नक्कली शरणार्थी प्रकरणमा रायमाझीलाई ४ वर्ष, खाँणलाई २ वर्ष कैद
नक्कली शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवानाको सजाय भएको छ ।
त्यस्तै कांग्रेस नेता बालकृष्ण खाँणलाई २ वर्ष कैद र २० हजार जरिवानाको सजाय सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका १६ जनाको सजाय निर्धारण गरिएको छ ।
जस अनुसार ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका एमाले नेता रायमाझीसहितलाई ४ वर्ष कैद र ४० हजार जरिवाना हुने भएको ।
जसमा रायमाझीसँगै तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, पूर्वसभासद तथा कांग्रेस नेता आङटावा शेर्पा, तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, विचौलियाहरु केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, बिक्रम भन्ने गोविन्दकुमार चौधरी, रहेका छन् ।
उनीहरुलाई सरकारी लिखत कीर्तेमा २ वर्ष कैद र २० हजार जरिवाना, ठगीमा २ वर्ष कैद्य र २० हजार जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना र राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकिएको छ ।
एमाले नेता रायमाझी, कांग्रेस नेता शेर्पा, पूर्वगृहसचिव पाण्डे र तत्कालिन गृहमन्त्रीका सल्लाहकार राई सार्वजनिक पद धारण गरेर राज्यविरुद्धको कसुर गरेकाले थप ६ महिना कैद सजाय सुनाइएको छ ।
सबै गरेर एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना हुने काठमाडौं जिल्ला अदालतको फैसला छ । ४ वर्ष कैद र ४० हजार जरिवानाको सजाय सुनाइएकाहरु अहिले पुर्पक्षका लागि थुनामै छन् । उनीहरु ३ वर्ष २ महिना १० दिन पुर्पक्षका लागि थुनामा बसिसकेका छन् । उनीहरुले ९ महिना सजाय भुक्तानी गर्न बाँकी छ ।
त्यस्तै पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण र भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई जनही २ वर्ष कैद र २० हजार जरिवानाको सजाय सुनाइएको छ । उनीहरुलाई ठगीमा १ वर्ष कैद र १० हजार जरिवाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना, राज्यविरुद्धको कसुरमा ९ महिना कैद र ५ हजार जरिवाना सुनाइएको छ ।
कांग्रेस नेता खाँण करिब ७ महिना पुर्पक्षका लागि थुनामा बसेर छुटेका थिए । उनले अब करिब डेढ वर्ष जेल बस्नुपर्नेछ ।
तत्कालिन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र गृह मन्त्रालय हज कमिटीका तत्कालिन सदस्य शमशेर मिया, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई १ वर्ष कैद र १० हजार जरिवानाको सजाय सुनाइएको छ ।
त्यस्तै बेचन झालाई ठगी मुद्दामा १ वर्ष कैद सजाय सुनाइएको छ ।
अहिले सजाय सुनाइएकाहरुले आफूलाई सुनाएको सजाय चित्त नबुझेमा माथिल्लो अदालतमा पुनरावेदन दिन सक्नेछन् । त्यस्तै सरकारी वकिल कार्यालयले पनि जिल्ला अदालतले सुनाएको सजाय कम भएको भन्ने लागेमा माथिल्लो अदालतमा पुनरावेदन दिन सक्नेछन् ।
सिन्धिया राज घरानाको सम्पत्ति विवादको नेपाल कनेक्सन
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. क्षेत्री
सेनाको निशाना छलेर बितन्डा मच्चाइरहेको एउटा हात्ती
भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरु रायमाझी र खाण दोषी ठहर







