नेभिगेशन
समाज

दिनरात काम, तलब चाहिँ १५ हजार !

उनीहरु दिन रात काम गर्छन् । 

अरुको जीवन बचाउँछन्, आफ्नै जीवन भने संघर्षमा काटिरहेका छन् । 

नेपालमा धेरै नर्सहरुले महिनाको १०–१२ हजार रुपैयाँ मात्र तलब पाउँछन् । 

तर यसपाली नर्सहरु चुप बस्न तयार भएनन्, आन्दोलनको सुरुवात पोखराको मणिपाल शिक्षण अस्पतालबाट भयो । 

गण्डकीको प्रतिष्ठित शिक्षण अस्पताल हो, मणिपाल । त्यहाँ करिव साढे २०० नर्स कार्यरत छन् । तर अस्पतालले उनीहरुलाई न्यूनमत पारिश्रमिक मासिक १५ हजार मात्र दिने गरेको छ । 

सरकारले तोके सरह सेवा सुविधा पाउनुपर्ने माग गर्दै मणिपालका नर्सहरुले आन्दोलन थाले । अनि त्यो आन्दोलन देशभर फैलिएको छ । निजी मात्र होइन, सरकारी अस्पतालका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् ।

नर्सहरुको माग प्रष्ट छ, 

सरकारले तोकेअनुसार पारिश्रमिक 

कार्यस्थलमा सुरक्षित वातावरण 

तहगत बृत्तिविकास 

नेपाल नर्सिङ संघका अध्यक्ष चन्द्रकला शर्माका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ साल मंसिरमा एउटा परिपत्र गरेको थियो, जसमा नर्सहरुको इन्ट्री लेभल सेवा सुविधा सरकारी पाँचौं तहको सरह हुनुपर्ने भनिएको थियो । त्यो भनेको न्यूनतम तलब ३४ हजार ७३० रुपैयाँ हो ।

रात्रीकालीन भत्ता लगायत जोड्दा ४० हजार हाराहारी हुन्छ । उनका अनुसार यो पारिश्रमिक आफैंमा पर्याप्त होइन । 

तर निजी अस्पतालको अवस्था उल्टो छ । धेरै जसो निजी अस्पतालमा कार्यरत नर्स सरकारले भनेको स्केलको आधा पनि तलब पाएका छैनन् । अहिले पनि १२–१५ हजार मासिक तलबमा काम गर्ने नर्सहरु धेरै छन् । नाम चलेका अस्पतालमा पनि २०/२५ हजार भन्दा बढी छैन । 

१२ घन्टाको सिफ्ट  

रातमा पनि ड्युटी  

हप्तामा ४८ घन्टासम्म काम 

तलब चाहिँ हातमुख जोर्न पनि नपुग्ने ?

त्यसैले देशभरका निजी अस्पतालमा कार्यरत नर्सहरु श्रमको उचित मूल्यांकन हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सरकारी अस्पतालमा कार्यरत नर्सहरुले पनि साथ दिए । नेपाल नर्सिङ संघले पनि चरणबद्ध दबावमूलक कार्यक्रम घोषणा गरेको छ ।

तर अस्पताल व्यवस्थापनले सुनेको छैन । बरु काम गर्न मन छैन भनेर जागिर छोडेर जाऊ, बिरामीको मृत्यु भयो भने कसले जिम्मा लिन्छ भनेर धम्काएका छन् ।

यसरी खुलेआम धम्क्याउने अरु कोही होइनन्, बिराट नर्सिङ होम अस्पतालका अध्यक्ष ज्ञानेन्द्र मान सिंह कार्की हुन् । 

बिराट नर्सिङ होम पूर्वको महंगो अस्पतालममध्ये एक पर्छ । अस्पतालमा दैनिक हजारभन्दा बढी बिरामी आउँछन् । बिरामीहरुको सेवामा खटिने नर्सहरुको तलब भने मासिक १२ हजार रुपैयाँ मात्र छ । पटकपटक भन्दा पनि नसुनेपछि त्यहाँ कार्यरत नर्सहरु आन्दोलनमा उत्रिए ।

नर्सहरु आन्दोलनमा उत्रिएपछि सेवा प्रभावित भयो, अस्पतालमा भर्ना भएका बिरामीहरु रिफर लिएर अन्यत्र जान थाले ।

त्यसपछि पनि अस्तालका अध्यक्ष कार्कीले नर्सहरुको माग सम्बोधन गर्न तयार भएनन् । बरु बिरामीको मृत्यु भयो भने कसले जिम्मा लिन्छ भन्दै धम्क्याएका हुन् । 

कार्की मात्र होइन, अरु निजी अस्पतालका सञ्चालहरु पनि नर्सहरुको माग सम्बोधन गर्न तयार छैनन् । निजी अस्पतालहरुको छाता संगठन अफिनका अध्यक्ष पदमबहादुर खड्का नर्सहरुको यति तलब दिनुपर्छ भनेर कुनै कानुनले नभनेको बताउँछन् । 

त्यही कारण मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन गर्न आफूहरु बाध्य नहुने उनले बताए ।

बढ्दो विदेश पलायन 

नेपालमा नर्स बन्न सहज छैन । उनीहरुले सीटीईभीटीको तीन वर्षे पीसीएल नर्सिङ कोर्स पास गर्नुपर्छ । यसका लागि कलेजको शुल्क मात्र ७ लाख हाराहारी छ । अरु सबै शुल्क जोड्दा १० लाख रुपैयाँ कट्छ । 

पीसीएल नर्सिङ पास गरेपछि नर्सिङ काउन्सिलको परीक्षा पास गर्नुपर्छ । त्यसपछि बल्ल अस्पतालमा काम गर्न पाइन्छ । केही वर्ष पहिलासम्म सुरुमा भोलेन्टियर गराउने अभ्यास थियो । तर अहिले यो अभ्यास छैन । तर तलब सुविधा अहिले पनि निकै कम छ । 

केही पहिलासम्म धेरै निजी अस्पतालले ८–१० हजार तलब दिने गरेका थिए । अहिले पनि केही अस्पतालमा इन्ट्री लेभलमा १० हजार तलब छ । अरुमा पनि १२–१५ हजार छ । 

नर्स बन्न लाखौं खर्चिएका हुन्छन् । दिनरात नभनेर काम गर्नुपर्छ । चाडपर्व, साथीभाइ केही भन्न पाइँदैन । आफ्नो जीवन नै जोखिममा राखेर काम गरेका छन् । 

तर तलब चाहिँ हातमुख जोर्न समेत धौधौ पर्ने हुन्छ । 

त्यसैले धेरै नर्सहरु विदेशिएका छन् । 

हालसम्म नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका नर्सहरुको संख्या सवा लाख पुगेको छ । यसमध्ये करिव १८ हजार सरकारी सेवामा छन् । निजी अस्पतालहरुमा कति नर्सहरु कार्यरत छन् भन्ने यकिन विवरण छैन, तर सरकारी सेवाकै हाराहारीमा रहेको अनुमान छ । 

ठूलो संख्यामा नर्सहरु विदेशिएका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया, जपान मात्र होइन, खाडी मुलकमा समेत जान्छन् । किन ? त्यहाँ उनीहरुको पेशाको सम्मान छ । उनीहरुले पाउने सेवा सुविधा पनि राम्रो छ । 
त्यसैले पछिल्ला वर्षहरुमा विदेशिने नर्सहरुको संख्या बढ्दो छ । 

निजी अस्पतालका सञ्चालकहरु नर्स विदेशिएकोमा चिन्ता व्यक्त गर्छन्  । तर आफूले न्यूनतम सेवा सुविधा समेत नदिएका कारण यस्तो भएको स्वीकार गर्न तयार छैनन् । 

पछिल्लो पटक नर्सहरुको आन्दोलनप्रति सरकारले चासो देखाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले नर्सहरुको समस्याबारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवको डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरेकी छन् । 

एक साताको समय पाएको कार्यदलले सरोकारवालाहरुसँग निरन्तर छलफल गरिरहेको छ । र, केही दिनमा आफ्नो रायसहितको प्रतिवेदन बुझाउने छ । 

तर नर्सहरुले आन्दोलन रोकेका छैनन् । किनकी आश्वासनले उनीहरु थाकिसके । अब एक्सन होस् भन्न चाहेका छन् । 

अस्पतालमा जाने हरेक बिरामीलाई नर्सको साथ चाहिन्छ । निको भएर आउने हरेक मानिसका पछाडि नर्सको योगदान हुन्छ ।

विरामीको सेवा गरे वापत् उनीहरुले कहिल्यै प्रशंसा माग्दैनन् । हरके दिन, हरेक हप्ता चुपचाप आफ्नो काम गरेका छन् ।

आज उनीहरु आफ्नो श्रमको सम्मान खोजिरहेका छन् । 

कुनै बच्चाले आफ्नो पहिलो सास लिन्छ, त्यहाँ नर्स हुन्छ । 

जब कसैले आफ्नो अन्तिम सास लिन्छ, त्यहा पनि नर्स हुन्छ । उनीहरु हाम्रो स्वास्थ्य प्रणालीको धड्कन हो । यदि हामी राम्रो हेल्थ सिष्टम चाहन्छौं भने नर्सहरुको श्रमको सम्मान गरौं । बोलीले मात्र होइन, व्यवहारबाट । 

नर्सहरुको आन्दोलन केबल पैसाका लागि होइन, उनीहरुको श्रमको सम्मानका लागि हो । हाम्रो हेल्थ सिष्टमलाई बलियो बनाउनका लागि हो । 

तपाईँलाई नर्सहरुले अहिलेभन्दा राम्रो सेवा सुविधा पाउनुपर्छ भन्ने लाग्छ भने यो स्टोरी शेयर गर्नु्स्, ताकि उनीहरुको आवाजलाई धेरैका माझ पुर्‍याउन मद्दत होस् ।

किनकी नर्स विना स्वास्थ्य सेवा सम्भव छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज