नेभिगेशन
समाज

चुनाव जितेको डेढ वर्षमै पालिका अध्यक्षको ११ ठाउँमा घर जग्गा

एउटा गाउँपालिकाको अध्यक्षको कमाइ कति होला ? 

तलब सुविधा नै मासिक ३०–३५ हजार छ, कति कमाउन सक्ला र ? बचत त परै जाओस्, जीविका चलाउन पनि गाह्रो हुन्छ । 

तर एक यस्ता गाउँपालिका अध्यक्ष भेटिए, जसले ८ वर्षे कार्यकालमा ११ ठाउँमा जग्गा जोडे, घर बनाए, कान्छी श्रीमतीलाई उद्योग खोलिदिए । परिवारका सबै सदस्यको एउटा–दुईटा होइन, ५–६ वटासम्म बीमा गरे । 

उनी हुन्, नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता । गाउँपालिका अध्यक्ष भएको छोटै समयमा करोडौंको सम्पत्तिको मालिक बनेका गुप्ताविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

००००

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका बैजुप्रसाद गुप्ता २०७४ असार २० गतेदेखि अहिलेसम्म गाउँपालिका अध्यक्ष छन् । उनले २०७४ सालको र २०७९ सालको दुबै स्थानीय तह निर्वाचन माओवादी केन्द्रका तर्फबाट जितेका हुन् 

बैजुप्रसाद गुप्ताका बाबु वंशराज गुप्ता स्थानीय व्यापारी हुन् । वंशराजका जेठा बैजु राजनीतिमा लागे, कान्छा भने स्थानीय पृथ्वीचन्द्र अस्पतालमा डाक्टर छन् । 

बैजुप्रसादका दुई पत्नीहरु जेठी सुलोचना गुप्ता र कान्छी शारदा आचार्य गुप्ता छन् । गुप्ता परिवार अहिले पनि संयुक्त परिवारमै बस्छन् । 

उनीहरु हुने खाने परिवारकै मान्छे हुन् । उनीहरुको पाल्हीनन्दन गाउँपालिका स्वाठीमा एउटा घर थियो । त्यस्तै पाल्हीनन्दनको कुश्मा, लोहलौरी, जहदा र सुनवल, बुटवलआदि ठाउँमा गरेर २६ कित्ता पैत्रिक जग्गा थियो । 

अध्यक्ष भएपछि किनेको जग्गा 

२०७७/७८ तिर अख्तियारमा एउटा उजुरी आयो । जसको सार थियो, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले गैरकानुनी सम्पत्ति आर्जन गरेका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा अख्तियारले मालपोत, बैंक, बीमा, यातायात लगायतका सरकारी निकायहरुसँग बैजु र उनको परिवारसँग सम्बन्धित विवरण माग्यो । 

जब फाइल खोले, अनुसन्धान अधिकृतहरुले बैजु गाउँपालिका अध्यक्ष भएपछि अस्वभाविक कारोबार गरेको भेटे । 

गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा बैजुको नाममा खोलिएको बैंक खातामा जम्मा ४६ हजार १५३ रुपैयाँ थियो । 

तर अध्यक्षमा निर्वाचित भएको दुई वर्षमै उनले झण्डै डेढ करोडमा घर किने । २०७७ सालमा आमा धानमती तेलीको नाममा १ कठ्ठा ५ धुर जग्गामा बनेको साढे ३ तले घर किनेका थिए । जसको मूल्य १ करोड ३४ लाख ७१ हजार छ । 

त्यस्तै बैजुले अर्को वर्ष २०७८ भदौमा बुटवलमा ७ धुरमा रहेको साढे दुई तले घर किने, ५२ लाख ५० हजार रुपैयाँमा ।

यति मात्र होइन, मेयर निर्वाचित भएको डेढ वर्षको अवधिमा उनी र परिवारका सदस्यहरुको नाममा ११ ठाउँमा जग्गाजमिन किनेको भेटियो ।

बैजुले आफ्नै नाममा ४ ठाउँमा जग्गा किनेका थिए । जसको मूल्य सरकारी ढड्डामा ७ लाख, ४१ लाख, ९ लाख ९० हजार र ६ लाख ५० हजार छ ।

कान्छी श्रीमती शारदा आचार्य गुप्ताको नाममा २५–२५ लाख रुपैयाँमा २ कित्ता जग्गा किने । 

यसैगरी बैजुकी जेठी श्रीमती सुलोचना गुप्ताको नाममा पनि ३ कित्ता जग्गा किनिएको छ । एउटाको मूल्य ९ लाख ९० हजार, अर्कोको ७ लाख र अर्कोको ६ लाख रुपैयाँ छ । 

बाबु वंशराज गृुप्ताको नाममा पनि २ ठाउँमा जग्गा किने । एउटा जग्गाको मोल ४५ लाख र अर्कोको मोल ४ लाख ५० हजार रुपैयाँ रहेको छ । यसरी १ करोड ९१ लाख ७८ हजार ६५० रुपैयाँको जग्गा मात्र किनेको देखिन्छ ।  

०००० 

यतिका सम्पत्ति जोड्न गुप्ता परिवारमा कहाँबाट आयो पैसा त ? बैजुले वयानका क्रममा आम्दानीको स्रोत खेतीपाती, व्यापार व्यवसाय, फ्याक्ट्री भाडा, घर भाडाका साथै आफ्नो र भाइले अस्पतालबाट पाएको तलब भनेका छन् । उनका अनुसार ०७५ सालमा दुईवटा ट्रक किनेका थिए, त्यसबाट पनि आम्दानी भएको छ ।

त्यसपछि अख्तियारले कहाँबाट कति रकम आयो भनेर केलाउन थाल्यो । गाउँपालिका अध्यक्षका रुपमा बैजुले २०७४ असारदेखि २०७९ असारसम्म तलब भत्ताबाट पाएको रकम जम्मा १३ लाख १६ हजार ६१२ रुपैयाँ हो । 

भाइ राजकुमार गुप्ता गाउँकै पृथ्वीचन्द्र अस्पतालमा डाक्टर छन् । उनले तलब भत्ताबाट पाएको रकम ११ लाख १३ हजार ६२७ रुपैयाँ हो । 

गुप्ताको नाममा अंशुमान स्क्रेप ट्रेडर्स, अस्मित प्लास्टिक तथा गत्ता उद्योग छ । अनि कान्छी श्रीमतीको नाममा ममता स्क्रेप ट्रेडर्स छ ।

ममता स्क्रेप ट्रेडर्सले २०७४ सालदेखि २०७९ सालसम्म ५६ लाख ३७ हजार ४३८ रुपैयाँ कमाएको छ । अंशुमान स्क्रेप ट्रेडर्स र अस्मित प्लास्टिक तथा गत्ता उद्योगले २०७४ सालदेखि २०७९ सालसम्म १३ लाख १० हजार ३३० रुपैयाँ कमाएको छ । समग्रमा तीनवटा उद्योगबाट ६९ लाख ४७ हजार ७६८ रुपैयाँ आम्दानी भयो ।

पैत्रिक सम्पत्ति नै धेरै भएकाले बैजुको परिवारको आम्दानीको एउटा स्रोत खेतीपाती पनि छ । २०७४ देखि २०७९ सालसम्मको अवधिमा यो परिवारले खेतीपातीबाट १४ लाख २८ हजार २५९ रुपैयाँ आम्दानी गरेको पाइएको छ ।

अनि प्रभु बैंक र माछापुच्छ्रे बैंकबाट २ करोड ४१ लाख ४० हजार ऋण लिएका छन् । यसरी सबै ठाउँको आम्दानी हिसाब गर्दा बैजुप्रसाद गुप्ताको वैधानिक आम्दानी ३ करोड ५१ लाख ८२ हजार रुपैयाँ मात्र हो । 

००००

जब गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धान हुन्छ, आम्दानी मात्र होइन, खर्च पनि हिसाब गरिन्छ । 

बैजुको परिवारले १ करोड ८७ लाख २१ हजार ९१६ रुपैयाँ खर्च गरेर घर बनाएको छ । बैंकको ऋण १ करोड ९६ लाख ३ हजार तिरेको छ । 

बैजुकी कान्छी श्रीमती शारदा आचार्य गुप्ताको नाममा ममता स्क्रेप ट्रेडर्स कम्पनी खोल्दा ९७ लाख रुपैयाँ लगानी भएको छ ।

२ लाख ७५ हजारमा सवारी साधन किनिएको छ । उनको बैंक खातामा ४ लाख २९ हजार ९८२ रुपैयाँ बाँकी छ । यसरी हेर्दा २०७४ को स्थानीय चुनावपछि मात्र उनको आर्थिक कारोबार ६ करोड ९७ लाख ८१ हजार रुपैयाँ छ । 

रमाइलो तथ्य के छ भने उनले आफ्ना परिवारका सबै सदस्यको बीमा गरेका छन् । त्यो पनि एउटा कम्पनीमा होइन, ३–४ वटा कम्पनीमा । 

उनले २०७६ सालदेखि ७८ सालसम्म ५–५ लाख दरका आफ्नै ४ वटा बीमा गरेका छन् । जसको प्रिमियम वापत ८६ हजार ६४८ रुपैयाँ तिरेका छन् । त्यसपछि २५ लाख दरको ५ वटा बीमा गरेका छन् । 

बुबा वंशराज गुप्ताको १ लाख ५० हजार दरका १० वटा बीमा गरिदिएका छन् । 

कान्छी श्रीमती शारदा आचार्य गुप्ताको पनि ५ लाख दरका ४ वटा बीमा गरिदिएका छन् । त्यस्तै १० लाख दरको पनि ४ वटै बीमा गरिदिएका छन् । 

छोरा अंशुमान गुप्ताको २ वटा बीमा गरिदिएका छन् । छोरी अस्मिता गुप्ताको ५ लाख दरका ५ वटा बीमा गरिदिएका छन् । 

२ छोरा र १ छोरीलाई २०७४ सालदेखि काठमाडौंको लिटिल एन्जेल्स स्कुलमा पढाएका छन्, जसको फि ५ लाख रुपैयाँ भन्दा बढी छ । 

यसरी २०७४ असारमा गाउँपालिका अध्यक्ष निर्वाचित भएदेखि २०७९ असार २८ गतेसम्मको अवधिमा गुप्ताले घरजग्गा खरिद, सेयर, बीमा, कम्पनीमा लगानी, विभिन्न विषयमा गरी ६ करोड ९७ लाख ८१ हजार रुपैयाँ खर्च गरेका छन् । जसमध्ये बैंकको ऋण समेत हिसाब गर्दा ३ करोड ५१ लाख ८२ हजार रुपैयाँ मात्र वैधानिक रकम हो ।

बाँकी ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँको स्रोत खुलेन । त्यसैले अख्तियारले यो रकम गुप्ताले गैरकानुनी रुपमा कमाएको ठहर गरेको छ । र, उनीसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा लगेको छ । 

०००००

भ्रष्टाचार मुद्दा लागेका गुप्ता यसअघि पनि विवादमा परेका थिए । अदालतले समेत कैद सजाय सुनाएको थियो । 

भएको के थियो भने पालिका अध्यक्ष बन्नु अगाडि कवाड व्यवसाय समेत गर्ने । जब पालिका अध्यक्ष भए, कवाड व्यवसायकै क्रममा आफूसँगै व्यवसाय गर्ने दुई जना भारतीयलाई लागू औषध मुद्दामा फसाउने प्रपञ्च रचे । 

कवाड कारोबार वापत तिर्नुपर्ने १ करोड ३५ लाख रुपैयाँ मागेपछि गुप्ताले प्रहरीको दुरुपयोग गरेर फसाउन चाल चले । 

उनका भारतीय पार्टनरहरु रामा गुप्ता र जितेन्द्र पासवान एउटै मोटरसाइकल चढेर हिँडिरहेका बेला प्रहरीले उनीहरुको मोटरसाइकल नजिक लागू औषध राखेको थियो । त्यसपछि उनीहरु लागूऔषध मुद्दामा पक्राउ परेका थिए । तर त्यसको सीसीटीभी फुटेज सार्वजनिक भएपछि प्रहरी र बैजुको पोल खुल्यो । 

२०८१ चैतमा जिल्ला अदालतले रामा गुप्ता र जितेन्द्र पासवानलाई सफाइ दियो भने भने गुप्तालाई चाहिँ एक वर्ष कैद र २ लाख जरिवानाको सजाय सुनाएको थियो । उनी २०७९ सालमा थुनामा समेत परेका थिए । 

अहिले गैरकानुनी सम्पत्तिको मुद्दा खेपिरहेका छन् । 

यसरी हेर्दा एक जना जनप्रतिनिधिले कतिसम्म पदको दुरुपयोग गर्नसक्छ भने खराब उदाहरण यसलाई मान्न सकिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज