साथीहरुलाई जोगाए, आफू भने बाकसमा फर्किए
१७ वर्षकी पुष्पा जोशी, उमेरले त सानै छिन् । तर, परिस्थितिले उनलाई सानो भइरहन दिएन ।
२०८० को असोज २० गते इजरायलमा आफ्ना दाजु विपिन जोशी हमास विद्रोहीको अपहरणमा परेदेखि नै उनले न्यायको लडाइँ लड्नुपर्यो ।
इजरायल पुगेको १८ दिनमै विपिनको अपहरण भएपछि परिवार विक्षिप्त थियो ।
पुष्पाका लागि विपिन दाजु मात्र थिएनन् । बाबुआमा शिक्षण पेशामा भएकाले सरुवा भइरहन्थे । पुष्पा र विपिन दाजु–बहिनी मात्रै हैन, साथी भएर बसे ।
परिवारका सबै सदस्य सँगै बस्न थालेको धेरै भएको थिएन । सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विषय पढिरहेका विपिनलाई इजरायलमा पढ्दै कमाउने अवसर आयो । एक वर्षको कुरा थियो, परिवारले विपिनलाई रोकेन । किनभने विपिनसँगै अरु थुप्रै साथीहरु पनि जाँदै थिए । पुष्पाले हाँसेर बिदाइ गरेकी थिइन्, विपिनलाई । तर, विपिन हमासको कब्जामा परेपछि पुष्पामाथि पहिरो खसेजस्तै भयो ।
घरमा बाबु र आमा अनि परिवारलाई ढाडस दिने उनी मात्रै न रहिन् । उनी बलियोसँग उभिंदा मात्रै परिवारले आँट जुटाउन सक्थ्यो, विपिन फर्काउने अभियानमा दह्रोसँग लाग्न सक्थ्यो । त्यही दायित्व बोध गरेर पुष्पा यो अभियानमा अगाडि आइन् ।
उनी कहिले बाबु र आमा नै लिएर काठमाडौं आइन्, त कहिले आमा लिएर अमेरिकासम्म पुगिन् । विपिनलाई फर्काउन उनले कसलाई भेटिनन्, कोसँग हारगुहार गरिनन् ?
फेरिइरहने सरकारमा प्रधानमन्त्री, परराष्ट्रमन्त्रीदेखि मुख्यसचिव र सचिवहरुलाई उनले पटक–पटक हात जोडिन्, दाजुको रिहाइका लागि अनुनय गरिरहिन् ।
बीचमा विपिन जीवितै रहेको प्रमाण दिने भिडियोहरु पनि सार्वजनिक भए । जसले परिवारको आशा पनि जीवितै राख्यो । कहिलेकाहीँ अनेक अफवाह फैलिँदा पनि पुष्पाहरुले तनाव भोग्नु पर्यो । तर पनि सम्हालिनुको विकल्प थिए ।
देशभित्र मात्रै हैन, देश बाहिरबाट कसको पहलले दाइलाई फर्काउन सकिन्छ भनेर पनि पुष्पा लागिरहिन् । उनले कहिले पनि हिम्मत हारिनन् । विपिनलाई एक दिन फर्काएरै छाड्ने प्रण गरिन् । उनी आफ्ना दाजु एक दिन सकुशल फर्किन्छन् भन्नेमा विश्वस्त थिइन् ।
विपिनको रिहाइको पहल गर्न पुष्पाले आमालाई लिएर अमेरिका नै पुगिन् । अमेरिकामै रहँदा हमाससँग वार्ता भइरहेका बेला विपिन छुटाउन दबाब दिन भन्दै हमासले अपहरणपछि रेकर्ड गरेर विपिनका भिडियो समेत पुष्पाले सार्वजनिक गरिन्, जुन भिडियो इजरायलले गाजामा कारवाही गर्दा हात पारेर परिवारलाई दिएको थियो । यो भिडियो विपिनलाई अपहरण लगत्तै हमासले रेकर्ड गरेको थियो ।
पुष्पाले विपिनलाई सकुशल फर्काउन हरतरहको जोडबल लगाइन् । रुँदा रुँदै सम्हालिएर परिवारलाई सान्त्वना दिइरहिन् ।
तिहारको मुखमा गाजामा युद्धबिराम भयो । बन्धकहरु फर्काउने क्रम सुरु भयो । पुष्पालाई मात्रै हैन, देशलाई नै आशा थियो, अब त विपिन फर्किन्छन् ।
तर, अमेरिका पुगेर पुष्पाले पहल लिँदा लिँदै उनले नसोचेको भयो । इजरायलले पुष्पालाई विपिन जीवित रहेको प्रमाण नभेटिएको भनेर जानकारी गरायो । तर, शव नभेटिएको भनियो ।
त्यतिबेलासम्म पनि पुष्पाहरुले आशा मारेका थिएनन्, तर जब विपिनको शब भेटिएको भनेर खबर आयो, त्यसपछि आशाको सबै दियो निभ्यो । पुष्पा र उनको परिवारमा बज्रपात पर्यो । दुई वर्षसम्म लडेको लडाइँ उपलब्धीहीन भयो ।
विपिन आज लक्ष्मी पूजाका दिन बाकसमा नेपाल फर्किएका छन् । विपिन जीवितै फर्किएका हुन्थे भने पुष्पाले यो तिहार विपिनको निधारमा सप्तरंगी टीका लगाइदिने थिइन् । मखमली र सयपत्री फूलको माला लगाएर दीर्घायुको कामना गर्ने थिइन् । विपिनका सबै वाधाहरु फुकाउन ओखर फोड्ने थिइन् । यो खुशी सायद पुष्पा अनि विपिनको परिवारले मात्रै हैन, सारा नेपालले देख्न पाने थियो ।
बिडम्बना निर्दोष भएर पनि विपिन विदेशी भूमिमा मारिनुपर्यो । यो उमंगको चाडका बेला विपिनको शव आँगनमा आइपुग्यो । पुष्पाले विपिनलाई भाइटीका हैन, अन्तिम विदाइको रंग लगाउनुपर्ने भयो ।
यतिबेला कञ्चनपुरको भीमदत्त मात्रै हैन, पुरै नेपाल स्तब्ध छ । विपिन इजरायलमा एक वर्षका लागि लर्न एन्ड अर्न कार्यक्रमका लागि विद्यार्थीकै रुपमा त्यहाँ पुगेका थिए ।
हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गर्दा विपिन र उनका साथीहरु बंकरभित्र थिए । तर, उनीहरु बसेकै बंकरमा हमास विद्रोदीले ग्रिनेड फाले । एउटा ग्रिनेड त विपिनले टिपेर बाहिर फ्याँके । एउटा ग्रिनेड पड्कियो, १० विद्यार्थीको मृत्यु भयो । विपिनले अर्को ग्रिनेड बाहिर नफालेको भए बंगरभित्र बचेका अरु १७ विद्यार्थीको अवस्था पनि पनि के हुन्थ्यो थाहा छैन ।
तर, तीनै बहादुर विपिन हमास विद्रोहीको कब्जामा पुगे । उनी हमासको कब्जामा परेदेखि नै सरकारले उनको रिहाइका लागि पर्याप्त पहल गर्न सकेन । त्यसैको परिणाम आज विपिन बाकसमा फर्किनुपर्यो । पुष्पाहरुले गरेको आशा पनि खरानी भयो ।
डोजर रोक्ने रास्वपाको निर्णय बालेनले मान्लान् ?
बुद्धको ज्ञान बोलीमा होइन, व्यवहारमा देखाऊ
अनलाइन सपिङमा ठगहरुको बिगबिगी, कसरी जोगिने ?
बालेनको निर्देशनपछि प्रहरीको खानतलासी, आतंकित छ सुकुम्बासी बस्ती
जेष्ठ नागरिकहरुमा विर्सने समस्या बढ्दो

-1777651991.jpeg)

-1777978198.png)



