कृषि अनुदानको नाममा राज्यकोषको यो हदको दुरुपयोग !
कृषि अनुदानका नाममा राज्यकोषको लाखौं रकम कसरी दुरुपयोग भइरहेको छ भन्ने एउटा उदाहरण रुकुम पश्चिमको आठबिसकोटमा हेर्नुस् ।
एउटा दुग्ध सहकारीलाई सुरुमा प्रदेश सरकारले कोल्ड स्टोर राख्न भनेर ९१ लाख रुपैयाँ अनुदान दिन्छ । तर अनुदान लिएको दुई वर्षसम्म त्यो सहकारीले कोल्ड स्टोर नै राख्दैन ।
त्यही सहकारीलाई दुई वर्षपछि आठबिसकोट नगरपालिकाले दूध बोक्ने ट्यांकर र दुईवटा सिंगल क्याब गाडी अनुदानमा दिन्छ । जसको मूल्य ८० लाख रुपैयाँ भन्दा बढी छ ।
तर सहकारीका सञ्चालकहरुले प्रदेश सरकार र नगरपालिकाको पैसाले केही काम नै गर्दैनन् । अहिले अख्तियारले नगरपालिकाका मेयर, प्रदेश सरकारका कर्मचारी र सहकारी सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
०००
सरकारी अनुदान हत्याउने योजना आज भन्दा ७ वर्ष अगाडि नै बनेको थियो ।
रुकुम आठबिसकोट नगरपालिका–९ का जनक बटाला लगायत केही व्यक्तिहरुले एउटा डेरी खोल्ने र चिस्यान केन्द्रका लागि सरकारी अनुदान हात पार्ने योजना बनाउँछन् ।
त्यसका लागि आठबिसकोट दुग्ध सहकारी संस्था स्थापना गर्छन् । अनि कर्णाली प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रुकुम जिल्लामा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयसँग चिस्यान केन्द्रका लागि अनुदान सम्झौता गर्छन् ।
अख्तियारका अनुसार अनुदान सम्झौता अगाडि सहकारीको वस्तुनिष्ट मूल्यांकन गर्नुपर्थ्यो । तर नियम विपरीत गलत मूल्यांकनका आधारमा ९१ लाख १७ हजार ८७३ रुपैयाँ सहकारीलाई दिने गरी अनुदान सम्झौता गरिएको छ ।
तर त्यो सहकारीले ९१ लाख रुपैयाँ अनुदान हात पारेको २ वर्षसम्म चिस्यान केन्द्र सञ्चालन गर्दैन ।
त्यो पैसा सहकारीले के गर्यो कसैले खोजिनिति गर्दैन ।
बरु त्यही सहकारीलाई रुकुमको आठबिसकोट नगरपालिकाले एउटा मिल्क ट्यांकर र दुईवटा सिंगल क्याब गाडी अनुदान दिन्छ । त्यसको मूल्य ८० लाख २३ हजार ५१ रुपैयाँ छ ।
अख्तियारका अनुसार पशु अस्पताल तथा पशुसेवा कार्यालयका कर्मचारी र आठबिसकोट नगरपालिकाका पदाधिकारीहरुले सहकारीलाई फाइदा पुग्ने गरी र सरकारलाई घाटा हुने गरी अनुदान दिएका छन् ।
यो प्रकरणमा अख्तियारले आठबिसकोट नगरपालिकाका मेयर रवि केसी, प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस्तै पशु अस्पताल तथा पशसेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख सुवर्णसिंह ठकुरी, ज्ञानुकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर खड्का, कृषि कार्यालयका कृषि अधिकृत मीनबहादुर केसीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रदेश सरकार र नगरपालिका दुबै ठाउँबाट अनुदान कुम्ल्याउने आठबिसकोट दुग्ध सहकारीका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाय सचिव गोविन्दप्रकाश खड्का र कोषाध्यक्ष जुनुकुमारी चनेलविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको छ ।
मासिएको प्राचीन पोखरीले पायो आकर्षक र रमणीय रुप
बालश्रमसम्बन्धी नयाँ विधेयक : बालेनले अब भन्नु पर्दैन सरी !
सुनसरीमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा
सुरुङमार्गबाट कसरी हरायो केपी ओलीको शिलालेख ?








