सिद्धार्थ राजमार्ग बन्दैछ एक्प्रेस-वे, २ घण्टामै बुटवलबाट पोखरा
बाटो छोटो बनाउन कति वटा सुरुङमार्ग, अग्ला भायडक्ट र पुलहरु बनाउने ? कि अहिलेकै सडक र मोडहरु मात्रै सुधार गर्ने ?
अहिले योजना आयोग, सडक विभाग र पूर्वाधार मन्त्रालयमा सिद्धार्थ राजमार्गबारे भइरहेको छलफल यिनै विषयमा केन्द्रित छ । सरकार निष्कर्षमा पुगिसकेको छैन ।
००००
राजा महेन्द्रले पूर्व–पश्चिम महेन्द्र राजमार्ग, काठमाडौंदेखि सिन्धुपाल्चोकको कोदारीसम्मको अरनिको राजमार्गपछि तेस्रो योजनाका रुपमा पोखरादेखि सुनौली जोड्ने सिद्धार्थ राजमार्ग अघि बढाएका थिए ।
मध्यपहाडी क्षेत्रलाई लुम्बिनीसँग जोड्ने हुनाले यो सडकको नाम गौतम बुद्धको नामबाट ‘सिद्धार्थ राजमार्ग’ राखिएको थियो ।
त्यतिबेला नेपालको पहाडी भेगमा आधुनिक सडक सञ्जाल छँदै थिएन । काठमाडौंपछिको ठूलो शहर पोखरा हवाइ मार्गमा जोडिइसक्दा पनि सडक पुगेको थिएन । पहाडबाट तराई झर्न हप्तौं हिँड्नुपथ्र्यो । यही बाध्यताका बीच २०२५ सालमा नेपाल र भारत सरकारबीच सम्झौता भयो ।
यो राजमार्गको निर्माणका लागि भारत सरकारले सबै आर्थिक र प्राविधिक सहयोग गर्ने तय भयो । र, त्यसैअनुसार निर्माण सुरु भयो । इन्जिनियर र मजदुरहरुले अहोरात्र खटेर यो सडकको ट्रयाक खोले । अन्ततः २०२९ वैशाखमा तत्कालीन राजा वीरेन्द्रले यो राजमार्गको उद्घाटन गरे ।
यो सडक बनेपछि सिंगो पश्चिम र मध्य नेपालको मुहार फेरियो । तराइको अन्न भण्डारबाट खाद्यान्न र अत्यावश्यक सामग्री पहाडका दुर्गम बस्तीसम्म पुग्न थाल्यो ।
पहाडमा फल्ने गेडागुडी, अन्नपात, सुन्तला लगायतका कृषिवस्तु तराईका बजार र भारतसम्म पुग्न पाए । गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पर्यटकीय शहर पोखरा एउटै सीधा सडक सञ्जालमा जोडिए । यो सडकले पोखरामा आधुनिक पर्यटनको जग बसाल्न सहयोग गर्यो ।
समयसँगै यो सडकमा गुड्ने गाडी थपिँदै गयो, सडकको अवस्था भने जस्ताको तस्तै रह्यो । अहिले ५५ वर्ष भइसक्यो, तर, सिद्धार्थ राजमार्ग भने अझै पनि २०२९ सालकै जस्तो साँघुरो र घुमाउरो नै छ ।
अहिले पनि पाल्पा, स्याङ्जा र कास्की खण्डमा यो सडकको चौडाइ जम्मा ५.५ देखि ६ मिटर मात्र छ । यसलाई प्राविधिक भाषामा सिंगल वा इन्टरमिडिएट लेन भनिन्छ ।
अहिले यो सडक भएर दैनिक १० हजारभन्दा बढी सवारी साधनहरु गुड्छन् । ठूला–ठूला मालबाहक ट्रकहरु, छोटो र लामो दुरीका बसहरु, निजी कार र मोटरसाइकलहरुको लर्को लाग्छ ।
तर, बाटो भने उस्तै साँघुरो र घुम्तीयुक्त छ । सडकमा यति धेरै खतरनाक घुम्तीहरु छन् कि पहिलोपटक गाडी लिएर जानेहरु त अत्तालिन्छन् । दुईवटा ठूला ट्रक वा बस एकैसाथ पास हुन मुश्किल पर्छ ।
०००
यो राजमार्गको कुरा गर्दा बुटवल–पाल्पा खण्डमा पर्ने ‘सिद्धबाबा’ क्षेत्रबारे पनि बताउनैपर्छ । सिद्धबाबा क्षेत्रकै कारण सिद्धार्थ राजमार्ग यात्रुहरुका लागि ‘मृत्युको मार्ग’ बनेको छ ।
सिद्धबाबा मन्दिर नजिकैको करिब ३–४ किलोमिटर खण्ड यति खतरनाक छ कि यहाँ हिउँद होस् या बर्खा, जुनसुकै बेला पनि पहिरो खस्न सक्छ ।
त्यहाँका पहाडहरु निकै कमजोर छन् । अलिकति पानी पर्नासाथ माथिबाट ठूला–ठूला चट्टान झर्न थाल्छन् र सडकमै बज्रिन्छन् । धेरै पटक गुडिरहेका गाडी र बाइकमाथि ढुंगा खसेर कयौं नेपालीले अकालमै ज्यान गुमाएका छन् । कतिपय गाडी त पहिरोसँगै तिनाउ नदीमा खसेका छन् ।
सिद्धबाबाको यो आतंकलाई सधैंका लागि अन्त्य गर्न सरकारले अहिले सिद्धबाबामा करिब ८ अर्ब खर्चिएर सुरुङमार्ग बनाइरहेको छ । यो सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर अर्थात् १.१२ किलोमिटर छ ।
६८ प्रतिशतभन्दा बढी काम सकिएको यो सुरुङमार्ग आगामी वर्षसम्म सञ्चालनमा ल्याइसक्ने योजना छ । सुरुङबाहिरको अन्य जोखिमयुक्त ठाउँमा ‘रक सेड’ पनि बनाइँदैछ ।
रक सेड भनेको सडकमाथि बलियो संरचना बनाउनु हो, जसले गर्दा माथिबाट ढुंगा खसे पनि त्यो सिधै छानाबाट खोंचमा खस्छ र सडकमा गुडिरहेका गाडीहरु सुरक्षित रहन्छन् । सिद्धबाबामा पहिरोको डर नभएमा सिद्धार्थ राजमार्गमा यात्रा गर्नेहरु झनै बढ्ने छन् ।
सरकारले भारतको सीमाना सुनौलीदेखि बुटवलसम्मको २७ किलोमिटर सडकलाई व्यापारिक मार्ग आयोजना अन्तर्गत ६ लेनको भव्य र फराकिलो बनाइसकेको छ । पोखरा सहरभित्र र आसपासको सडक पनि फराकिलो हुँदैछ ।
करिब १ सय ५७ किलोमिटर पहाडी खण्ड अझै पनि उस्तै जीर्ण खाल्डैखाल्डा र जोखिमपूर्ण छ । सिद्धबाबामा सुरुङ बनाइरहेकाले अब यो सडकमा पहिरोको जोखिम पनि छैन । त्यसैले सरकार पुरै सिद्धार्थ राजमार्गलाई नै स्तरीय बनाउन चाहन्छ ।
००००
सरकारको लक्ष्य छ कि यो सडकलाई ‘डेडिकेटेड डबल लेन’ अर्थात् अन्तर्राष्ट्रिय मापदण्डको चौडा दुई लेनको बनाउने । यसका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनिसकेको छ । चीनको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) यसमा ऋण लगानी गर्न इच्छुक पनि छ ।
तर, अझै पनि यसलाई कसरी बनाउने भन्नेबारे एकमत हुन सकेको छैन । राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाका अनुसार अहिले २ वटा विकल्पमा छलफल भइरहेको छ ।
पहिलो विकल्प हो, अहिले भइरहेकै सडकको स्तरोन्नति गर्ने ।
यो पहिलो विकल्प निकै व्यवहारिक, परम्परागत र नेपालको वर्तमान आर्थिक क्षमता अनुकुलको छ । यो रणनीति अन्तर्गत अहिले चलिरहेकै सिद्धार्थ राजमार्गको दायाँ–बायाँ भित्ता काटेर वा टेवा पर्खाल लगाएर सडकलाई ९ देखि ११ मिटर चौडा बनाइनेछ ।
सडकका खतरनाक र साँघुरा घुम्तीहरुलाई ठूलो र सीधा बनाइनेछ, जसलाई प्राविधिक भाषामा ‘ग्रेडिएन्ट एण्ड कर्भ इम्प्रुभमेन्ट’ भनिन्छ ।
सडक विभागका अनुसार यो योजना कार्यान्वयन गर्न करिब ३५ देखि ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सरकारका लागि यति पैसा जुटाउनु ठूलो कुरा हैन । नेपाल सरकारले आफ्नै वार्षिक बजेट वा साना वैदेशिक सहायताबाट यो सडक स्तरोन्नति गर्न सक्छन् ।
नयाँ अलाइनमेन्टमा सडक खन्नु नपर्ने र भएकै बाटोमा काम गर्नुपर्ने भएकाले यसमा मुआब्जा विवाद कम हुन्छ र निर्माण कार्य छिटो सम्पन्न हुन सक्छ ।
यसले यो सडक खण्डमा पर्ने साना र ठूला बजारहरु बर्तुङ, आर्यभञ्ज्याङ, राम्दी, वालिङ, गल्याङ जस्ता क्षेत्रको व्यापार व्यवसाय स्थापित भइरहन्छ । विस्थापनको समस्या आउँदैन ।
तर, यसरी भएको सडकलाई फराकिलो मात्रै बनाउँदा सडकको कुल लम्बाइ घट्दैन । बुटवलदेखि पोखराको दूरी १–२ घण्टा मात्र कम होला, त्योभन्दा बढी घटाउन सकिँदैन । अनि पहाडका भित्ताहरु थप काट्दा पहिरोको जोखिम निम्तिन सक्छन् । बर्खायाममा सडक अवरुद्ध हुने समस्या समाधान हुँदैन । आगामी २०–३० वर्षपछि सवारी चाप बढ्यो भने यो सडक फेरि साँघुरो हुन पुग्छ ।
०००
सरकारको जोड दोस्रो विकल्पमा छ । सरकारी निकायहरुमा ८–१० वटा सुरुङमार्ग सहितको द्रुतमार्ग बनाउनुपर्छ भनेर पनि छलफल भइरहेका छन् ।
यो दोस्रो विकल्प एकदमै आधुनिक र दीर्घकालीन सोचमा आधारित छ । यो विकल्प अन्तर्गत सिद्धार्थ राजमार्गलाई एक्सप्रेसवेमा स्तरोन्नति गरिनेछ । पहाडका लामा र घुमाउरो बाटोहरुलाई बाइपास गर्दै सुरुङमार्गहरु बनाउने योजना यसमा छ ।
द्रुतमार्गमा साना–ठूला गरेर ८ देखि १० वटा अत्याधुनिक सुरुङमार्गहरु बनाउन सकिने देखिएको छ । यी सुरुङहरुको कुल लम्बाइ मात्रै करिब २० किलोमिटर हुनेछ ।
सबैभन्दा लामो र महत्वाकांक्षी सुरुङ कास्कीको छोरेपाटनदेखि स्याङ्जाको फेदीखोलासम्म बन्नेछ । यसको लम्बाइ ५ किलोमिटरभन्दा बढी हुनेछ । यो सुरुङ बनेपछि पोखराबाट निस्किनासाथ केही मिनेटमै गाडीहरु स्याङ्जाको फेदीखोला पुग्नेछन् ।
स्याङ्जाको डरलाग्दो ‘भालुपहाड’ क्षेत्रमा पनि सुरुङ बनाइनेछ । त्यस्तै राङखोला र वालिङ आसपासका घुम्ती छल्न पनि सुरुङमार्ग बनाइनेछ ।
पाल्पाको राम्दी क्षेत्र, जहाँ कालीगण्डकी नदी बग्छ, त्यहाँ र अन्य कठिन पहाडी खण्डहरुमा सुरुङ बनाएर बाटो एकदमै सीधा र चौडा बनाइनेछ । यसबाहेक, आवश्यक ठाउँमा साना पहाडहरु जोड्न अग्ला र आकर्षक ‘भायाडक्ट’अर्थात् आधुनिक पुलहरु निर्माण गरिनेछन् ।
सडक विभागका अनुसार अहिले छलफल भइरहेको विकल्पमा जाँदा सिद्धार्थ राजमार्गको कुल लम्बाइ झण्डै ४५ किलोमिटरले घट्न सक्छ । अहिले सिद्धार्थ राजमार्गको लम्बाई १८१ किलोमिटर छ ।
सुरुङ र भायाडक्ट पुलहरुले राजमार्गको लम्बाई १३५ किलोमिटरमा झार्न सक्छ । यदि यो विकल्पमा सडक बनाउने हो भने बुटवलदेखि केबल दुई–तीन घण्टामा पोखरा आइपुगिन्छ ।
दुई शहरको कनेक्टिभिटी सहज हुनेवित्तिकै पर्यटन लगायतका अरु व्यवसायहरु फस्टाउनेछन् । पेट्रोलियम पदार्थको खपत घटाउनेछ, गाडीहरुको सञ्चालन र मर्मत लागत पनि कम हुनेछ ।
घुम्तीहरु कम हुने भएकाले दुर्घटनाको जोखिम पनि घट्ने छ । मौसम जस्तोसुकै भए पनि यात्रामा रोक लगाउनुपर्ने अवस्था हुदैन । यस्तो पूर्वाधारले वर्षौंवर्षसम्म सवारी साधनको चाप थेग्न सक्छ ।
तर, सुरुङमार्ग प्रविधि निकै महँगो हुन्छ । द्रुतमार्ग बनाउन पहिलो विकल्पभन्दा झण्डै तेब्बर बढी अर्थात् ९० अर्बदेखि १ खर्ब रुपैयाँसम्म खर्च लाग्न सक्छ । यति ठूलो बजेट नेपाल सरकारले आफ्नै गोजीबाट हाल्न सक्दैन ।
विदेशबाट ऋण लिनैपर्छ ।
अनि नयाँ एलाइनमेन्टमा जाँदा नयाँ जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ, यस्ता जग्गालाई मुआब्जा तिर्नुपर्छ, मुआब्जाले खर्च र विवाद दुबै बढाउनेछ ।
अहिले सरकार भइरहेकै सडकको स्तरोन्नति गर्ने कि सुरुङसहितको दु्रुत मार्ग बनाउने भन्ने दुई विकल्पको दोसाँधमा छ । प्राविधिक रुपमा सुरुङमार्गसहितको द्रुतमार्ग उत्कृष्ट देखिए पनि देशको आर्थिक अवस्थाका कारण कुन मोडेल रोज्ने भन्ने विषयमा निर्णय हुन सकेको छैन ।
चालू आर्थिक वर्षभित्रै यसको मोडेल टुंगो लगाएर आगामी आर्थिक वर्षदेखि काम सुरु गर्ने र आगामी ५ वर्षभित्र सक्ने दाबी सडक विभागका अधिकारीहरुको छ ।
०००
सिद्धार्थ राजमार्गको स्तरोन्नतिले पश्चिम नेपालको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्नेछ । पश्चिम तराईका उद्योगहरुमा उत्पादित सामानहरु सजिलै र सस्तोमा पहाडी बजारसम्म पुर्याउन र पहाडका कृषि उपजहरु तरकारी, फलफूल र दुग्ध पदार्थ तराईका ठूला शहरमा लैजान थप सहज हुनेछ ।
सरकारले सिद्धार्थ राजमार्गको स्तरोन्नती गर्दै कालीगण्डकी सभ्यतालाई तीर्थाटन, संस्कृति र स्वच्छ उद्यमको केन्द्र बनाउन गण्डकी चतुर्भुज कार्यक्रा पनि बजेटबाट घोषणा गरेको छ ।
अहिले मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकलाई चार लेनमा विस्तार गर्ने काम लगभग सकिएको छ ।
जब सिद्धार्थ राजमार्ग पनि अत्याधुनिक दुई वा चार लेनको द्रुतमार्ग बन्नेछ, त्यसपछि पोखरा, लुम्बिनी र सौराहाको पर्यटन पनि मौलाउनेछ । पोखरा आउने विदेशी पर्यटक बिहानै गाडी चढेर लुम्बिनी जान सक्नेछ । बुद्ध जन्मस्थलको दर्शन गरेर बेलुकाकै फ्लाइट वा गाडीमा पोखरा फर्कन सक्नेछन् ।
भारतबाट बेलहिया नाका हुँदै आउने हजारौं भारतीय धार्मिक पर्यटकहरु सजिलै पोखरा र मुक्तिनाथसम्म पुग्न सक्नेछन् । यसले गर्दा पर्यटकहरुको बसाइ अवधि बढ्नेछ र स्थानीय होटेल, रेस्टुरेन्टको आम्दानी पनि वृद्धि हुनेछ ।
यो सडक भविष्यमा चीनको मानसरोबर जाने रुट पनि बन्न सक्ने सडक विभागका अधिकारीहरु बताउँछन् ।
सडकको पहुँच राम्रो भएपछि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, गल्याङ र फेदीखोला जस्ता शहरहरु व्यवस्थित विकास गर्न बाटो खुल्नेछ । यसले पहाडबाट तराईतर्फ भइरहेको तीव्र बसाइँसराइ केही हदसम्म रोकिनसक्छ । पहाडमै आधुनिक शिक्षा, स्वास्थ्य र व्यापार सुविधा पुग्ने सम्भावना बढ्छ ।
समग्रमा भन्दा सिद्धार्थ राजमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आर्थिक मेरुदण्ड हो । ५५ वर्षअघि बनेको यो पूर्वाधारले आफ्नो समयमा देशलाई ठूलो गुन लगायो । अहिले साँघुरो लाग्ने यो सडकले आजको आधुनिक नेपालको आवश्यकतालाई धान्न सक्दैन ।
हो, बजेटको अभाव छ, प्राविधिक चुनौतीहरु छन ्। तर, भावी पुस्ताको लागि भएपनि सिद्धार्थ राजमार्गलाई स्तरोनन्ती गर्न धेरै ढिला गर्नुहुँदैन । सिद्धबाबा सुरुङमार्गमा भएको लगानीको रिटर्न लिन पनि सिद्धार्थ राजमार्गको विस्तार गर्नैपर्छ ।
सरकारले चाहे हालकै सडकलाई फराकिलो बनाओस्, या त ८–१० वटा सुरुङ खनेर भव्य द्रुतमार्ग बनाओस् । तर, छिट्टै निर्णय गरेर काम सुरु हुनुपर्छ ।
सन्तोष साहमाथि कसरी लाग्यो ठगीको आरोप, रेष्टुरेन्ट किन्दा कहाँ भयो गडबडी ?
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा जस्तै बन्ने जोखिम कति ?
सरकारले ल्याउँदैछ म्यासेजिङ एप, होला त सफल ?
विदेशिएका २० लाख नेपालीले नचिनेको 'सुनौलो योजना'




