रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
सर्लाहीका अनुजकुमार मेहता रसुवास्थित त्रिशुली थ्री बी हब सबस्टेशनमा वेल्डिङको काम गर्थे ।
उनका दाइ मनिषकुमार मेहता पनि काठमाडौंको चोभारस्थित एक सब स्टेशनमा वेल्डिङको काम गर्छन् ।
भदौ ९ गते साँझ दाजुभाइका बीचमा कुराकानी भएको थियो । मनिषले भाइलाई भदौ १२ गते पर्ने रक्षाबन्धनका लागि भाइलाई काठमाडौंमा बोलाएका थिए ।
उनीहरुका आफ्नै दिदी बहिनी छैनन् । मामाकी छोरीहरु काठमाडौंमा भएकाले सबै जना जम्मा भएर रक्षाबन्धन मनाउने सल्लाह थियो ।
तर फोनमा कुराकानी भएको भोलिपल्टै भोटेकोशी नदीमा बाढी आयो । त्यसपछि अनुजकुमार सम्पर्कविहीन छन् ।
दाइ मनिषका अनुसार अनुजको ड्युटी बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म थियो । त्यसैले बाढी आएका बेला भाइ ड्युटीमै रहेको हुन सक्ने उनको अनुमान छ । यद्यपि बाढी आएको थाहा पाएर भागेको हुन सक्ने आशा उनलाई छ । मोवाइल ट्रेसिङ गर्दा त्रिशुली थ्री बी को हब सबस्टेशनमै देखाएको छ ।
घरमा देवी देउतालाई हेराउँदा मान्छे जिउँदै छ भनेको छ । ‘मान्छे जिउँदै छ, खाली फेला पर्न नसकेको हो, भाइ भएको ठाउँमा मान्छे पुग्न सकेको छैन भन्छ’, मनिषले भने ।
भदौ १० गते बाढी आएदेखि मिलनको परिवार र आफन्त अनुजको खोजीमा जुटेका छन् । भदौ १० गते नै रसुवाबाट घाइतेहरु टिचिङ अस्पतालमा ल्याएपछि उनीहरु त्यहाँ पनि पुगे । तर टिचिङमा भेटिएनन् । उनीहरु नुवाकोटस्थित नेपाली सेनाको नम्बर १ सैन्य तालिम केन्द्रमा पनि पुगे । रसुवा बाढीमा उद्दारको काम सेनाले यही ब्यारेकमार्फत गरिरहेको छ ।
बाढीले बगाएका धेरैको शव चितवन र नवलपरासीतिर भेटिएको छ । ती शवहरु भरतपुर अस्पतालमा ल्याएकाले कोही आफन्त चितवनमा पनि बसेका छन् । कोही रसुवा जाने प्रयासमा छन् । तर रसुवा जान सजिलो छैन, बाढीले पुल र सडक सबै बगाएको छ ।
अनुज रसुवामा काम गर्न गएको जम्मा ३ महिना भयो । सरकारले उद्दारको काम अझै जारी राखेको छ । विभिन्न विद्युत आयोजनाको सुरुङबाट मानिसहरु जिउँदै उद्दार भइरहेको छ । त्यसले पनि आफन्त सम्पर्कविहीन भएकाको परिवारलाई आफ्ना मान्छे भेटिने आशा बढिरहेको छ ।
हेर्नुहोस् भिडियो :
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
बाढी पस्दा सेन्ट्रल जेलमा चल्यो गोली, केही मिनेटले जोगिए ५०० कैदीबन्दी
'यो उमेरमा कहाँ जाऔं, बस्न पनि कसरी बसौं !'
सर्बस्व गुमाएकी बुटीले बास मागिन्, सचीले सिंगो गाउँलाई नै आश्रय दिइन्






