सेनाको निशाना छलेर बितन्डा मच्चाइरहेको एउटा हात्ती
२०६५ सालसम्म ध्रुवे हात्तीको नाम सुनिएको थिएन । अझ भनौं, नामकरण नै भएको थिएन ।
भयो के भने २०६६ सालमा एउटा जवान हात्ती चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षाका लागि खटिएको नेपाली सेनाको ध्रुव पोस्टमा छिर्यो । त्यहाँ रहेका नेपाली सेनाका सैनिक जवानहरुलाई लखेट्यो, घर भत्काएर आतंक मच्चायो ।
त्यो बेला सेनाको सुरक्षामा पोथी हात्ती थियो । उसलाई भेट्न नपाएपछि जवान हात्तीले आतंक मच्चाएको थियो । गोरखनाथ गणको ध्रुवपोस्टमा आतंक मच्चाएकाले सुरक्षाकर्मीले त्यो हात्तीको नाम ध्रुवे हात्ती राखिदिए ।
अर्थात जुन पोस्टबाट आतंक फैलाउन थाल्यो, त्यही पोस्टको नामबाट उसको नाम रह्यो, ध्रुवे हात्ती ।
त्यसयता ध्रवे हात्तीले चितवन राष्ट्रिय निकुञ्जमा धेरै पटक आतंक मच्चाएको छ, २५ जनाको ज्यान लिइसकेको छ । उसको आतंकको कथाको शृङ्खला लामो छ ।
२०६६ माघ २२ गते । पश्चिम चितवनको जगतपुर घैलाघारीमा एउटा मन्दिर उद्घाटन हुँदै थियो । जंगल र बस्तीको सीमामा बनाइएको मन्दिरको उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा र निकुञ्जका अधिकारीहरु सहभागी थिए ।
मन्दिरको उद्घाटन सकिँदा नसकिँदै ध्रुवे हात्ती आइपुग्यो, स्थानीय बासिन्दा र निकुञ्जका अधिकारीहरुको भागाभाग भयो । त्यही बेला धुवे हात्तीले कुल्चिँदा नेपाली सेनाका जवान रिद्धिवीर दोङको मृत्यु भयो ।
२०६६ माघ २५ गते चितवन निकुञ्जभित्रको ठूलो होटल टाइगर टप्समा भ्यालेन्टाइन्स डे को कार्यक्रम चल्दै थियो । यो होटल निकुञ्जको भिम्ले पोस्ट नजिकै थियो । रातको समयमा विदेशी पाहुनाहरु भ्यालेन्टाइन्स डे को रमाइलोमा थिए ।
एकाएक ध्रुवे हात्ती होटलभित्र प्रवेश गर्यो । पर्यटकहरुको भागाभाग भयो । ध्रुवे हात्तीले होटलको हात्तीसारमा रहेकी पोथी हात्ती चञ्चलकलीलाई भगाएर लग्यो । भ्यालेन्टाइन्स डे को दिन पोथी हात्ती भगाएकाले उसलाई भ्यालेन्टिनो पनि भनियो । तर त्यो भन्दा अगाडि नै पाइसकेकै नामबाट ऊ परिचित भयो ।
००००
ध्रुवे हात्तीले सबैभन्दा धेरै दुःख दिएको २०६६ सालदेखि २०६९ सालसम्म हो । यो ४ वर्षको अवधिमा मात्र ध्रुवे हात्तीले १५ जनाको ज्यान लिएको थियो ।
२०६७ साल भदौ १९ गते ध्रुवे हात्तीले चितवनको मेघौलीमा पूर्वहवल्दार शुकबहादुर गुरुङको ज्यान लियो । त्यो घटनापछि गाउँलेले विरोध गरे, सुरक्षाकर्मी परिचालन गरेर ध्रुवे हात्तीलाई लखेटियो । त्यसपछि ध्रुवे हात्तीले माडीमा दुःख दिन थाल्यो ।
ध्रुवे हात्तीले चितवनको माडी, मेघौलीलगायत र राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा बढी आतंक मच्चाउँदै आएको छ । ध्रुवे हात्तीका कारण सबैभन्दा धेरै क्षति माडीमा भएको छ ।
त्यसमा सबैभन्दा ठूलो घटना २०६९ मंसिरमा भयो । त्यो एक महिनामा मात्र माडीमा ध्रुवेले ४ जना मारेको थियो । २०६९ मंसिर २३ गते ध्रवे हात्तीले सिसवामा भदइ माझी र सुकइ माझी दम्पत्तीको ज्यान लियो । त्यसको ७ दिनपछि मंसिर ३० गते माडीमै स्थानीय बुद्धिबिराम बोटे र जरिया बोटेको ज्यान लियो ।
२०६९ सालमा बुद्धिविराम र जरियाको मृत्युपछि माडीमा स्थानीय बासिन्दाले ठूलो आन्दोलन गरेका थिए । उनीहरुले माडी क्षेत्रमा रहेका चितवन राष्ट्रिय निकुञ्जको अधिकांश मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यालय तोडफोड गरेका थिए । उनीहरुले ध्रुवे हात्ती मार्न माग गर्दै ठूलो आन्दोलन नै गरेका थिए ।
स्थानीय बासिन्दाको विरोधकै कारण सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ नै संशोधन गरेर मानवीय दुर्घटना गराउने, मनस्थिति बिग्रेका वन्यजन्तुलाई मार्न पाइने ‘सुट एट साइट’को व्यवस्था राखेको थियो ।
ध्रुवे हात्तीले २०६६ सालमा एक जना, २०६७ सालमा ३ जना, २०६८ सालमा एक जनाको ज्यान लियो । अनि २०६९ सालको एकै वर्षमा १० जनाको ज्यान लियो ।
ध्रुवे हात्ती कहाँ छ भनेर पत्ता लगाउन २०६९ मंसिर ६ गते उसमा जीपीएससहित रेडियो कलर जडान गरिएको थियो । लगातार मान्छे मारेपछि चितवन जिल्ला प्रशासन कार्यालयले २०६९ पुस १ गते ध्रवे हात्ती मार्ने निर्णयसमेत गर्यो, ध्रुवेलाई गोली हान्न शिकारी टोलीसमेत परिचालन भयो ।
निकुञ्जका सुरक्षाकर्मी र निकुञ्जका अधिकारीहरुले रेडियो कलरले हात्ती जता देखायो उतै उतै खोजेका थिए । सेनाले हानेको गोली ध्रुवे हात्तीलाई लागेको पनि थियो । तर त्यो गोलीबाट ऊ मरेन । बरु धेरै समय बस्तीतिर आएन ।
यही असार २० गते राति ध्रुवेको आक्रमणबाट राति चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा आमा छोराको ज्यान गयो ।
राति ११ बजेतिर एक्कासी घरमा हात्ती आएपछि घरधनी पुनु बोटेले हात्ती धपाउन आगो सल्काए । त्यो आगोले घरको केही भाग समेत जल्यो । तर श्रीमती र छोरलाई जोगाउन सकेनन् ।
हात्तीको आक्रमणबाट पुनु बोटेकी श्रीमती २१ वर्षकी आशिका बोटे र उनका ४ वर्षका छोरा भरत बोटेको ज्यान गएको छ । पुनु बोटे फेरि एक्लो भए । १५ वर्ष अगाडि धुव्रे हात्तीले हजुरबा र हजुरआमा खोसेको थियो, अहिले श्रीमती र छोरा ।
०००
हात्तीहरु मानिसहरु जस्तै समुदायमा बस्छन् । तर जब पोथी हात्तीहरुको गर्भाधानको समय हुन्छ, त्यहाँ भाले हात्तीहरुको झगडा हुन्छ । बलियोले कमजोरलाई टिक्न दिँदैन, अनि पोथी हात्तीहरुले हाडनातामा यौन सम्बन्ध मन पराउँदैनन् ।
त्यसैले भर्खरै हुर्किएका भाले हात्तीहरु आफ्नो समूह छाड्नुपर्ने अवस्थामा पुग्छ । त्यसपछि ऊ अर्को ग्रुपमा जान्छ । अर्को ग्रुपमा जित्यो भने त्यहीँ बस्छ, जित्न सकेन भने एक्लो हुन्छ । समूहमा बस्ने भन्दा एक्लो हात्ती बढीरिसाहा र आक्रामक हुन्छन् ।
ध्रुवे हात्ती ४० वर्षको भयो । यो चितवन राष्ट्रिय निकुञ्जका ३/४ वटा बयस्क भाले हात्तीमध्ये एक हो । ध्रुवेबाहेक रोनाल्डो र गोविन्दे नामका हात्ती पनि छन् ।
पोथी हात्तीका लागि ध्रुवे र रोनाल्डोबीच लडाइँ भइरहन्छ । यस्ता लडाँइमा प्रायः रोनाल्डोले जित्ने भएकाले ध्रुवे समूह छाडेर हिँड्छ ।
निकुञ्ज वरपर बस्तीमा पनि हात्ती पाल्ने गरेका छन् । ध्रुवे बस्तीका पोथी हात्ती खोज्दै आउने गरेको छ । ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जमा मात्र होइन, पर्सा, रौतहट, बारा र भारतका सीमा क्षेत्रमा पनि जाने गरेको पाइएको छ ।
हात्तीहरु वर्षमा दुईपटक आक्रामक हुन्छन् । जेठ–असार र मंसिर– पुस महिनामा । यो समय हात्तीहरुको गर्भाधानको समय हो, त्यसैले भाले हात्तीहरु पोथी हात्तीको खोजीमा हुन्छन् ।
वर्षायाममा पोषिलो खानेकुरा धेरै पाइने भएकाले भाले हात्तीहरुमा टेस्टेस्टोरोन हर्मोन धेरै पैदा हुन्छ, यस्तो बेलामा हात्तीहरु सामान्य अवस्थामा भन्दा ६० गुणासम्म बढी उत्तेजित हुन्छन् ।
यस्तो बेलामा हात्तीलाई डर पनि लाग्दैन । चितवनको उदाहरण हेर्ने हो भने हात्तीले मानवीय क्षति गरेको समय यही जेठ–असार र मंसिर पुसको समयमा धेरै छ ।
००००
ध्रुवे हात्ती कहाँ छ भनेर पहिचान गर्न सकियोस् भनेर तीन पटक रेडियो कलर पनि जोडिएको थियो । पहिलो पटक २०६९ मंसिर ६ गते दोस्रो पटक २०७७ साल वैशाख ११ गते र तेस्रो पटक २०८० सालमा रेडियो कलर जोडियो ।
रेडियो कलर जोडेपछि ध्रुवे हात्ती कहाँ छ भनेर चितवन राष्ट्रिय निकुञ्जको कार्यालयबाटै मनिटरिङ गर्न सजिलो हुने ठानिएको थियो ।
रेडियो कलरले डेढ दुई किलोमिटर क्षेत्रको सिग्नल दिन्थ्यो । तर रेडियो कलरबाट ध्रुवेलाई ट्रयाक गर्न सजिलो भएन । एक त धेरै टाढा गयो भने पनि सिग्नल आउँदैनथ्यो । अर्को चाहिँ ध्रुवे हात्तीले रेडियो कलर चुडाएर फालिहाल्थ्यो ।
रेडियो कलर जोड्न बेहोस बनाएका बेला दाह्रा समेत काटिन्थ्यो । दाह्रा काटेपछि हात्ती आक्रामक हुँदैन भन्ने मानिन्थ्यो । पछिल्लो ९ वर्षमा ध्रुवले कम दुःख दिएको थियो । २०७४ मा एक सैनिक जवान मारेपछि ध्रुवेको आक्रमणबाट मान्छेको ज्यान गएको थिएन ।
निकुञ्ज क्षेत्रमै रहे पनि बस्तीमा पस्ने र दुःख दिने गरेको थिएन, धेरैले सोचेका थिए, अब ध्रुवे सुध्रियो । तर असार २० गते राति फेरि उही घटना दोहोर्याइहाल्यो ।
हात्तीका विषयमा अध्ययन गरेका विकास पाठकका अनुसार ध्रुवे हात्ती आक्रामक हुनुका केही कारण छन् ।
पहिलो त ऊ समूहबाट लखेटिएको एक्लो हात्ती हो । एक्लो हात्ती तुलनात्मक रुपमा बढी आक्रामक हुन्छ । जसको चर्चा हामीले माथि नै गरिसक्यौं ।
दोस्रो कारण, पछिल्लो समय मानवीय गतिविधिले हात्तीको परम्परागत बाटोहरुमा अवरोध आएको छ । हात्तीले पुस्तौंपुस्ता अगाडिको बाटो पनि सम्झिरहेको हुन्छ, पहिले जंगल रहेको ठाउँमा अहिले बस्ती बसेका छन् । अनि हात्ती त्यो बाटो हिँड्दा अहिले बस्तीमा अवरोध हुने गरेको छ । त्यसले गर्दा बस्तीमा अवरोध भएका कारण ध्रुवे हात्तीले मान्छेलाई सत्रु देख्ने गरेको छ ।
अझ ध्रुवे हात्तीकै केसमा कुरा गर्ने हो भने उसले त मान्छेबाट पटक पटक अवरोध झेलेको छ, उसलाई कु्ट्ने पिट्ने, बाँधेर दाह्रा काट्ने र बन्दुक समेत हानियो ।
ध्रुवे हात्तीकै हकमा कुरा गर्ने हो भने २०६८ सालमा अचम्मको घटना समेत गराएको छ ।
ध्रुवे हात्तीले त्यो बेला ठोरीमा निर्मल ठोरी उपभोक्ता समिति अन्तर्गतका ६८ वटा घर भत्काएको थियो । जसमा ३८ वटा रक्सी पार्ने घर थियो ।
हात्तीले रक्सी पार्ने घरलाई नै टार्गेट गरेको देखिएको हात्तीका विषयमा अध्ययन गरेका विकास पाठक बताउँछन् । उनका अनुसार हात्तीलाई उखुजन्य पदार्थ मन पर्छ । त्यसैले रक्सी पार्ने घरहरुमा गएको देखिएको छ ।
०००
ध्रुवे हात्ती अहिले चितवन राष्ट्रिय निकुञ्ज र चितवन प्रशासनका लागि टाउको दुखाइ बनेको छ । अनि निकुञ्ज छेउछाउका बस्तीका मानिसहरु निरन्तर त्रासमा छन् । बस्तीबस्तीमा हात्ती छेक्न विजुलीको करेन्ट छाडिएको छ । तैपनि ध्रुवे हात्ती बेला बेला बस्ती छिरेर मान्छेको ज्यान लिइहाल्छ ।
भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरु रायमाझी र खाण दोषी ठहर
क्लासिकल लाइटले बदल्यो न्यूरोड-बसन्तपुरको मुहार
वाग्मतीबाटै खानेपानी निकाल्दै सरकार, वर्षायाममा मेलम्चीको विकल्प
कैदीलाई जेलमा होइन, घरमै राखेर डिजिटल ट्रयाकिङ


-1783263518.png)



