सुरुङमार्गबाट कसरी हरायो केपी ओलीको शिलालेख ?
साउन ११ गतेदेखि नागढुंगा सुरुङमार्ग खुल्दैछ । २०७६ कत्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो सुरुङ सुरुङमार्गको शिलान्यास गरेका थिए ।
यो शिलान्यासको कार्यक्रम भएको थियो, सुरुङमार्गको काठमाडौंतर्फको मुख दहचोकमा । हुन त जग्गा प्राप्तिसहित आयोजना सुरुङ निर्माणको पूर्वतयारी सकिएकै थिएन । तर, तत्कालीन प्रधानमन्त्री ओलीले हतार–हतार शिलान्यास गरेका थिए ।
त्यही शिलान्यासस्थल दहचोकको टुटेपाखामा अहिले सुरुङमार्गको प्रवेशस्थल छ । यहाँ नै सुरुङ मार्गको अपरेसनल बिल्डिङ छ, पैसा उठाउने टोल बुथ पनि छ ।
शिलान्यासपछि केपी ओलीले आफ्नो नाम लेखिएको ताम्रपत्रको शिलालेख अनावरण गरेका थिए । अहिले सुरुङमार्गमा कतै पनि त्यो शिलालेख छैन ।
आखिरमा कहाँ गयो त शिलालेख ? नागढुंगा सुरुङमार्ग आयोजनाका प्रवक्ता सञ्जय पन्थीका अनुसार शिलालेख हराएको छ ।
कहाँ हरायो त ? आयोजनाका अनुसार शिलान्याश गरिएको स्थानमा निर्माणको काम गर्ने क्रममा त्यसलाई हटाउनुपर्ने भयो । त्यसपछि आयोजनाले त्यो शिलालेख त्यहाँबाट निकालेर बबरमहलस्थित सडक विभागको भवनमा ल्याएर राखेको थियो ।
तर, २०८२ भदौको जेनजी आन्दोलनका क्रममा बबरमहलस्थित सडक विभागको कार्यालयमा सुरुमा लुटपाट भयो । त्यसपछि आगजनी भयो । भवनका अधिकांश भाग जलेको छ । भवनमा रहेका धेरै सरसामान र अभिलेख पनि जलेर नष्ट भए ।
अहिले नागुढुंगामा पुनस्र्थापना गर्नुपर्ने तत्कालिन प्रधानमन्त्रीले शिलान्यास गरेको शिलालेख पनि भेटिएको छैन । प्रवक्ता पन्थीका अनुसार उद्घाटन र शिलान्यासको अभिलेख सँगै राख्नुपर्ने हुन्छ । तर विभागको भवनबाट अहिलेसम्म शिलालेख भेटिएको छैन । ताम्रपत्रमा भएकाले त्यो जलेर पग्लिएको हुनसक्ने अनुमान छ ।
अहिले सामाजिक सञ्जालमा एमाले नेता कार्यकर्ताले प्रश्न गरिरहेका छन्, शिलालेख खै ? एमाले महासचिव शंकर पोखरेलले नै यो प्रश्न उठाएका छन् । एमालेजनको आशंका छ, नयाँ सरकारले नियोजित रुपमा शिलालेख हटायो । उनीहरुले इतिहास मेटाउन खोजिएको भन्दै विरोध गरिररहेका छन् ।
तर, आयोजनाले भने माथिबाट यस्तो निर्देशन नआएको र निर्माणमा क्रममा २०७७ सालमै शिलालेख झिकेर सुरक्षित राखिएको बताएको छ । सकेसम्म पुरानै शिलालेख खोजेर राखिने विभागको भनाइ छ ।
नागढुंगा सुरुङमार्ग : खुल्दैछ काठमाडौंको नयाँ गेट
पछि हट्यो सरकार, निजी शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत कर नलाग्ने
चुनाव जितेको डेढ वर्षमै पालिका अध्यक्षको ११ ठाउँमा घर जग्गा
गोलभेँडाको भाउले दियो धोका, ऋणमा डुबेका किसानको कथा






-1784465073.png)

