नेभिगेशन
विश्व

किमसँगै सैनिक परेडमा हिँड्ने किशोरी को हुन् ?

हिजोआज उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन पब्लिक कार्यक्रममा जाँदा उनीसँगै सानी बालिका पनि देखिन्छिन् ।  

कहिले उनी ब्यालेस्टिक मिसाइल फ्याक्ट्रीमा देखिन्छिन्, कहिले सैनिक परेड हेरिरहेकी हुन्छिन् । कहिले सैनिकको सुरक्षा घेराभित्र पेस्तोल चलाइरहेकी हुन्छिन् । 

गत वर्ष चीनले जापानमाथिको जीतको सम्झनामा गरेको सैनिक परेडमा पनि उनी किम जोङ उनसँगै सहभागी भएकी थिइन् । 

बाबु किम जोन उनसँग धेरै कार्यक्रममा देखिएकाले ती बालिकालाई भविष्यमा उत्तर कोरियाको सर्वोच्च नेताका रुपमा हेरिएको छ । 

किनकी उनी किम जोन उनकी छोरी हुन् । किमले सन् २०२२ मा पहिलो पटक छोरी किम जु ए लाई सार्वजनिक कार्यक्रममा सँगै लिएर गएका थिए । 

त्यो इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल लन्च गर्ने कार्यक्रम थियो । त्यसपछि उनी बाबुसँग धेरै कार्यक्रमहरुमा देखापरिसकेकी छन् । 

उत्तर कोरियाको समाचार संस्था केसीएनएले गत महिना उनको तस्वीरहरु प्रकाशन गरेको थियो । जसमा उनले आर्मीको ट्यांक चलाइरहेकी थिइन्, उनका बुबा किम पनि उनीसँगै त्यही ट्यांकमा बसेका थिए । 

गत मार्चको सुरुमा उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले एउटा फोटो प्रकाशन गरेको थियो, जसमा गोलाबारुद्ध कारखानाको निरीक्षणका क्रममा किमकी छोरीले दुईवटा पेस्तोल पड्काएकी थिइन् । 

यी फोटाले बाबुछोरीले समय बिताइरहेको मात्र बताउँदैन, यसले उत्तर कोरियाको अबको सर्वोच्च नेता यीनै किशोरी हुन् भन्ने संकेत गरिरहेको छ । 

किमका अरु छोराछोरी अहिलेसम्म सार्वजनिक भएका छैनन् । किमसँगै देखिने छोरीबाहेक किमको सम्भावित उत्तराधिकारीको रुपमा कुनै मान्छे देखा पारेको छैन । 

गत फेबु्रअरीको अन्तिममा किम उनकी छोरी किम जु ए सैनिक अधिकारीहरुसँगै पोडियममा उभिएकी थिइन् । सैनिकले मार्च पास गरिरहेको हेरिरहेकी थिइन् । 

किम र उनकी छोरी कालो लेदरको ज्याकेटमा देखिएका थिए । किमले पब्लिक इभेन्टमा प्राय यस्तै ज्याकेट लगाउने गरेका छन् र छोरीलाई पनि त्यस्तै ज्याकेटमा सार्वजनिक गराइरहेका छन् । 

उत्तर कोरियाका सञ्चार माध्यमहरुले उनलाई किमले सबैभन्दा बढी माया गर्ने र सम्मान गर्ने बच्चाको रुपमा ब्याख्या गरेका छन् । 

किम परिवारको विषयमा नै धेरै रहस्य छ । उनको तीन छोरीमध्ये सार्वजनिक भएकी छोरी किम जु ए माइली छोरी हुन् । यद्यपि यसको पनि आधिकारिक पुष्टि भएको छैन । 

तर उनी किम जोङ उनको छोरी हो भन्ने कुरा चाहिँ प्रमाणित भएको छ । 

अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यान, सन् २०१३ मा उत्तर कोरिया भ्रमणमा गएका थिए । बाहिरी दुनियाँमा उनी नै यस्ता स्रोत हुन्, जसले किम जोन उनको छोरी छ भन्ने कुरा पुष्टि गरेका छन् । 

‘म र सर्वोच्च नेता किमको फ्यामिली समुद्र किनारमा सँगै बसेका छौं’, सन् २०१३ मा रोडम्यानले बेलायती सञ्चार माध्यम द गार्डियनसँग भनेका थिए, मैले उनीहरुको बच्चा किम जु ए लाई काखमा लिएको थिएँ, किमकी श्रीमतीसँग पनि कुरा गरेको थिएँ । किम एक असल बाबु हुन् र उनको परिवार सुन्दर छ ।’ 

रोडम्यानले भनेकै आधारमा किम जु ए को उमेर १३ वर्ष हो भन्ने अन्दाज गरिएको हो । किमको खानदान सबै रहस्य नै रहस्यले घेरिएको छ ।

किम जोङ उन पहिलो पटक सार्वजनिक हुँदा पनि उनीबारे यस्तै रहस्यहरु थिए । किमले आफूले विवाह गरेको लामो समयसम्म पत्नी री सोल जु लाई सार्वजनिक गरेका थिएनन् । 

०००० 

किम जु ए, उनका हजुरबा, बुबा र फुपु भन्दा बाहिरी संसारसँग कम सम्पर्कमा छिन् । उनीहरु सबैले युरोपेली देशमा पढेर आएका थिए, तर किम जु ए को पढाइ उनको घरमै भइरहेको छ । उनी उत्तर कोरियामै बस्छिनु् । उनी घोडचडी, स्की र पौडी खेलको अभ्यास गरिरहेकी छन् । 

तर उनको जीवन धेरै बिलासी देखिन्छ । उनी धेरैजसो डायरको छालाको ज्याकेटमा देखिन्छिन् । डिजाइनरहरुले बनाएको लुगा लगाउँछिन् ।

समुद्र किनारमा बुबासँगै छुट्टी मनाइरहेकी हुन्छिन् । 

दक्षिण कोरियाको खुफिया एजेन्सी नेशनल इन्टेलिजेन्स सर्भिस एनआईएसले उत्तर कोरियाको विश्वस्त सूत्रका आधारमा यिनी नै किमको उत्तराधिकारी भएको बताएको छ । 

दक्षिण कोरियाको खुफिया एजेन्सी एनआईएसका प्रमुख लि जोङ शोकले अप्रिल दोस्रो हप्ता आफ्नो देशका सांसदहरुलाई किम जोन उनकी छोरीका बारेमा जानकारी गराएका थिए । 

उनले विश्वस्त सूत्रहरुका आधारमा किमको उत्तराधिकारी उनी नै हुने सम्भावना बलियो रहेको सुनाएका थिए । 

अहिले उत्तर कोरियामा किमपछि दोस्रो नम्बरमा उनकी बहिनी किम यो जोङ रहेकी छन् । दक्षिण कोरियाली सांसदहरुले छोरीलाई अगाडि सार्दा बहिनीले बिद्रोह गर्ने सम्भावना कत्तिको छ भनेर पनि जिज्ञासा राखेका थिए । 

तर खुफिया एजेन्सी प्रमुखले किमकी बहिनीसँग अहिले पनि कुनै अधिकार नरहेकाले उनले बिद्रोह गर्ने सम्भावना नरहेको जवाफ दिएका थिए ।

किम जु ए को उमेरलाई लिएर पनि धेरै प्रश्न उठेको छ । किमले उत्तराधिकारीको प्रोजेक्सन गर्न छिटो भएको प्रतिक्रियाहरु पनि आइरहेका छन् ।

किम आफैं जम्मा ४२ वर्षका भए । उनले अझै लामो समय आफैं शासन गर्न सक्छन् । 

उनी अहिले वर्कर्स पार्टी अफ कोरियाको महासचिव छन् । यो पार्टीको सदस्यता लिन १८ वर्ष हुनुपर्छ । अहिले उनकी छोरी पार्टीको सदस्य पनि हुन पाउँदिनन् । त्यसैले उनी सैनिक परेडहरुमा सहभागी भइरहे पनि पार्टीको बैठकहरुमा सामेल भएकी छैनन् । 

किम जु ए को उमेरजस्तै लिंगलाई लिएर पनि प्रश्नहरु उठेका छन् । किनकी उत्तर कोरिया पितृसत्तात्मक देश हो । सन् १९४८ सालमा उत्तर कोरिया स्थापना भएदेखि अहिलेसम्म उत्तर कोरियामा महिला सुप्रिम लिडर बनेको छैन । किम जोङका छोरा छन् कि छैनन् पनि यकिन छैन । 

दक्षिण कोरियाली खुफिया एजेन्सी एनआईएसका अनुसार किम जोङ उनकी छोरीको तस्वीर सार्वजनिक भइरहनुले महिला उत्तराधिकारीको बारेमा शंका निवारण गर्न खोजिएको र उनको सैन्य क्षमतालाई जोड दिन खोजिएको हो । 

महिला सर्वोच्च नेता हुने कि नहुने उनलाई सैनिक नेतृत्वले कत्तिको विश्वास गर्छ भन्ने पनि प्रश्न छ । तर यी प्रश्न उत्तर कोरिया बाहिरका हुन् । उत्तर कोरियाले किम जु ए बारे के सोच्छ भन्ने अनुमान मात्र गर्ने हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व