढिरहेको छ । युद्ध तेस्रो हप्तामा प्रवेश गर्दै गर्दा १२ बिलियन अमेरिकी डलर खर्च भइसकेको छ । अझै सैनिक र राजनीतिक शक्ति परिचालन गरिरहँदा खर्च बढ्दै जान्छ ।
इरान युद्धलाई अमेरिका र इजरायलले कति आक्रमण गरे भनेर मात्र उनीहरुको सफलता नाप्न सकिँदैन । यो युद्धलाई निरन्तरता दिइरहँदा उनीहरुलाई कति महंगो पर्छ भन्ने कुरा पनि उत्तिकै विचार गर्नुपर्छ ।
युद्ध जारी राख्ने हो भने एउटा प्रश्न उठ्छ यो युद्धको सबै भार अमेरिकाले धान्न सक्छ ? खाडी राष्ट्रहरुको आर्थिक र सुरक्षा प्राथमिकतालाई अमेरिकाले कहिलेसम्म नजर अन्दाज गरेर बस्न सक्छ ?
त्यसैले भन्न सकिन्छ ट्रम्प यस्तो युद्धमा फसेका छन्, जसको कुनै एक्जिट छैन ।
अमेरिका हठात युद्धबाट पछि हट्न सक्दैन, किनकी यत्तिकै युद्ध अन्त्य गर्दा हारेको जस्तो देखिन्छ । अनि अझै आक्रामक भएर जान पनि सक्दैन, किनकी त्यसको परिणाम आफ्नै पक्षमा आउँछ भन्ने ग्यारेन्टी छैन ।
ट्रम्प यसअघि कहिल्यै नपरेको संकटमा फसेका छन् । त्यसैले उनी यसको फाइल बन्द गर्ने प्रयासमा हुन सक्छन् । तर कसरी भन्ने दुविधामा छन् ।
उनी त्यति बेलासम्म यो युद्ध जितेको दाबी गर्न सक्दैनन्, जबसम्म हर्मुजमा इरानले अवरोध गरिरहन्छ ।
उनी कुनै सहमति, कुनै प्रतिवद्धताबिना यो युद्ध अन्त्यको घोषणा गर्न पनि सक्दैनन् । त्यसो गर्दा पनि हारेको सन्देश जान सक्छ । अनि प्रत्येक नयाँ घटनाक्रमले आर्थिक क्षतिको खतरा र जोखिम बढाइरहेको छ ।
त्यसो भए अमेरिका–इजरायल र इरान कहिलेसम्म लडिरहन्छन् त ? भन्ने प्रश्न आउँछ ।
यो युद्ध कति लम्बिन्छ भन्ने कुरा यसमा संलग्न पक्षले त्यो युद्धको लागत कति व्यहोरिरहन सक्छन् भन्ने कुराले निर्णय गर्नेछ । इरानले यो युद्धको भार विश्वव्यापी बनाइदिएको छ ।
किनकी स्ट्रेट अफ हर्मुजका कारण विश्वका सबैजसो देश प्रभावित भइरहेका छन् । त्यसैले यो युद्ध कहिले समाप्त हुन्छ भन्ने कुरा कति मिसाइल हानियो भन्ने होइन, यसले विश्व अर्थतन्त्रमा पार्ने असरले निर्धारण गर्नेछ ।
सीआर्ईएले ६ महिनादेखि फलो गरिरहेको थियो खामेनी
७४ लाख फलोअर्स, ४४ हजार भोट, डा. तस्निम जाराको कथा
१७ वर्षसम्म देश फर्किन सकेनन्, अहिले सोझै प्रधानमन्त्री
मरुभूमिबाट कसरी धनाढ्यको शहर बन्यो दुबई ?



-1773656815.jpeg)



