नेभिगेशन
अर्थ

बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?

विपदको बेला पहिलो आवश्यकता हुन्छ, छानो । 

सरकारका अनुसार बाढी प्रभावितहरुको दीर्घकालीन पुनस्र्थापनाका लागि एकीकृत बस्ती विकास गर्ने योजना छ । 

तर यो आजको भोलि हुन्न । यसका लागि पहिला जग्गा पहिचान गर्नुपर्छ । यसले निश्चित समय लिन्छ । स्थानीय तहहरुले बाढी प्रभावित क्षेत्रहरुलाई राख्न सकिने सार्वजनिक जग्गाहरु कहाँ छन् भनेर पनि खोज्न थालेका छन् ।

यसबारे जानकारी दिन केन्द्र सरकारलाई पत्रचार गरेका छन् । 

कहाँ राख्ने भनेर जग्गा पहिचान भइसकेपछि यदि त्यो सार्वजनिक जग्गा भए क्याबिनेटले निर्णय गरे पुग्छ । निजी जग्गा हो भने सरकारले खरिद गर्नुपर्छ । त्यसपछि त्यहाँ कस्तो वस्ती विकास गर्ने भनेर डिटेलमा काम गर्नुपर्छ ।

घरहरु मात्र बनाएर भएन, यहाँसम्म पुग्ने सडक, बिजुली, पानी, ढल सबैको योजना बन्नुपर्छ । यो सबै भएपछि बल्ल बस्ती निर्माणको काम थाल्न सकिन्छ ।

यो सबै काम गर्न केही वर्ष लाग्छ । पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार सरकारको लक्ष्य २ वर्षमा स्थायी बसोबासको व्यवस्था गर्ने छ । 

अनि, २ वर्षसम्म बाढी प्रभावितहरुलाई होल्डिङ सेन्टरमा राख्न सकिन्न । त्यसैले अस्थायी आवास चाहिएको छ ।

विपदको बेला अस्थायी आवासहरु बनाउन त्रिपालको प्रयोग हुन्छ । अहिले त घर जस्तै आकारका त्रिपालहरु पनि पाइन्छ ।

तर लामो समयसम्म त्रिपालमुनि बस्न सहज हुन्न । जतिसुकै बलियो त्रिपाल किन नहोस्, ठूलो पानी पर्‍यो भने थोग्दैन, हावाहुरी चल्दा उडाउने जोखिम हुन्छ । त्यसैले त्रिपाललाई अस्थायी आवास बनाउन प्रयोग गर्न सकिन्न । 

२०७२ सालको विनाशकारी भूकम्पको बेला पनि त्रिपाललाई आपतकालीन रुपमा मात्र प्रयोग गरियो । 

अस्थायी आवासका लागि जस्ताका टहराहरु बनाइयो । सरकारले जस्तापाता दियो, अस्थायी आवास बनाउन केही हजार रकम दियो । बाँस वा काठको खाम्बा गाड्ने, जस्ताले बार्ने र जस्तालाई नै छाना हालेर छोटो समयमै सयौं अस्थायी टहराहरु बने । घर नबनाएसम्म भूकम्प प्रभावितहरु त्यहीँ बसे ।

यो पटक सरकारले बाढी प्रभावितहरुलाई जस्तापाताको टहरामा होइन, क्याप्सुल होममा राख्छु भनेको छ । 

के हो क्याप्सुल होम ? 

क्याप्सुल होम भन्नासाथ धेरैलाई अन्तरिक्ष यान जस्तो देखिने सानो घरको सम्झना आउन सक्छ । तर यहाँ हामीले चर्चा गर्न खोजेको क्याप्सुल अन्तरिक्ष यान होइन । यो त प्रि फेब्रिकेटेड वा मोडुलर हाउजिङ युनिटको एउटा प्रकार हो । 

अर्थात यो घर फ्याक्ट्रीमै तयार हुन्छ । घरको स्ट्रक्चर, वाल, छाना सबै फ्याक्टीमै बन्छ । यसलाई त साइटमा ल्याएर इन्स्टल गर्ने मात्र हो । 

धेरैजसो क्याप्सुल हाउसको बेस फ्रेम बनाउन ग्याल्बनाइज्ड स्टील प्रयोग गरिन्छ । वाल प्यानलका लागि अल्मुनियमन प्रयोग हुन्छ । कोठाहरु बनाउन सिमेन्ट बोर्ड वा फाइबर सिमेन्ट बोर्ड प्रयोग गरिन्छ । 

झ्याल ढोकाका लागि आल्मिुनियम वा युपीभीसी फ्रेम प्रयोग हुन्छ ।

परम्परागत घर बनाउन महिनौं लाग्छ । तर क्याप्सुल होम एकदमै छिटो तयार हुन्छ । घरका संरचनाहरु तयार पार्न फ्याक्टीमा १०/१५ दिन लाग्छ । फिल्डमा ल्याएपछि जडान गर्न त एक घन्टा मात्र लाग्छ । 

यसको अर्को विशेषता भनेको साइज सानो ठूलो बनाउन सकिन्छ । यस्ता घरहरुमा शौचालय, किचन समेत हुन्छ ।

त्यसैले होला, सरकारले यो पटक बाढी प्रभावितहरुको अस्थायी आवासका लागि क्याप्सुल होम रोजेको छ । 

बाढी प्रभावितका लागि कति उपयुक्त ? 

२०७२ को भूकम्पबाट झण्डै १० लाख घरधुरी प्रभावित थिए । यति ठूलो संख्यामा अस्थायी आवास बनाउनुपर्ने भएकाले पनि होला, सरकारले अस्थायी आवासका लागि जस्ताको टहरा बनाउने बाटो रोज्यो । 

त्यो बेला जस्ताको अस्थायी टहरा बनाउन तुलनात्मक रुपमा सहज पनि थियो । जसको घर पुरै भत्किएको थियो, त्यहाँ भएका काठहरु प्रयोग हुन्थ्यो । जसको घर भत्किएको छैन, तर बस्न मिल्ने अवस्था छैन । उसले आफूसँग भएको काठ वा बाँस प्रयोग गरेर पनि टहरा बनाउन सक्थ्यो । 

यस्ता टहराहरु  घर नजिकै भएको खाली ठाउँ वा बारीका पाटाहरुमा पनि बनाउन सकिन्थ्यो ।

त्यसैले सरकारले अस्थायी आवासका लागि जस्तापाता उपलब्ध गराउनासाथ केही दिनमै अस्थायी आवास बन्ने भयो । राजनीतिक दलका कार्यकर्ताले पनि अस्थायी टहरा बनाउने अभियान नै चलाएका थिए । 

जस्ताको टहराहरुको दुःख के हो भने गर्मीमा असाध्यै गर्मी हुन्छ । पानी पर्दा जस्ताको चर्को आवाज आउँछ । सुरक्षाका हिसाबले पनि भसपर्दो होइन । ढोका त हाल्न सकिन्छ, तर धेरै बलियो हुन्न । 

तर यस्ता टहराहरुमा दाउरा बालेर पनि खाना पकाउन सकिन्छ । त्यसैले भूकम्प प्रभावितहरु नयाँ घर नबन्दासम्म अस्थायी टहरामै बसे । अहिले पनि कतिपय टहरा बाँकी नै होलान् ।

भोटेकोशीको बाढीमा प्रभावित घरधुरी भूकम्पको तुलना निकै कम छ । तर सबभन्दा चुनौती के हो भने कतिपय बस्तीको नामोनिराशा छैन ।  कतै नदी बगिरहेको छ त कतै बगर बनेको छ ।

अब उनीहरुका लागि स्थायी बसोबास मात्र होइन, अस्थायी बसोबासका लागि समेत जग्गा खोज्नुपर्ने हुन्छ । 

जग्गा भेटिएपछि बल्ल कस्तो बस्ती बनाउने भन्ने तय हुन्छ । अहिले सरकारको प्रस्ताव गरेको क्याप्सुल होमको सबभन्दा राम्रो पक्ष के हो भने बाहिरबाट हेर्दा होस् निकै आकर्षक हुन्छ । आवश्यकता अनुसार कोठाहरु बनाउन मिल्छ । किचन, ट्वाइलेट पनि डिजाइनमा समावेश गर्न मिल्छ । 

तर यस्ता घरहरुमा दाउरा बालेर खाना पकाउन मिल्दैन । यस्ता घरहरमा स्याण्डविच प्यानल, कम्पोजिट इन्टेरियर प्रयोग भएको हुन्छ । जुन आगो वा उच्च तापक्रममा जोखिमपूर्ण हुन्छ । 

लागतका हिसाबले पनि यो महंगो पर्छ ।

तर बस्नका लागि जस्ताको टहराभन्दा यो निकै उपयुक्त हुन्छ । 

अमेरिका, क्यानडा, भारत, फिलिपिन्स लगायतका देशमा प्राकृतिक विपद्बाट विस्थापितहरुलाई प्रि फ्याब्रिकेटेड हाउजिङमा राखिएको थियो । 

तर महत्वपूर्ण कुरा के छ भने हरेक ठाउँमा एउटै मोडल प्रयोग भएको छैन । अहिले सरकारले ल्याउने भनेको क्याप्सुल हाउस कस्तो हो ? प्रष्ट भइसकेको छैन । 

पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार चीनबाट ल्याउने योजना छ । त्यो चीन सरकारको सहयोगमा पनि आउन सक्छ, नेपालले आफैं किनेर पनि ल्याउन सक्छ । चीनमा उपलब्ध क्याप्सुल हाउसलहरु हेर्दा धेरैजसो टुरिजम तथा रिसोर्ट विजनेशका लागि बनेका छन् । 

त्यसैले सरकारले अस्थायी आवासका लागि दिने क्याप्सुल होम रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितका लागि उपयुक्त हुन्छ कि हुन्न भन्न गाह्रो छ । यदि स्थायी आवश्यकता अनुसार भएन भने क्याप्सुल होम, भूकम्पका बेला एकीकृत बस्तीहरु जस्तै उपयोगविहीन हुनसक्छ । 

००००

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापा प्रभावितहरुलाई उपयुक्त हुने गरी नै सरकारले अस्थायी आवासको व्यवस्था मिलाउने बताउँछन् । उनका अनुसार सरकारले प्रिफ्याब हाउसलाई नै क्याप्सुल होमको रुपमा प्रयोग गर्न खोजेको हो ।

यसको डिजाइन तयार भइरहेको छ । तर, बजारमा उपलब्ध हुने मोडलहरु समेत यसमा उपयोग गर्न सकिने सरकारको विश्वास छ । अहिले करिब ७ हजार ५ सय क्याप्सुल होमहरु आवश्यक हुनसक्ने थापा बताउँछन् । 

अहिलेसम्म सरकारले यस्ता क्याप्सुल होमहरु अनुदानमा दिन रेडक्रस लगायतका दातृ निकाय र चीनसहित विभिन्न देशलाई अनुरोध गरेको छ । यदि अनुदानमा यस्ता क्याप्सुल होम नपाए सरकार आफैंले खरिद गरेर ल्याउनेछ । 

कमसेकम प्रति क्याप्सुल होम एक लाखसम्म खर्च गर्न सरकार तयार छ । यस्ता क्याप्सुल होमहरु स्थानीय तहले पहिचान गरेका बस्न योग्य क्षेत्रमा जडान गरेर प्रभावितलाई राखिनेछ । 

‘जनतालाई स्थायी आवास नबनिन्जेल त्रिपालमुनि राख्नु नपरोस् भनेर क्याप्सुल होममा राख्ने अवधारणा ल्याइएको हो’, योजना आयोगका सदस्य थापा भन्छन्, ‘तुरुन्तै जोडेर बनाउन सकिने भएकाले क्याप्सुल होमले घरबारबिहीन नागरिकलाई तुरुन्तै ओत दिने छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ