नेभिगेशन
अर्थ

३ अर्बको स्क्याम, देशकै बदनाम

क्यानडाका सिल्वी ओबियर र क्याथरी चेसाई २०२५ नोभेम्बरमा नेपाल घुम्न आए । एभरेस्ट रिजन जान पानोरमा हिमालय ट्रेकिङ पुगे । ट्रेकिङ कम्पनीले तेन्जिङ शेर्पालाई गाइड खटायो । 

ट्रेकिङका क्रममा जब उनीहरु ४ हजार ४०० मिटर उचाईको खुम्बु रिजनको दिङ्बोचे पुगे, सिल्वी निकै थाकिन । उनी चाहन्थिन्, केही समय आराम गरौं । स्वास्थ्यमा सुधार भएपछि विस्तारै आफैं हिँडेर तल झरौं । 

तर गाइड तेन्जिङ मान्दै मानेनन् । उनले सिल्वीलाई तत्काल काठमाडौं जान जोड गरे । तत्काल काठमाडौं जानुको अर्थ हो, जबर्जस्ती हेलिकप्टर उद्दार ।  

हिमाली क्षेत्रमा जाने विदेशी पर्यटकहरुले बीमा गरेका हुन्छन् । सल्वी ओबियर र क्याथरीन चेसाईले पनि गरेका थिए । हेलि उद्दार गर्नुअघि उनीहरुले इन्स्युरेन्स प्रोभाइडरसँग कुरा गर्न चाहे । तर तेन्जिङले सबै कुरा ट्रेकिङ एजेन्सीका सञ्चालक पासाङ शेर्पाले मिलाउने भन्दै बीमाका डकुमेन्टहरु मागे । 

उनीहरुले ब्याग प्याक समेत गरेका थिएनन् । हेलिकप्टर आउँदैछ भनेर तेन्जिङ दौडिएर कोठामा आए । हतार हतार झोलाहरु तयार पार्न लगाए । उनीहरुको हाउभाउ हेर्दा यस्तो लाग्थ्यो, तत्काल नजाने हो भने ठूलै दुर्घटना हुन्छ । 

उनीहरुलाई लुक्ला लगियो । अरु पर्यटकलाई पनि राखेर हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो । उनको पासपोर्ट खोसे, त्यसपछि काठमाडौं रातोपुलको स्वाकन अस्पतालमा भर्ना गराए । अस्पतालबाट निस्कने बेलामा ‘आफैंले हेलि उद्दार मागेको हो, म सन्तुष्ट छु’ भनेर एउटा कागजमा हस्ताक्षर गर्न लगाए । 

पछि थाहा भयो, हेलि उद्दारका लागि ८ हजार २०० र उपचारको १ हजार ३०२ डलर गरेर स्वाकन अस्पतालले बीमा वापत ९ हजार ५०० डलरको बिल पेश गरेको रहेछ । त्यसपछि उनीहरुले बुझे, हेलि उद्दार हाम्रो आवश्यकताले भन्दा बढी बीमाको रकम हत्याउन पो रचिएको खेल रहेछ । 
यो त एउटा केस मात्र हो, नेपालमा फेक रेस्क्युको धन्दा नै चल्दै आएको छ ।

कसरी हुन्छ फेक रेस्क्यु ? 

विशेष गरी सगरमाथा बेसक्याम्प, रसुवाको लाङटाङ, मनास्लु र अन्नपूर्ण जस्ता विश्वविख्यात ट्रेकिङ डेस्टिनेसनमा फेक रेस्क्यु हुने गरेका छन् । 

अनि, फेक रेस्क्युमा पर्नेहरुमा अमेरिका, क्यानडा, जर्मनी, स्पेन, युके, पोल्याण्ड स्पेन, डेनमार्क, थाइल्याण्ड फ्रान्स, अष्ट्रेलिया, जापान आदि देशका पर्यटक छन् ।

जब पर्यटकहरु पदयात्रा तथा हिमाल आरोहणका क्रममा उच्च हिमाली भेगतिर पुग्छन् ।

त्यसपछि फेक रेस्क्युका तानाबाना बुनिन्छ । कतिसम्म भने पर्यटकलाई बिरामी बनाउन उनीहरुको खानामा बेकिङ सोडा मिसाउने र दूषित खाना मिसाउने गरिन्छ । ताकि पर्यटकहरुमा फुड प्वाइजनिङको समस्या देखियोस् । 

पर्यटकलाई लेक लागेको लक्षण देखिएमा एउटा औषधि दिइन्छ । त्यो औषधिले शरीरमा झन् डिहाइड्रेसन बढाउँछ । हात खुट्टा झमझम हुने, पिसाब अत्यधिक लाग्ने जस्ता समस्या देखिन थालेपछि पर्यटकहरु आत्तिने गर्छन् । 

फुड प्वाइजनिङको समस्या हुँदा होस् वा लेक लागेको लक्षण देखिँदा पर्यटकले आफ्नो गाइडसँग सहयोग खोज्छ । तर गाइडले झन् डर देखाइदिन्छ । 

आराम गर्दा वा एस्पिरिन जस्ता सामान्य औषधि खाँदा ठीक हुने अवस्थामा पनि आकस्मिक उद्धारका लागि बाध्य पार्छन् । 

तत्काल हेलिकप्टर रेस्क्यु गरेर काठमाडौं नलगे ज्यानै जान सक्छ भनिदिन्छन् । इमर्जेन्सी अवस्था हो भन्ने पारेपछि हेलिकप्टर मगाएर उद्धार गरेर काठमाडौं ल्याउँछन् । 

यो सबै सेटिङमा हुन्छ । फेक रेस्क्युका लागि टुरिस्ट गाइड, ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र अस्पताल गरी ५ पक्षको मिलेमतो हुन्छ । 

सुरुमा  टुरिस्ट गाइडले पर्यटकलाई समस्या परेको भनेर सुरुमा ट्रेकिङ कम्पनीलाई खबर गर्छ । 

ट्रेकिङ कम्पनीले रेस्क्यु कम्पनीलाई खबर गर्छ । 

रेस्क्यु कम्पनीले हेलिकप्टर कम्पनीलाई खबर गर्छ । 

अनि हेलिकप्टर कम्पनीले हेलिकप्टर पठाएर त्रिभुवन विमानस्थलसम्म ल्याउँछ । 

त्रिभुवन विमानस्थलबाट एम्बुलेन्सले अस्पताल ल्याउँछ । 

००००

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सन् २०२२ देखि २०२५ को नोभेम्बरसम्मको अवधिको अनुसन्धान गर्दा ७/८ वटा ट्रेकिङ कम्पनी, ४ वटा रेस्क्यु कम्पनी, ३ वटा हेलिकप्टर कम्पनी र ३ वटा हस्पिटल फेक रेसक्युमा इन्भल्भ भएको फेला पारेको छ । 

सीआईबीको अनुसन्धान अनुसार फेक रेस्क्युमा संलग्न ट्रेकिङ कम्पनीमा रोयल होलिडेज एडभेन्चर प्रालि, पानोरमा हिमालयन ट्रेकिङ एण्ड एक्सपिडिसन प्रालि, हिमालयन मास्टर्स एडभेन्चर एण्ड ट्राभल कम्पनी, म्याजिक हिमालय ट्रेक एण्ड एक्सपिडिसन प्रालि, नेपाल ट्रेक एडभेन्चर एण्ड एक्सपिडिसन प्रालि, स्पिरिचुअल एक्सकर्सन र नेपाल हाइकिङ एडभान्चर कम्पनी रहेका छन् । 

रेस्क्यु कम्पनीहरुमा  एभरेस्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्स प्रालि, माउन्टेन रेस्क्यु सर्भिस प्रालि, नेपाल चार्टर सर्भिस प्रालि, हेलि अन कल प्रालि र वल्र्डमेड एसिस्टेन्स प्रालि रहेका छन् । 

हेलिकप्टर कम्पनीमा माउन्टेन एयर, मनाङ एयर (हालको बेसक्याम्प एयर) र अल्टिच्युड एयर रहेका छन् । 

रेस्क्यु फ्लाइटबाट ल्याइने पर्यटकलाई रातोपुलको स्वाकन अस्पताल, लाजिम्पाटको श्रीद्धि अस्पताल र सोह्रखुट्टेको एरा हस्पिटल लैजाने गरिएको थियो । 

अस्पतालहरु नै सेटिङको मुख्य अंग हो ।

रेस्क्यु गरिएका पर्यटकको उपचार गर्ने भनिए पनि तीनवटै अस्पतालमा हेलिप्याड छैन । अझ ती अस्पतालमा त नेपालीहरुको धेरै उपचार नै हुँदैन । 

स्वाकन अस्पतालमा सन् २०२२ जनवरीदेखि सन् २०२५ को नोभेम्बरसम्म जम्मा ११ नेपालीले उपचार गराएका थिए भने विदेशी ४ हजार ७८२ जनाले उपचार गरेका थिए । जसमा फर्जी उद्धारबाट ल्याएको पर्यटकको संख्या १७१ छ । 

पर्यटकलाई हस्पिटलमा ल्याएपछि उनीहरुलाई आईसीयूमा भर्ना गर्ने, एमआरआई, सीटी स्क्यान जस्ता महंगो टेस्ट गर्ने । अनि उपचारवापत अत्यधिक शुल्क बिलिङ गर्ने गरिन्छ । 

स्वास्थ्य अवस्था अत्यन्त जोखिमपूर्ण देखाउन अक्सिजन तह ५०–५१ प्रतिशत मात्र रहेको भनी झुटो रिपोर्ट समेत बनाइन्छ । 

अनि रेस्क्यु गर्दाको हेलिकप्टर खर्चदेखि अस्पतालको बिल सबै पर्यटकको बीमा गरेको विदेशी कम्पनीमा पठाउँछन् । 

बीमा कम्पनीबाट ग्यारेन्टी अफ पेमेन्ट नआउँदासम्म पर्यटकको पासपोर्ट समेत जफत गर्छन् । बीमा कम्पनीबाट पैसा आएपछि बल्ल पर्यटकले डिस्चार्ज पाउँछन् ।

००० 

फेक रेस्क्युको धन्दा चलाएर आएको पैसा मिलेर बाँडफाँट गर्ने गरेको खुलेको छ । अस्पतालले ट्रेकिङ एजेन्सी, रेस्क्यु कम्पनी, चार्टर कम्पनीलाई कमिसन दिने गर्छ । 

स्वाकन अस्पतालमा २०२२ जनवरीदेखि सन् २०२५ को नोभेम्बरसम्म फर्जी उद्धार गरिएका १७१ पर्यटकको उपचार भयो । अनि, बीमा रकम वापत अस्पतालको बैंक खातामा १ अर्ब ३ करोड ९८ लाख ३७ हजार २६२ रुपैयाँ आयो ।

अस्पतालबाट एभरेस्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्स प्रालिका सञ्चालक सुवास केसीले ५३ लाख ९६ हजार कमिसन बुझेका छन् । यही ट्रेकिङ कम्पनीका अर्का सेयर होल्डर मुक्ति पाण्डेले ७० लाख ८९ हजार बुझेका छन् । 

शेयर होल्डर विवेक पाण्डेले १३ लाख र जयराम रिमालले २ करोड ७५ लाख रुपैयाँ कमिसन बुझेका छन् । 

अस्पतालका डाइरेक्टर श्यामसुन्दर कँडेलले ८१ लाख रुपैयाँ कमिसन बुझेका छन् । 

श्रीद्धि इन्टरनेशनल अस्पताल २०७७ सालमा खुलेको हो । अनि एरा इन्टरनेशनल हस्पिटल २०७३ सालमा खुलेको हो । 

दुबै अस्पतालको सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना हुन् । उनका साझेदारहरुमा ट्रेकिङ कम्पनी र रेस्क्यु कम्पनीमा संलग्न व्यक्तिहरु छन् । 

तीनवटै अस्पतालबाट सन् २०२२ देखि २०२५ नोभेम्बरसम्म २० लाख डलर अर्थात् हालको विनिमय दर अनुसार ३ अर्ब रुपैयाँ घोटाला भएको सीआईबीका निर्देशक एआईजी मनोज केसी बताउँछन् ।

श्रीद्धि अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमल्सिनाले बीमाबाट भुक्तानी पाएपछि ट्रेकिङ कम्पनीलाई २० देखि २५ प्रतिशत र रेस्क्यु कम्पनीलाई २० देखि २५ प्रतिशतसम्म कमिसन दिएको बयानमा स्वीकार गरेका छन् । 

नक्कली उद्धार कार्य गर्न र कमिसन बाँडफाँटका लागि भाइबर तथा ह्वाट्सएपमा कुराकानी आदान प्रदान गरिन्थ्यो । 

सीआईबीले धेरै ह्वाट्सएप तथा भाइबर ग्रुपको कुराकानीहरुसमेत अनुसन्धान गरेको थियो । 

कतिपय अवस्थामा बीमा कम्पनीको पैसा लिएपछि विदेशी पर्यटकले समेत लाभ लिने गरेका थिए । ट्रेकिङ गरेर फर्केर आएका पर्यटकलाई फकाइ फुलाइ बिरामी बन्न लगाएर पनि बीमाको रकम हत्याएको सीआईबीको दाबी छ । 

फेक रेस्क्युको घटना बाहिरिएपछि सरकारले २०७५ सालमा पर्यटक खोज उद्दार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि बनाएको थियो । तर अहिले पनि फेक रेस्क्यु नरोकिएको सीआईबीको अनुसन्धानले देखाएको छ । 

कार्यविधि अनुसार उद्धारमा संलग्न हेलिकप्टरले उद्धार गरिएका पर्यटक, उसका सहयोगी र सामान बाहेक अरु बोक्न पाउँदैन । एउटै रेस्क्यु फ्लाइटमा २–३ जनादेखि ४–५ जनासम्म बिरामी पर्यटक ओसार पसार गर्ने गरिएको थियो । 

कहिलेकाही रेस्क्यु फ्लाइट नै नगरी नियमित वा चार्टर उडानबाट पर्यटकको उद्धार गरिन्छ । 

अनि बीमा दाबीको लागि फरक फरक प्यासेन्जर एण्ड कार्गो मेनिफेस्ट बनाउने गरिन्छ । यो काममा हेलिकप्टर कम्पनीका अपरेसन म्यानेजरहरुको मिलेमतो देखिएको छ । 

४ हजार डलर पर्ने रेस्क्यु फ्लाइटको १२ हजार डलरसम्मको नक्कली बिल बनाएको पाइएको छ ।

उद्धारका लागि जाने हेलिकप्टरको सबै विवरण त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोल र नागरिक उड्डयन प्राधिकरणमा पनि हुन्छ । 

नागरिक उड्डयन प्राधिकरणको रेकर्डमा एउटा ब्यहोरा र बीमाको पैसा दाबी गर्न पेश गरेको अर्को ब्यहोरा भएपछि फेक रेस्क्यु खुलेको थियो । 

००० 

फेक रेस्क्युमा सीआईबीले ३३ जनामाथि अनुसन्धान गरेर मुद्दा चलाउन राय दिएको थियो । सरकारी वकिल कार्यालयले माउन्टेन हेलिकप्टरका पूर्वमहाप्रबन्धक राजेन्द्रबहादुर सिंहलाई छाडेर अरु ३२ जनामाथि मुद्दा चलाएको छ । 

मुद्दा चलाइएकामध्ये ९ जना पक्राउ परेका छन् भने अरु २३ जना फरार रहेका छन् । 

पक्राउ पर्नेमा मुक्ति पाण्डे, सुवास केसी, विवेक पाण्डे, जयराम रिमाल, रवीन्द्र अधिकारी, डा. गिर्वाणराज तिमिल्सिना, सन्दीप तिवारी, पासाङ शेर्पा र सन्तोष भन्ने खोमराज अधिकारी रहेका छन् । 

फेक रेस्क्युमा संलग्नहरुले नेपालको अन्तर्राष्ट्रिय छवि बिगारेको, देशको छविमाथि घृणा द्धेष फैलाउने काम गरेको भनेर राज्यविरुद्धको अपराधको मुद्दा लगाइएको छ । 

अनि ३–४ पक्षको आपसी मिलेमतो र सेटिङमा फेक रेस्क्यु गरेकाले संगठित अपराधको मुद्दा पनि लगाइएको छ । अहिले यो केस काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ