नेभिगेशन
विश्व

सीआर्ईएले ६ महिनादेखि फलो गरिरहेको थियो खामेनी

अमेरिका र इजरायल लामो समयदेखि इरानमाथि आक्रमणको तयारीमा थिए । उनीहरुको टार्गेट थियो, सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी । 

फेब्रुअरी २८ को शनिबार उनीहरुले खामेनीको निवासमा आक्रमण गरे । खामेनी आफ्नै निवासमा मारिए । 

मुस्लिम समुदायको पवित्र पर्व रमदानको महिना चलिरहेको छ । इरानमा शुक्रबारको साप्ताहिक बिदा सकिएपछि कार्यालयहरु खुल्ने तरखर हुँदै थियो । 

२८ फेब्रुअरीको बिहान ८ बजेर १० मिनेटमा इजरायली फाइटर जेटले इरानको राजधानी तेहरानस्थित आयोतुल्लाह अलि खामेनीको निवास लिडरसिप हाउसमा एक्कासी आक्रमण गर्‍यो । 

इजरायली र अमेरिकी सेनाले अरु ठाउँमा पनि आक्रमण गरे ।

सुरुमा आक्रमणको समयमा लिडरसिप हाउसमा खामेनी थिए वा थिएनन् खुलेन । शनिबार दिउँसो इरानी विदेश मन्त्रालयका प्रवक्ताले यसबारे केही भन्न सकिने अवस्था नभएको प्रतिक्रिया दिएका थिए । 

तर साँझ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन भाषणका क्रममा खोमेनी मारिएको दाबी गरे ।

त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा खामेनी मारिएको घोषणा गरे । 

आइतबार बिहान इरानी स्टेट मिडियाले नै खामेनी मारिएको पुष्टि गर्‍यो । टिभी प्रिजेन्टरले रुँदै अमेरिका र इजरायलको आक्रमणमा सर्वोच्च नेता अयोतुल्लाह अलि खामेनीको मृत्यु भएको घोषणा गरे । 

इरानमा खामेनीको चार दशक लामो शासन अन्त्य भयो । 

०००० 

अमेरिकाले यसलाई अपरेसन इपिक फ्युरी नाम दिएको छ । अनि इजरायलले अपरेसन लायन । 

र, खामेनीको हत्या इजरायली जासुसी संयन्त्रले दशकौंसम्म गरेको सूचना संकलनको परिणती थियो । जसलाई पछिल्लो ६ महिनादेखि सीआईए र अरु अमेरिकी गुप्तचर निकायहरुले प्राविधिक र मानवीय सहयोग गरेका थिए । 

अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएले महिना दिन भन्दा अगाडिदेखि खामेनीलाई ट्रयाक गरिरहेको थियो । 

यसबाट खामेनीको लोकेसन र उनको बसाइको अवस्थाबारे प्रशस्त र भरपर्दो सूचना हात पारेको थियो । 

कतिसम्म भने खामेनी कति बेला उठ्छन्, कति बेला खाना खान्छन्, दिनभरि कहाँ कहाँ जान्छन् भन्नेसम्मको सूचना सीआईएसँग थियो । 

यद्यपि आक्रमण भएको दिन शनिबारको दिनको सेड्युलको सूचना भने केबल केही घण्टाअघि मात्र पाएको थियो । 

त्यो दिन लिडरसिप हाउसमा इरानका उच्च तहका अधिकारीहरुको बैठक थियो । खामेनी त्यही बैठकमा उपस्थित हुनेबाला थिए । त्यो सूचना अमेरिका र इजरायलका लागि ठूलो अवसर बन्यो । 

त्यसैले यो आक्रमण ट्याक्टिकल र अपरेशनल सरप्राइज थियो । सामान्य अनुमान के थियो भने इजरायलले रातको समयमा आक्रमण गर्नेछ । गत जुन महिनामा तेहरानमाथि आक्रमण गरेजस्तै खालको । 

तर खामेनीसहितका नेताहरुको बैठक भइरहेको सूचना पाएपछि त्यही मौकामा बिहानै आक्रमण गर्‍यो । 

०००

शनिबार बिहान इजरायल र अमेरिकाको आक्रमण सुरु हुनुभन्दा अगाडि खामेनीले रक्षामन्त्री अलि सामखानी र राष्ट्रिय सुरक्षा परिसदका सचिव अलि लारिजनीसँग गोप्य स्थानमा भेट गरेका थिए ।

त्यसपछि खामेनी आफ्ना ७ जना सैनिक नेतृत्वसहित बैठकमा सहभागी भए । 

त्यहाँ उनको परिवारका सदस्य, नजिकका आफन्त र ४० जना अरु इरानी नेताहरु पनि थिए । 

उनीहरु सबैले केबल एक मिनेटभित्रै ज्यान गुमाए । 

इजरायलसँग एयर स्ट्राइकको धेरै अनुभव थियो । उसले विगतका वर्षमा प्यालेस्टाइनी लडाकू समूह हमास र हेजबुल्लाहका शीर्ष नेताहरुको हत्या यस्तै आक्रमणमा गरेको थियो । 

तर राष्ट्र प्रमुख माथि नै यो तहको आक्रमण भने उसका लागि पनि पहिलो थियो । 

आक्रमणको टाइमिङ सीआईएले दिएको सूचनाका आधारमा निर्धारण गरिएको थियो 

सीआईएले खामेनी त्यो बैठकमा बस्ने समयसहितको सूचना इजरायली गुप्तचर निकायलाई दिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । 

इजरायली गुप्तचर निकाय आफैंले पनि खामेनीको धेरै वर्ष पहिलेदेखि ट्र्याकिङ गरिरहेको थियो । खामेनी र उनका परिवारका सदस्य र नियमित भेटघाट गरिरहने मानिस र अधिकारीको दैनिक रुटिङसहितको डिटेल फाइल तयार पारेको थियो । 

फाइनान्सियल टाइम्सका अनुसार इजरायलले तेहरानमा भएका ट्राफिक क्यामेराहरु वर्षौंदेखि ह्याक गरेको थियो । त्यहाँको फुटेज सोझै इजरायलको तेल अविव र दक्षिणी इजरायलमा रेकर्ड हुने बनाएको थियो ।

खामेनीको सुरक्षामा कति सुरक्षाकर्मी छन्, उनी कुन रुट भएर हिँड्छन्, इरानका को को सैनिक अधिकारी उनीसँग हुन्छन् भन्नेजस्ता सूचना पनि इजरायलले पाएको थियो ।  

इजरायली अफिसरहरुले ‘हामी जति जेरुसेलमलाई बुझ्छौं, तेहरानलाई पनि त्यत्ति नै बुझ्छौं’ भन्थे ।

इजरायलले इरानी नेतृत्वको गतिविधि बुझ्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स टुल्स र अल्गोरिदमको पनि प्रयोग गरेको थियो । सीआईएले सूचना दिएपछि इजरायल र अमेरिकी सैनिकले आक्रमण गरे । 

आक्रमणमा खामेनीलाई नै पहिलो टार्गेट गरिएको थियो । त्यसका लागि अति गोपनीयता अपनाइएको थियो । उनले एउटा मात्र चान्स पाए भने लुक्न सक्छन् भन्ने अमेरिका र इजरायलको बुझाइ थियो । 

त्यसपछि इजरायल र अमेरिकी टोलीले यो मौका छाड्नु हुन्न भनेर तत्कालै आक्रमण गरिहाले । 

इजरायली जेट तेहरान पुग्न करिब दुई घन्टा लाग्नसक्छ । तर यो आक्रमणमा उसले कुन हतियार प्रयोग गरेको भन्ने खुलेको छैन । समाचारहरुमा जनाएअनुसार इजरायली जेट विमानले स्थानीय समय अनुसार विहान करिव ९ः४० बजे लिडरसिप कम्पाउन्डमा ३० वटा मिसाइल प्रहार गरेको थियो । 

यो किन हुनसक्छ भने खोमेनी आफ्नो सुरक्षाका लागि कम्पाउण्डको तल अण्डरग्राउण्ड बंकर प्रयोग गर्दै आएका थिए । टार्गेटमा पक्का आक्रमण गर्न निकै गहिराईसम्म जानसक्ने हतियार चाहिन्छ । 

हुन त गत जुनमा पनि इजरायलले इरानमाथि आक्रमण गरेको थियो । १२ दिन लामो त्यो युद्धमा इजरायली एजेन्टहरुले इरानका न्युक्लियर साइन्टिस्टहरुको घर, इन्टेलिजेन्स अफिसर र सैन्य कमान्डरबारेको सूचना संकलन गरेको थियो । त्यतिबेला नै खामेनीको हत्या गर्न पनि खोजेको थियो । 

तर त्यतिबेला टूम्पले खतरा देखे । हेड अफ स्टेटको हत्यापछि त्यस क्षेत्रमा तनाव बढ्न सक्ने भन्दै सहयोगी देशहरुले इरानमाथि आक्रमण नगर्न आग्रह गरेका थिए । यसपालि त्यो कारण गौण भइसकेको थियो । त्यसैले इजरायल र अमेरिकाले खामेनीमाथि आक्रमण गर्ने उपयुक्त मौका यही हो भनेर पहिचान गरेका थिए । र, सर्वोच्च नेता खामेनीको हत्या गरिछाडे । 

सर्वोच्च नेता खामेनीको मृृत्युपछि पनि अमेरिका र इजरायलले अमेरिकामाथि आक्रमण गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार उत्पादन नगर्ने ग्यारेन्टी नभएसम्म आक्रमण जारी रहने चेतावनी दिएका छन् ।

इरानका सबै मिसाइल कारखाना ध्वस्त गर्ने अमेरिकाको चेतावनी छ । 

इरानले भने अमेरिकाको आक्रमणलाई अनावश्यक, गैरकानुनी र अवैध भनेको छ । अमेरिकाको आक्रमणको विरोधमा उसले इजरायल र खाडी राष्ट्रमा रहेका अमेरिकी सैनिक क्याम्पहरुमा आक्रमण गरिरहेको छ । 

को हुन् खामेनी ?

इरानका सर्वोच्च नेता खामेनी ८६ वर्षका थिए । उनी इरानी गणतन्त्र आन्दोलनका एक सहभागी थिए र, १९८९ देखि इरानको सर्वोच्च नेता थिए ।

सन् १९७९ मा इरानका राजा मोहम्मद रेजा पहल्वीको सत्ता ढालेर नेता आयातुल्लाह रुहल्लाह खोमेनी सर्वोच्च नेता बनेका थिए । उनको मृत्युपछि आयातुल्लाह अलि खामेनी १९८९ मा सर्वोच्च नेता बनेका थिए । इरानमा राज्यका सबैजसो निकाय उनकै नियन्त्रणमा थिए । 

सन् १९७९ मा राजा रेजा पहल्वी अपदस्थ भएदेखि अमेरिकासहित पश्चिमा शक्तिसँग इरानको सम्बन्ध राम्रो भएन । 

आणबिक हतियार निर्माणको विषयलाई लिएर अमेरिका र इरानबीच सम्बन्ध चिसिएको थियो । इरानले भने आफ्नो आणविक कार्यक्रम नागरिकको सुरक्षाका लागि मात्र भएको दाबी गर्दै आएको थियो । 

अमेरिकाले भने इरानको आणविक कार्यक्रमलाई देखाएर इरानमाथि प्रतिबन्ध लगाएको थियो ।

इरानमा अमेरिकी डलरको तुलनामा इरानी रियालको मूल्य घटेपछि सर्वसाधारणले आन्दोलन गरेका थिए । आन्दोलनमा सरकारले चरम दमन गरेपछि डोनाल्ड ट्रम्पले आक्रमण गर्ने चेतावनी दिएका थिए । 

अमेरिका र इरानबीच तेहरानमा भएको आणविक वार्ता समेत निश्कर्षमा पुग्न सकेन । त्यसको केही समयमै अमेरिकी आक्रमणमै खामेनीले ज्यान गुमाउनुपर्‍यो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व