नेभिगेशन
समाज

बाबुल टाढिँदै थिए, नितु गइन् झन् टाढा ...

१ कात्तिक, २०८२ । 

अनामनगरस्थित एउटा घरको झ्यालबाट एक्कासी धुवा आउन थाल्यो । के भयो भन्दै छिमेकीहरु जम्मा भए । 

क्षणभरमै आगोले जलेको अवस्थामा एक महिला र पुरुषलाई निकाले । प्रहरी आइपुग्यो र दुबैलाई एम्बुलेन्समा राखेर कीर्तिपुर अस्पताल लग्यो । 

केहीबेरपछि समाचारहरु आउन थाले, अनामनगरको एक स्टुडियोमा युवतीद्धारा आत्मदाहको प्रयास । गायक बाबुल गिरी पक्राउ । प्रेम सम्बन्धमा थिए नितु र बाबुल आदि । 

यो घटना भएको साढे २ महिना भयो । नितु पौडेलले संसार छाडेको पनि दुई महिना नाघ्यो । 

के रहेछ बाबुल र नितुको सम्बन्ध ? किन नितुले आफैंलाई समाप्त पार्ने बाटो रोजिन् ? प्रहरीले अनुसन्धानले के देखायो ? 

०००

बाबुल गिरी नेपाली गीत संगीत क्षेत्रको चर्चित नाम हो । उनी गायक, संगीतकार, एरेन्जर र रचनाकार पनि हुन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ का बाबुल फिल्म छक्का पञ्जा ४ मा समावेश ‘सिरुपाते जुंगामा’ बोलको गीतबाट चर्चामा आएका हुन् । 

जब बाबुलको यो गीत चल्यो, एक दशक अगाडि गायक रामकृष्ण ढकालसँग भएको विवाद भाइरल भयो । 

भएको के थियो भने त्यो बेला गायक ढकाल नेपाली तारा सिजन ३ को जजमध्ये एक थिए । अनि, बाबुल अडिसनमा गएका थिए । अडिसनका क्रममा बाबुलले गाएको गीत जजहरुले मन पराउँदैनन् ।

बाबुलले जज रामकृष्ण ढकाल र सुरेश अधिकारीसँग विवाद गर्छन् । अन्तिममा रामकृष्ण ढकालले बाबुललाई हलबाट धकेलेर बाहिर निकालिदिन्छन् । 

एक दशकपछि बाबुल हिट हुन्छन्, अनि ढकाल चाहिँ सांगीतिक करियरको उतरार्धतिर लागेका छन् । त्यसपछि त नेपाली ताराको त्यो क्लिप भाइरल भयो । बाबुल निरन्तर खबरहरुमा आइरहे । 

उनको गीतहरु पनि भटाभट चल्न थाले । आज उनी निकै डिमान्ड भएका संगीतकर्मी बने । 

बाबुल संगीत क्षेत्रमा लागेको २०७२ तिर नै हो । बागबजारमा म्युजिक एरेन्ज नामको स्टुडियो खोलेका थिए । त्यही क्रममा २०७५/७६ तिर बाबुल र नितु पौडेलबीच चिनजान भएको थियो । नितु, संगीतमै आफ्नो करियर बनाउन चाहन्थिन् । बाबुलको स्टुडियो भएको थाहा भएपछि उनले गीत गाउने अवसरका लागि आग्रह गरिन् । 

बाबुलले आफ्नो अफिसमा आएर डमी प्राक्टिस गर्न सुझाए । स्वर राम्रै थियो, धेरै गीतमा कोरस गाइन् । आफ्नै गीत निकाल्न चाहिन् । बाबुललाई २५ हजार रुपैयाँ थमाइदिइन् । त्यसपछि ५ वर्ष अगाडि नितु र सम्राट चौलागाईंको गीत आयो, आँखैमा पियार मनमा तिर्सना । 

त्यो गीतको शब्द र संगीत बाबुल गिरीकै थियो । गीत राम्रै चल्यो । नितुले बाबुलकै अरु ८/१० वटा गीत पनि गाइन् । गीत गाउने क्रममा बाबुल र नितु नजिक भए, एकअर्कालाई मन पराउन थाले । पछिल्ला वर्षहरुमा उनीहरु गहिरो प्रेममा थिए । 

००० 

जब विवाहको कुरा आयो, उनीहरुको सम्बन्धमा दरार आयो । नितु, बाबुलसँग विवाह गर्न चाहन्थिन् । बाँकी जीवन उनैसँग बिताउन चाहन्थिन् । 

तर बाबुल विवाहलाई टार्दै आएका थिए । नितुका परिवार र साथीहरुको दाबी छ कि बाबुल हिट हुँदै गएपछि उनले नितुलाई बेवास्ता गर्न थालेका थिए । बाबुलले ‘मेरो परिवारले तिमीलाई स्वीकार गर्दैन, म मेरो परिवारको एगेन्स्टमा जान सक्दिन’ भन्न थालेका थिए । 

पछिल्लो समय त बाबुल आफैंले र उनकी दिदीले नितुलाई गाली गर्नुका साथै अनेक लान्छना लगाउन थालेका थिए । बाबुलकी दिदीले गाली गरेको अडियो र म्यासेजका स्क्रिनसटहरु नितुले आफ्ना नजिकका साथीहरुलाई पनि देखाएकी थिइन् । 

बाबुलले आफ्नी दिदीले नितुलाई मन नपराएको, विवाह नगर्न भनेको र गाली गरेको स्वीकार गरेका छन् । प्रहरीलाई बाबुलले दिएको बयान अनुसार एक दिन बाबुलले नितुलाई आफ्नो कोठामा लिएर गएका थिए । त्यो दिन बाबुलकी दिदी पनि आएकी थिइन् । 

त्यो भेटपछि दिदीले डान्सबार र दोहोरी साँझमा काम गरेको भन्दै नितुसँग विवाह नगर्न दबाब दिएको बाबुलले स्वीकार गरेका छन् । कतिसम्म भने बाबुलले परपुरुषसँग नाम जोडेर झगडा गरेका थिए, उनकी दिदीले पनि गालीगलौज गरेकी थिइन् । 

नितुले भने बाबुललाई प्रेम गरिरहिन् । पछिल्लो समय उनले अनामनगरमा क्याफे चलाउन थालेकी थिइन् । बाबुलले पनि दुई वर्षअघि बागबजारको स्टुडियो अनामनगरमा सारे । 

फेरि भेटघाट बाक्लियो । तर विवाहको विषयलाई लिएर विवाद भइराख्थ्यो, झगडा भइराख्थ्यो । 

००० 

कात्तिक १ गते दिउँसो साढे १२ बजे नितुले बाबुललाई मिस कल गरिन् । बाबुलले कल फर्काए । नितुले आजकाल तपाईं किन टाढा हुन खोज्दै हुनुहुन्छ, अरुले तपाईंका बारेमा नराम्रो भन्दा मेरो चित्त दुख्छ र पनि म टाढा भएको छैन भन्छिन् । 

विवाहबारे पनि कुरा गरिन् । बाबुलले आफू बुबाको बरखीमा रहेकाले विवाहको कुरा नगरौं भन्दै टारे । 

कुराकानी लम्बिँदै जाँदा दुई जनाबीच बादविवाद बढ्दै भयो । बाबुलका अनुसार नितुले तँलाई बेलुका देखाइदिन्छु भनेर फोन काटेकी थिइन् ।

त्यसपछि आफू रुद्रमतिको प्रहरी चौकीमा गएको र नितुलाई छलफलका लागि घर परिवार बोलाउन भन्दै म्यासेज गरेको बाबुलले बताएका छन् । करिव १५ मिनेट कुरे, नितु नआएपछि स्टुडियो फर्किए । 

त्यतिबेलै नितुले फेसबुक स्टोरीमा लेखेकी थिइन्, ‘आज मेरो जीवनको ठूलो निर्णय लिने भएकी छु ।’

त्यो देखेपछि बाबुलले रिप्लाइ गरे, ‘किन मैले मात्र देख्ने गरी राख्छौ, सबैले देख्ने गरी राख न ।’

नितुका मामा पदम घिमिरेले पनि त्यो स्टोरी देखेपछि फोन गरे । नितुले आफूलाई गिरीले अनामनगर पुलिस चौकीमा बोलाएको भनिन् । त्यो फोन कुराकानीमा उनले बाबुलसँगको प्रेम सम्बन्ध, त्यसमा आएको दरार र उनकी दिदीले तनाव दिएको सबै कुरा बताउँछिन् । 

मामाले पुलिस चौकी नजाऊ, बरु मामाघर मोरङको लेटाङ आउन सल्लाह दिए । नितुले लेटाङ नजाने भनेपछि कोठामा नै बस भनेर सल्लाह दिन्छन् । मामाले करिव ३५ मिनेटसम्म सम्झाइबुझाइ गरे । 

तर नितुको मन मानेन । दिउँसो २ बजेतिर बाबुलको स्टुडियोमा गइन् । त्यहाँ फेरि वादविवाद भयो । 

बाबुलका अनुसार नितुले पेट्रोल र लाइटर बोकेर आएकी रहिछन् । एक्कासी शरीरमा पेट्रोल छर्केर लाइटर बालिन् । गम्छाले हानेर आगो निभाउन खोजे, जारको पानी खन्याए । नितुको शरीर जल्यो, उनको पनि हात र खुट्टामा आगोले पोल्यो । 

झ्यालबाट धुवा बाहिर गएको देखेपछि छिमेकीहरु जम्मा भए । प्रहरी पनि आइपुग्यो । अस्पताल लगियो । बाबुलको त उपचार भयो, तर नितुले कात्तिक ७ गते अस्पतालमा अन्तिम सास फेरिन् । 

नितुको परिवारले दिएको जाहेरीका आधारमा बाबुल पक्राउ परे । उनले प्रहरीलाई दिएको बयानमा आफ्नो गल्ती स्वीकार गरेका छन् । नितु र आफू प्रेम सम्बन्धमा रहेको, तर दिदी र अरुको कुरा सुनेर शंका गरी टाढा हुन खोज्दा यो घटना भएको स्वीकार गरेका छन् । 

प्रहरीले नितुको कोठाबाट लामो नोट समेत बरामद गरेको थियो । जसमा उनले बाबुलप्रति उनको प्रेम कुन हदसम्म थियो भनेर उल्लेख गरेकी छन् । 

आफूले निस्वार्थ प्रेम गर्दा पनि अनेक लान्छना लगाएको भन्दै उनले बाबुलको खुसीका लागि मृत्यु रोजेको उल्लेख गरेकी छन् । 

मृत्युलाई बाबुलले दिएको उपहार भनेकी उनले अन्तिम इच्छा भन्दै लासमै भएपनि बेहुली बनाइदिन र सिन्दुर लगाइदिन आग्रह गरेकी थिइन् ।

नितुका बुबा रमेश पौडेलका अनुसार विवाह गर्ने होइन भन्दा सुरुसुरुमा त नितुले भर्खर करिअर सुरु भएको छ, पर्खनुस् न भन्दै टारिन् । जब असारमा अमेरिका बस्ने केटाको प्रस्ताव आयो, नितुले आफू लामो समयदेखि बाबुलसँग प्रेम सम्बन्धमा रहेको सुनाइन् । 

सुसाइड नोट, बाबुल स्वयंको बयान, नितुका साथीहरुको बयान सबैका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बाबुलविरुद्ध जिल्ला अदालत काठमाडौंमा आत्महत्या दुरुत्साहनको मुद्दा दियो ।

बाबुलले सांगीतिक क्षेत्रमा नाम कमाउन थालेपछि आफैं र दिदीहरुमार्फत नितुको चरित्रमा प्रश्न उठाएर मानसिक तनाब दिएर मर्न बाध्य बनाएको अभियोगपत्रमा जिकिर गरिएको थियो । बाबुललाई ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको सजाय माग गरिएको छ । 

जिल्ला अदालत काठमाडौंले प्रारम्भिक सुनुवाइपछि मंसिर ५ गते बाबुललाई ३ लाख रुपैयाँ धरौटीमा छाडेको छ ।

नितुको मृत्युमा बाबुल दोषी हुन् कि होइनन्, अदालतले छिनोफानो गर्ला । तर सांगीतिक क्षेत्रमा करिअर खोज्दै गरेकी एक गायिकाले अकालमै ज्यान गुमाएकी छन् । जसमा संगीत क्षेत्रकै बाबुल प्रत्यक्ष जोडिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज