१७ वर्षसम्म देश फर्किन सकेनन्, अहिले सोझै प्रधानमन्त्री
बाबु राष्ट्रपति, आमा प्रधानमन्त्री । तर उनले अनेक मुद्दा खेपे, देशै छाडेर हिँड्नुपर्यो । १७ वर्ष निर्वासनमा बिताएपछि भने बाङ्लादेशको राजनीति उनकै हातमा आएको छ ।
उनी आफैंले दुई ठाउँबाट चुनाव जिते, पार्टीले पनि भारी बहुमत पायो । अब बन्दैछन्, देशकै प्रधानमन्त्री ।
उनी हुन्, तारिक रहमान । बाङ्लादेश नेशनल पार्टी (बीएनपी) का अध्यक्ष । अनि, पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा ।
सन् २०२४ को जुलाइमा बाङ्लादेशमा भएको विद्यार्थी आन्दोलनले सत्ता परिवर्तन भयो । तत्कालिन प्रधानमन्त्री शेख हसिना देश छाडेर भाग्नुपर्यो ।
युवा–विद्यार्थी आन्दोलनकारीको माग अनुसार नोबल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।
अन्तरिम सरकारले डेढ वर्षपछि १२ फेब्रुअरी २०२६ मा चुनाव गर्यो । यो चुनावले २० वर्षपछि बाङ्लादेश नेशनल पार्टी (बीएनपी) लाई पुनः सत्तामा फर्काइदिएको छ ।
बीएनपीले प्रत्यक्षतर्फको ३०० सिटमध्ये २१३ सिट जितेको छ । जुन संसदको दुई तिहाइ बहुमत भन्दा पनि बढी हो ।
२० वर्षअघि आमा खालिदा जिया प्रधानमन्त्री थिइन्, अहिले छोरा तारिक रहमान प्रधानमन्त्री बन्दैछन् । जो १७ वर्ष बेलायतमा निर्वासन जीवन बिताएर डेढ महिनाअघि मात्र स्वदेश फर्केका थिए ।
को हुन् तारिक रहमान ?
तारिक रहमान बाङ्लादेशका पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन् ।
उनी ६० वर्षका भए । तारिक रहमान सानै छँदा बाङ्लादेशमा स्वतन्त्रता आन्दोलन भएको थियो । सन् १९७१ सम्म हालको पाकिस्तान र बाङ्लादेश एउटै देश थिए । बाङ्लादेश पूर्वी पाकिस्तानका रुपमा चिनिन्थ्यो । पूर्वी पाकिस्तानका बासिन्दाले पाकिस्तानसँग अलग हुने गरी स्वतन्त्रताको आन्दोलन गरे ।
तारिक रहमान केवल ६ वर्षको उमेरमा स्वतन्त्रता आन्दोलनमा पक्राउ परेका थिए । उनी स्वतन्त्रता आन्दोलनको कान्छोमध्ये एक बन्दी थिए ।
उनका बाबु जियाउर रहमान आर्मी कमाण्डर थिए । सन् १९७५ मा उनकै नेतृत्वमा सैनिक कु भएको थियो । तत्कालिन राष्ट्रपति शेख मुजिबुर रहमानको हत्यापछि जियाउर रहमानले शासन हातमा लिएका थिए । सन् १९७८ देखि १९८१ सम्म राष्ट्रपति बने । राष्ट्रपति रहेकै बेला सन् १९८१ मा अर्को सैनिक कु मार्फत जियाउर रहमानको पनि हत्या भयो ।
तारिक रहमानले सानै उमेरमै राजनीतिको शक्ति र त्यहाँ हुने षड्यन्त्रहरु देख्ने र भोग्ने अवसर पाए । उनले जम्मा १२ कक्षाको अध्ययनपछि पढाइ छाडिदिए र राजनीतिमै लागे ।
सन् १९७८ मा उनका बाबु जियाउर रहमानले बाङ्लादेश नेशनल पार्टी (बीएनपी) स्थापना गरेका थिए । जियाउर रहमानको हत्यापछि उनकी पत्नी खालिदा जिया बीएनपीको अध्यक्ष भएकी थिइन् । उनी सन् १९९१ मा बाङ्लादेशको पहिलो महिला प्रधानमन्त्री बनिन् । पाँच वर्षे कार्यकाल पूरा गरिन् ।
तारिक रहमान आमाको सहयोगीका रुपमा राजनीतिमा सक्रिय रहे । सन् २००१ मा बीएनपीले दोस्रो पटक बहुमत ल्यायो । खालिदा जिया दोस्रो पटक प्रधानमन्त्री बनिन् ।
तारिक रहमान सन् २००१ देखि बीएनपीको राजनीतिमा देखिने गरी सक्रिय भए । त्यतिबेला उनी जम्मा ३६ वर्षका थिए ।
सन् २००२ मै उनले पार्टीको सह महासचिवको जिम्मेवारी पाए । त्यतिबेला विपक्षीहरुले उनको उदयलाई नातावादको नमुना भनेर ब्याख्या गर्थे । तारिकमाथि व्यक्तिगत फाइदाका लागि शक्ति दुरुपयोग गरेको आरोप पनि लाग्यो ।
खालिदा जिया २००६ सम्म प्रधानमन्त्री रहिन् ।
सन् २००७ मा बाङ्लादेशमा सैनिक समर्थित कामचलाउ सरकार थियो । तारिक रहमान पक्राउ परे । उनीमाथि भ्रष्टाचार लगायत विभिन्न मुद्दाहरु लगाइयो ।
उनले हिरासतमा चरम यातना भोगे । १८ महिना जेलमा परे । जेलमा रहँदा स्वास्थ्य अवस्था नाजुग भएपछि उनलाई सन् २००८ मा उपचारका लागि बेलायत जान दिइयो ।
त्यसपछि उनी स्वदेश फर्केनन् । आफ्नी पत्नी र छोरीका साथमा बेलायतमै बसे ।
बाङ्लादेशमा उनीविरुद्ध थप मुद्दाहरु पनि लगाइयो । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र प्रधानमन्त्री शेख हसिनाको हत्याको षड्यन्त्र गरेको आरोप उनीमाथि थियो । उनको अनुपस्थितिमै सजाय सुनाइएको थियो ।
बाङ्लादेशमा उनको भाषण र अन्तर्वार्ता प्रशारणमा रोक लगाइएको थियो । उनीविरुद्ध रेड कर्नर नोटिस जारी भएकाले भ्रमण गर्न पनि सहज थिएन ।
उनले बेलायतमै बसेर बाङ्लादेशको राजनीति गरिरहे । भिडियो कन्फरेन्समार्फत उनी पार्टीका नेता कार्यकर्तासँग संवाद गर्थे । पार्टीको रणनीति बनाउन मुख्य हात उनकै हुन्थ्यो ।
तारिक रहमानकी आमा खालिदा जिया सन् २०१८ मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर जेल परिन् । त्यसपछि उनले पार्टीको कार्यबाहक अध्यक्षका रुपमा काम गरे ।
सन् २००८ देखि लगातार १५ वर्ष शेख हसिना प्रधानमन्त्री रहिन् । सन् २०२३ मा भएको आम निर्वाचन अगाडि शेख हसिना सरकारले बीनएपीका धेरै नेता कार्यकर्तालाई पक्राउ गरेर जेल हालेको थियो । त्यो चुनावबाट पनि शेख हसिनाको पार्टीले भारी बहुमत ल्यायो, उनी नै प्रधानमन्त्री भइन् ।
सन् २०२४ मा सरकारी जागिरमा दिएको आरक्षण खारेजीको माग गर्दै विद्यार्थी आन्दोलन चर्कियो । बाङ्लादेश नेशनल पार्टी (बीएनपी) ले विद्यार्थी आन्दोलनलाई समर्थन गरेको थियो ।
सरकारले चरम दमन गर्दा १४ सय आन्दोलनकारी मारिए । तर आन्दोलनकारीले जुलाई २०२४ मा प्रधानमन्त्री कार्यालय नै कब्जा गरे, शेख हसिना देश छाडेर भागिन् ।
नोवेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस अन्तरिम सरकार प्रमुख बने ।
अदालतले तारिक रहमानमाथि लागेका मुख्य मुद्दाहरु खारेज गर्यो । त्यसपछि मात्र उनी स्वदेश फर्किने बाटो खुल्यो ।
सन् २०२५ को डिसेम्बर २५ मा तारिक रहमान स्वदेश फर्किए । स्वदेश फर्किँदा उनले ठूलो स्वागत र सम्मान पाए । धेरैले उनलाई भावी प्रधानमन्त्रीका रुपमा लिए ।
उनी स्वदेश फर्केको ५ दिनपछि नै उनकी आमा खालिदा जियाको मृत्यु भयो ।
९ जनवरी २०२६ देखि तारिक रहमान औपचारिक रुपमा नै बीएनपीको अध्यक्ष बने ।
लगातार तीन वटा चुनाव जितेको अवामी लिग विद्यार्थी आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेको थियो । पार्टीकी प्रमुख तथा पूर्वप्रधानमन्त्री शेख हसिना देश छाडेर भारतमै निर्वासनमा छिन् । यही बेला बाङ्लादेशको एक अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
मोहम्मद युनुस सरकारले अवामी लिगलाई चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगायो ।
विद्यार्थी आन्दोलन कुनै संगठित शक्तिले गरेको थिएन । विद्यार्थी आन्दोलनमै सहभागी केही अगुवाहरुले गठन गरेको नेशनल सिटिजन पार्टीले जम्मा ६ सिट मात्र जित्यो ।
विद्यार्थी आन्दोलनपछिको अवस्था बीएनपीका लागि अनुकुल बन्यो, उसले प्रत्यक्ष चुनाव भएका ३०० सिटमध्ये २१३ मा जित हासिल गर्यो । अध्यक्ष तारिक रहमानले ढाका– १७ र बोगुरा–६ गरी दुई चुनाव क्षेत्रबाट चुनाव जिते ।
शेख हसिना सरकारले प्रतिबन्ध लगाएको अर्को दल जमात ए इस्लामले ७६ सिट जित्यो । बाङ्लादेशको संसद कुल ३५० सदस्यीय हुन्छ । जसमा ५० सिटमा समानुपातिक प्रणालीबाट महिलाहरुलाई सहभागी गराइन्छ ।
तारिक रहमानसँग राजनीतिक लिगेसी त छ, तर राज्य सञ्चालनको अनुभव छैन । तैपनि उनलाई १७ करोड ३५ लाख जनसंख्या र ५ खर्ब १९ अर्ब डलरको अर्थतन्त्र भएको देश सम्हाल्ने अभिभारा आइलागेको छ ।
लामो अस्थिरताका कारण बाङ्लादेशको अर्थतन्त्र संकटमा छ, उनलाई अर्थतन्त्र लयमा ल्याउने, रोजगारी सिर्जना गर्ने र कानुनको शासन पुनर्स्थापना गर्ने चुनौती छ ।
त्यस्तै मृत्युदण्डको सजाय सुनाइएकी पूर्वप्रधानमन्त्री शेख हसिनाप्रति कस्तो व्यवहार गर्छन् ? देशभित्र राजनीतिक सहकार्यको वातावरण बनाउँछन् कि बदला भावलाई नै निरन्तरता दिन्छन् ?
शेख हसिनालाई आश्रय दिइरहेको छिमेकी देश भारतसँग कस्तो सम्बन्ध राख्छन् भन्नेमा पनि धेरैको चासो छ ।
मरुभूमिबाट कसरी धनाढ्यको शहर बन्यो दुबई ?
ट्रम्पलाई भेनेजुयलाजस्तो सजिलो छैन इरान
हाइ स्पिड रेलमा चीनको असाधारण प्रगति
अमेरिकाले मदुरोलाई बेडरुमबाटै उठाउनुको रहस्य



-1770820002.jpeg)



