नेभिगेशन
समाज

सांसद विकास कोषको बजेट दिएवापत प्रदेश सांसदले लिए ४० प्रतिशतसम्म कमिसन

अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

मधेश प्रदेशसभाका एक सांसदले आफ्नो निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दिएवापत उपभोक्ता समितिबाट ४० प्रतिशतसम्म कमिसन बुझेको फेला परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिबाट कमिसन बापत ३८ लाख ५० हजार ३१९ रुपैयाँ बुझेको आरोपमा महोत्तरी ४(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सरोजकुमार सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिंह मधेश सरकारको पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत हुन् । उनले आफ्नो प्रदेश संसदीय विकास कोषबाट बजेट दिएवापत उपभोक्ता समितिबाट १२ देखि ४० प्रतिशतसम्म कमिसन बुझेको पाइएको अख्तियारको भनाइ छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा महोत्तरी ४ (ख) को निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडाहरुमा विकास योजनाहरु संचालन गर्नको लागि उपभोक्ता समिति गठन भएका थिए ।

सडक, मन्दिर, धर्मशाला निर्माण आदि कामका लागि उपभोक्ता समितिले पाएको बजेटमध्ये औसतमा २८ प्रतिशत रकम प्रदेशसभा सदस्य सिंहको खातामा नै फिर्ता गरेको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनले रधवा पिपलदेखि सहसौलासम्म अनेहरभाट स्थानदेखि जनता  प्रावि हुँदै लक्ष्मीनियाँसम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिबाट ४० प्रतिशत कमिसन बुझेको अख्तियारको भनाइ छ ।

यो उपभोक्ता समितिले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ४७ लाख २९ हजार ७५० रुपैयाँ बजेट पाएको थियो । जसमध्ये १८ लाख ९१ हजार ९०० रुपैयाँ प्रदेशसभा सदस्य सिंहलाई फिर्ता गरेको अख्तियारको भनाइ  छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका योजना कार्यान्वयन गर्न उपभोक्ता समितिहरुको नाममा लक्ष्मी सनराइज बैंकमा खाता खोलिएको थियो ।

उपभोक्ता समितिको खातामा १ करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँ जम्मा भएकामा प्रदेशसभा सदस्य सिंह र उनकी पत्नी सरिताकुमारी महतो सिंहको नाममा त्यसै बैंकमा रहेको संयुक्त खातामा ३८ लाख ५० हजार ३१९ रुपैयाँ जम्मा गरेको देखिएको अख्तियारको भनाइ  छ ।

अख्तियारले प्रदेशसभा सदस्य सिंहसँगै उनलाई कमिसन दिने उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज