मरुभूमिबाट कसरी धनाढ्यको शहर बन्यो दुबई ?
दुबईको तिब्र विकास र कायापलटले अहिले विश्व नै चकित छ । यो शहर घुम्न मात्र होइन, व्यापार व्यवसाय गर्ने र सुखसयलको जीवन बाँच्न
चाहनेहरुका लागि पहिलो रोजाइ बनिरहेको छ । मानिसहरु आफ्नो देश छाडेर दुबईमा बसिरहेका छन् ।
विश्वभरका धनाढ्य त्यहीँ जम्मा भएकाले रियलस्टेट क्षेत्रले असाधारण प्रगति गरेको छ । यहाँको रियलस्टेटमा लगानी गर्नेहरुले विश्वका अन्य शहरमा भन्दा धेरै मुनाफा पनि कमाइरहेका छन् । वर्षमा झण्डै २ करोड मानिस घुमफिरका लागि त्यहाँ पुग्छन् ।
विश्वकै अग्लो भवन, लक्जेरियस होटल, अग्लो होटल, ठूलो टापु, ठूलो एयरपोर्टजस्ता रेकर्ड दुबईले नै राखेको छ ।
कुनै बेला मरुभूमि र माझीहरुको बस्ती रहेको यो ठाउँले ६०–७० वर्षको अवधिमै असाधारण प्रगति गरेको छ ।
पछिल्लो एक दशकको कुरा गर्ने हो भने दुबईमा करोडपतिहरुको संख्या दोब्बर बढेको छ । दुबईले किन धनाढ्यहरुलाई यसरी तानिरहेको छ ?
००००
दुबई युनाइटेड अरब इमिरेट्स (युएई) को एउटा इमिरेट्स अर्थात् राज्य हो । युएईमा दुबईजस्तै ७ वटा इमिरेट्स छन् । युएईका अबुधावी, शारजहाँलगायतका राज्य पनि विकसित छन् । तर धेरै प्रगति चाहिँ दुबईले गरेको छ ।
विश्व मानचित्रमा दुबई यस्तो महत्वपूर्ण ठाउँमा छ कि, यो करिब करिब मध्य भागमा पर्छ । यहाँबाट एसिया, अफ्रिका र युरोप बराबरजस्तै दूरीमा पर्छ । यसको पश्चिम र दक्षिणमा साउदी अरेबिया पर्छ भने पूर्व उत्तर पूर्व ओमान पर्छ ।
दुबईको क्षेत्रफल करिब ४ हजार बर्ग किलोमिटर छ र जनसंख्या करिब ४० लाख छ । यहाँ बसोबास गर्नेहरु रैथाने भन्दा आप्रवासीहरु बढी छन् ।
१९ औं शताब्दीको सुरुवातदेखि दुबई समुद्री मार्ग भएर हुने कारोबारको महत्वपूर्ण केन्द्र थियो । यहाँ विशेष गरी भारतीय धनाढ्यहरु बसोबास गर्थे । सन् १९३० अगाडिसम्म यो शहर मुगाको कारोबारका लागि प्रख्यात थियो ।
जब सन् १९६६ मा दुबईमा तेलखानी भेटियो, त्यसपछि यसले काँचुली फेर्यो । तेलबाट भएको आम्दानी दुबईले पूर्वाधार विकासमा लगायो । समुद्री किनारमा बन्दरगाह र ठूला ठूला वायर हाउसहरु बनायो ।
पर्सियन गल्फ विश्वमा नै समुद्री व्यापारको प्रमुख मार्ग हो । विश्वभर कारोबार हुने तेलको २५ प्रतिशत यही मार्ग भएर ओसारपसार गरिन्छ । दुबई यही पर्सियन गल्फको दक्षिणपूर्वी किनारमा पर्छ । त्यसैले समुद्री मार्ग भएर व्यापार गर्नेहरुका लागि सबैभन्दा उपयुक्त स्थल दुबई बनेको छ ।
००००
सन् २०२४ मा दुबईमा ८१ हजार २०० मिलेनियर्स थिए । अनि पुरै युएईभरमा भने १ लाख ३० हजार ५०० मिलेनियर्स छन् ।
युएईमा १ करोड अमेरिकी डलर भन्दा बढी सम्पत्ति भएका २३७ जना धनाढ्य छन् । अनि डलर अर्बपतिको संख्या २० पुगेको छ ।
सन् २०२४ मा मात्र युएईले १० लाख अमेरिकी डलर भन्दा बढी सम्पत्ति भएका ७ हजार २०० जना धनाढ्यलाई भित्र्याएको थियो । जुन अघिल्लो वर्ष भन्दा ५३ प्रतिशतले बढी हो ।
दुबईमा विश्वका २०० भन्दा धेरै देशका धनाढ्यहरु बसोबास गर्छन् । जसमा टेक कम्पनीका मालिकदेखि युरोपेली उद्योगपति र एसियाली लगानीकर्ता तथा ब्यापारीसम्म छन् ।
दुबईमा बसोबास गर्ने धेरैजसो धनाढ्य भारतीय छन् । त्यसपछि मध्यपूर्वी एसियाली देश, रसिया तथा कमनवेल्थ देश, बेलायत र युरोपकाहरु पनि उत्तिकै छन् । यो बहुसाँस्कृतिक कम्पोजिसनकै कारण दुबईलाई विश्वभर व्यापार साझेदारी गर्न झन् सहज भएको छ ।
दुबई किन धनाढ्यहरुको रोजाइ ?
दुबईले विश्वभरका धनाढ्यहरुलाई लगानी गर्न, सम्पत्ति कमाउन र आफ्नो देशमा लैजानका लागि राम्रो अवसर दिएको छ ।
दुबईको करसम्बन्धी नीति व्यक्तिलाई सम्पत्ति कमाउन र सम्पत्ति संरक्षणका लागि निकै राम्रो छ । यहाँ व्यक्तिगत आयकर शून्य छ, कुनै व्यवसायी वा जागिरेले तलबवापत कमाएको पैसाको ट्याक्स सरकारलाई तिर्नुपर्दैन ।
व्यक्तिगत आयकर मात्र होइन, पुँजीगत लाभकर अर्थात् क्यापिटल गेन ट्याक्स पनि तिर्नुपर्दैन । अनि साना व्यवसायीले सम्पत्ति कर पनि तिर्नुपदैन । ३ लाख ५० हजार दिराम अर्थात् करिब डेढ करोड रुपैयाँभन्दा भन्दा बढीको नाफामा मात्र ९ प्रतिशत कर्पोरेट ट्याक्स लाग्छ ।
यस्तै नीतिहरुका कारण दुबईमा गरेको लगानीले अन्य देशमा भन्दा धेरै र छिटो प्रतिफल दिन्छ । व्यापार व्यवसाय गरेर कमाएको पैसा आफ्नो देशमा लैजान पनि सहज छ ।
युएईले १४० भन्दा बढी देशहरुसँग व्यापार तथा करसम्बन्धी सम्झौता गरेको छ । त्यसैले व्यवसायीहरुले विश्वको जुनसुकै देशसँग व्यापार गर्न पनि दोहोरो करको झञ्झट छैन । व्यापार फैलाउनलाई यो भन्दा उपयुक्त अवसर के हुन सक्छ र ?
दुबईमा विदेशी नागरिकले पनि आफ्नो स्वामित्वसहित सम्पत्ति जोड्न सक्छन् । विश्वका कयौं देशमा विदेशी नागरिकले आफ्नै स्वामित्वमा कम्पनी खडा गर्न पाउँदैनन् । त्यहीँको नागरिक वा लोकल कम्पनीसँग ज्वाइन्ट भेन्चरमा मात्र लगानी गर्र्नुपर्छ । तर दुबईमा कुनै लोकल पार्टनरबिना विदेशी नागरिकले आफ्नै स्वामित्वमा कम्पनी चलाउन सक्छन् ।
दुबईको नागरिकता लिन धेरै कठिन छ, तर व्यापार व्यवसाय गर्न, सम्पत्ति जोड्न र सम्पत्ति बिक्री गरेर आफ्नो देशमा पैसा लैजान यहाँ कुनै छेकबार छैन ।
समुद्री व्यापार गर्न उपयुक्त लोकेसन
दुबईको लोकेसन पनि व्यापार व्यवसाय गर्नका उपयुक्त ठाउँमा छ । यो ठाउँ युरोप, एसिया, र अफ्रिका महादेशको बीचमा पर्छ । यहाँबाट यी तीनवटै क्षेत्र बराबरजस्तो दूरीमा पर्छ । दुबईले केबल ४ घण्टाको यात्रामा २ अर्ब ५० करोड मानिसमाझ आफ्ना उत्पादन पुर्याउन सक्छ ।
दुबईमा समुद्री ब्यापारका लागि ठूला ठूला बन्दरगाहहरु छन् । दुबईको जेबेल अलि बन्दरगाह विश्वको १० बन्दरगाहभित्र पर्छ र मध्यपूर्वको सबैभन्दा ठूलो हो । त्यस्तै रासिद पोर्ट, अल हाम्रिया पोर्टजस्ता ठूला र प्रसिद्ध बन्दरगाहहरु पनि दुबईमा छन् ।
विश्वमा कतै दिन भएका बेला अर्कोतिर रात परिरहेको हुन्छ, तर दुबईको टाइम जोन पनि बिजनेस फ्रेन्डली छ । यहाँबाट एकै दिनमा एसिया, अफ्रिका र युरोपेली देशसँग सम्पर्क कायम राख्न सकिनेछ ।
दुबईको यही लोकेसन यहाँको पर्यटनका लागि पनि फाइदाजनक भएको छ । यहाँ एक वर्षमा झण्डै २ करोड मानिसहरुले भ्रमण गर्छन् ।
अमेरिका, युरोप, अफ्रिका, एसिया सबै क्षेत्रबाट यहाँ उत्तिकै पर्यटक पुग्छन् । दुबई धेरै मानिसहरुले भ्रमण गर्ने शहरी गन्तव्यमा विश्वकै पहिलो स्थानमा छ । दुबईको अर्थतन्त्रमा पर्यटनको योगदान १२ प्रतिशत छ ।
रियल स्टेटको प्रतिफल
दुबईको हाउजिङ र रियलस्टेट व्यवसायले लण्डन वा न्यूयोर्कमा भन्दा धेरै प्रतिफल दिएको छ । यदि दुबईको रियलस्टेटमा ५० लाख डलर लगानी गरेको छ भने लण्डन वा न्यूयोर्कमा भन्दा वर्षमा २ देखि ३ लाख डलरसम्म बढी प्रतिफल लिन सकिन्छ ।
सन् २०२४ मा दुबई १ करोड डलर भन्दा बढी मूल्यका घर बिक्रीमा विश्वमै अग्रणी बनेको थियो । त्यो वर्ष त्यस्ता ४३५ वटा घर बिक्री भएका थिए । यो भनेको न्यूयोर्क, लण्डन वा हङकङमा भन्दा पनि बढी हो ।
सुरक्षा र गुणस्तरीय जीवन
दुबई विश्वकै सुरक्षित शहरमध्येमा पर्छ । त्यहाँको अपराध दर विश्वको औसत दर भन्दा पनि कम छ । राजनीतिक स्थायित्व छ, यहाँ कानुनको शासन छ, राज्यको नीति स्थिर छ, त्यसैले लामो समयका लागि हेरेर लगानी गर्नेहरु ढुक्कले लगानी गर्न सक्छन् ।
यहाँको स्वास्थ्य सेवा विश्वस्तरको छ । शिक्षामा पनि त्यस्तै छ, बेलायत, अमेरिकालगायत देशका पाठ्यक्रमहरुको पढाइ हुने शिक्षालयहरु धेरै खुलिसकेका छन् ।
युएईको गोल्डेन भिसा प्रोग्रामले लगानीकर्ता, उद्यमी र विशेषज्ञ पेशाकर्मीलाई १० वर्षको आवासीय सुविधा दिन्छ । २० लाख युएई दिराम अर्थात् ५ लाख ४५ हजार अमेरिकी डलर लगानी गर्न सक्ने व्यक्ति र उसका परिवारका सदस्यले युएईमा आवासीय सुविधा पाउँछन् ।
गोल्डेन भिसा आवेदनको प्रक्रिया पनि एकदमै छिटो हुन्छ । महिना र वर्ष होइन, हप्ताभित्रै काम हुन्छ । आवासीय सुविधा पाउनेहरुले भिसा सेक्युरिटी, ब्यांकिङ एक्सेस, बिजनेस लाइसेन्स पाउनुका साथै कामदार र परिवारका सदस्यहरुको स्पोन्सर बन्न पनि पाउँछन् ।
युएई विश्वकै सातौं ठूलो तेल भण्डार हो । तर अहिले यहाँको अर्थतन्त्रमा तेलको भन्दा अन्य क्षेत्रको योगदान धेरै छ । अहिले यु्एईको कुल ग्रार्हस्थ्य उत्पादनमा तेलको हिस्सा १ प्रतिशत मात्र छ । तेलबाट भन्दा सूचना प्रविधि, बैंक वित्तीय संस्था, पर्यटन, आवास र नवीकरणीय ऊर्जा क्षेत्रले युएईको दिगो आर्थिक वृद्धिमा सहयोग गरेको छ ।
दुबई विश्वकै ट्रेड हब बन्नुमा यहाँको राजनीतिक नेतृत्वको दूरदृष्टिले काम गरेको छ । यहाँको विकासमा दुबईका पूर्वशासक सेख रसिद बिन सइद अल माक्तुम र माक्तुम बिन रसिदको महत्वपूर्ण हात छ ।
बिन सइदले १९५८ देखि १९९० सम्म दुबईको सरकार प्रमुखको रुपमा काम गरे । अनि माक्तुम बिन रसिदले १९९० देखि २००६ सम्म काम गरे ।
उनीहरुले युएईको अर्थतन्त्रलाई तेलमा मात्र निर्भर नबनाउने र अर्थतन्त्रको विविधिकरण गर्ने नीति लिए । उनीहरुले कर छुटको नीति लिए र व्यापार विस्तारका लागि फ्रि जोनहरु घोषणा गरे ।
सरकारी नीति नियमहरु खुकुलो बनाए, व्यापार व्यवसायको अनुमति लिन सहज बनाए । त्यही कारण आज विश्वभर दुबई व्यापार व्यवसायका लागि प्रसिद्ध गन्तव्य बनेको छ । विश्वभरका धनाढ्य त्यहीँ ओइरिएका छन् ।
ट्रम्पलाई भेनेजुयलाजस्तो सजिलो छैन इरान
हाइ स्पिड रेलमा चीनको असाधारण प्रगति
अमेरिकाले मदुरोलाई बेडरुमबाटै उठाउनुको रहस्य
५ लाख सापट लिएर ब्यापार सुरु गरेका डांगोटे कसरी बने अफ्रिकाकै धनी ?









