'कोरिया गएको साथीले ८० लाखमा घडेरी किन्यो, म १० लाख ऋणमा छु'
झापाकी अनिशा बस्नेत दुबईमा थिइन् । कमाइ राम्रै थियो । तर कोरिया जान पाए अझै राम्रो तलब पाउने आशाले नेपाल फर्केर कोरियन भाषा पढ्न थालिन् । भाषा परीक्षा दिइन्, कृषि क्षेत्रमा काम गर्ने गरी उनले भाषा परीक्षा पनि पास गरिन् ।
त्यसपछि स्किल टेस्ट र मेडिकल टेस्ट पनि गराइन् । सबैमा पास भइन् । तर कोरिया जान पाइएला पाइएला भन्दा भन्दै २ वर्ष बित्यो । अबको २२ दिनभित्र कोरिया जान नपाएमा उनले फेरि अर्को पटक भाषा परीक्षा दिनुपर्छ ।
उनले कोरियन भाषा पढ्न थालेको समय हिसाब गर्ने हो भने ५ वर्ष भयो । उनलाई यो समय त्यसै खेर गएको जस्तो लाग्छ, फेल भएको भए बरु अर्कै देश जान पाइन्थ्यो । सँगै भाषा सिक्नेहरु कोरिया गएर फर्केर आउने बेला भइसक्यो ।
अनिशाजस्तै भाषा परीक्षा पास गरेका तर कोरिया जान नपाएका नेपालीको संख्या १० देखि १५ हजार पुगिसकेको छ । यसरी भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाउनेहरु धेरैजसो पानी जहाज निर्माण अर्थात् सीप बिल्डिङ र कृषि क्षेत्रमा जान चाहनेहरु छन् ।
भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएकाहरुले पुस १६ गतेदेखि आन्दोलन सुरु गरेका छन् । उनीहरुको माग छ कि, आफूहरुको रोस्टर अवधि थप गर्नुपर्यो ।
कोरियाको नियम छ कि, भाषा परीक्षा पास गरेको २ वर्षभित्र कोरियाले बोलाएन भने त्यसपछि जान पाइँदैन । जाने हो भने फेरि अर्को पटक भाषा परीक्षा दिनुपर्छ । यस पटक धेरै नेपाली युवाले भाषा परीक्षा पास गरेको रोस्टर अवधि सकिन लागेको छ । त्यसैले उनीहरु अन्तिम विकल्पको रुपमा आन्दोलनमा आएका हुन् ।
सिन्धुली फिक्कलका शब्दबहादुर राईले २०२३ मा कोरिया भाषा परीक्षामा नाम निकाले । आजदेखि २०२६ सुरु भयो तर उनले कहिले जान पाउने हो टुंगो छैन । गाउँदेखि काठमाडौं आएर कोरियन भाषा पढ्दाको ऋण थपिँदै थपिँदै गएर १० लाख पुगिसकेको उनी बताउँछन् ।
उनीसँगै भाषा पढेको साथी कोरिया गएर फर्किसकेको छ र ८० लाखको जग्गा जोडिसक्यो । कोरियन भाषा पढ्ने सबैलाई थाहा छ, भाषा परीक्षा पास गर्नेवित्तिकै कोरिया जान पाइँदैन । भाषा परीक्षा पास गरेकाहरुलाई त्यहाँ कामदार माग्ने कम्पनीहरुले रोस्टर अर्थात् सूचीमा राख्छन् । र आफूलाई चाहिएको कामदार त्यही सूचीबाट माग गर्छन् ।
विगतका वर्षहरुमा भाषा परीक्षा पास गरेका ७० प्रतिशतसम्म कोरिया गएका छन् । विगत केही वर्षयता जम्मा १० प्रतिशत मात्र जान पाएका र ९० प्रतिशत रोकिएका पीडितहरु बताउँछन् ।
राजनले सन् २०१६ देखि कोरियन भाषा पढ्न थाले । २०२२ मा भाषा परीक्षा पास गरे । तर उनी कहिले जान पाउने हो भन्ने टुंगो छैन ।
यसरी यति धेरै नेपाली भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाउनुमा हाम्रो सरकारकै दोष देख्छन् उनीहरु । त्यसैले सरकार र इपीएस कोरिया शाखाको काम गराई उनीहरुलाई चित्त बुझेको छैन ।
विदेश गएर श्रम गर्नेहरुका लागि कोरिया एउटा सपनाको देश हो, त्यसका लागि धेरै पैसा र समय खर्च गरेर भाषा पढ्छन् । बल्ल बल्ल पास भएकाहरु कोरिया जान पाइने खुशीमा हुन्छन् । तर भाषा परीक्षा पास गर्दा पनि जान नपाउँदा धेरै युवाहरु निराश छन् ।
युवाहरुले ईपीएस कोरिया शाखासँग पटक पटक वार्ता गरिसकेका छन् । तर ईपीएस कोरिया शाखासँग समस्या समाधान गर्ने चाहना नै नदेखिएको आन्दोलनरत युवाहरु बताउँछन् ।
बाबुल टाढिँदै थिए, नितु गइन् झन् टाढा ...
भिजिट भिसामा तीर्थराजको रेट ४० हजार
हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला
मधेशमा २४ दिनमै ढल्यो एमाले सरकार, अर्को गठनका लागि २ दिन समय





-1767872172.jpg)
