नेभिगेशन
अर्थ

८० अर्ब खर्च गरेर बनाएको विमानस्थल इमर्जेन्सीमा पनि किन काम लाग्दैन ?

काठमाडौंको मौसम बिग्रँदा होस् या त्रिभुवन विमानस्थलमा कुनै समस्या आउँदा  । 

इन्टरनेशनल फ्लाइटहरु भारततिरै डाइभर्ट हुन्छन् । त्यहीँ गएर आकस्मिक अवतरण गर्छन् । 

पहिला नेपालमा एउटा मात्र इन्टरनेशनल एयरपोर्ट हुँदा त भारत डाइभर्ट गर्नुको विकल्पै थिएन । 

अहिले त हामीसँगै भैरहवा र पोखरा एयरपोर्ट छ नि ! 

काठमाडौंमा ल्याण्ड हुन समस्या परे भैरहवा वा पोखरामा ल्याण्ड गर्न सकिन्छ । तर किन लखनउ र दिल्ली नै लगिँदैछ ? 

०००

रुपन्देहीको भैरहवामा एसियाली विकास बैंकको ऋणमा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ को जेठ २ गते उद्घाटन भएको थियो । उद्घाटनदेखि नै फाट्टफुट्टबाहेक यो एयरपोर्टमा इन्टरनेशनल फ्लाइट भएको छैन । 

त्रिभुवन विमानस्थल स्तरोनन्तिको बेला गत वर्ष करिब ३ महिना भैरहवा विमानस्थलमा विमान कम्पनीहरुले बाध्य भएर उडान गरे । त्यतिबेला सरकारको दाबी त अब भैरहवा विमानस्थल चल्यो भन्ने थियो, तर काठमाडौंको विमानस्थल स्तरोन्नतिको काम सकिएपछि एयरलाइन्सहरुले भैरहवाबाट सेवा बन्द गरिहाले । 

त्यस्तै पोखरामा २०७९ को पुस १७ गते अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो । तर यसमा त भैरहवामा जति पनि फ्लाइट भएको छैन । 

चिनियाँ ऋणमा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ऋणको किस्ता पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले तिरेको छैन । नियमित फ्लाइट त छाडिदिनुस्, नेपाल आउने चार्टर्ड फ्लाइट समेत त्यहाँ जान मानिरहेका छैनन् ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण लागत हिसाब गर्ने हो भने करिब ८० अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ  ।

गेम चेन्जर परियोजना भनिएका यी विमानस्थलहरु एकातिर भ्रष्टाचारको विवादमा फसेका छन् भने अर्कोतिर नियमित फ्लाइट हुनु त परको कुरा आकस्मिक प्रयोगमा समेत आउन सकेका छैनन् । 

हिजोआजकै केही उदाहरण हेरौं । 

२०८२ कात्तिक २८ गते बिहान दुबईबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज दिल्ली पुगेर अवतरण गर्‍यो । 

विहान ९ः४० बजे काठमाडौं अवतरण हुने गरी आएको विमानलाई एयर ट्राफिक कन्ट्रोलरले रोके । कारण थियो, त्रिभुवन विमानस्थलमा हेभी एयर ट्राफिक । 

अर्थात् उड्ने र अवतरण गर्ने विमानहरु अत्यािधक भए । त्यसैले एयर ट्राफिक कन्ट्रोलरले सो विमानलाई निकै बेर बाराको सिमरामाथिको आकाशमा होल्ड गराए । आधा घण्टा जहाज होल्ड भइसक्दा पनि विमानस्थलले अवतरणको निश्चित समय दिन सकेन । 

त्यसपछि क्याप्टेन सञ्जय वैद्यले फ्युलको कारण देखाउँदै विमान मोडेर दिल्ली लगेर आकस्मिक अवतरण गरे । यसरी नेपाल एयरलाइन्सकै विमान दिल्ली गएर बसेपछि धेरैले सामाजिक सञ्जालमा प्रश्न गरे, किन भैरहवामा नबसेकको ? सरकारले किन बाध्यकारी व्यवस्था नगरेको ?   

गत कात्तिक २३ गतेकै घटना हेरौं न, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा ‘एयरफिल्ड लाइटिङ’ प्रणालीमा समस्या आयो । उडान र अवतरण झण्डै साढे ५ घण्टा रोकियो । 

दोहाबाट आएको कतार एयरलाइन्स नेपलभित्रै आकाशमा ३४ फन्को लगायो । तर, अवतरण हुने अवस्था नभएपछि बाङ्लादेशको ढाका फर्कियो । 

कोरियाको सोलबाट आएको कोरियन एयरलाइन्स नेपाली आकाशमा १३ फन्को मारेर फर्कियो र दिल्ली पुगेर अवतरण गर्‍यो । दुबईबाट आएको फ्लाई दुबई पनि ११ चक्कर लगाएपछि फर्किएर लखनउमा अवतरण गर्‍यो । 

यो पहिलोपटक भएको हैन । त्रिभुवन विमानस्थलमा कुनै समस्या आउँदा वा मौसम बिग्रँदा नेपाल आएका विदेशी वायुसेवाका विमान भारत, चीन र बंगलादेशतिर नै डाइभर्ट गरिन्छ । काठमाडौंको आकाशमा आइसकेको विमान समेत फर्किएर दिल्ली र लखनउ जान्छन् । 

साढे ३ वर्ष अगाडिको कुरा गर्ने हो भने नेपालमा काठमाडौंमा मात्र अन्तर्राष्ट्रिय विमानस्थल थियो । त्यसैले यो एयरपोर्टमा केही समस्या पर्दा भारत लैजानुको विकल्प थिएन । 

अहिले त नेपालमै यत्रा ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरु छन् । तर, लामो दूरी पार गरेर आएका इन्टरनेशनल फ्लाइटहरु आकस्मिक अवतरणका लागि किन भारत नै किन पुग्छन् त ? किन भैरहवा र पोखरामा ती विमान अवतरणको प्रयास गराइँदैन ? 

सरकारले ती विमानस्थलबाट नियमित फ्लाइट चलाउन त सकेन सकेन । आकस्मिक अवस्थामा त प्रयोगमा ल्याउनुपर्ने होइन ? धेरैको जिज्ञाशा हो यो । 

०००

अब यसको कारण के हो भन्नेबारे कुरा गरौं । 

सुरुमा थापा पाउनुपर्ने कुरा के हो भने अन्तर्राष्ट्रिय विमानस्थल भए पनि काठमाडौं र भैरहवा तथा पोखराको विमानस्थलबीच केही भिन्नता छ । भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरु हुन् । त्यसको मतलब हो, प्राविधिक रुपमा यी विमानस्थलमा त्रिभुवन विमानस्थलमा जति सुविधा छैन । 

तर, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नै भएपनि काठमाडौंबाट डाइभर्ट भएका विमानहरु यी दुई विमानस्थलमा अवतरण गर्न सक्दैनन् भन्ने हैन । यहाँ केही प्राविधिक पक्ष छन् । भूगोल र विमानस्थलको अवस्थितिका कारण पोखरा विमानस्थलमा करिब २२० सिट क्षमतासम्मका एयरबस ३१९, एयरबस ३२० र बोइङ ५७५ विमानहरु मात्रै आउन सक्छन् । 

मध्यम आकारका यस्ता विमानहरु पनि ‘लोड पेनाल्टी’ अर्थात् यात्रु संख्या वा हवाई इन्धनको मात्रा घटाएको अवस्थामा मात्रै अवतरण हुन सक्छन् । त्यसैले ठूला वाइडबडी जहाजहरु पोखरा विमानस्थलमा जान नै सक्दैनन् । त्यहाँ अवतरणको प्रयास गर्न नै मिल्दैन, किनभने पोखराको भूगोलले त्यहाँ ठूला विमान अवतरण गर्नु भनेको जोखिम मोल्नु हो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्दा भैरहवाको गौतमबुद्ध विमानस्थल केही फरक र सहज छ । त्यहाँ नेपालमा उडान गरिरहेका सबै खालका अन्तर्राष्ट्रिय विमानहरु अवतरण गर्न सक्छन् । अर्थात् नेपाल आउने अन्तर्राष्ट्रिय विमानहरु काठमाडौंमा केही समस्या पर्दा भारत नै लैजानुपर्ने अवस्था छैन । यो त हामीले प्राविधिक रुपमा मात्रै विश्लेषण गर्दा भन्न सक्छौं । 

तर, भैरहवामा अवतरण हुनसक्ने विमान पनि भारततिर लाग्नुको कारण प्राविधिक रुपले भैरहवा अनपयुक्त भएर हैन । भैरहवामा जोडिएको इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम भारतले प्रयो गर्न नदिएको कारण मौसमी खराबीका बेला भैरहवामा विमान अवतरण गर्न किन नै हुन्छ । तर, मौसम खुलेको छ भने ठूला जहालका लागि पनि भैहरवा सहज अवतरण गर्न सकिने विमानस्थल हो । 

अहिले भैरहवामा ल्यान्ड हुनसक्ने अवस्थामै पनि विमानहरु भारततिर लागेकाले प्रश्न उठेको हो । किन फर्किरहेका छन् त विमानहरु भारत ? 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार डाइभर्ट भएका अन्तर्राष्ट्रिय वायुसेवाका विमान नेपालमै अवतरण गर्न बाध्य गराउन सकिंदैन । आकस्मिक अवस्थामा कहाँ अवतरण गर्ने भन्ने निर्णय वायुसेवा कम्पनीले नै गरेको हुन्छ । 

कुनै गन्तब्यमा जाने विमान त्यहाँ अवतरण हुन नसके कहाँ गएर अवतरण गर्ने भन्ने फ्लाइट प्लानिङ कम्पनीले गरिदिएको हुन्छ । तर, आकाशमा रहँदा आकस्मिक अवस्था र सुरक्षाको अवस्था हेरेर पाइलटहरुले पनि यसबारे निर्णय गर्नसक्छन् ।  

संसारभर नै विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरले डाइभर्ट गर्न निर्देशन दिँदा त्यो फ््लाइटलाई यही ठाउँमा गएर अवतरण गर भन्न मिल्दैन । पाइलट आफैंले डाइभर्ट गरेको अवस्थामा जानकारी दिएर विमान त्यसतर्फ लैजान सक्छ । 

अब प्रश्न उठ्छ, किन वायुसेवा कम्पनीहरुले डाइभर्ट गर्नुपर्दा नेपालका विमानस्थल रोज्दैनन् त ? यसका खास कारणहरु छन् । सबैभन्दा ठूलो कारण हो, विमानस्थलको व्यवस्थापन । हो फेरि एकपटक भन्छु, हाम्रा भैरहवा र पोखरा विमानस्थलभित्रको व्यवस्थापन नै विमान कम्पनीहरु भारत जानुको मूल कारण हो । 

भैरहवा र पोखरा विमानस्थल अन्तर्राष्ट्रिय त हुन्, तर यिनको सञ्चालन र व्यवस्थापन अहिले पनि भद्रगोल छ । नियमित उडान समेत हुन नसकेका यी विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल शून्य छन् । सन्नाटा छाएका यी विमानस्थलमा विमान आउला र सेवा दिउँला भनेर तम्तयार भएर कोही पनि बसेका छैनन् । 

त्यहाँ कर्मचारीहरु र जनशक्तिहरु त छन्, तर ज्यादै सीमित । नियमित उडान गर्न नसकेका यी विमानस्थलहरुमा ठूलो मात्रामा खर्च गर्ने अवस्थामा सरकार पनि छैन । त्यसले गर्दा यी विमानस्थलहरुको व्यवस्थापन चुस्त दुरुस्त छैन । 

त्यसैले पोखरा र भैहरवा विमानस्थलहरुमा विमान अवतरण गर्दा पर्नसक्ने झन्झटबारे वायुसेवा कम्पनी सचेत छन् । ती एयरपोर्टमा विमान उत्रिएपछि कसरी ग्राउन्ड ह्यान्डिलिङ हुन्छ र अध्यागमन सेवा कसरी दिइन्छ भन्नेमा विमान कम्पनी सशंकित हुनु स्वभाविक हो । किनकी यात्रुले सास्त्ी भोग्ने अवस्था आयो भने त कम्पनीको ब्रान्ड इमेजमै असर पर्छ । 

कारण यो मात्रै हैन, नियमित उडान नभएकाले पोखरा र भैहरवा विमानस्थलमा विदेशी एयरलाइन्स कम्पनीका कर्मचारी र प्रतिनिधि समेत छैनन् । यस्तो अवस्थामा विमानस्थलमा यात्रु उतारियो भने तीनको व्यवस्थापन अर्को टाउको दुखाइको विषय हो । 

आफ्ना कुनै नियमित उडान नहुने विमानस्थलमा एयरलाइन्सहरुले यस्तो आकस्मिक अवस्थामा यात्रुलाई राख्ने होटल समेत फिक्स गरेका हुँदैनन् । नियमित उडान भइरहने शहरहरुमा त विमान कम्पनीले आधिकारिक रुपमा सम्झौता गरेका फाइभस्टार होटलहरु हुन्छन् । 

मानौं न फ्लाइ दुबईले भैरहवामा आकिस्मक रुपमा विमान अवतरण गर्‍यो भने कुन होटलमा लगेर यात्रु राख्ने ? होटलसम्म यात्रु कसरी लैजाने ? यात्रुको व्यवस्थापनमा को खटिने ? विमानस्थलभित्र कसले समन्वय गर्ने ?      

तर, दिल्ली वा लखनउमा अवतरण गर्दा त वायुसेवा कम्पनीलाई यस्ता समस्या पर्दैन । किनकी त्यहाँका विमानस्थलमा अधिकांश वायुसेवा कम्पनीको नियमित उडान भइरहेका हुन्छन् । त्यहाँ डाइभर्ट भएर बसेको विमानका यात्रु व्यवस्थापन गर्न कम्पनीकै सपोर्ट स्टाफहरु तम्तयार भएर बसेका हुन्छन् । कुन होटलमा लगेर यात्रु राख्ने भन्ने पहिल्यै तय हुन्छ । उनीहरुको खानपान लगायतको व्यवस्थापनमा एयरलाइन्सकै कर्मचारी होटल पुगेरै खटिन्छन् । क्याबिन क्रुले यात्रु र उनीहरुको समस्याबारे केही सोच्नै पर्दैैन । 

काठमाडौं उडान गरिरहेको एयर चाइनाले भैरहवामा आकस्मिक अवतरणको प्लान बनाएको पनि छ । उसले ३ पटक भैरहवामा आकस्मिक अवतरण गरेको प्राधिकरणको रेकर्डमा देखिन्छ । चीनबाट आएको विमान समस्यम पर्दा फेरि चीन नै फर्किनुभन्दा भैरहवामा अवतरण गर्दा ठीक हुन्छ भनेरै एयर चाइनले यस्तो बन्दोबस्त गरेको छ ।  

तर, अरुले भारतकै विमानस्थल रोजिरहेका छन् । अरु त अरु, नेपाल वायुसेवा निगमले समेत भारतमै विमान डाइभर्ट गर्छ, जबकी भैरहवामा ग्राउन्ड ह्यान्डलिङको जिम्मा नै नेपाल वायुसेवा निगमसँग छ ।

त्यहाँ उसको कर्मचारी २४ घण्टा नै खटिएका हुन्छन् । तर पनि यात्रुको ट्राभल एक्सपिरियन्सलाई नेगेटिभ इफेक्ट नपरोस् भनेर निगमका जहाज भारततिर मोडिन्छन् । वायसेवा कम्पनी र यात्रुको पक्षबाट हेर्ने हो भने त भारतमा अवतरण गर्दा नै बढी सजिलो र राम्रो हुने नै भयो । 

समग्रमा भन्दा नियमित नचलेकाले नै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले भैरहवा र पोखरा विमानस्थलमा आकस्मिक अवतरण नगरेका हुन् । धेरै विमान कम्पनीका नियमित उडान त्यहाँबाट हुन्थ्यो भने यो अवस्था नै आउँदैन थियो ।  

अनि अर्को एउटा गुप्त कारण पनि छ, जुन विमान कम्पनीहरुको नाफा घाटासँग सोझै जोडिन्छ । नेपालमा विमान अवतरण गरेपछि हवाई इन्धन हाल्दा हुने खर्च भारतको भन्दा निकै महँगो छ । भारतमा हवाई इन्धन सस्तो छ । 

नेपालमा एक हजार लिटर हवाई इन्धनको मूल्य ९ सय ७३ डलर छ । भारतको दिल्लीमा ८ सय १७ डलर मात्र छ । ठूला विमानहरुले त धेरै तेल हाल्नुपर्छ, त्यसैले यो मूल्यका कारण पनि दिल्ली गएर तेल भर्नु विमानका लागि बढी लाभदायक छ । त्यसले पनि नेपालका विमानस्थलमा जहाज डाइभर्ट भइरहेका छैनन् । 

काठमाडौंबाट डाइभर्ट भएका विमान भैरहवा वा पोखरामा अवतरण हुँदा त नेपाललाई भने फाइदै फाइदा छ । किनभने विमान कम्पनीहरुले यहाँ तोकिएका शुल्कहरु तिर्छन् । विमानस्थल चलायमान हुन्छ । विमानस्थल बाहिरका होटलहरुले थोरै भए पनि बिजनेस पाउने सम्भावना हुन्छ । एयरर्पोट स्टाफले ड्युटी पाउँछन् । 

निष्कर्षमा भन्दा डाइभर्ट भएको विमान किन भैरहवा र पोखरामा बस्दैनन् भनेर धेरै चिन्ता गर्नुपर्ने विषय हैन । खासमा यी विमानस्थलहरु वर्षमा २० लाख जनासम्म अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिन भनेर बनाइएका हुन् । 

पोखरा र भैरहवामा सोझै विदेशी पर्यटक ओराल्ने सपना देखाएर तामझमसहित ऋण काढेर निर्माण गरिएका हुन् । त्रिभुवन विमानस्थलमा हेभी एयर ट्राफिक भएका बेलामा विमान डाइभर्ट गर्न भनेर पनि यी विमानस्थल बनेका हैनन्, बरु काठमाडौंको हवाई चाप घटाउन भनेर बनेका हुन् । 

तर, भनिएजस्तो केही भएन । इन्टरनेशनल एयरपोर्टहरु खुला गर्दा पनि त्यहाँ उत्रिने वायुसेवा कम्पनी नै आएनन् ।  

अब सपना देखाउनेहरुसँग जवाफ खोज्ने बेला आएको छ । विदेशी वायुसेवा कम्पनीहरुले यहाँ किन भैरहवा र पोखरमा सोझै उडान गर्न चाहेनन् ? किन यी विमानस्थलहरु सेतो हात्तीजस्तो मात्रै बनाएर राखिएको छ ? 

जुन–जुन देशबाट यहाँ पर्यटकहरु ल्याउने भनिएको थियो, त्यहाँ किन पर्यटकीय प्रचार भएन ? विमानस्थल चलाउन सरकारले किन ध्यान दिइरहेको छैन ? 

प्रश्न छन्, तर सरोकारवाल निकायका पदाधिकारीले सधैं भन्दै आएका छन्, अहिले बनेका यी विमानस्थल भविष्यमा काम आउँछ । तर, काठमाडौं विमानस्थलले यात्रु चाप थेग्न नसक्ने हुँदा पनि यति महँगो लगातका विमानस्थल वर्तमानमै उपभोगमा आउने गरी वातावरण बनाउनुपर्ने हैन र ?   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ