नेभिगेशन
समाज

छुट्टीमा आएर विवाह गर्छु भन्थे, शव कुर्दैछन् बाबुआमा

इरानसँग अमेरिका र इजरायलको युद्ध । तर ज्यान गुमाउनुपर्‍यो एउटा नेपालीले । 

आफ्नो आर्थिक अवस्था सुधार गरौंला, परिवारलाई सुख दिऔंला भनेर सात समुद्रपारी पुगेका नेपाली आफू संलग्न नै नभएको युद्धको शिकार बनिरहनुपरेको छ । इरान युद्धमा पनि एउटा नेपाली परिवार उजाडिन पुग्यो ।

गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका २९ वर्षका दिवश श्रेष्ठ ४ वर्षअघि युएई गएका थिए । 

युएईको अबुधावी शहरमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनी अब बिदामा आउँदा विवाह गर्ने योजनामा थिए । तर सबै योजना  भताभुंग भयो ।

श्रेष्ठ परिवारमाथि ठूलो बज्रपात पर्‍यो । 

००० 

आफ्ना सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको हत्या गरेपछि इरानले खाडी राष्ट्रमा रहेका अमेरिकी सैन्य क्याम्पहरुमा जवाफी आक्रमण गर्न थाल्यो । 

दिवस श्रेष्ठ युएईकै मिडिल इस्ट कम्पनीमा काम गर्थे । इरानले खाडी राष्ट्रमाथि आक्रमण गर्न थालेपछि सायद, दिवसलाई पनि आफन्तले फोन गरेर चासो राखे । उनले फेसबुकमा आफू सुरक्षित रहेको स्टाटस लेखे । 

उनले लेखेका थिए, ‘समाचार हेरेपछि म पनि चिन्तित भएँ, जति समाचार प्रशारण भएका छन्, ती पूर्ण सत्य छैनन् । अबुधावीमै बस्ने भएकाले एक्चुअल सिचुएसन के छ भन्ने विषयमा हामीसँग नै फस्ट ह्याड सूचना हुन्छ । तैपनि समाचारले कहिलेकाहीँ अतिरञ्जना र मिसलिड गरिरहेको हुन्छ ।’  

तर सुरक्षित रहेको सन्देश दिएको केहीबेरमा उनी युद्धको शिकार हुन पुगे । 

इरानले युएईको जायद इन्टरनेशनल एयरपोर्टमा पनि आक्रमण गरेको थियो । दिवस, त्यही विमानस्थलमा मिडिल इस्ट कम्पनीमा काम गर्थे । 

अवुधाबीस्थित नेपाली दूताबासका अनुसार इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा तीन जनाको मृत्यु भयो, जसमा दिवस पनि एक थिए ।

दिवसको परिवारमा बाबुआमा र एक बहिनी छन् । बहिनीको विवाह भइसकेको छ । बहिनी सुत्केरी रहेकाले दिवसकी आमा छोरीको स्याहार सुसारका लागि काठमाडौं बसुन्धरामा बस्न थालेको चार महिना भयो । दिवस, आमासँग हरेक दिनजसो भिडियो कलमा कुरा गरिरहन्थे ।
बाबु चामबहादुर श्रेष्ठ गाउँमै स्टेशनरी पसल चलाउँछन् । बाबुसँग भने दुई चार दिन बिराएर कुरा गरिरहन्थे । इरानले खाडी राष्ट्रमा आक्रमणको

हल्ला चल्न थालेपछि फागुन १७ गते चामबहादुरले छोरालाई फोन गरे ।

तर दिवसको फोन उठेन । चामबहादुरले दिवसका साथीहरुलाई फोन गरे । 

‘यहाँ बम पड्किएर भागदौड भएको थियो । त्यही क्रममा दिवशको मोवाइल हरायो, त्यसैले फोन नउठाएको होला । उसको खुट्टामा चोट लागेकाले अस्पताल लगेको छ,’ दिवसका साथीले जानकारी गराए । 

चामबहादुरले, खुट्टामा लागेको चोट उपचारपछि ठीक होला भन्ने ठाने । 

तर दिवसको मृत्यु भइसकेको थियो । अबुधावीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा खबर गर्‍यो, मन्त्रालयले गोरखाका प्रमुख जिल्ला अधिकारीलाई । जिल्ला प्रशासन कार्यालयले वडाध्यक्ष नारायण श्रेष्ठमार्फत परिवारमा खबर पठायो । वडाध्यक्ष र दिवस एउटै टोलका बासिन्दा हुन् । 

श्रेष्ठले दिवसको यूएईको दुखद खबर सुनाएपछि चामबहादुर छाँगाबाट खसे जस्तो भए ।

००००

दिवसको परिवार निम्न मध्यमवर्गीय परिवार हो । बाबु नेपाल प्रहरीको जागिरबाट अवकाश पाएपछि स्टेशनरी पसल चलाइरहेका थिए । 

दिवसले गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसईई दिएपछि ओभरसियर पढे । लगातार पास गर्न सकेनन् । पढाइ पूरा गरेपछि राम्रो जागिर पाउने सम्भावना पनि देखेनन् । अनि बाबुसँग सल्लाह गरे, नेपालमा राम्रो जागिर पाइँदैन, बरु एक पटक विदेश गएर आउँछु । 

उनी सेक्युरिटी गार्डकै भिसामा युएई गएका थिए । उनी नाइट ड्युटी गर्थे । बाबु चामबहादुरका अनुसार युएईमा पाएको कामबाट दिवस खुशी थिए । नेपालबाट आउने बेलामा भनेको भन्दा राम्रो सेवा सुविधा रहेछ भनेर सुनाइरहन्थे । भन्थे, काम गाह्रो छैन, कमाइ राम्रो छ । 

२०७८ सालमा दुबई गएका उनी २०८० असोजमा छुट्टीमा आएका थिए । दुई महिना गाउँमै बसे, दशैं तिहार मनाए । अनि फेरि काममा फर्किए । 

उनले युएई छाडेर नेपाल फर्किने सोचेका थिएनन् । लामो समय यही काम गर्ने सुनाउँथे । घर परिवारसँग अब छुट्टीमा आउँदा विवाह गर्ने सल्लाह समेत गरेका थिए ।

तर सात समुद्रपारी आफू संलग्न नै नभएको युद्धको शिकार बन्न पुगे । 

चामबहादुर छोराको शव लिन काठमाडौं आएका छन् । उनले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा शव झिकाइदिन माग गर्दै निवेदन दिएका छन् । अनि वैदेशिक रोजगार विभागमा पनि निवेदन दिएका छन् । 

तर शव कहिले आउँछ टुंगो छैन । युएईस्थित नेपाली दूतावासले अहिले एयरपोर्ट बन्द भएकाले तत्काल शव पठाउन सम्भव नहुने बताएको छ । 

एयरपोर्ट खुल्नेवित्तिकै पठाउने आश्वासन दिएको छ । चामबहादुर कहिले एयरपोर्ट खुल्छ भन्ने आशामा काठमाडौंमै छोराको शव पर्खिरहेका छन् ।

०००

नेपाल प्रत्यक्ष रुपमा कुनै पनि देशसँग युद्धमा संलग्न छैन । नेपाली भूमिदेखि धेरै पर शक्तिराष्ट्रहरुबीच भएको संघर्षका क्रममा नेपाली पनि चपेटामा पर्ने गरेका छन् । 

यसअघि सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा प्यालेस्टिनी समूह हमासले आक्रमण गर्दा १० जना नेपालीले ज्यान गुमाएका थिए । त्यतिबेला बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी २ वर्ष भन्दा बढी समय बेपत्ता रहे ।

२०८२ सालको तिहार अगाडि मात्र उनको मृत्यु भएको पुष्टि भयो र नेपालमा शव पठाइयो ।

अहिले इरान युद्धमा एक नेपालीले ज्यान गुमाए, लाखौं नेपाली त्रासमा बाँचिरहेका छन् । युएई, साउदी अरेबिया, कतार, ओमान बहराइन, कुवेत लगायतका खाडी देशमा १९ लाखभन्दा बढी नेपाली काम गरिरहेका छन् । 

अमेरिका र इजरायलले आफ्ना सर्वोच्च नेताको हत्या गरेपछि इरानले खाडी राष्ट्रमा रहेका अमेरिकी सैन्य क्याम्पहरुमा आक्रमण गर्ने चेतावनी दिएको छ । 

त्यसैले धेरै नेपाली त्रासमा दिन काटिरहेका छन् । कतिबेला ड्रोन खस्छ भनेर डराएका छन् ।

यदि इरानले थप आक्रमण गरे त्यहाँ नेपालीहरु कसरी सुरक्षित हुन सक्छन् ? नेपाल सरकारले त्यहाँबाट आफ्ना नागरिकलाई सुरक्षित रुपमा नेपाल ल्याउन सक्छ ? यस्ता अनेक प्रश्न उठिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज