सुनसरीमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा
सुनसरीको देवानगञ्जमा आज बिहान ७ बजेदेखि कर्फ्यु छ ।
तर कर्फ्युका बाबजुद पनि मानिसहरु बाहिर निस्केर तोडफोड र आगजनी गर्न थालेका छन् ।
कर्फ्यु पालना नभएपछि अहिले देवानगञ्ज गाउँपालिका– कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना नै सडकमा आएको छ ।
आइतबार मध्यराति दुई समूहबीच झडप भएपछि नियन्त्रण गर्न गएको प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । देवानगञ्ज–३ का २३ वर्षका ओमप्रकाश मेहताको मृत्यु भएपछि प्रदर्शन झन् चर्किएको थियो ।
घटनामा सुरक्षाकर्मीसमेत गरी करिब २० जना घाइते भएका छन् ।
साउन महिनामा गरिएको बोलबम यात्राका क्रममा ठूलो स्वरमा डिजे बजाएर होहल्ला गरेको भन्दै विवाद सुरु भएको थियो । त्यो विवादले झडपको रुप लिएपछि प्रहरी परिचालन गरिएको थियो ।
तर प्रहरीको गोली लागेर मान्छे कै मृत्यु भएपछि हिंसा झन् भड्किएको हो ।
जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।
कर्फ्यु लगाएर स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ भने अर्कोतिर जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला पक्षबीच वार्ता पनि भएको छ ।
गृहमन्त्री सुदन गुरुङले पनि सुनसरी घटनाको विषयमा सुरक्षा प्रमुखहरुसँग छलफल गरेका छन् । गृह मन्त्रालयले घटनाको छानबिनका लागि सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
सोमबार साँझ नै केन्द्रीय सुरक्षा समितिको बैठक पनि बोलाइएको छ ।
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य








