नेभिगेशन
अर्थ

माइक्र‍ो ब्रुअरी : खुल्दैछ नेपालमा नयाँ बिजनेसको ढोका

बियर, यो सुन्नासाथ तपाईंको दिमागमा के आउँछ ? सीसाको बोतल वा आल्मुनियमको क्यानभित्रको ब्राउन कलरको पेय पदार्थ । 

तर अब छिट्टै यो सोच बदलिन सक्छ । केही समयपछि, तपाईंले रेस्टुरेन्ट वा होटलमा बोतल वा क्यानको हैन, पाइप हुँदै टेबल छेउसम्म आउने ताजा बियर धारा खोलेर खान पाउनुहुनेछ । वा भनौं नेपालमा यस्तै बिजनेस गर्नु पाउनुहुनेछ । 

हो, अब होटल र रेस्टुरेन्टले आफ्नै ब्रान्डको, आफ्नै स्वादको बियर आफैं उत्पादन गरेर ग्राहकलाई बेच्न सक्ने दिन नजिकिँदैछ । 

सरकारले बजेटमार्फत नीतिगत र राजस्वसम्बद्ध व्यवस्थाहरु गरिसकेको छ । उद्योग विभागले अब माइक्रो ब्रुअरीको पनि लाइसेन्स बाँड्ने तयारी गर्दैछ । माइक्रो ब्रुअरी खुलेपछि नेपालमा ‘क्राफ्ट बियर’ को युग सुरु हुनेछ ।

के हो माइक्रो ब्रुअरी ?

‘माइक्रो’ भनेको सानो र ‘ब्रुअरी’ भनेको बियर बनाउने उद्योग । सानो मात्रामा रक्सी वा बियर उत्पादन गर्ने एउटा ‘मिनी फ्याक्ट्री । 

यही हो, माइक्रो ब्रुअरी । यसलाई ‘क्राफ्ट ब्रुअरी’ पनि भनिन्छ । ‘क्राफ्ट’को अर्थ त नेपालीमा हस्तकला वा सीपको प्रयोग गरेर बनाइएको कुनै कुरा भन्ने हुन्छ । अझै सजिलोसँग भन्दा घर वा पसलमै बन्ने बियर । 

ठूला फ्याक्ट्रीमा बडेमानका मेसिनहरुको प्रयोग गरे ठूलै मात्रामा बियर उत्पादन गरिन्छ । तर माइक्रो ब्रुअरीमा बियर बनाउने मान्छे हुन्छन्, जसलाई ‘ब्रुमास्टर’ भनिन्छ । उसले आफ्नो सीप र कला प्रयोग गरेर बियरलाई मौलिक स्वादमा तयार पार्नसक्छ ।

कुनै पनि ब्रुअरीलाई ‘माइक्रो’ भन्नका लागि त्यसको उत्पादन क्षमता धेरै ठूलो हुनु हुँदैन ।  माइक्रो ब्रुअरीमा बोटलिङ प्लान्ट हुँदैन ।

त्यहाँ बनेको बियरलाई सिसाको बोतल वा आल्मुनियमको क्यानमा प्याक गरेर बजारका पसल–पसलमा बेच्न पनि पठाइँदैन । यो बियर त्यही होटल वा रेस्टुरेन्टभित्र मात्र बिक्री गरिन्छ, जहाँ सानो प्लान्ट जडान गरिएको हुन्छ । ग्राहकहरु त्यहाँ जान्छन्, बस्छन् र सिधै ग्लासमा थापेर पिउँछन् ।

त्यसो भए, यो हाम्रा परम्परागत ठूला बियर उद्योगभन्दा के–के कुरामा फरक हुन्छ त ?  

पहिलो भिन्नता हो, उत्पादनको मात्रा । नेपालका ठूला बियर फ्याक्ट्रीहरूले महिनामा लाखौं लिटर बियर बनाउँछन् । देशभरिका करोडौं उपभोक्तालाई आफ्नो बियर बेच्छन् । तर माइक्रो ब्रुअरीले निकै थोरै मात्रामा बियर बनाउँछ । यसको उद्देश्य धेरै बेच्नु भन्दा पनि गुणस्तरीय उत्पादन बेच्नु हो । 

अनि फरक–फरक स्वाद दिएर आफ्नो बिजनेसलाई युनिक बनाउनु पनि हो । 

दोस्रो फरकपन हो– फ्रेसनेस । तपाईंले बजारमा किन्ने बियरको एक्सपायरी डेट हेर्नुपर्छ । त्यो बियर फ्याक्ट्रीबाट डिलर, डिलरबाट होलसेलर, होलसेलरबाट खुद्रा पसल हुँदै अन्तमा होटल/रेस्टुरेन्ट र मदिरा पसलसम्म पुग्छ । यो प्रक्रियामा हप्तौं लाग्न सक्छ । बियर जति पुरानो भयो, त्यसको वास्तविक स्वाद घट्दै जान्छ । 

तर माइक्रो ब्रुअरीमा बियर बनेको केही दिनमै खपत हुन्छ । यो पूर्ण रुपमा ताजा हुन्छ ।

तेस्रो भिन्नता हो, स्वाद । ठूला बियर फ्याक्ट्रीहरूले धेरै नाफा कमाउन र सस्तोमा बियर बनाउन जौको मात्रा कम गरेर चामल वा मकैको प्रयोग धेरै गर्छन् । तर माइक्रो ब्रुअरीहरुले परम्परागत र शुद्ध सामग्रीहरू प्रयोग गर्नसक्छन् । 

यसमा जौको प्रयोग बढी हुन्छ । यसका साथै, माइक्रो ब्रुअरीले विभिन्न थरीका फ्लेभरहरु परीक्षण गर्न सक्छन् । जस्तै, चकलेट फ्लेभर, कफी फ्लेभर, वा फलफूलका अनेक फ्लेभर । नेपालको कुनै मौलिक परिकारका फ्लेभरहरु पनि हुनसक्छ । 

चौथो भिन्नता हो, स्थानीयपन । ठूला बियर कम्पनीको स्वाद देशभरि एउटै हुन्छ । काठमाडौँमा पिउने बियर र पोखरामा पिउने बियरको स्वादमा कुनै फरक हुँदैन । तर माइक्रो ब्रुअरी स्थानीय स्वाद हुन्छन् । 

पोखराको एउटा रेस्टुरेन्टमा पाइने क्राफ्ट बियरको स्वाद काठमाडौंको रेस्टुरेन्टभन्दा फरक हुन सक्छ । किनभने त्यहाँका ब्रुमास्टरले आफ्नै तरिकाले बियरको रेसिपी तयार पारेका हुन्छन् ।

०००

अब कुरा गरौं, माइक्रो ब्रुअरी कसरी चलाइन्छ भन्नेबारे । 

धेरै मानिसलाई लाग्न सक्छ कि रेस्टुरेन्टभित्रै बियर बनाउने कुरा असजिलो हुँदैन र ? दुर्गन्ध आउला या धेरै ठूलो ठाउँ चाहिएला ! 

तर होइन, आधुनिक प्रविधिले गर्दा यो प्रक्रिया निकै सफा, व्यवस्थित र सानो ठाउँमा सम्भव भइसकेको छ ।

माइक्रो ब्रुअरी चलाउन रेस्टुरेन्ट वा होटलको एउटा निश्चित भाग छुट्याइएको हुन्छ । यसलाई प्रायः ग्राहकले सीसाको पर्खाल बाहिरबाट प्रष्ट देख्न सक्ने गरी डिजाइन गरिएको हुन्छ । यसले रेस्टुरेन्टको शोभा त बढाउँछ नै, ग्राहकलाई एक प्रकारको कौतुहलता पनि दिन्छ ।

प्लान्टमा तयार भएको बियरलाई केही दिनका लागि चिसो ट्यांकमा राखेर म्याचुअर्ड बनाइन्छ । यसले बियरको स्वादलाई अझ निखार्छ र बियर सफा देखिन्छ । जब बियर तयार हुन्छ, यसलाई सिधै रेस्टुरेन्टको बारमा भएका ‘ट्याप’ वा धाराहरुमा पाइपमार्फत जोडिएको हुन्छ । 

ग्राहकले अर्डर गर्नासाथ बारटेन्डरले धारा खोलेर ताजा बियर गिलासमा भरिदिन्छन् । 

यो पूरै प्रक्रियालाई नियन्त्रण गर्न र रेखदेख गर्न एउटा मुख्य प्राविधिक व्यक्तिको आवश्यकता पर्छ, जसलाई ‘ब्रुमास्टर’ भनिन्छ ।

ब्रुमास्टर बियरको सेफ जस्तै हो । उसले तापमान, समय र स्वादको अवस्थालाई निगरानी र नियन्त्रण गर्छ । त्यसैले माइक्रो ब्रुअरी सञ्चालन गर्न  प्रविधि र सीप दुबैको आवश्यकता पर्छ ।

०००

अब क्राफ्ट बियरको अन्तर्राष्ट्रिय अभ्यासबारे पनि छोटो चर्चा गरौं । 

नेपालका लागि यो नयाँ भएपनि अन्तर्राष्ट्रिय बजारमा माइक्रो ब्रुअरीको इतिहास र अभ्यास निकै पुरानो र विकसित छ । 

माइक्रो ब्रुअरी वा क्राफ्ट बियर क्रान्तिको सुरुवात सन् १९७० को दशकमा संयुक्त राज्य अमेरिका र बेलायतबाट भएको हो । 

त्यस समयमा ती देशभरि नै ठूला बियर कम्पनीहरुको एकाधिकार थियो । सबै कम्पनीले एउटै स्वादको, खल्लो र हल्का बियर बनाउँथे । कतिपयले स्वाद फेर्न आफ्नै घरको भान्छा वा ग्यारेजमा साना मेसिन राखेर फरक स्वादको बियर बनाउने प्रयोग सुरु गरे । यसलाई ‘होम ब्रुइङ’ भनिन्थ्यो । 

विस्तारै यो प्रयोगले व्यावसायिक रुप लियो । सन् १९८० र ९० को दशकमा अमेरिकामा हजारौंको संख्यामा माइक्रो ब्रुअरीहरु खुले ।

अहिले अमेरिकामा मात्रै ९ हजारभन्दा बढी माइक्रो र क्राफ्ट ब्रुअरीहरु सञ्चालनमा छन् । त्यहाँको कुल बियर बजारको झण्डै १५ देखि २० प्रतिशत हिस्सा यस्तै साना ब्रुअरीहरुले ओगटेका छन् । 

युरोपको कुरा गर्ने हो भने जर्मनी, बेल्जियम र चेक रिपब्लिक जस्ता देशहरु त क्राफ्ट बियरका लागि ‘बेस्ट डेस्टिनेसन’ मानिन्छन् । जर्मनीका गाउँ–गाउँमा सयौं वर्ष पुराना साना ब्रुअरीहरु छन्, जसले स्थानीय संस्कृतिलाई बचाइराखेका छन् । 

अब हाम्रै छिमेकी देश भारतको उदाहरण हेरौं, जुन नेपालको लागि सबैभन्दा सान्दर्भिक हुन सक्छ । भारतमा सन् २००८–२००९ तिर पहिलो पटक माइक्रो ब्रुअरीको अवधारणा भित्रिएको हो । सुरुमा महाराष्ट्रको पुने र हरियाणाको गुर्गाउँमा यसको कानुनी सुरुआत भयो । अहिले भारतको बेंगलोर शहरलाई ‘बियर राजधानी’ भनिन्छ । बेंगलोरमा मात्रै ७० भन्दा बढी माइक्रो ब्रुअरीहरु छन् । 

भारतका विभिन्न शहरबाट मानिसहरु कर्पोरेट मिटिङ गर्न, पारिवारिक उत्सव मनाउन वा विकेन्डमा रमाइलो गर्न यस्ता ठाउँहरुमा जान्छन् । भारतका कतिपय राज्य सरकारहरुले त माइक्रो ब्रुअरीलाई प्रवर्द्धन गर्नका लागि करमा छुट र सजिलो लाइसेन्स प्रक्रिया समेत बनाएका छन् । 

विदेशको यो अभ्यासबाट के देखिन्छ भने, सुरुमा यो एउटा सानो फेसन जस्तो देखिएपनि विस्तारै यसले एउटा ठूलो उद्योगको रुप लिन्छ ।

यसले मान्छेलाई मदिरा पिउने मात्र होइन, बरु त्यसको स्वाद, गुणस्तर र संस्कृतिलाई बुझ्ने बानी सिकाउँछ ।

००००

अब कुरा गरौं, नेपालले यसबारे गरेको प्रयासको । नेपालमा २०७२ सालमा महेश बस्नेत उद्योगमन्त्री भएका बेला माइक्रो ब्रुअरीको लागि लाइसेन्स जारी गर्न प्रक्रिया अघि बढेको थियो । तर ठूला रक्सी कम्पनीहरुले रुचाएनन् । उनीहरुकै जोडबलमा लाइसेन्स वितरणको काम डिसमिस पारियो ।

२०७७ मा लेखराज भट्ट मन्त्री भएको बेला त्यही प्रयास गरे । त्यतिबेला बियर उद्योगहरुले माइक्रो ब्रुअरीको लाइसेन्स वितरणमा करोडौंको चलखेल भएको दाबी गरे । उपभक्ताकर्मीहरुले नै सरकारी तयारीविरुद्ध अदालतमा मुद्दा हाले । अदालतले पनि लाइसेन्स वितरण रोक्न अन्तरिम आदेश दियो । 

यो मुद्दाको फैसला २०७९ सालमा मात्र आयो । जसमा माइक्रो ब्रुअरीको लाइसेन्स वितरण रोक्नु नपर्ने भनियो । 

त्यसपछि पनि ठूला रक्सी कम्पनीको स्वार्थमा माइक्रो ब्रुअरीलाई अनुमति दिने प्रक्रिया अगाडि बढाइएन । 

यो वर्षको बजेटमार्फत सरकारले माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रुपमा दर्ता गरी अन्तःशुल्कको दायरामा ल्याउने व्यवस्था गरेको छ । आर्थि ऐनमा यसको अन्तशुलको दर समेत तोएिको छ ।

यो कार्यान्वयन गर्न अहिले उद्योग विभागले काम गरिरहेको छ । यसअनुसार निकट भविष्यमा नै नेपालमा माइक्रो ब्रुअरीको लाइसेन्स जारी गर्न सुरु हुनेछ  । २०८० सालमा माइक्रो ब्रुअरी सञ्चालनको मापदण्ड जारी भइसकेको छ । मापदण्डमा २० सिट क्षमताको रेस्टुराँको अंगको रुपमा माइक्रो ब्रअरी चलाउन पाइन्छ । रेस्टुराँकोे क्षेत्रफल कम्तीमा २ हजार ४ सय वर्गफिट हुनुपर्छ । 

ब्रुअरी हाउसको क्षेत्रफल १ हजार २ वर्ग फिट तथा युटिलिटिजको लागि ९ सय वर्गफिट न्यूनतम क्षेत्रफल हुनुपर्छ । 

प्रचलित कानुनबमोजिम प्रारम्भिक वातावरणीय प्रभाव (आईईई) स्वीकृत गरेर मात्रै माइक्रो ब्रुअरी खोल्न पाइन्छ । 

इजाजतका लागि २ लाख रुपैयाँ धरौटी र स्थानीय तहको सिफारिस चाहिन्छ । उद्योगले इजाजत नपाएमा वा व्यावसायिक उत्पादन थालेपछि सो धरौटी फिर्ता हुनेछ । अनुमति लिएको दुई वर्षभित्र उत्पादन गरिसक्नुपर्ने नियम छ । 

उद्योग स्थापनापछि व्यावसायिक रुपमा २ वर्षसम्म सञ्चलान तथा दर्ता गर्ने व्यक्तिको नाममा २० प्रतिशत सेयर हुनुपर्ने नियम छ । यसैगरी माइक्रो ब्रुअरीमा विदेशी लगानी ल्याउन पाइने छैन । 

माइक्रो ब्रुअरीले वार्षिक रुपमा २ लाख ५० हजार लिटरसम्म मात्रै बियर उत्पादन गर्न पाउँछन् । र, माइक्रो ब्रुअरीबाट उत्पादन हुने बियरमा अल्कोहलको मात्रा अधिकतम् ७ प्रतिशतसम्म हुनुपर्ने नियम छ । 

यसबाट उत्पादित बियर बोटलिङ तथा अन्यत्र बिक्री वितरण गर्न पाइँदैन । 

यसअनुसार ब्रुअरी आरसीसी भवनमा हुनुपर्छ, फोहोर पानी ट्रिटमेन्ट गरेर मात्रै फाल्ने व्यवस्था गर्नुपर्छै । कच्चा पदार्थ, उत्पादन क्षेत्र तथा उत्पादित वस्तुको भण्डारण गर्न छुट्टाछुट्टै व्यवस्था मिलाउनुपर्ने हुन्छ । 

प्रमाणीकरण भएको माल्टको मात्रै प्रयोग गर्नुपर्छ । नेपाली माल्टको प्रयोग हुने भएमा उत्पादकको गुणस्तरीय माल्ट उत्पादनको प्रमाणपत्र भएको हुनुपर्ने मापदण्ड छ । यस्तै ‘क्लिन इन प्रोसेसिङ सुविधासहित ल्याब बनाएको हुनुपर्छ । ट्यांक एवम् पाइपलाइन स्टिनेस स्टिल प्रयोग हुनपर्ने र बियर नेपाल गुणस्तर मापदण्डअनुरुपको हुनुपर्ने छ । यसमा चिनी मिसाउन पाइने छैन ।

नेपालमा माइक्रो ब्रुअरी खुल्यो भने के हुन्छ त ?

यसले सबैभन्दा राम्रो प्रभाव नेपालको पर्यटन उद्योगमा पार्नेछ । नेपालमा बर्सेनि १२ लाखभन्दा ढबी विदेशी पर्यटकहरु घुम्न आउँछन् ।

विशेषगरी युरोप र अमेरिकाका पर्यटकहरु क्राफ्ट बियरका पारखी हुन्छन् । उनीहरु नेपाल आउँदा यहाँको रैथाने स्वाद चाख्न चाहन्छन् । तर नेपालका रेस्टुरेन्टमा ठूला स्थापित ब्रान्डका बियर मात्र पाइन्छन् । 

यदि माइक्रो ब्रुअरी खुल्यो भने  विदेशी पर्यटकहरुले नेपालकै स्थानीय स्वाद मिसिएको क्राफ्ट बियर पिउन पाउनेछन् । 

कल्पना गरौं न, यदि कुनै ब्रुअरीले नेपालको हिमाली भेगको जडीबुटी वा स्थानीय कोदो, फापर र जुम्ली मार्सी चामलको स्वाद मिसाएर बियर बनायो भने त्यो पर्यटकका लागि एउटा नौलो स्वाद र अनुभव हुनेछ । 

अर्को फाइदा भनेको रोजगारीको क्षेत्रमा पुग्ने छ । एउटा माइक्रो ब्रुअरी खुल्दा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसरहरु सिर्जना हुन्छन् ।

बियर बनाउनका लागि ‘ब्रुमास्टर’ र ल्याब टेक्निसियनको आवश्यकता पर्छ । यसले खाद्यप्रविधिबारे पढेका युवाहरुले स्वदेशमै नयाँ र आकर्षक रोजगारी पाउन सक्छन् । रेस्टुरेन्टभित्रै उत्पादन र बिक्री हुने भएकाले थप सेवा सञ्चालनका लागि बारटेन्डर, कूक, वेट्रेस, र म्यानेजरहरुको माग बढ्नसक्छ । 

अनि यसले शहरमा नयाँ बिजनेस त जन्माउने नै भयो । होटल रेस्टुरेन्टहरुको बिजनेस ग्रोथमा पनि यसले ठूलो सहयोग गर्नसक्छ । काठमाडौंको ठमेल, झम्सिखेल, पोखराको लेकसाइड वा चितवनको सौराहा जस्ता पर्यटकीय क्षेत्रहरुमा रात्रिकालीन व्यवसाय फस्टाउन यसले सहयोग पनि गर्नसक्छ । 

स्थानीय उत्पादनको खपत पनि हुने नै भयो । बियर बनाउन चाहिने मुख्य कच्चा पदार्थ कृषिजन्य वस्तु नै हो । नेपालमा माइक्रो ब्रुअरी खुलेसँगै स्थानीय जौ, गहुँ, कोदो, र विभिन्न फलफूलहरुको माग बढ्न सक्छ । यसले नेपालको ग्रामीण अर्थतन्त्र कतै न कतै टेवा पुर्‍याउनेछ ।  

यसले सरकारी राजस्व पनि बढाउँछ । सरकारले बजेटमार्फत नै यो व्यवस्था गर्नुको मुख्य कारण राजस्व बढाउनु पनि हो । माइक्रो ब्रुअरी स्थापना गर्न व्यवसायीहरुले सुरुमै सरकारलाई लाइसेन्स शुल्क बुझाउनुपर्छ । अनि हरेक लिटर उत्पादनमा अन्तःशुल्क र बिक्रीमा मूल्य अभिवृद्धि कर पनि लाग्छ । 

००००

तर हामीले कुरा गरिरहेको मदिरा हो । यसबाट अर्थतन्त्रले जति फाइदा लिएपनि सबै राम्रै गर्छ भन्ने त हुँदैन । 

यो माइक्रो ब्रुअरी खुलेपछि अनेकन चुनौती पनि थपिन्छन् । 

पहिलो चुनौती हो, गुणस्तर नियन्त्रण । ठूला बियर उद्योगहरुमा अत्याधुनिक प्रयोगशाला हुन्छन् । त्यहाँ हरेक ब्याचको बियरको केमिकल ब्यालेन्स, पीएच लेभल र अल्कोहलको मात्रा जाँच गरिन्छ । 

तर एउटा सानो रेस्टुरेन्ट वा होटलमा ठूलो प्रयोगशाला राख्न सम्भव हुँदैन । त्यसैले ल्याबको टेस्टिङ रिजल्टको एक्युरेसीमा केही समस्या आयो भने उपभोक्ताको स्वाद र स्वास्थ्यमा असर पर्न सक्छ । 

यदि रेस्टुरेन्टको ब्रुइङ ट्यांक राम्रोसँग सफा गरिएन भने त्यहाँ हानिकारक ब्याक्टेरिया वा ढुसी पलाउन सक्छ । त्यस्तो ब्याक्टेरियायुक्त बियर बेचियो भने ग्राहक बिरामी पर्न सक्छन् ।  बियरमा अल्कोहलको मात्रा सरकारले तोकेको सीमाभन्दा बढी हुने जोखिम पनि हुन्छ । यसको नियमित अनुगमन गर्ने संयन्त्र र प्रविधि नेपाल सरकारसाग अहिलेसम्म छैन । 

अर्को चुनौती हो, महँगो लगानी र प्राविधिक जटिलता । माइक्रो ब्रुअरी खोल्न सामान्य रेस्टुरेन्ट जस्तो सस्तो हुँदैन । यसमा प्रयोग हुने फुड–ग्रेड ट्यांकहरू, चिलिङ सिस्टम र फिल्टरहरु महँगा हुन्छन् ।यसरी हेर्दा एउटा राम्रो माइक्रो ब्रुअरी स्थापना गर्न लाखौं रुपैयाँ लगानी चाहिन्छ ।

लगानी मात्र भएर पुग्दैन, नेपालमा हाल क्राफ्ट बियर बनाउने दक्ष ‘ब्रुमास्टर’ छैनन् भन्दा हुन्छ । भारत वा अन्य देशबाट महँगो तलब दिएर ब्रुमास्टरहरु ल्याउनुपर्ने हुन्छ । यदि व्यवसाय राम्रोसँग चलेन भने त्यो ठूलो लगानी डुब्ने जोखिम रहने नै भयो । 

तेस्रो च्यालेन्ज, कच्चा पदार्थ र स्वादको हो । 

नेपालमा खोजेजस्तो खाद्य पदार्थ पाउन गाह्रो छ । बियर बनाउन चाहिने जौ र ‘हप्स’ नेपालमा व्यावसायिक रुपमा उत्पादन हुँदैन । 

हप्स एउटा यस्तो वनस्पति हो जुन केवल निश्चित चिसो जलवायुमा मात्रै फल्छ । त्यसैले कच्चा पदार्थ विदेशबाटै आयात गर्नुपर्ने हुन्छ । यसले बियरको उत्पादन लागत पनि निकै महँगो हुन जान्छ । 

धेरै महँगो भयो भने मान्छे बोतल वा क्यानकै बयिरमा फर्किनसक्छन् । अनि त्यो भन्दा पनि महत्वपूर्ण कुरा स्थानीय स्वाद कसरी दिने भन्ने हो । उपभोक्तालाई मन पर्ने खालका स्थानीय स्वादको सिर्जना

गर्ने काम सजिलो छैन । फरक स्वाद दिन सकिएन भने यस्तो बिजनेस टिकाउन गाह्रो छ । 

नीतिगत र कानुनी अस्पष्टता पनि समस्यका रुपमा छ । नेपालमा नीतिगत प्रक्रियाहरु प्रायः झन्झटिला नै हुन्छन् । माइक्रो ब्रुअरीका लागि कस्तो कार्यविधि बन्छ, लाइसेन्स प्रक्रिया कति पारदर्शी हुन्छ ?

करको दर न्यायोचित र स्थिर हुन्छ कि हुँदैन भन्ने अझै स्पष्ट छैन । अनि यस्तो बियरमा करको निर्धारण कुन प्रणालीबाट रेगुलेट गरिन्छ भन्ने स्पष्ट छैन । यसले करका विवादहरु ल्याउने जोखिम हुन्छ ।

यदि झन्झटिलो सरकारी प्रक्रिया र फाइल घुमाउने प्रवृत्ति रहिरह्यो भने व्यवसायीहरु यसमा आकर्षित नहुन सक्छन् ।

अनि सबैभन्दा ठूलो चुनौती भनेको सामाजिक हो । नेपालमा मदिरा नियन्त्रण गर्नुपर्छ भन्ने मत सुन्नुभएकै होला । होटल र रेस्टुरेन्टमै बियर उत्पादन हुन थालेपछि मदिराको पहुँच अझ सजिलो हुन्छ ।

युवापुस्तालाई आकर्षित गर्नसक्छ । त्यसैले यसको बिक्री वितरणलाई मर्यादित बनाउनु अर्को चुनौती हो ।

००००

निष्कर्षमा के भन्नसक्छौं भने सरकारले खुला लागेको माइक्रो ब्रुअरी नेपाली पर्यटन र हस्पिटालिटी क्षेत्रका लागि एउटा ऐतिहासिक कदम हो । यसले नेपालको पर्यटन, अर्थतन्त्र र नाइटलाइफ वा खानपानको कल्चरलाई बदल्न पनि सक्छ । 

यस्तै अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाललाई नयाँ ढंगले ब्रान्डिङ गर्न पनि माइक्रोब्रुअरी सहयोगी हुनसक्छ । युवालाई देशभित्रै सिर्जनशील व्यवसाय गर्ने अवसर पनि दिन्छ । देशभित्र बिजनेसको नयाँ ढोका पनि खुल्छ । 

तर लाइसेन्स बाँडेर मात्रै यो सबै हुने बाला छैन । यसका लागि सरकार, व्यवसायी र उपभोक्ता सबै सचेत र जिम्मेवार हुनुपर्छ । 

सरकारले लाइसेन्स वितरण र अनुगमन प्रक्रियालाई पारदर्शी बनाउनुपर्छ, ताकि वास्तविक व्यवसायीले बिना झन्झट काम गर्न पाऊन् । गुणस्तर मापनका लागि स्पष्ट र कडा मापदण्ड बनाउनुपर्छ ।

रेस्टुरेन्टहरुको नियमित, आकस्मिक अनुगमन गर्ने प्रणाली विकास गर्नुपर्छ । र, कर छल्न नदिने गरी एक–एक लिटर उत्पादनको अनलाइन मिटरिङबाटै निगरानी गर्ने प्रणाली विकास गर्नुपर्छ । 

तर सेटिङमा मापदण्ड पनि छल्न दिने वा व्यवसायीलाई विभिन्न बाहनामा अनाश्वयक दुःख दिने प्रवृत्ति पनि रोक्नुपर्छ ।  

व्यवसायीले पनि नाफा कमाउने उद्देश्य मात्र राखेर हुँदैन । उपभोक्ताको स्वास्थ्य र स्वच्छतामा कुनै कम्प्रमाइज गर्नु हुँदैन । नेपाली युवालाई नै यो प्रविधि र कला सिकाएर दक्ष बनाउने पनि लगानी गर्नुपर्छ । नेपालकै स्थानीय कृषि उत्पादनलाई प्रयोग गरेर मौलिक नेपाली स्वादका क्राफ्ट बियर संसारमाझ चिनाउने प्रयास गर्नुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ