जेनजी आन्दोलनसँग टीओबीको साइनो, प्रहरी अनुसन्धानले के देखायो ?
जेनजी विद्रोह भएको एक महिनापछि बुलेट बाइक पड्काउँदै युवाहरुहरुको समूह आन्दोलनमा सहभागी भएको एउटा भिडियो भाइरल भयो । त्यसको कारण थियो, एउटा ज्याकेट ।
एक युवकले लगाएको कालो ज्याकेटको पछाडि ड्रागनको तस्वीर थियो । अनि छेउमा लेखिएको थियो : टीओबी अर्थात् तिब्बतीयन ओरिजिन ब्लड ।
त्यसपछि त के चाहियो । एकपछि अर्को समाचार बन्यो । जेनजी विद्रोहलाई षड्यन्त्र देख्ने एमाले नेताहरुको भाषणको विषय पनि यही भयो ।
चौतर्फी यो विषय आएपछि प्रहरीले पनि भिडियोमा देखिएका युवक तेन्जिङ दावा लामालाई पक्राउ गरे । अरुको पनि खोजी गर्यो । जेनजी आन्दोलनमा उनीहरुको संलग्नताबारे अनुसन्धन गर्यो ।
असोज २६ गतेदेखि उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रहरीले उनको समूहका सदस्यहरुसँग समेत सोधपुछ गरेको छ ।
तर प्रचार गरिए जस्तो जेनजी आन्दोलनका क्रममा घुसपैठ गरेर हिंसा मच्चाएको कुनै प्रमाण भेटिएन । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार भदौ २३ गते उनीहरु आन्दोलनमा सहभागी त भएका थिए । तर बिजुलीबजारदेखि बानेश्वरको होटलसम्म मात्र । त्यसपछि तेन्जिङलाई प्रदर्शनकारीको ढुंगा लाग्छ । उनीहरु २ बजे नै फर्किन्छन् ।
भदौ २४ गते सिंहदरबार, संसद भवन, अदालतमा आगजनी हुँदा टीओबीको संलग्नता नदेखिएको प्रहरीको भनाइ छ ।
के हो त टीओबी ?
प्रहरीका अनुसार टीओबी सन् २०२४ मा सामाजिक सञ्जालमा बाइकर्स ग्रुपका रुपमा खुलेको पाइएको छ । उनीहरु हरेक शनिबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा राइडमा जान्थे । हरेक ६ महिनामा उपत्यका बाहिर ।
यो समूहमा एक समय मोटरसाइकल चढ्ने ५७ जना आवद्ध थिए । हाल २५ जना सक्रिय छन् ।
उनीहरुमध्ये तेन्जिङ दावा लामाले आफूलाई तिब्बतीयन मूलको भएको बताएका छन् । अरु सबै नेपाली नागरिक नै हुन् ।
यो समूहमा आवद्ध भएका धेरैका लागि लागि टीओबीको अर्थ द ओरिजिनल ब्रदर्श हो । फेसबुक र इस्टा पेजमा पनि त्यही लेखिएको छ ।
तेन्जिङ भने आफूलाई आधा तिब्बतीयन मान्छन् । त्यसैले उनका लागि टीओबीको अर्थ तिब्बेटियन ओरिजन ब्लड नै हो । जेनजी आन्दोलनमा पनि उनले लगाएको ज्याकेटमा मात्र तिब्बेटियन ओरिजन ब्लड लेखिएको पाइएको छ ।
टीओबीको अर्थ तिब्बेटियन ओरिजन ब्लड लेखिएको ज्याकेट तेन्जिङ दावा लामासँग मात्र भेटिएको छ । प्रहरीले उनको साथबाट पाँच थान ज्याकेट बरामद गरेको छ । अरुले भने टीओबी हाकिम लेखिएको टिर्सट र ज्याकेट लगाउने गरेका थिए ।
भदौ २३ को जेनजी आन्दोलनमा यो समूहका ३१ जना सहभागी भएका थिए ।
उनीहरुले २२ गते नै सामाजिक सञ्जालमार्फत आन्दोलनमा सहभागी हुने घोषणा गरेका थिए । भदौ २३ गते विहान ११ बजेतिर गोपीकृष्ण हल नजिकै चिया पसलमा भेला भए । उनीहरुसँग २० वटा बाइक थियो । उनीहरु अधिकांश १८/२० वर्षका युवा र विद्यार्थीहरु नै थिए ।
त्यहाँबाट आएका उनीहरु विजुली बजार पुलबाट मूल सडकमा आएर आन्दोलन मिस्सिएका थिए ।
बाइक पड्काएको नाराबाजी गरेको फुटेज विजुली बजार पुलबाट बानेश्वरतर्फ जाने बेलाको हो ।
प्रहरीका अनुसार उनीहरु बानेश्वरको आकाशे पुलसम्म पुगेका थिए । त्यहाँ प्रदर्शनकारीले हानेको ढुंगा तेन्जिङको टाउकोमा लाग्यो ।
त्यसपछि उनी एउटा मेडिकल पसल गएर औषधि किने । दिउँसो २ बजेतिर बानेश्वरबाट फर्किए, फेरि विहान भेटेको चिया पसल पुगे, अनि घरघर गए ।
प्रहरीका अनुसार भदौ २४ गते उनीहरु आफ्नै घरमा बसेका थिए । आन्दोलनमा सहभागी भएकै थिएनन् ।
पछिल्लो समय भाइरल भएको पेस्तोल बोकेको भिडियो चाहिँ जेनजी आन्दोलन भन्दा धेरै अगाडिको हो । त्यो भिडियो एक म्युजिक भिडियो बनाउने क्रममा खिचिएको पाइएको प्रहरीले बताएको छ । भिडियोमा देखिएको पेस्तोल घातक हतियार नभई खेलौना भएको खुलेको छ ।
उनीहरु त्यस दिन हतियार बोकेर आन्दोलनमा गएका छैनन् ।
अर्थात प्रहरी अनुसन्धानले जेनजी आन्दोलनमा टीओबी समूहको नाममा कुनै घुसपैठ भएको देखाएको छैन ।
त्यसो भए किन हिरासतमा छन् त तेन्जिङ दावा लामा ?
बिजुली बजारमा तेन्जिङले मलाइ मेरो देश फिर्ता लेउ भनेका थिए, उनले आफू तिब्बती मूलको भएकाले सानैदेखि पीडा भएकाले यस्तो बोलेको बताएका छन् ।
प्रहरीका अनुसार जब उनी पक्राउ परे, उनको कागजपत्र हेर्ने काम भयो ।
उनीसँग नेपालको नागरिकता र राहदानी बनाएको भेटियो । जसमा आमाको नाम माया लामा, बाबुको नाम कृष्णबहादुर लामा, ठेगाना, काठमाडौं महानगरपालिका वडा नम्बर ६ देखिएको छ ।
तर प्रहरी अनुसन्धानका क्रममा उनको बाबु आमाको पत्ता लागेन । तेन्जिङको बाजे टासी राप्तेन भएको खुल्यो, अनि डेढ वर्षदेखि कुमा डोल्मा शेर्पाले पालन पोषण गरेको पाइएको छ । उनले ट्याटु हाउस खोल्दा पनि उनले नै सहयोग गरेकी थिइन् । पछिल्लो ३ वर्षदेखि घर भाडा पनि उनले नै तिर्ने गरेको पाइएको छ ।
कुङा डोल्माले आफू फूफुदिदी भएको बताएकी छन् । उनका अनुसार हजुरबाको कोभिडको दोस्रो लहरमा मृत्यु भएको थियो ।
तर उनको बाबु आमाको पहिचान खुल्न सकेको छैन । त्यसैले प्रहरीले नागरिकता र राहदानीको अनुसन्धानका लागि हिरासतमा राखेको छ । उनको साथबाट लागू औषध गाँजा बरामद भएकाले अनुसन्धान भइरहेको छ ।
प्रहरीले टीओबी ग्रुपमा रहेका युवाको १४ वटा बाइकसमेत बरामद गरेको थियो । तर उनीहरुले आन्दोलनमा गलत गतिविधि नगरेको पाइएपछि आजै सबै बाइकहरु अभिभावकको रोहबरमा फिर्ता गरिदिएको छ ।
भिजिट भिसामा तीर्थराजको रेट ४० हजार
हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला
मधेशमा २४ दिनमै ढल्यो एमाले सरकार, अर्को गठनका लागि २ दिन समय
आफ्नो शेयर रहेको कम्पनीलाई मुद्दा नचल्ने निर्णयले महान्यायाधिवक्ता विवादमा


-1765351207.jpg)



