नेभिगेशन
समाज

मधेशमा २४ दिनमै ढल्यो एमाले सरकार, अर्को गठनका लागि २ दिन समय

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २४ दिनमै राजीनामा दिएका छन् । एमाले नेतासमेत रहेका यादवले विश्वासको मत लिन भनेर प्रदेशसभाको बैठक बोलाइएको थियो । तर उनले प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा नै राजीनामा घोषणा गरे । 

बुधबार यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभलाई राजीनामा पत्र पनि बुझाए । लगत्तै प्रदेश प्रमुख लाभले शुक्रबार अपरान्ह ५ बजेसम्म संविधानको धारा १६८ (२) बमोजिम मिलिजुली सरकार गठनको आह्वान गरेका छन् । 

मधेश प्रदेशसभामा रहेका नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी मुख्यमन्त्रीको विपक्षमा थिए । प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत माग्न गएपछि उनीहरुले प्रदेशसभा बैठक पनि बहिस्कार गरे । 

कात्तिक २३ गते तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेशसभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । अनि होटलमै शपथ खुवाएकी थिइन् । 

मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशसभाका कांग्रेससहितका दलहरुले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । त्यो मुद्दामा सर्वोच्चले मंसिर १५ गते २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई आदेश दिएको थियो । 

मुख्यमन्त्री यादवले राजीनामा दिएपछि मधेशमा पुनः अर्को सरकार गठन हुने भएको छ । 

अहिलेका मुख्यमन्त्रीको विपक्षमा रहेका कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, जसपा, जनमत र लोसपा एक ठाउँमा रहेकाले उनीहरुकै समर्थनमा मुख्यमन्त्री नियुक्त हुने सम्भावना छ । यद्यपि अहिलेसम्म कुन पार्टीले मधेश सरकारको नेतृत्व गर्ने भन्ने टुंगो लागिसकेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज