नेभिगेशन
अर्थ

इतिहासकै अप्ठेरो मोडमा नेपाल टेलिकम, कसले सम्हाल्ने ?

फोरजी चलायो, चल्दैन । कहिले थ्रीजी त, कहिले टूजीमा झर्छ । 

टूजीमै पनि इन्टरनेट चल्दैन । 

फोन लगायो, लाग्दैन, कुरा गरिरहँदा बीचमै काटिन्छ । 

न राजमार्गमा फोनको नेटवर्क लाग्छ, न मुख्य शहरकै कुना काप्चामा नै । विकट गाउँमा त झन् के कुरा गर्नु ! 

हामी कुरा गरिरहेका छौं, नेपाल टेलिकमको सेवाको । 

अनि यही टेलिकम पछिल्ला वर्षमा ग्राहक मात्रै गुमाइरहेको छैन, आफ्नो आय र नाफा पनि गुमाइरहेको छ । 

यही बेला व्यवस्थापकहरु भ्रष्टाचारमा मुछिएको मुछियै छन् । टेलिकमको बजार विस्तार र सुधारको योजना कसैसँग छैन । 

के साँच्चै नेपाल टेलिकम संकटतिर जाँदैछ ? 

०००

२०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थान स्थापना भयो । २०६० माघ २२ गते यसलाई नेपाल दूरसञ्चार कम्पनीको रुपमा दर्ता गरियो र रि–ब्रान्डिङ गरेर यसलाई नेपाल टेलिकम भन्न थालियो । 

नेपाल टेलिकमले आफूलाई राष्ट्रको सञ्चार भन्छ । तर ठूलो सरकारी लगानी रहेको र ५० वर्ष लामो विरासत बोकेको यो कम्पनीले अहिलेसम्म देशभर टेलिफोन सेवाको पहुँच पुर्‍याउन सकेको छैन । 

सुरुमा त टेलिकम एक्लै मोबाइल सेवामा थियो, पछि ५ वटा निजी सेवा प्रदायकहरु आए । त्यसमध्ये यूटीएल, हेलो नेपाल, स्र्माट टेलिकम र सीजी कम्युनिसकेन अहिले बन्द नै भइसके । 

अहिले मोबाइल सेवामा टेलिकमको प्रतिस्पर्धी एनसेल मात्रै हो । ल्यान्डलाइन लगायतका सेवामा टेलिकमले अरुसँग प्रतिस्पर्धा गर्नु पर्दैन । पीएसटीएन प्रविधिमा टेलिकमको एकलौटी छ । 

समग्र भ्वाइस सर्भिसमा अहिले टेलिकमको बजार हिस्सा ५३ प्रतिशत छ भने एनसेलको ४७ प्रतिशत । अहिले टेलिकमको मोबाइल प्रयोगकर्ता २ करोड ४ लाख छन् भने प्रतिस्पर्धी एनसेलको १ करोड ७३ लाख । 

प्रयोगकर्ताको संख्यामा आधारमा बजारमा एनसेल र टेलिकमको कडा टक्कर छ । 

तर, सरकारी हुनुको लाभ, स्रोतसाधन, अनुभव र जनशक्तिका हिसावले निजी सेवा प्रदायकलाई माथ खुवाउसक्ने कम्पनी हो, टेलिकम ।

टेलिकममा सबै गरेर ३ हजार ५०० भन्दा बढी हजार कर्मचारी छन् । निजी सेवा प्रदायक एनसेलमा मुस्किलले साढे ५ सय मात्रै । 

कुनै नयाँ सेवा सुरु गर्न सरकारले टेलिकमलाई नै पहिला अनुमति दिन्छ । सञ्चार मन्त्रालयको प्रत्यक्ष संलग्नतामा चल्ने भएकाले नियामक दूरसञ्चार प्राधिकरणबाट न टेलिकमलाई बढी पक्षपोषण मिल्छ । 

मोबाइल मात्रै हैन, टेलिकमले ल्यान्डलाइन फोनसहित सीडीएमए, फाइबर इन्टरनेटसहितका सेवा समेत दिन्छ । सबै सेवालाई चुस्त बनाउने हो भने टेलिकमको रुपरेखा बदलिन पनि सक्छ । 

तर, कथा–व्यथा अलग छ । टेलिकमको मोबाइल सेवा समस्याग्रस्त छ । बेला–बेला नेटवर्क नै हराएर फोन लाग्दैन । लागे पनि कुरा बुझिंदैन । बोल्दा बोल्दै बीचमै काटिन्छ । विना कारण ब्यालेन्स काटिनेदेखि अकस्मात पोस्टपेड फोन वान–वे हुने लगायत समस्या छन् । 

कुनै क्षेत्र र नेटवर्कमा पटक–पटक टेलिफोन सेवा अवरुद्ध हुने समस्या छ । समस्या आउँदा ग्राहकलाई समयमै सूचित गराउन समेत टेलिकम चुकिरहन्छ । 

नाफा निरन्तर ओरालोतिर 

ग्राहकको दिमाख खराब गराइरहेको टेलिकमको वित्तीय विवरण पनि वर्षैसाल झन् झन् खराब बन्दैछ । 

विगतमा मान्छेहरु भ्वाइस कलमै निर्भर हुँदासम्म टेलिकमको आम्दानी र नाफाले टेलिकम भित्रको अव्यवस्थालाई छोपेको थियो । तर जब इन्टरनेटमा आधारित फोनसहित सामाजिक सञ्जाल र भाइबर, ह्वाट्सएप, म्यासेन्जर ओटीटीहरु व्यापक प्रयोगमा आए, त्यसपछि टेलिकमको दुरावस्था उदांगो भयो । 

अहिले टेलिकमको नाफा वर्षैसाल घट्दो छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको खुद नाफा २३.८२ प्रतिशतले घटेको छ । यो वर्ष साउनदेखि असोजसम्म १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको टेलिकमले गत वर्ष यस्तै अवधिमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ कमाएको थियो । 

टेलिकमको नाफा घटेको यो पहिलो पटक हैन । गत वर्षमा नेपाल टेलिकमको नाफा करिब ५७ प्रतिशत घटेको थियो । 

कम्पनीले वर्षभरिमा २ अर्ब ६६ करोड मात्रै नाफा कमाएको थियो । जबकी त्योभन्दा अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब २३ करोड थियो ।

नेपाल टेलिकमको नाफा उसको आय नै कम भएर घटेर हो । खर्च त यसै पनि वर्षैसाल बढेको बढ्यै छ । 

गत वर्ष कम्पनीको कुल आम्दानी ८.०३ प्रतिशतले घटेर ३८ अर्ब ७३ करोडमा झरेको थियो । यही वर्षको पहिलो त्रैमासमा पनि ५.८९ प्रतिशतले घटेर ९ अर्ब ४७ करोडमा सीमति भएको छ ।  

इन्टरनेटको सहज उपलब्धताले नेपाल टेलिकम मात्रै हैन, समग्र टेलिकम क्षेत्रले नै नाफा गुमाइरहेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपाल टेलिकम र एनसेलको नाफा वर्षमा कुल ९८ अर्ब ७१ करोडसम्म पुगेको थियो । यो घटेर ७१ अर्ब २१ करोडमा सीमित भएको छ । तर, अधिकतम् रुपमा नाफामा ठूलो गिरावाट नेपाल टेलिकमकै भइरहेको छ । 

अहिलेसम्म त नाफा मात्रै घटेकाले टेलिकमका अधिकारी र लगानीतकर्ताहरु आत्तिएका छैनन् । तर यही गतिमा टेलिकमले नाफा गुमाउँदै जाने हो भने भविष्य के हुन्छ ? अनि किन नेपाल टेलिकम संकटतिर धकेलिँदैछ ? प्रश्न यही नै हो । 

व्यापार विस्तारमा अरुची 

पछिल्लो पाँच वर्षयता नेपालमा भ्वाइस सेवाबाट एनसेल र नेपाल टेलिकमले गर्ने आय २५ अर्बले घटेको छ । 

भ्वाइस सेवाबाट टेलिकम कम्पनीले गर्ने आय नेपालमा मात्रै घटेको भने हैन । विश्वभर नै यस्तो आम्दानी घट्दो छ । 

विश्वको दूरसञ्चार उद्योगमा नयाँ बिजनेस मोडेलहरु प्रयोगमा छन् । 

टेलिकम कम्पनीहरुले विभिन्न कम्पनीसँग मिलेर इन्टरनेटमा आधारित भ्यालु एडेड सर्भिस (भास) ल्याइरहेका छन् । भ्वाइस सेवालाई आकर्षित गर्ने ट्यारिफ र योजना दिइरहेका छन् । मोबाइल कम्पनीले मुभी, गेमिङ, स्ट्रिमिङ लगायतका डिजिटल सेवा प्रदायकसँग डेटा बन्डलिङ गरेर व्यवसाय फैलाइरहेका छन् । क्लाउड सेवादेखि सेक्युरिटीसम्बद्ध सेवाहरु समेत दिइरहेका छन् । 

ताकि भ्वाइस सेवाबाट हुने आम्दानी घट्दा पनि कम्पनी संकटमा नपरोस् । तर नेपालको टेलिकम क्षेत्रले त्यता धेरै काम गरेको छैन ।

नेपाल टेलिकम र एनसेलको ५५ देखि ६० प्रतिशत आय भ्वाइस सेवामै निर्भर छ । यसको मतलब हो, डेटा सेवामा नेपालका टेलिकम कम्पनीहरु आक्रमक ढंगले बजार विस्तार गर्न सकिरहेका छैनन् । 

अझ नेपाल टेलिकमले त यता ध्यानै दिएको छैन । बरु डेटा सेवा अझै महँगो बनाइरहेको छ । सस्तो भ्वाइस र डेटा प्याकेज ल्याउनुपर्नेमा उल्टै उपभोक्ता निरुत्साहित हुने गरी महँगो प्याकेज मात्रै बेचिरहेको छ । 

म्यासेन्जर र ह्वाट्सएप लगायतका ओटीटीको प्रयोगले यही बेला विदेशबाट आउने कलबाट प्राप्त हुने इन्टरकेनेक्सनको आय पनि लगातार घटिरहेको छ । 

यस्तो बेलामा टेलिकमले इन्टरनेट सेवा प्रदायकका रुपमा समेत आक्रमक ढंगले बजार विस्तार पर्नि सक्थ्यो । देशभर ३ करोड २५ लाख तारमा आधारित इन्टरनेट प्रयोगकर्ता छन् । जसमा टेलिकमको ३ लाख ३१ हजार मात्रै छ । जबकी टेलिकमले फाइबरमा आधारित इन्टरनेटका लागि ठूलो खर्च गरेको छ । 

तर, बजारको अधिकांश हिस्सा भने निजी आईएसपीहरुले लिइरहेका छन् । टेलिकमले सेवाको गुणस्तरमा ग्राहकको मन जित्न त सकेको छैन नै, सेवा क्षेत्र विस्तार पनि सुस्त गतिमा गरिरहेको छ । 

नेपाल टेलिकमले डिजिटल भुक्तानी सेवा प्रदायकका रुपमा काम गर्न सिस्टर कम्पनी नबनाएको होइन । राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर खोलेको नयाँ कम्पनीमार्फत नमेस्ते पेरु विकास गरेको छ । 

तर यो कम्पनी लगातार ४ वर्षदेखि घाटामा छ । निजी सेवा प्रदायकहरु ई–वालेट जबारमा आक्रामक देखिँदा नमस्ते पे बजारमा कतै देखिएको छैन । नमस्ते पे ग्राहकको अनुभव नमस्ते सिमकार्ड प्रयोतकर्ताको जस्तै छ । 

राजनीति र भ्रष्टाचारको दुष्चक्र 

टेलिकमको संकट गहिरिनुमा प्राविधिक कारण मात्रै भने छैन । टेलिकमले समयमै बजार योजनाहरु बनाउन नसक्नुमा राजनीति र भ्रष्टाचारको दुष्चक्रमा फसेको टेलिकमको व्यवस्थापन पनि उत्तिकै दोष छ । 

कुनै बेला नेपाल टेलिकम सरकारी संस्थानहरुमा सबैभन्दा राम्रो व्यवस्थापन भएको संस्था मानिन्थ्यो । तल्लोदेखि उच्च तहसम्मका अधिकारीहरु व्यावसायिक हुन्थे । पछिल्ला वर्षमा टेलिकमको व्यवस्थापनमा राजनीति हाबी छ । नेपाल टेलिकमको सञ्चालक समिति अध्यक्ष सञ्चार सचिव हुने व्यवस्था छ । सञ्चारमन्त्रीको निर्देशन मान्नु सञ्चार सचिव टेलिकम व्यवस्थापनको कर्तव्य नै हो । यसकै आडमा टेलिकमभित्र गैरव्यावसयिक ढंगका गतिविधिहरु हुँदै आएका छन् ।   

यसको सुरुवात २०७५ सालबाट भएको थियो । त्यतिबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले डिल्लीराम अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्‍यो । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटासँग निकट भएकाले अधिकारीले नियुक्ति भएका थिए । 

१० औं तहका प्रवबन्धक रहेका अधिकारीलाई एकैपटक प्रबन्ध निर्देशक नियुक्त गरेपछि टेलिकमभित्र व्यवस्थापकीय काममा पनि राजनीतिक खेल सुरु भयो । टेलिकमको व्यवस्थापनमै मन्त्रीका इन्ट्रेस्टहरु बढी चल्ने अवस्था आयो । 

अधिकारीले फोरजीको महँगो ठेक्का लगाए । एनसेलले ४ अर्बमै सकेको कामका लागि नयाँ नेटवर्क बनाउने भन्दै १८ अर्ब खर्च गरियो । तर अधिकारीले ठेकेदारलाई समयमै काम गराउन सकेनन् । मुख्य शहरहरुमै फोरजी विस्तार हुन लामो समय लाग्यो । सेवाको गुणस्तर सुधारमा पर्याप्त काम भएनन् । 

अधिकारीले पुरानो भइसकेको बिलिङ प्रणालीको ठेक्का बेलैमा लगाउन सकेनन् । प्रबन्ध निर्देशक अधिकारी आफ्नो कार्यकाल सकाएपछि फेरि टेलिकमको १०औं तहकै जागिरमा फर्किए । 

२०७८ मा अधिकारीको अवकाश भएपछि टेलिकमको नेतृत्वमा आए, सुनिल पौडेल । उनी विवादित पृष्ठभूमिका थिए ।

उनलाई ल्याउन तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति सम्बन्धी निर्देशिका नै फेरेका थिए ।

पौडेलभन्दा अघि टेलिकम मै काम गरेकाहरु मात्रै प्रबन्ध निर्देशक बन्दै आएका थिए । तर पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकबाट सोझै टेलिकममा आएका थिए । 

एक त उनीसँग टेलिकम सेक्टरको राम्रो ज्ञान थिएन । अर्कोतर्फ उनी विवादास्पद विकल पौडेल निकट थिए । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलले नै सुनिललाई टेलिकमका ल्याउन चाँजोपाँचो मिलाएका थिए । 

सुनिलले आउँदा–आउँदै आफ्नो रंग देखाए । टेलिकमको पुरानो बिलिङ प्रणाली विस्थापन गर्न नयाँ ठेक्का लगाउनुपर्नेमा उनले पुरानै भेण्डर एसियन इन्फोसँग सेटिङमा ५ वर्ष ठेक्का लम्ब्याउने समझौता गरे ।

जबकी त्यो पुरानो प्रणालीका कारण बेला–बेलामा सेवामा समस्या त आइरहेको थियो । त्यसैका कारण टेलिकमले वर्षमा ३ अर्ब नोक्सानी ब्यहोर्नुपरेको रिपोर्ट टेलिकमले नै तयार गरेको थियो । अख्तियारले गरेको अनुसन्धानमा यो सम्झौता गर्दा ३३ करोड ४८ लाख अनियमितता भएको देखिएको छ । 

पौडेल टेलिकममा भइन्जेल टेलिमकको सेवा देशभर एकसाथ पटक–पटक अवरुद्ध भइराख्यो । फाइभजी सेवा सुरु गर्ने अनुमति पाएपनि उनको कार्यकालमा सिन्को भाँचिएन । टेलिकमको नाफा उनको कार्यकालमा पनि ओरालो नै लागिरह्यो । 

पौडेलले न टेलिकमभित्र कर्मचारीको मन जते, न त सेवाको स्तर नै सुधारे । बरु उनीमाथि भ्रष्टाचारको अभियोग लाग्यो । २०८० भदौमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि उनी पदमुक्त भए । 

त्यसपछि एक वर्ष संगीता पहाडीले निमित्त र कामु प्रबन्ध निर्देशक भएर चलाइन् । उनको काम चलाउ नेतृत्वमा पनि टेलिकमको ओरालो यात्रा रोकिएन । २०८१ असोजमा उनी नै प्रबन्ध निर्देशक भइन् । 

तर न पहाडीले टेलिकम सुधारको योजना ल्याउन सकिन्, न त अलपत्र फाइभजी परियोजना नै अघि बढाउन नै । उनी टेलिकमभित्र हस्तक्षेपकारी ढंगले उत्रिन नसक्दा टेलिकमको सेवास्तर सुध्रने भन्दा झन् कमजोर हुने दिशामै गयो ।  

२०८२ जेठमा त उनी विरुद्ध पनि भ्रष्टाचारको मुद्दा चल्यो । प्रबन्ध निर्देशक सुनिल पौडेलको पालामा बिलिङको ठेक्का सम्झौता लम्ब्याउँदा भएको भ्रष्टाचारमा उनको पनि नाम मुछियो र उनी पदमुक्त भइन् । 

यो सम्झौताको अनियमिततामा टेलिकमको उच्च तहका धेरै अधिकारीहरु मुछिए । यसले टेलिकमभित्र मौलाएको भ्रष्टतन्त्र उदांगो भयो । 

ढोकामै संकट 

यति कारणले हैन, त्यस्ता धेरै इस्यु छन्, जसले टेलिकम संकटको डिलरतिर धकेलिँदै गरेको संकेत गर्छ । संस्थाभित्र अनेकन आर्थिक तथा प्रशासनिक बेथितिहरु छन्, जसले संस्थालाई बलियो बन्न दिइरहेकै छैन । नेपाल टेलिकमका सेवामा समस्या देखिाँदा समयमै समाधान हुने समस्या छँदैछ, टेलिकम सरकारको खरिद नियमले बाँधिएकाले समयमै कामहरु गर्न नसक्ने अवस्था पनि छ । 

अहिले बिलिङ सिस्टमको ठेक्कामा भइरहेको किचलो नै हेर्नुस् । टेलिकमले स्वच्छ प्रतिस्पर्धा हुने र विवाद नहुने ढंगले ठेक्का गरेन । यसकै कारण अहिले वर्तमान सञ्चारमन्त्री जगदिश खरेलले छानबिन समिति नै बनाएर ठेक्का प्रक्रिया रोकेर राखेका छन् । यदि समयमै यो ठेक्का नभए फेरि त्यही थोत्रो भएको विवादित बिलिङ प्रणालीले अझै लामो समयसम्म काम चलाउनुपर्ने हुनसक्छ । 

अनेकन समस्या र विकृतिमा रुमल्लिएको यो संस्था अहिले पनि कायमुकायम नेतृत्वका भरमा चलिरहेको छ । अब नयाँ नेतृत्व कहिले आउने टुंगो छैन । कस्तो आउने पनिाहा छैन । 

संस्थालाई उकास्ने गरी न सरकारले योजना ल्याउन सकेको छ, न टेलिकम व्यवस्थापनले रुची देखाएको छ । 

अब टेलिकमको सिंगल गोल फाइभजी हुनुपर्ने हो, त्यसको बिजनेस मोडेल र मार्केट प्लान बनाएर अघि बढ्नुपर्ने हो । 

तर, टेलिकम फाइभजी प्रविधिमा लगानी गर्नुभन्दा बैंकमा पैसा राखेर ब्याज खाएर बस्नैमा मस्त छ । यसका कारण टेलिकम भविष्यमा नाफा खुम्चिँदै गएर ठूलो लगानी गर्न नसक्ने अवस्थामा पुग्ने जोखिम पनि छ । 

टेलिकम क्षेत्रमा नयाँ प्रविधिमा लगानी अपरिहार्य हुन्छ । समयानुकल सेवालाई परिमार्जित गर्न नसके भविष्यमा टेलिकमलाई अरु कसैले सजिलै उछिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

रवीन्द्र घिमिरे नेपाल शो डटकमका पत्रकार हुन् । 

थप अर्थ