वाग्मतीबाटै खानेपानी निकाल्दै सरकार, वर्षायाममा मेलम्चीको विकल्प
हरेक वर्ष वर्षायाममा काठमाडौंमा मेलम्चीको पानी ल्याउन बन्द गरिन्छ । मेलम्चीमा ठूलो बाढी आउँदा पनि सुरुङमा क्षति नहोस् भनेर सुरुङलाई बलियो गरी ढाकछोप गरिन्छ ।
अनि वर्षायाम सकिएर खोला घटेपछि असोज–कात्तिकमा मात्र फेरि मेलम्चीको पानी ल्याइन्छ ।
२०७७ सालदेखि नै यही क्रम चलिरहेको छ । मेलम्चीको पानीले काठमाडौं बासीलाई ठूलो राहत दिइरहेका बेला वर्षायामको चार महिनामा भने काठमाडौंमा पानीको अभाव हुन जान्छ ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी एक्कासी रोकिँदा काठमाडौंलाई चाहिने पानी चाहिँ कहाँबाट ल्याउने त ? यसमा सरकारले नयाँ उपाय लगाएको छ, काठमाडौंबासीलाई बागमतीको पानी खुवाउने ।
हो, अब वर्षायाममा मेलम्ची नआएका बेला काठमाडौंका धाराहरुमा बागमतीको पानी आउनेछ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएल अहिले यसकै तयारीमा छ ।
००००
काठमाडौंमा खानेपानीको समस्या समाधान गर्ने भनिएको महत्वाकांक्षी योजना हो मेलम्ची । झण्डै ६८ अर्ब रुपैयाँ खर्च भएको यो आयोजनाबाट २०७७ सालमा पानी आउन सुुरु भएको हो ।
मेलम्चीको पानी आएदेखि काठमाडौंको रिङरोडभित्रका घरमा पानीको अभाव छैन । मेलम्चीको पानी नआउँदासम्म वर्षायाममै ट्यांकरको पानीको भरमा जीविका चलाउनुपर्ने थियो । २०७७ को चैतबाट काठमाडौंमा मेलम्चीको पानी वितरण थालियो ।
तर, २०७८ साल असारमै मेलम्चीमा ठूलो बाढी आयो । काठमाडौंमा पानी ल्याउने मुहान र त्यहाँ बनाइएका संरचनाहरु नै बगाइदियो । धन्न सुरुङ भने बच्यो । त्यसैले अहिले मेलम्चीको पानी अस्थायी जुगाड गरेर काठमाडौं ल्याइएको छ ।
हिउँद याममा खोला फर्काएर सुरुङमा पानी पठाउने, त्यो पानी काठमाडौं सुन्दरीजलको प्रशोधन केन्द्रमा प्रशोधन गरेर काठमाडौंका घरघरमा पुर्याउने गरिएको छ ।
वर्षायाममा भने असारदेखि असोजसम्मको चार महिना मुहानमै बन्द गरेर राख्ने । फेरि वर्षायाम सकिएपछि पुनः मुहान मर्मत सम्भार गरेर कात्तिक–मंसिरदेखि मुहान खोलेर मेलम्चीको पानी ल्याउने गरिएको छ ।
२०७८ सालदेखि मेलम्चीमा यही श्रृङ्खला दोहोरिरहेको छ ।
यति ठूलो खर्च गर्दा पनि मेलम्चीको पानीमा बाह्रै महिना भर पर्न नसकेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड अर्थात् केयूकेएललाई वर्षायामको चार महिनामा कहाँबाट पानी ल्याउने भन्ने तनाव थियो ।
त्यसको विकल्प खोजी गर्दा भेटिएको हो बागमती ।
केयूकेएलले वर्षायाममा वागमती नदीबाट ८ करोड लिटरसम्म पानी ल्याएर काठमाडौंमा वितरण गर्न सक्ने देखेको छ ।
काठमाडौं शहरदेखि २० किलोमिटर उत्तर पूर्वमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको फड्के भन्ने ठाउँबाट बागमतीको पानी पाइपमार्फत सुन्दरीजलमा रहेको ट्रिटमेन्ट प्लान्ट अर्थात् प्रशोधन केन्द्रमा लैजान सकिनेछ । त्यहाँ बागमती नदीदेखि ट्रिटमेन्ट प्लान्टसम्मको दूरी केवल ५८० मिटर मात्र छ ।
केयूकेएलले दुईवटा पाइप बिच्छ्याएर अहिले पनि वर्षायाममा वागमतीको २ करोड लिटर पानी ट्रिटमेन्ट गरेर काठमाडौंका धाराहरुमा पठाइरहेको छ ।
यस वर्ष उसको योजना थप ६ करोड लिटर पानी निकाल्ने छ । अहिले पानी लगिरहेकै ठाउँमा ५०० मिलिमिटरको अर्को मोटो पाइप बिच्छ्याएर बागमतीको पानी ट्रिटमेन्ट प्लान्टमा पुर्याउने केयूकेएलको योजना छ । भनेजसरी काम भएमा यसै वर्ष बागमतीबाट प्रतिघण्टा २५ सय घनमिटरको दरले दिनमा ६ करोड लिटर पानी निकालिनेछ ।
हिउँदमा सानो बग्ने बागमतीमा वर्षायाममा भने पानीको मात्रा धेरै हुन्छ । असारदेखि असोजसम्म बागमतीमा पानीको प्रवाह दैनिक करिब २४ करोड लिटर हुन्छ । त्यसैले ८ करोड लिटर पानी लैजाँदा पनि नदीमा पानीको बहाव खासै कम हुदैन ।
बाग्मती नदी बेसिन सुधार परियोजना र जल तथा मौसम विज्ञान विभागको रिपोर्टअनुसार मनसुनको समयमा सुन्दरीजल र आसपासको जलाधार क्षेत्रमा बाग्मतीको बहाव १३.५ क्युमेक मिटर प्रतिसेकेन्ड भन्दा माथि पुग्छ । बाढी आउँदा यो अझ उच्च हुन्छ ।
वर्षायाममा बागमतीबाट दैनिक ८ करोड लिटर पानी निकाल्दा तल्लो तटीय क्षेत्रको पर्यावरण, जलचर र प्राकृतिक बहावमा कुनै पनि नकारात्मक असर पर्दैन । यो पूर्ण रुपमा सुरक्षित देखिन्छ ।
हिउँदमा यसैगरी पानी ल्याइयो भने चाहिँ बाग्मतीको प्राकृतिक बहाव घट्छ । अझ भनौं बामग्मती सुक्छ । तर, केयूकेएलको योजना वागमतीको पानी वर्षायाममा मात्र निकाल्ने हो ।
केयूकेएलले महाशिवरात्री लगायतका समयमा बाग्मतीमा पानीको बहाब बढाउन मेलम्चीको पानी समेत छाड्ने गरेको छ । तीर्थालुको भीड लाग्ने समयमा बाग्मतीमा फोहोर पानी जमेर नबसोस् भनेर वर्षैसाल मेलम्चीको पानी सुुन्दरीजलबाट बाग्मतीमा छोड्ने गरिन्छ । त्यसैले वर्षायाममा मेलम्चीको पानी सुक्दा बाग्मतीको पानी प्रयोग गर्नु पैँचो जस्तै बन्ने छ ।
०००
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईका अनुसार असार र साउन महिनामा वागमतीमा बाढी आउने भएकाले त्यो पानी प्रयोग गर्न मिल्दैन ।
किनकी बाढीको पानी ट्रिटमेन्ट प्लान्टले सफा गर्न सक्दैन । मूल फुटेर नदीमा पानीको मात्रा बढेपछि मात्र बागमतीको पानी प्रयोग गर्न मिल्छ । त्यसो हुनाले असार र साउनमा वागमतीको पानी प्रयोग हुँदैन । भदौको १५ देखि कात्तिकको १५ सम्मको अवधिमा बागमतीको पानी प्रयोग गर्न मिल्छ ।
केयूकेएलले वर्षायाममा वागमतीबाट ६ करोड लिटर निकाल्ने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अर्थात् इआईए रिपोर्ट वन मन्त्रालयमा पेश गरेको छ । ईआईए रिपोर्ट स्वीकृत भएपछि मात्र यो आयोजना अगाडि बढ्छ ।
काम गर्न धेरै गाह्रो छैन । जम्मा १५ जना कामदारले एक महिना काम गर्दा पाइप बिच्छ्याउने काम सकिन्छ । यसको खर्च पनि ३० लाख हाराहारी मात्र छ । जम्मा पाइप बिच्छ्याउनुपर्ने ५८० मिटर क्षेत्रमा हो ।
त्यसमा ६५ मिटर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्छ । त्यहाँ पाइप गाडिने छैन भने निकुञ्ज बाहिर पनि भीर र चट्टान भएको ठाउँमा पाइप खुलै छाडिन्छ ।
ईआईए प्रतिवेदन पारित भएमा यसै वर्ष काम सकेर वागमतीको पानी सुन्दरीजल ट्रिटमेन्ट प्लान्टसम्म पुर्याउन सकिने केयूकेएलको विश्वास छ ।
०००
हामीले त मेलम्चीको पानी खाइरहेका थियौं, अब वाग्मतीको पानी पो पठाउने भयो भनेर नाक खुम्च्याउनुभएको त छैन ?
शहरमा बग्ने बागमती कस्तो बग्छ तपाईं हामीलाई थाहै छ । पानी हो कि ढल हो, छुट्याउन गाह्रो हुन्छ, त्यस्तै पानी प्रशोधन गरेर धारामा पठाउन लागेको त होइन ?
ढुक्क हुनुस्, वागमतीको फोहोर पानी पठाउन लागेको होइन । बागमती फोहोर भएको शहरमा आएपछि मात्र हो । शहरमा नआउँदासम्म त बागमती सफा छ ।
बागमतीको मुहान काठमाडौंको उत्तर पूर्र्वी क्षेत्रमा पर्ने शिवपुरी डाँडाको बागद्वार भन्ने ठाउँमा हो, त्यो ठाउँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्छ । वन क्षेत्र भएकाले त्यहाँ बस्ती छैन । बस्तीको फोहोर बागमतीमा मिसिने सम्भावना छैन ।
फेरि त्यहाँको पानीलाई पहिला ट्रिटमेन्ट प्लान्टमा खसाएर ट्रिटमेन्ट गरेर मात्र पठाइने भएकाले त्यो पिउन योग्य हुने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।
००००
मेलम्चीबाट हरेक दिन १७ करोड लिटर पानी काठमाडौंमा आइरहेको छ । वर्षायाममा मेलम्ची बन्द भएका बेला केयूकेएललाई काठमाडौंको माग पूरा गर्न धौ–धौ हुन्छ ।
बागमतीको पानी प्रयोग गर्न सकेमा मेलम्ची नआएका बेला पनि काठमाडौंमा खानेपानीको दुःख नहुने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईको भनाइ छ ।
बागमतीबाट ८ करोड लिटर आपूर्ति हुन्छ भने केयूकेएलले प्रयोग गरिरहेको अरु आन्तरिक स्रोतमा पनि वर्षायाममा पानीको मात्रा बढ्ने हुनाले पानीको कमी हुँदैन ।
काठमाडौंमा अहिले दैनिक ४३ करोड लिटरभन्दा बढी पानीको माग छ । मेलम्चीको पानी रिङरोड भित्र मात्र वितरण गरिएको छ । मेलम्चीको पाइप बिछ्याउन धेरै क्षेत्रमा बाँकी नै छ । सबैतिर पाइप बिच्छ्याउने हो भने पानीको माग झन् बढ्नसक्छ ।
मेलम्चीको सुरुङबाटै सिन्धुपाल्चोककका याङ्ग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ ।
तर, मेलम्चीकै मुहान बगाएपछि यो योजना पनि अघि बढ्न सकेको छैन । अहिले मेलम्चीको नयाँ मुहान बनाउने प्रक्रिया अघि बढेकाले याङ्ग्री र लार्केको पानी ल्याउने योजना केही समय रोकिँदैछ ।
नयाँ हेडवक्र्स अर्थात् मुहानस्थल नबनाएसम्म वर्षायाममा मेलम्चीको सुरुङ बन्द गर्नैपर्छ । भविष्यमा यांग्री र लार्केबाट पानी ल्याएपछि भने बाग्मतीको पानी प्रयोग गर्नुपर्ने बाध्यता पूर्ण रुपमा हट्ने छ । त्यसैले वर्षायामको संकट टार्न अझै केही वर्ष बाग्मतीकै पानी प्रयोग गर्ने सरकारी योजना छ ।
कैदीलाई जेलमा होइन, घरमै राखेर डिजिटल ट्रयाकिङ
महिलालाई रास्वपाको उपहार : नि:शुल्क बस यात्रा, रोकिएला हिंसा ?
ट्राफिक जरिवाना १ लाखसम्म पुर्याउने तयारीमा सरकार
जेनजी शहीदका शालिक किन बेबारिसे ?








