काठमाडौंमा मृगौला किनबेचको असफल प्रयास
काठमाडौंमा खुलेआम मृगौला किनबेच गर्ने एउटा असफल प्रयास । एउटा गरिब युवकलाई छोरा हो भनेर मृगौला दान लिन खोजिन्छ । सबै कुरा ठीक ठाक पारेपछि अस्पतालबाटै पोल खुल्छ ।
जब अस्पतालले नक्कली हो भनेर थाहा पाउँछ, सबै जना फरार हुन्छन्, त्यही युवक पक्राउ पर्छ । उसलाई १२ वर्ष कैद गर्न माग गर्दै अदालतमा मुद्दा परेको छ ।
यो घटना धेरै पुरानो होइन, यही असार महिनाको हो ।
ललितपुर भैंसेपाटीका ६५ वर्षका शिवलाल बेल्वासे दुबै मृगौला फेल भएर डाइलासिस गराइरहेका हुन्छन् । उनी मृगौला प्रत्यारोपण गर्न चाहन्छन् । त्यसका लागि मृर्गौला दाता खोजिरहेका हुन्छन् ।
उनले फेला पार्छन्, ललितपुरकै लगनखेल क्षेत्रमा ज्यामी काम गर्ने सिन्धुपाल्चोकका नवीन तिमल्सिना ।
नवीनका अनुसार उनका बाबु–आमा छैनन्, घर र जग्गाजमिन पनि छैन । उनलाई श्रीमतीले पनि छाडेकी हुन्छिन् । ज्यामी काम गरेर जीविका चलाइरहेका हुन्छन् ।
उनलाई एक दिन अचम्मको अफर आउँछ– एक जना मृर्गौला रोगी छ, त्यसलाई मृर्गौला दियौं भने ८–१० लाख रुपैयाँ पैसा आउँछ ।
नवीनलाई यो अफर ल्याएका थिए, काभ्रे पाँचखालका विनोद सार्कीले । विनोदले नै मृर्गौला रोगी शिवलाल र नवीनको भेट गराइदिन्छन् ।
शिवलालले मृर्गौला दिने भने राम्रो पैसा दिने भन्छन् । नवीन मृर्गौला दिन राजी हुन्छन् ।
तर नेपालको कानुन अनुसार जो सुकैसँग मृर्गौला दान लिन मिल्दैन । नजिकको नातेदारले मात्र मृर्गौला दान गर्न पाउँछ ।
शिवलालले सबै कागज म मिलाउँछु, तिमीले चाहिँ म उहाँको छोरा हो मात्र भनिदिनू भनेर सिकाउँछन् ।
त्यसपछि नवीनलाई स्वास्थ्य जाँचका लागि सिनामगंलको काठमाडौं मेडिकल कलेजमा लगिन्छ । ३ पटकसम्म स्वास्थ्य जाँच गरिन्छ ।
अनि नवीनलाई शिवलालको छोरा रुपेशजंग बेल्बासे हो भन्ने देखाउन नक्कली कागजात बनाइन्छ ।
ललितपुर महानगरपालिकाको वडा नम्बर २५ ले रुपेशजंग बेल्बासे शिवलाल बेल्बासेको छोरा हो भनेर बनाएको नाता प्रमाणितको कागजमा रुपेशको फोटो झिकेर नवीन तिमल्सिनाको फोटो टाँसिन्छ ।
गत असार ३० गते काठमाडौं मेडिकल कलेजमा नवीनको मृर्गौला झिकेर शिवलालको मिर्गौला प्रत्यारोपण गर्ने तयारी थियो ।
जब मृर्गौला झिक्ने बेलामा अस्पतालका कर्मचारीले कागजात हेर्छन् । शिवलालको छोराको नाता प्रमणित कागजमा टाँसेको फोटो शंकास्पद लाग्छ ।
रुपेशको राष्ट्रिय परिचयपत्र र विवाह दर्ता प्रमाणपत्रमा भएको फोटो र नाता प्रमाणितमा भएको फोटो मिल्दैन । किनकी नाता प्रमाणितको कागजमा रुपेशको फोटो झिकेर सिन्धुपाल्चोकका नवीन तिमल्सिनाको फोटो टाँसिएको थियो ।
त्यसपछि अस्पतालले प्रहरीलाई खबर गर्छ । शिवलाल र उनका छोरा फरार हुन्छन् । शिवलाललाई मिर्गौला दिन लागेका नवीन तिमल्सिना पक्राउ पर्छन् । उनले प्रहरीसँगको बयानमा आफ्नो आर्थिक अवस्था सुधार हुने आशामा मिर्गौला दिन राजी भएको स्वीकार गरेका छन् ।
अहिले नवीन तिमल्सिना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ । उनलाई मानव अंग बेचबिखनमा ५ वर्ष र सरकारी कागजात कीर्तेमा ७ वर्ष गरी १२ वर्ष कैद सजाय माग गरिएको छ । नवीनलाई पैसा दिएर मिर्गौला लिन खोजेका शिवलाल र उनका छोरा रुपेशजंग भने अहिलेसम्म फरार छन् ।
मासिएको प्राचीन पोखरीले पायो आकर्षक र रमणीय रुप
बालश्रमसम्बन्धी नयाँ विधेयक : बालेनले अब भन्नु पर्दैन सरी !
कृषि अनुदानको नाममा राज्यकोषको यो हदको दुरुपयोग !
सुनसरीमा कर्फ्यु उल्लंघन भएपछि सेना सडकमा







