काठमाडौंमा थरिथरिका चोर, बालेनकै घर जोगिएन
काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर प्रधानमन्त्री बन्न संसदीय चुनावमा होमिएका थिए बालेन शाह । माघ १६ गते मण्डिखाटारस्थित उनकै घरमा चोरी भयो ।
चोरले बालेनको घरको मूलढोका फोडे । २–३ वटा सीसी क्यामेरा र फुटेज रेकर्ड हुने डीभीआर मेसिन मात्र होइन, बाथरुम तथा भान्सा कोठाका धाराका टुटीहरु समेत लिएर गए ।
काठमाडौंमा पटके चोरहरुको बिगबिगी छ । एक पटक चोरी गरेर सजाय भोगेकाहरु फेरि चोरीमै फर्केका छन् । अझ भदौ २४ गतेको आन्दोलनमा जेल तोडेर भाग्नेहरु पनि चोरीमा लागेको भेटिएको छ । त्यसैले सर्वसाधारणमा त्रास बढेको छ ।
बालेनको घरमा चोरी भएको ८ दिनपछि माघ २४ गते प्रहरीले ३ जनालाई पक्राउ गर्यो ।
उनीहरु हुन्, काठमाडौंको बालाजु हाइटका मनिष राजबाहक । सिन्धुपाल्चोकका खिमबहादुर खड्का र डोटीका सञ्जय श्रेष्ठ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मनिष राजबाहक भदौ २४ गते नख्खु कारागारबाट भागेका थिए । उनीमाथि यसअघि पनि चोरी र सार्वजनिक अपराधको मुद्दा थियो ।
त्यस्तै सिन्धुपाल्चोकका खिमबहादुर खड्का पनि बैंकिङ कसुर र जबर्जस्ती करणी मुद्दा लागेका व्यक्ति हुन् । उनीहरु काठमाडौंका अरु घरहरुमा पनि चोरीमा संलग्न भएको प्रहरीले फेला पारेको छ ।
प्रहरीले मनिष राजबाहकको कोठाबाट सीसी क्यामेरा, ह्यामर, रेती, स्क्रु, रेन्ची जस्ता सामान बरामद गरेको थियो । प्रहरीका अनुसार यस्ता सामान घरको ताल्चा फुटाउन प्रयोग गर्छन् ।
खिमबहादुर खड्काको घरबाट चाँदीको थाली, रड, नटबोल्ट, धातुका मुर्ति, रिङ, झुम्का, चन्द्रमा, सिक्री, बाला, घाँटीमा लाउने पत्थर माला आदि बरामद गरेको थियो । सञ्जयको डेराबाट ल्यापटपहरु, म्याकबुक, भिडियो रेकर्डर, ल्यापटप चार्जर आदि बरामद गरेको थियो ।
०००
माघ १८ गते काठमाडौंको टोखा नगरपालिका–३ मा तिलसरा पूर्जाको घरमा दिउँसै चोरी भयो । घरमा कोही नभएका बेला आएको चोरले सुनका गहना र नगद गरी १९ लाख ५० हजार रुपैयाँको चोरी गरेको थियो । चोरीमा को संलग्न थिए भन्ने अहिलेसम्म खुलेको छैन ।
माघ २२ गते प्रहरीले नागार्जुन नगरपालिका–६ पुरीगाउँबाट चोरीमा संलग्न २ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा नेपालगञ्ज भर भई सीतापाइला बस्ने सुप्रिम विकास र सौरभ चौधरी भन्ने प्रेम थारु थिए । उनीहरुबाट पीडित भएको भनेर ९ जनाले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार उनीहरु घरमा कोही नभएको मौका पारेर दिउँसै चोरी गर्थे ।
उनीहरु पनि यसअघि २ वटा चोरीको घटनामा दोषी ठहर भएर कारागार चलान भएका थिए । ३ वर्ष कैद भुक्तान गरेर पुनः चोरीमै फर्केका थिए ।
पुस १३ गते राति बालुवाटारस्थित स्ट्रोम नेट प्रालिमा ४८ लाख ७२ हजार रुपैयाँ नगद चोरी भयो । त्यही दिन इको भ्याली प्रालिबाट ८ लाख ५८ हजार रुपैयाँको नगद र गरगहना पनि चोरी हुन्छ ।
चोरीका आरोपी हुन्, दाङ तुलसीपुर उपमहानगरपालिका–६ गोलौरीका २४ वर्षका दुर्गाबहादुर केसी ।
चोरी भएको भोलिपल्ट प्रहरीले उनलाई नगद, गरगहना र ल्यापटपसहित दाङबाट पक्राउ गर्यो । केसी पनि २०८० साउन १० गते डाँका चोरी मुद्दामा कारागार चलान भएका थिए ।
४ महिना ७ दिन कैद सजाय भुक्तान गरेर रिहा भएका थिए । पछिल्लो समय उनी प्लम्बर काम गर्थे, तर चोरी पेशा छाडेका रहनेछन् भन्ने यो घटनाले देखाउँछ ।
०००
शहरमा धेरै मानिसहरु दिउँसो घरमा बस्न पाउँदैनन् । कोही काममा जान्छन्, कोही पढ्न । बिहान चाँडै घरबाट निस्कनेहरु बेलुका बास बस्न मात्र आइपुग्छन् । यस्तै मौकामा चोरहरुले घरमा भएको नगद, गरगहना, ल्यापटप, टिभीजस्ता महत्वपूर्ण सामानहरु पनि चोर्छन् ।
त्यतिमात्र होइन, घर बनिरहेको ठाउँबाट धाराका टुटी तथा फिटिङका सामानहरु पनि चोरी हुने गरेको छ ।
अनि, सजिलोसँग पैसा कमाउन चाहनेहरु र बेरोजगारीले आक्रान्त युवा अपराधकर्ममा लाग्ने जोखिम उत्तिकै हुन्छ ।
अझ एक–दुई पटक अपराध गर्दा सजायबाट उम्किए भने झन् अपराधकर्ममै लाग्ने मनोबल बढ्न जान्छ ।
शहरको अर्को समस्या मानिसहरुबीच घनिष्ट सम्बन्ध हुँदैन ।
एउटै टोल र अझ एउटै घरका फरक–फरक कोठामा बस्नेहरुबीच पनि राम्रो चिनजान हुँदैन । शहरमा एकले अर्काको वास्ता र निगरानी नगर्ने हुनाले पनि घर तथा कोठामा बाहिरी मान्छे प्रवेश गर्दा पनि धेरै मतलब हुँदैन । चोरहरुले यस्तो मौकाको सजिलै उपयोग गर्छन् ।
प्रहरीकै तथ्यांकले भन्छ कि काठमाडौंमा ५ वर्षयताको चोरीका घटना दोब्बरले बढेको छ ।
आर्थिक वर्ष ०७७/७८ मा ४३२ वटा चोरीका उजुरी परेका थिए । हरेक वर्ष बढ्दै बढ्दै २०८१/०८२ मा आइपुग्दा ९५१ वटा उजुरी पुगे । २०८२ साउनदेखि पुससम्मको ६ महिनामै ६८४ वटा चोरीको उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंको तथ्यांक छ ।
२०८२ को माघ महिनामा चोरी आरोपमा १५९ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुको ट्र्र्याक रेकर्ड हेर्दा धेरैजसो पटके चोरहरु छन् । केही भदौ २४ गतेको आन्दोलनमा जेलबाट भाग्नेहरु पनि देखिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार चोरीका घटनामा एक पटक सफलता पाएपछि पुनः त्यसलाई दोहोर्याउने गरेको देखिन्छ ।
भदौ २४ गते जेलबाट भाग्नेहरु पनि चोरीमा संलग्न भएको देखिएको तर उनीहरुकै कारण चोरी बढ्यो भन्ने कुरा तथ्यांकले पुष्टि नगर्ने एसपी भट्टराईको दाबी छ ।
चोरीका घटना बढ्नुमा यहाँको बढ्दो शहरीकरण, जनघनत्व र आर्थिक सामाजिक कारण पनि हुने उनको भनाइ छ ।
००००
फौजदारी अपराधमा चोरीलाई ठूलो अपराध मानिँदैन । यसलाई माइनर क्राइम नै मानिन्छ । हत्या, अपहरणजस्ता मानवीय क्षति नै हुने अपराधजति गम्भीर रुपमा यसलाई लिइँदैन ।
तर जसको क्षति हुन्छ, उसका लागि चोरीले पनि निकै ठूलो असर पार्छ । अनि चोरीका घटनामा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गर्र्दैन भन्ने गुनासो सर्वसाधारणमा धेरै पाइन्छ ।
ठूलठूला चोरीका घटनामा केही चासो दिए पनि मोवाइल वा ल्यापटप जस्ता सामान र थोरै नगद वा गरगहना हराएका उजुरी गर्नु ब्यर्थ छ भन्ने भुक्तभोगीहरु शहरमा धेरै छन् ।
डरलाग्दो कुरा के हो भने राजधानी शहरमै बाटोमै समातेर लुटपाट गर्ने घटना पनि देखिएको छ ।
गत पुस अन्तिममा प्रहरीले रातिमा मोटरसाइकलमा जाने र लुटपाट गर्ने गिरोहका १० जनालाई पक्राउ गरेको थियो । त्यो घटनामा भदौ २४ गते जेलबाट छुटेकाहरु पनि संलग्न भएको पाइएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराई भने प्रहरीले सानातिना चोरीका घटनामा पनि अनुसन्धान गर्ने गरिएको बताउँछन् । १०० मा फोन गरेर टिपाएको चोरी र सामान हराएका घटनामा पनि अनुसन्धान गर्ने गरेको उनको दाबी छ ।
अनि सामान भेटिने तथा चोर पक्राउ पर्ने क्रम पनि बढेको छ । प्रहरीले अहिले अपराधमा संलग्न भएकाहरुको विवरण अपराध अभिलेख प्रणाली अर्थात क्रिमिनल रेकर्ड सिस्टममा राख्ने गरेको छ ।
त्यसैले चोरी घटनामा संलग्नको रेकर्ड हेर्दा पुरानो अपराधमा संलग्नहरु धेरै देखिएको एसपी भट्टराईको भनाइ छ ।
नेपालमा चोरीको घटनामा त्यसको गम्भीरता अनुसार सजाय फरक फरक छ । सामान्यतया चोरीको घटनामा ३ वर्षसम्मको कैद सजायको व्यवस्था छ ।
सरकारी सम्पत्ति चोरी गरेमा, वा कुनै विपदको मौका छोपेर चोरी गरेमा ७ देखि १४ वर्षसम्मको सजाय हुन्छ । बाटो ढुकेर लुटपाट र चोरी गरेमा पनि ७ देखि १४ वर्षसम्म सजाय हुन्छ ।
पाकेटमारलाई एक पटक पाकेटमारेको १ महिना कैद सजाय हुन्छ । दोस्रो पटकदेखि पटकैपिच्छे दुई महिनासम्म कैद सजायको व्यवस्था छ ।
चोरीका घटनामा संलग्नहरु पक्राउ परेका समाचार धेरै आउँछन् । तर सामान्य खालको चोरीमा सजाय कम हुनाले उनीहरु छुटेर पुनः समाजमै फर्किहाल्छन् ।
एक पटक चोर भइसकेकाहरु समाजमा पुनस्र्थापना हुन गाह्रो छ । उनीहरुलाई हेर्ने समाजको नजर नै बेग्लै हुन्छ । त्यसैले ठाउँ परिवर्तन गर्दै पुनः चोरीमै लाग्ने गरेको पाइन्छ ।
ललितपुर–२ का मतदाता नयाँ खोज्दै छन् कि पुरानै ?
किन राखियो बागमतीमा लहरै ड्रम ?
काठमाडौंमा रातिराति लुटपाट मच्चाउने गिरोहको कथा
खोला किनारको मापदण्डबारे सर्वोच्चले उल्ट्यायो आफ्नै फैसला



-1771076614.jpeg)




