नेभिगेशन
समाज
भिजिट भिसाको मुद्दा अदालतमा

भिजिट भिसामा तीर्थराजको रेट ४० हजार

पुरुष पठाए २० हजार । महिला पठाए ४० हजार

यो सहसचिव तीर्थ भट्टराईको रेट हो । जसले त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख रहेका बेला साढे २ सयभन्दा बढी नेपालीलाई सेटिङमार्फत भिजिट भिसामा विदेश पठाए ।

त्यसवापत आएको रकममध्ये केही लाख अधिकृतहरुलाई बाँडे । अरु चाहिँ गाउँले बहिनी र जग्गा व्यापारीमार्फत परिचालन गरे । 

त्यसैले भट्टराईविरुद्ध करिव ८० लाखको भ्रष्टाचार अनि, एक करोड भन्दा बढीको सम्पत्ती शुद्दीकरण मुद्दा दायर भएको छ । 

के हो भिजिट भिसा प्रकरण ? 

सहसचिव भट्टराई २०८१ साल असोज २३ गते त्रिभुवन विमानस्थल, अध्यागमन विभागको प्रमुख भएर गएका थिए । 

त्यसबेला कांग्रेस र एमालेको सरकार थियो, अनि रमेश लेखक गृहमन्त्री थिए । लेखककै जोडबलमा सहसचिव भट्टराईलाई अध्यायमनमा पठाइएको थियो । 

तर २०८२ साल जेठ ६ गते हतारहतार राति गृहमा तानिए । तर जब भोलिपल्ट भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्‍यो, गृहमा तानिनुको कारण खुल्यो । भिजिट भिसामा खाडी मुलुक जान चाहनेहरुबाट सेटिङमा रकम असुल्न गरेको विषयमा अख्तियारले छानबिन गरिरहेको रहेछ । 

त्यो सूचना पाएपछि गृहले हतारहतार भट्टराईलाई मन्त्रालयमा तानेर ढाकछोप गर्न खोजेको रहेछ ।

तर भोलिपल्टै सहसिचव भट्टराई पक्राउ परेपछि भिजिट भिसा प्रकरणले संसद तातियो । विपक्षी दलहरुले तत्कालीन गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गरे । तत्कालीन प्रतिपक्षी दल माओवादीले कांग्रेसलाई नचिढाउने नाममा लेखकको राजीनामाको माग छाड्यो, सत्तारुढ दलहरुसँग सहमति गर्‍यो । तर रास्वपा र राप्रपाले भने विरोध गरिरहे ।

सत्तारुढ दलहरुले संसद चलाउने, रास्वपा र राप्रपाले बहिस्कार गर्ने श्रृङ्खला चलिरहेकै थियो, जेनजी विद्रोह भयो । 

भदौ २३ र २४ को जेनजी विद्रोहपछि न कांग्रेस एमालेको सरकार रह्यो, न प्रतिनिधिसभा । 

तर भिजिट भिसा प्रकरणको अनुसन्धान रोकिएन । बरु अख्तियारले गरेको अनुसन्धानले अध्यागमनमा कसरी घुस धन्दा चलिरहेको थियो भन्ने एक्पोज गरेको छ ।

०० 

अख्तियारका अनुसार अध्यागमनका तत्कालीन प्रमुख तीर्थराज भट्टराईले सेटिङमा भिजिट भिसामा मानिसहरु पठाउँथे । अनि, आएको रकम सेटिङमा परिचालन गर्थे । 

भिजिट भिसामा पठाउने मानिसहरु जम्मा गर्ने काममा ग्रिनलाइन होलिडेज प्रा. ली. का सञ्चालक बालकृष्ण खड्का र फेमिली होलिडेज ट्राभल्स एण्ड टूर्स प्रालिका सञ्चालक दिपक भण्डारीले साथ दिए । भट्टराई, दुबैसँग नियमित जसो भेट्थे ।

जब रकम लिएका मानिसहरुलाई अध्यागमन कटाउनु पर्ने भयो, उनीहरु एस एम एस मार्फत भट्टराईलाई नाम लिस्ट पठाउँथे । भट्टराई निकै चलाख थिए ।

उनी आफ्नो मोबाइलमा होइन, गाउँले बहिनी कविता पौडेलको नाममा लिएको सिम प्रयोग गर्थे । ट्राभल एजेन्सी सञ्चालक खड्का र भण्डारीबाट आएको नाम डायरीमा टिप्थे । पुरुषलाई प्वाइन्ट .२ संकेत दिन्थे । महिलालाई प्वाइन्ट .४ । 

प्वाइन्ट.२ र प्वाइन्ट.४ को महत्व निकै छ । यो भट्टराईको रेट हो । एक जना पुरुष भिजिट भिसामा पठाउँदा २० हजार, एक जना महिला विदेश पठाउँदा ४० हजार ।

भट्टराई अध्यागमन प्रमुख भएको अवधिमा १ लाख ५३ हजार ९७४ जना मानिसहरु भिटिज भिसामा गएका थिए ।

उनीहरुमध्ये ४२ हजार २५७ जना श्रमका हिसाबले जोखिमयुक्त देशमा गएको देखिन्छ । यएईमा मात्र २३ हजार ३४९ जना गएका थिए । ओमानमा ७ हजार १६१ जना र कतारमा २ हजार ७१९ जना गएका थिए ।

यसरी गएकामध्ये १६ हजार ७६९ जना महिला थिए । उनीहरु २०८२ साल साउन २९ गतेसम्म स्वदेश फर्किएको पाइएन । 

यसमध्ये २५७ जना अध्यागमनका तत्कालीन प्रमुख भट्टराई र ट्राभल एजेन्सी सञ्चालकद्धय खड्का र भण्डारीको सेटिङमा भिजिट भिसामा गएको खुलेको छ ।

००० 

भिजिट भिसामा मानिसहरु पठाए वापत भट्टराईले मोटो रकम पाउँथे । यसरी आएको रकममध्ये केही अध्यागमनका अधिकृतहरुबीच बाँडफाँट गरेको पाइएको छ । 

८ लाख रुपैयाँ आफ्नो कार्यालयको प्रशासन शाखामा काम गर्ने अध्यागमन अधिकृत यज्ञराज अर्याललाई दिएका थिए । अर्यालले अख्तिउयारमा दिएको बयान अनुसार भट्टराईले आफ्नै घरमा बोलाएर त्यो रकम दिएका थिए । 

रकमको ठूलो हिस्सा भन्ने भट्टराईले आफैंले राखेका थिए । तर आफूसँग अस्वभाविक रकम आएको नदेखियोस् भन्नका लागि पनि उनले अर्को सेटिङ मिलाएको पाइएको छ ।

त्यसका लागि उनले जग्गा व्यवसायी खेमप्रसाद सुवेदी र गाउँले बहिनी कविता पौडेललाई प्रयोग गरे ।

अख्तियारका अनुसार भट्टराई भिजिट भिसामा मानिसहरु पठाएपावत आएको रकम, कवितामार्फत जग्गा व्यापारी सुवेदीसम्म पुर्‍याउँथे । सुवेदीले जग्गा किन्थे । त्यस्तो जग्गा कविताकै नाममा दर्ता हुन्थ्यो । जब सबै काम सकिन्थ्यो, कविताले तीर्थराज भट्टराईलाई एसएमएस गर्थिन, तिम्रो सामान सुवेदीसँग छ, उतै लिनू । 

अनुसन्धानका क्रममा अख्तियारले कविता पौडेलको डायरी समेत बरामद गरेको थियो, जसमा जग्गा व्यवसायी सुवेदीले पटक पटक रकम लगेको उल्लेख गरिएको छ । 

अनि, तीर्थराजको घरमा बरामद भएको ल्यापटपमा भिजिट भिसामा गएका यात्रुहरुको फोटो, पासपोर्टको कपीहरु भेटिएको थियो । 

उनको मोबाइलको डिजिटल फरेन्सिक परीक्षणले यात्रुहरुको नाम टिपोट र सांकेतिक हिसाबहरु भएको पानाको फोटो खिचेको र डिलिट गरेको पुष्टि भएको छ । 

उनको फोन कलहरु विश्लेषण गर्दा कवितासँग मात्र ८ सय ५८ पटक फोनकल भएको पाइएको छ । यसैगरी बालकृष्ण खड्कासँग ११८ पटक, दिपक भण्डारीसँग २५३ पटक र खेमप्रसाद सुवेदीसँग ५३ पटक फोनकल भएको खुलेको छ । 

अख्तियारले २४ मंसिरमा भट्टराईसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । भट्टराईसँग कैदका साथै ७९ लाख ८० हजार विगो मागदाबी गरिएको छ ।  अध्यागमनकै अधिकृत यज्ञराज अर्याल, ट्राभल एजेन्सी सञ्चालकहरु बालकृष्ण खड्का र दिपक भण्डारी, राम खड्काविरुद्ध पनि मुद्दा गएको छ । 

यस्तै भट्टराईकी गाउँले बहिनी कविता पौडेल र जग्गा व्यापारी खेमप्रसाद सुवेदीविरुद्ध पनि मुद्दा गएको छ । 

अन्तियारले सहसचिव तीर्थराज भट्टराई, उनका गाउँले बहिनी कविता र जग्गा व्यापारी सुवेदीविरुद्ध सम्पत्ति सुद्धीकरणको पनि मुद्दा दायर गरेको छ । यसमा एक करोड ३ लाख ७९ हजार ६०० रुपैयाँ बिगो मागदाबी गरिएको छ । 

अख्तियारका अनुसार यो मुद्दाको अनुसन्धान सकिएको छैन । भिआईपी कनेक्सन केलाउने काम भइरहेको छ । किनकी भट्टराईको तत्कालीन गृहमन्त्री रमेश लेखकका साथै गृह सचिव, अध्यागमन हेर्ने महाशाखाका प्रमुख, शान्ति सुरक्षा हेर्ने महाशाखाका प्रमुखसँग गैर कानुनी लेनदेन भएको हुनसक्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज