हायात होटल बन्द हुनुको भित्री कथा
बौद्धमा रहेको पाँचतारे हायात होटल, एउटा समय नेपाली संस्कृति र विलासिताको फ्युजन थियो ।
तर पछिल्ला वर्षहरुमा सरकारी जग्गा हडप्ने भइरहेको चलखेल र कर्मचारी आन्दोलनका कारण बारम्बर चर्चामा आइरह्यो ।
अहिले फेरि हायात चर्चामा छ । कारण हो, आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको भन्दै व्यवस्थापनले अनिश्चितकालका लागि होटल बन्द गर्ने घोषणा ।
हायात होटलको कथा २०३४ सालमा सुरु हुन्छ, जब सरकारले आफ्नो पूर्ण स्वामित्व रहने गरी तारागाउँ विकास समिति गठन भयो । यसको उद्देश्य थियो, नेपाल आउने पर्यटकका लागि मौलिक आवास गृहसहित चमेना गृह र पर्यटकीय पूवाधारहरु बनाउने ।
होटल बनाउन भनेर बौद्धमा ३०४ रोपनी जग्गा पनि अधिग्रहण भयो । तर लामो समय काम भएन ।
समितिले २०४२/४३ मा बल्ल गुरुयोजना बनायो । जसअनुसार २ लाख ५५ हजार १३० स्क्वायर फिट जग्गामा ३०३ कोठा भएको पाँचतारे प्यागोडा शैलीको होटल बन्ने भयो । दोस्रो चरणमा नेपालका जोमसोम, मुस्ताङ, दामनजस्ता क्षेत्रको संस्कृति झल्किने गरी स्याटेलाइट लज बनाउने पनि गुरुयोजनामा उल्लेख थियो ।
२०४८ मा टेन्डर आह्वान भयो । टेण्डर हालेका १२ वटा कम्पनीमध्ये हायात रिजेन्सीले बाजी मार्यो । यो कम्पनी दरवारमार्गको याक एण्ड यती होटल चलाइरहेका राधेश्याम सर्राफ र आईसीटीसीमा आबद्ध रामलाल श्रेष्ठ समूहको संयुक्त लगानीको थियो ।
२०४८ पुस १० गते तारागाउँ विकास समिति र लगानीकर्ताबीच प्रारम्भिक सम्भौतामा हस्ताक्षर भयो । जसमा होटलमा तारागाउँ विकास समितिको सेयर स्वामत्वि ३९.७७ प्रतिशत हुने भनिएको थियो । २०४९ मा संयुक्त लगानी सम्झौता हुँदा त्यो कायम रहेन ।
१५० रोपनी जग्गाबापत तारागाउँ विकास समितिको २२.८५ प्रतिशत सेयर मात्र रहने उल्लेख भयो । किनकी तारागाउँ रिजेन्सी होटल लिमिटेड कम्पनीको कुल जारी पुँजी ७४ करोड ४० लाख ८७ हजार ५ सय रुपैयाँ कायम गरियो । १५० रोपनी जग्गाको मूल्यबापत १७ करोडको १७ लाख कित्ता सेयर तारागाउँ विकास समितिले पायो ।
१८ करोड ४५ लाख लगानी गरेको सर्राफ समूहको २४.८० प्रतिशत लगानी हुने भनियो । श्रेष्ठ समूहले १२ करोड ३० लाख रुपैयाँको अर्थात् १६.५२ प्रतिशत सेयर लियो ।
सर्वसाधारणको १२ करोड अर्थात् १६.१३ प्रतिशत लगानी तय भयो । एसियाली विकास बैंकका लागि १४ करोड ६५ लाख ८७ हजार ५०० रुपैयाँको १९.७० प्रतिशत सेयर रहने तय भयो । लगानीको मोडल टुंगिएपछि पनि होटलको निर्माण सुरु गर्न अर्को चार वर्ष लाग्यो ।
२०५२ पुस १२ गते तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरे । होटल बनाउन अरु ५ वर्ष लाग्यो । २०५७ असोजमा तत्कालीन राजा वीरेन्द्रले होटलको उद्घाटन गरे ।
यो होटल नेपाली कला, वास्तुकला र सांस्कृतिक सौन्दर्य झल्किने गरी बनेको थियो । पूर्णतः नेपाली कल्चरल सेन्टरको अवधारणामा बनेकाले होटल देशी–विदेशी पर्यटक र सरकारी पाहुनाको रोजाइमा पनि पर्यो । अन्तर्राष्ट्रिय सभा सम्मेलनहरु पनि हुन थाल्यो । ४०० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पनि पाए ।
उच्चस्तरीय आतिथ्य सेवाका बाबजुद होटलले छिट्टै समस्या पनि सामना गर्नु पर्यो । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षतिर पुग्दै थियो । २०५८ जेठ १९मा राजा वीरेन्द्र र उनको परिवारको नारायणहिटीमै हत्या भएपछि नेपालमा पर्यटक आगमन सुस्तायो ।
ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएर संकटकाल लागेपछि त देशको अवस्था खराब छ भन्ने सन्देश गयो । नेपाल आउने विदेही पर्यटक घटे, हायात निरन्तर घाटामा गइरह्यो । हायातलाई नाफा कमाउन मात्रै २० वर्षभन्दा बढी समय लाग्यो ।
एसियाली विकास बैंक घाटामै सेयर बेचेर हिँड्यो । नेपाल सरकारको शेयर स्वामित्व भनेर निरन्तर घटेर ९ प्रतिशतमा खुुम्चिएको छ । सुरुमा ३९ प्रतिशत हुने भनिएको सेयर २२.८५ हुँदै अहिले ९ प्रतिशतमा झर्नुको कारण हो, निरन्तरको घाटा ।
होटल घाटामा गएपछि निजी क्षेत्रका सञ्चालकहरुले हकप्रद सयेर जारी गर्दै थप लगानी गरे । तर तारागाउँ विकास समितिले हकप्रद सेयर लिन मानेन । यही कारण २०१२ मा सरकारको सेयर १५.६२ प्रतिशतमा खुम्चियो । बैंकहरुसँग कम्पनीले लिएको ऋणलाई सेयर पूँजीमा परिणत गर्दा थप खुम्चिएर १०.१५ प्रतिशतमा झर्यो ।
अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्दा हायातमा तारागाउँको सेयर हिस्सा ९.०१ प्रतिशतमा आयो ।
सर्राफ र श्रेष्ठ समूहको दाबी छ कि होटल निरन्तर घाटामा जाँदा अरुले लगानी थपे । तर तारागाउँ विकास समितिले लगानी नथपेकाले सरकारको सेयर हिस्सा क्रमशः खुम्चिएको हो ।
झट्ट सुन्दा कुरा ठीकै लाग्छ । तर यसमा आशंकाहरु छन् । सबभन्दा पहिला त जग्गाको मूल्यांकनमै प्रश्न छ । किन त्यो जग्गाको मूल्यांकन यति कम गरियो भन्ने प्रश्न छ ।
विदेशी अनुभवी व्यवस्थापकले चलाएको होटल लामो समयसम्म कसरी घाटामा गयो भन्ने अर्को प्रश्न छ । अनि १० वर्षभित्रै गर्नपर्ने भनिएको काम २५ वर्षमा पनि भएको छैन, तर लगानी थप्ने नाममा सरकारको शेयर स्वामित्व निरन्तर कम गर्ने काम मात्र भएको छ ।
हुन त हायात अहिले पनि सरकार र हजारौं सर्वसाधारणको सेयर रहेको पब्लिक लिमिटेड कम्पनी हो । होटल सञ्चालक समितिमा तारागाउँ विकास समितिका प्रतिनिधि पनि छन् । त्यसका बाबजुद होटल हायतको हरहिसाबमा पारदर्शीताको प्रश्न छ ।
होटल निरन्तर घाटा देखाउने र सरकारी जग्गा हडप्ने चलखेल त होइन भन्ने गम्भीर प्रश्न छ ।
यही बेला दुर्घटना भयो । जेनजी आन्दोलनका क्रममा सेप्टेम्बर ९ मा होटलमा पनि आक्रमण भयो । होटल र त्यहाँ चलाइएको क्यासिनोभित्र लुटपाट भयो । रातभर पर्यटकहरुलाई आतंकित पारियो ।
होटलभित्रै आगो लगाइयो । ज्यान बचाउन चार तलामाथिबाट हामफलेकी एक जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भयो ।
तोडफोड, आगजनी र भारतीय पर्यटकको मृत्युलाई देखाएर व्यवस्थापनले होटल बन्द गरेको छ ।
सरकारले होटल बन्द नगरी पुनर्निमार्ण गर्न आग्रह गरेको थियो । तर पुनर्निमार्णका लागि डेढदेखि २ वर्ष लाग्ने देखाएर व्यवस्थापनले अनिश्चितकालका लागि बन्द गर्ने सूचना निकाल्यो । यसले त्यहाँ कार्यरत करिव ४०० कर्मचारी अप्ठ्यारोमा परेका छन् ।
बन्द भएको होटलको हालत ढिलो चाँडो फेरि खुल्ला, अहिले अप्ठ्यारोमा परेका कर्मचारीले पनि काम पाउलान् ।
तर महत्वपूर्ण प्रश्न चाहिँ, बन्द भएको होटल खुल्दा सरकारको शेयर स्वामित्व चाहिँ रहला कि नरहला भन्ने हो । किनकी हायात दशकौंदेखि कमजोर व्यवस्थापन र पारदर्शीताको अभावमा चलेको छ । डेढ सय रोपनीभन्दा बढी सरकारी जग्गा हडप्ने खेल चलेको छ ।
गुपचुप आयो मेलम्चीको पानी
विपी राजमार्गका लागि जापानको २ अर्ब ६० करोड अनुदान
२८३ मेगावाट विद्युत निर्यात अनुमति भयो नवीकरण
भारतसँग जोडिने थप दुई ठूला प्रसारणलाइन बन्ने तय

-1761836913.jpg)






