झापा ५ को स्थिति क्रमशः फेरियो, नतिजा ओलीकै पक्षमा आउँछ
यहाँका किसानका समस्या केके हुन्, केपी ओलीलाई एकएक थाहा छ । अनि तपाईँले अघि प्रश्न गरेको मान्छेलाई कुरा थाहा छ ?
यो चुनावमा झापा ५ हट स्पट हो । अनि, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह नै चुनावी प्रतिस्पर्धी बनेर आएपछि आफ्नो गढ मानिएको झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली निकै दबावमा परेको देखिन्छ ।
एमाले नेता अग्नि खरेल भने झापा ५ को चुनावी स्थितिमा काफी सुधार आएको दाबी गर्छन् । पूर्वमन्त्री समेत रहेका खरेलसँग गरिएको कुराकानीको सम्पादित अंशः
यसपाली अब निर्वाचनमा उम्मेदवार हुनु भएन । उम्मेदवारीको प्रक्रिया सकिसके पछाडी झापा जानुभयो क्षेत्रहरुको भ्रमण गरेर आउनुभयो । के पाउनुभयो यो पटक चुनावी माहौल ?
अस्ति २७ गते गएँ र करिब १० दिन लगातार बसे । त्यसमध्ये आठ दिन जस्तो झापाको क्षेत्र नम्बर पाँचमा बसेँ । पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार भएको क्षेत्र पनि थियो, मेरो घर बसोबास भएको, कार्यकर्ता साथीहरुसँग बाक्लो चिनजान भएकाले पनि मैले त्यो ठाउँलाई प्राथमिकता दिनु थियो ।
अहिलेको निर्वाचनमा केही फरक शैलीहरु पार्टीहरुले अपनाएको पाएँ । बिगतमा जस्तो ठुलठुला जनप्रदर्शन भएका छैनन्, नोमिनेसनका दिन एक लेभलको भयो । त्यसपछाडि घरदैलो कार्यक्रमलाई अगाडी बढाइएको छ । हाम्रो पार्टी अध्यक्ष एकदमै घरघरमा चोक चोकमा पुग्नु भएको छ, अरु उम्मेदवार र उम्मेदवारका समर्थक कार्यकर्ताले पनि घरदैलो कार्यक्रम गर्नु भएको छ ।
समग्रमा झापामा बिगत लामो समयदेखि एमाले फर्स्ट पार्टीको रुपमा रहेको छ र, उसको त्यो पोजिसन अहिले पनि समग्रतामा कायमै राखेको छ ।
अलिकति झापा पाँचले तपाईहरुलाई अलि बढी दबाजमा राखे जस्तो देखियो नि ?
त्यो स्वभाविक पनि हो किनभने हाम्रो पार्टी अध्यक्ष त्यो क्षेत्रबाट उम्मेद्वार बनिरहनु भएको छ । ०४६ को आन्दोलन पछाडी ०४८ सालमा भएको पहिलो निर्वाचनदेखि नै पार्टी अध्यक्षले निर्वाचन क्षेत्र छोड्नु भएको छैन ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहले पनि त्यहाँ उम्मेदवारी दिनुभयो । त्यो उहाको राइट हो । मैले त उहाँ त्यहाँ जाने जस्तो चर्चा सुन्नेवित्तिकै भनेको थिएँ, देशको प्रधानमन्त्री हुन्छु भन्ने मान्छेले अलिकति सोचेर आफ्नो निर्वाचन क्षेत्र तय गरेको राम्रो ।
अर्को मान्छेलाई तनाव दिन्छु भनिराख्दा तनाव दिने मान्छे आफैं पनि त तनावमै हुन्छ । अर्को कुरा, मान्छेले बाहिर भने जस्तो स्थिति त्यहाँको होइन । त्यहाँको मान्छे सचेत नागरिक हुन् । सचेत मान्छेले सबै कुरालाई हेर्छ । झापा पाँच नम्बरका मानिसहरुले आजको दिनलाई मात्रै हेर्दैनन्, भोलिको दिन आउँछ भन्ने पनि त्यतिकै थाहा छ । ६४ सालमा केपी शर्मा ओलीले चुनाव त्यहाँबाट हार्नुभयो । तर ०७० को निर्वाचनमा उहाँ लड्न अन्त जानु भएन, त्यही ठाउँमा जानुभयो निर्वाचित मात्रै हुनु भएन, पार्टी अध्यक्ष बन्नुभयो, दलको नेता बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो ।
त्यहाँका मान्छेहरुले उहाँलाई पटक पटक प्रधानमन्त्री बनाएका पनि छन् । संगसंगै त्यो क्षेत्रले विकास निर्माणको कामले पनि फड्को मारेको छ । एकजना साथीले भन्दै थिए, बाटो क्रस गर्दै जाँदा अब कता होला भन्ने जस्तो छ । मलाई पनि हो जस्तो लाग्यो ।
एउटा समय वारीबाट पारी जानु पर्यो भने दमक पुगेर पुरा फेरो लगाएर आउनु पथ्र्यो, अहिले दमकको पुलका अतिरिक्त तल दुइटा पुल बन्या छन् । विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी लगायतका इन्फ्रास्ट्रक्चरका कामहरु भएका छन् । सामाजिक सञ्जालहरुमा तपाईँले पनि देख्नु भएकै होला, केपी ओलीलाई भोट नदिने भन्ने मान्छेलाई पनि किन भनेर सोध्दा नदिने कसैले पनि विकासको मामिलालाई इन्कार गरेका छैनन् । विकास चाहिँ भयंकर भएको छ, मान्छे चाहिँ फेरौं भन्छन् । उनले त कुनै तर्कपूर्ण कुरा भएन नि त ।
अर्को कुरा, बालेन्द्र शाह के उद्देश्यले त्यहाँ जानुभयो, थाहा छैन । झापा पाँचका आम मतदाताहरुले गम्भीरतापूर्वक हेनुपर्छ, उहाँको उद्देश्य केपी ओलीलाई हराउने मात्र हो कि पछाडी केही लुकेको छ ?
कटुबचन बोलेको भनेर ममाथि आरोप नलागोस, तर रास्वपा मुलुकको स्टेबल फोर्स हो भन्ने देखिएको छैन । भोलि गएर उहाँहरुले प्रमाणित गर्नु भएछ भने मैले यतिखेर गरेको अन्दाज बेठिक भएछ भनेर म आफैं भनौला । तर आजको दिनमा रास्वपा एउटा स्टेबल फोर्सको रुपमा प्रमाणित छैन । अघिल्लो निर्वाचनमा पनि उ प्रतिक्रियात्मक रुपमा मात्रै अगाडि आयो र अहिले पनि प्रतिक्रियात्मक रुपमा मात्रै अगाडि आएको छ । के राजनीति प्रतिक्रियात्मक मात्रै हो ?
झापा ५ मा बालेन पनि प्रतिक्रियाकै राजनीति गर्न आएका हुन् भन्न खोज्नु भएको ?
बिल्कुल । भदौ २३ गते जुन घटना भयो, तत्कालिन प्रधानमन्त्री, जो हाम्रो पार्टीको पार्टी अध्यक्षले एक ढंगले भन्ने हो भने नैतिक जिम्मेवारी लिनु भएको छ । त्यसैदिन बेलुका साम सञ्जालहरुलाई खुला गर्ने कुरा जिम्मेवारीभित्रै पर्छ र भोलिपल्ट राजीनामा दिनुपनि नैतिक जिम्मेवारीभित्रै पर्छ ।
त्यस दिन २२/२३ जना नानीहरुले ज्यान गुमाउने जुन स्थिति उत्पन्न भयो, त्यो एउटा ठूलो नोक्सानी नै हो । त्यो अपूर्णय नोक्सानी हो । त्यसको पनि छानबिन आयोग बनै छ, आयोगले आफ्नो कुराहरु रिपोर्ट दिइहाल्छ । तर २४ गतेको घटना छ नि फेरि ।
उहाँले राजीनामा दिएपछि नै सिंहदरबार जल्या छ, ठुलठुला नोक्सान भएको छ ।
२३ गतेको घटनामा प्रधानमन्त्रीले राजीनामा गर्नुभयो, २४ गतेको घटनामा चाहिँ उहाँहरुले नैतिक जिम्मेवारी लिनुभयो? केही बोल्नुभयो ? २४ गतेको घटनामा कोको मान्छेहरु संलग्न छन् भन्ने कुरा त आँखो देखा छ । लिडरसिपमै भएका कतिप िमान्छेहरु त्यहाँ देखिन्छ ।
सिधा भन्नुस् न, २४ गतेको घटनाको जिम्मेबारी बालेन शाहहरुले लिनुपर्छ भन्न खोज्नु भएको हो ?
मैले नाम भनिनँ, बाँकी तपाईँले प्रश्नबाटै त्यो कुरालाई अलिकति अगाडी ल्याउनु भयो । तर मैले अघि पनि भनेँ, अहिले पनि भन्छु, देश दुनियाले कतिपय मान्छेलाई देखाइराखेका छन् २४ गतेको घटनामा ।
उहाँहरुले बेलाबेलामा व्यक्त गरेका विचार, बेलाबेलामा असान्दर्भिक ढंगले व्यक्त गरेका आक्रोश । त्यो आक्रोशबाट कतिपय मानिसमा उत्पन्न भएको उन्मादका परिणाम स्वरुप २४ गतेको घटनाहरु भएको र त्यसलाई फूयुलिङ भएको भन्ने बुझिन्छ त ।
अहिले फेरि तिनै मान्छेहरुलाई देवत्वकरण गरिँदैछ, यो दुनिया परिवर्तन गर्ने हिरोको रुपमा प्रस्तुत गरिँदै छ । ति मान्छेले बोगेको सिद्धान्त के हो ? ति मान्छेले बोगेको दर्शन के हो ? ति मान्छेहरुले बोगेको राजनीति के हो ?
झापा ५ कै कुरा गर्ने हो भने पनि आम रुपमा केपी शर्मा ओली सबभन्दा बढी आलोचित भनेको त आफ्नो क्षेत्रमा बजेट लिएर गयो भनेर हो । तपाइँहरुले नै लेख्नु भएको हो । आफ्नो क्षेत्रमा बजेट लगो भनेर भनेर आलोचित हुनुपर्ने पनि केपी ओली । आफ्नो क्षेत्रका सबैभन्दा बढी मान्छेलाई केन्द्रीय ले सदस्य बनायो भनेर आलोचित हुनुपर्ने पनि केपी ओली । आफ्नो क्षेत्रका मान्छेलाई सबभन्दा बढी सांसद बनायो भनेर आलोचित हुनुपर्ने पनि केपी ओली ।
यो त अलि मिलेन, न्याय भएन । कम्तिमा यो ठाउँबाट चाहिँ न्याय गरौं । जति आलोचना गर्नुपर्ने गरौं, तर आलोचनाभन्दा अलि परसम्म हेरौं ।
तर मतदाताले नयाँ खोजेका छन् नि त यो पटक ?
यो ट्रेन नेपालमा चलेको छ । अलि बढी चाहिँ एउटै मान्छे बढी पटक भयो, अर्कोको पालो आएन भन्ने छ । दलहरुले छलफल चलाउनुपर्छ । यसपटकको निर्वाचन परिणामले त्यो हेक्का दिलाउँछ जस्तो लाग्छ मलाई । हामीले पनि कहाँकहाँ गल्ती गरौं, पार्टीमा समीक्षा गरौंला ।
तर हामीले याद गर्नुपर्ने कुरा, लिडरशिपमा रहेको मानिसको हकमा यो एक्सेप्सन हुन्छ । भारत पनि तपाईँले हेर्नुभयो भने ९/१० पटक सासद भएका मान्छेहरु पनि छन् । भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपयीले नै लगातार १०/११ पटक चुनाव जित्नु भएको हो । बीजेपीको दुई सिटमात्र हुँदाखेरि पनि चुनाव जितेको हो । लामो संसदीय अभ्यास भएका मुलुकहरुमा यस्तो हुन्छ ।
हामी कहाँ चाहिँ, राजनीति चाहिँ वत्तृत्वकला प्रतियोगिता जस्तो भएको छ । जो मान्छेले पब्लिक स्पिच राम्रो दिन्छ, त्यही मान्छेले पो केही गर्छ कि जस्तो भान पर्न गएको छ । पब्लिक स्पिच राम्रो नदिने, तर जनता बिचमा काम गर्न सक्ने क्षमता राख्ने मान्छेहरु अनुपयुक्त जस्तो देखिन पुगेको छ । यो कुरा गलत हो, समयले खण्डन गर्छ, गर्नुपर्छ ।
कहाँ वत्तृत्वकला प्रतियोगिता जस्तो हुनु, तपाईँहरुको अध्यक्षको प्रतिस्पर्धी त धेरै बोल्दै बोल्नु हुन्न
सामाजिक सञ्जाल र टेक्नोलोजीको प्रयोगको नयाँ ट्रेन्ड देखिएको छ । मतमा कसरी रुपान्तरण हुन्छ हामी हेरौंला। झापा पाँचमा पनि सुरुमा जुन खालको भाष्य निर्माण गरियो, अलिअलि गर्दै क्रमशः अहिले त्यो ठाउँमा छैन । आठ–१० दिन बस्दा मैले जति साथीभाइहरू भेटे, जति बौद्धिक मान्छेहरू भेटे । मैले पाएको एउटै निष्कर्ष मेरो के हो भने पछिल्ला दिनहरुमा स्थितिहरु क्रमशः चेन्ज भएको छ । अन्तिममा परिणाम केपी शर्मा ओलीको पक्षमा आउँछ भन्नेमा विश्वस्त छु ।
झापा ५ पुगेका मानिसहरुले के पनि भनिरहेका छन् भने, त्यहाँ एमालेको संगठन बलियो हो । तर आफ्नो उम्मेदवारलाई जिताउन जुन गति मतिका साथ लाग्नुपर्ने थियो, लागिरहेका छैन । कतै एमाले भित्रकै एउटा पंक्तिले केपी ओलीको हारमा आफ्नो जित त देख्न त थालेन ?
त्यस्तो स्थिति चाहिँ होइन, त्यसरी कार्यकर्ता साथीहरु मुभ भएको पनि मलाई लाग्दैन। तर केही अन्तरविरोधहरु छन् । कार्यकर्ता र त्यहाका नेता साथी, कार्यकर्ता र र जनताका बिचमा केही समस्या व्यक्त अव्यक्त रुपमा देखिन्छन् । अहिलेको उपलब्ध समय भित्रमा जति सकिन्छ, डिल गर्दै परिणामलाई सकारात्मक बनाउने दिशातर्फ गएका छौं ।
त्यही चिजले मात्र असर गर्छ भन्ने पनि लाग्दैन । त्यो हो भने त अहिले कार्यकर्तापंक्ति पूर्ण रुपले परिचालित छ । उहाँहरु मात्र होइन, अध्यक्ष नै ४८ सालमा यसरी चुनाव लडेको देखेको थिएँ, त्यसरी खट्नु भएको छ । फेरि पनि भन्छु, नेपालको मधेशमा सबभन्दा राम्रो झापा, झापामा सबभन्दा बढी चाहिँ विकास भएको ठाउँ भनेको पाच नम्बर क्षेत्र । केपी ओलीलाई केमा दोष दिने ? मैले बुझिराख्या छैन । तैले बढी विकास गरस नगर भनेर नदिने ?
उहाँले बोलेका कतिपय कुराले बिझाएको छ, कतिपय कुरामा चित्त बुझाई छैन भने बसेर छलफल गरौंला । तर नजिकैको देउतालाई हेला गर्नुभएन । केपी ओली तपाईँको घर वरिपरि बास बस्ने मान्छे हो, दुःख सुखमा तपाईँको वरिपरि हिड्ने मान्छे हो । त्यो कुरालाई तपाईले ख्याल गर्नुपर्छ ।
बालेन प्रतिक्रियात्मक राजनीति गर्न आउनुभएको हो । कथम हार्नुभयो भने त फर्केर आउनुहुन्न । जित्नुभयो भने पनि उहाँको प्राथमिकतामा पर्दैन । त्यसकारण केपी ओली नै जित्नुपर्छ, जित्नु हुन्छ भन्ने हो ?
जित्नुपर्छ भन्ने पनि हो, जित्नु हुन्छ भन्ने पनि हो ।
अर्को कुरा पनि छ । त्यस्तो परिणाम आउँछ भने मलाई लाग्दै लाग्दैन, किनकी केपी शर्मा ओलीले जित्ने व्यापक ठुलो ग्राउन्ड छ । दुर्भाग्यवस तलमाथि भएछ भने छ महिना पछाडी तपाईँहरुसँग संवाद गर्न म आफैं आउँला । तपाईँहरु के भन्नुहुन्छ म त्यो कुरो सुनौंला ।
मैले भन्न खोजेको कति मात्र हो भने यहाँका किसानका समस्या केके हुन्, केपी ओलीलाई एकएक थाहा छ । अनि तपाईँले अघि प्रश्न गरेको मान्छेलाई कुरा थाहा छ ? किसानका मूलभूत समस्या के हुन्, थाहा छैन । त्यसो हो भने पाच नम्बरका मान्छेले थाहा पाका मान्छेलाई प्राथमिकता दिने होला नि त । सबैले एक पटक ठण्डा दिमागले सोचौं, मुलुक कता जादै छ ? मुलुकले स्थायित्व के गर्दा ग्रहण गर्छ ?
जे कुरा हुन खोज्दैछ, झापामै उम्मेदवारी दिने दिलाउने काम जुन ढंगले भएको छ, यहाँ केही साथीभइहरुको सोचाईले मात्र गम गरेको छ कि अरु केही छ ।
निर्वाचन एमालेको प्रतिकुल आउँदै छ भन्ने डर बोलेको हो कि केही सूचना पनि हो ?
मलाई भित्रै लागेको कुरा अलिकति तपाईँलाई खोलौं आज । जुन ढंगले जनजी आन्दोलन भयो, त्यसपछि के भयो देशमा ? अहिले हेर्दा त केपी शर्मा ओलीको ठाउँमा सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो । ०८४ मा हुनुपर्ने चुनाव ०८२ मै भयो । निर्वाचन अगाडि गर्नको निम्ति मात्रै यत्रो ठुलो नोक्सानी गर्नु उचित हुन्थ्यो र ?
जतिसुकै भन्नुस्, नेपालमा कम्युनिस्ट पार्टीको जबरस्त प्रभाव थियो, छ । उनीहरुलाई जनताको नजरबाट बाहिर पुर्याउन जबर्जस्त कोसि भइरहेका छन् । दाङको घटना होस् वा अरु ठाउँमा भइरहेका घटनाहरु यसका प्रमाणहरु हुन् । चुनाव त अरुले पनि लड्दै छ नि त, तर घटनाहरु एमालेप्रति मात्र किन लक्षित ?
उसोभए जेनजी जी, झापा ५ मा बालेन शाहको उम्मेदवारी सबै, नेपालमा वामपन्थी मत, त्यसमा पनि बलियो शक्ति एमाले कमजोर पार्ने षड्यन्त्र हो ?
भाषा आआफ्नो हो, तर मेरो आशय तपाईको आशय भन्दा म धेरै टाढा छैन ।
मैले यो किन भन्दै छु भने देशव्यापी रुपमा वामपन्थी साथीहरु चुनाव लड्दै हुनुहुन्छ र आम जनतालाई तपाईँ हामी सबैले सचेत गराउनुपर्ने कुरा हो यो ।
कांग्रेस र वामपन्थीहरुको बिचमा एउटा साझा मोर्चा र कार्यक्रम नबनेको भए ४६ सालको आन्दोलन सफल हुने थिएन । राजाको निरंकुशता लम्बिन्थ्यो । नेपालको परिवर्तन र लोकतान्त्रिक आन्दोलनमा नेकपा एमाले र वामपन्थीहरुको ठुलो हैसियत छ, नेतृत्वदायी भूमिका राख्छ । दुनियामा कम्युनिस्ट आन्दोलन ढल्दै गरेको बेलामा नेपालमा उठ्दै गरेको हो । छिमेकमा चीन छ भनेर होइन, त्यसको धेरै महत्व देख्दिन । साँचो कुरा चाहिँ के भने नेपालको बामपन्थी आन्दोलन नेपालको राजनीतिलाई लिड गरिरहेको बेला हो ।
उनीहरुलाई कमजोर पार्न केही पात्र, केही पार्टीको नाममा लोक रिझ्याइएको राजनीति अगाडि बढाउन खोजिएको छ । यसलाई बुझ्ने कोसिस हामीले गरेनौं भने समयले हामीलाई अलिकति पर धकेल्न सक्छ ।
कांग्रेसले ५ वर्षमा भ्रष्टाचार अन्त्य गर्नसक्छ ?
भीम रावललाई एमालेकै भर, एमालेकै डर
रास्वपाको पक्षमा खुले शेर्पा
कुलमानको घोषणापत्र : विजुलीको शेयर दिने, सांसद र मन्त्री घटाउने




