रसुवा बाढीबारे गृहमन्त्री सुदन गुरुङको ३ स्पष्टीकरण
रसुवा बाढीमा जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरुको किन ६ दिनसम्म उद्दार हुन सकेन ? अहिले धेरैले सरकारमाथि सोधिरहेको प्रश्न हो । उद्दारको काम किन ढिला भयो ? स्थानीय तहसँग किन समन्वय हुन सकेन ? उद्दारमा किन विदेशी सहयोग लिइएन भन्ने विषयमा पनि सरकारमाथि प्रश्न उठेको छ ।
मंगलबार पत्रकार सम्मेलन गरेर गृहमन्त्री सुदन गुरुङले रसुवा बाढीपछि सरकारमाथि उठेका प्रश्नहरुको जवाफ दिए, उद्दारका जटिलताहरु सुनाए । उनले नेपालमा यति ठूलो विपद अहिलेसम्म नगएकाले उद्दार कार्यमा केही कठिनाइ भएको स्वीकार गरे । ‘हाम्रो रिसोर्सलाई म्याक्सिमम युज गरेका छौं, तर ड्यामेज धेरै ठूलो छ, हामीले आफूले सक्ने गरेका छौं’, मन्त्री गुरुङले भने ।
सुरुङमा किन उद्दार हुन सकेन ?
उनका अनुसार कुनै सुरुङको मुख टालिएको छ, कुनैभित्र धेरै परसम्म दलदल छ । सुरुङबाहिर ठूला ठूला ढुंगा छ, त्यहाँ हेलिकप्टर ल्याण्ड गर्दा पनि पंखा ढुंगामा छुने डर हुन्छ ।
जमिनमा दलदल भएकाले हेलिकप्टर ल्याण्ड गर्न पनि सम्भव हुँदैन । गृहमन्त्री गुरुङले भने, ‘अहिलेसम्म प्रयास जारी छ, हामीले काम रोकेका छैनौं, आशा मारेका छैनौं ।’
त्रिशुली थ्री ए मा एस्काभेटर नै दलदलमा फसेको उनले सुनाए । सुरुङमा मुखबाट खोल्दै जाँदा समय लाग्ने हुनाले पावर हाउस भन्दा माथिल्लो क्षेत्रमा प्वाल पारेर खानेकुरा, पानी र हावा पठाउने हो कि भन्ने सल्लाह भएको मन्त्री गुरुङले बताए ।
नेपाली सेनाका अनुसार भदौ १३ गते नै लाङटाङ र चिलिमे जलविद्युत आयोजनाको सुरुङ निरीक्षण गरिएको थियो । लाङटाङको सुरुङभित्र १२० मिटरसम्म भित्र गएर हेरिएको थियो । त्यहाँ केही फेला परेन ।
चिलिमे हाइड्रो पावरमा १२० मिटरसम्म भित्र गएर हेर्दा केही फेला परेन ।
रसुवागढी हाइड्रो पावरमा २७५ मिटरसम्म भित्र गएर हेरिएको थियो ।
माथिल्लो त्रिशुली १ मा नेपाली र चिनियाँ टोलीले २०० मिटरसम्म भित्र गएर हेरेको थियो । अहिले त्यहाँ थप काम भइरहेको छ ।
त्रिशुली थ्री ए मा ३ वटा एक्साभेटरको सहायताले सुरुङको मुख खोजिँदैछ ।
त्रिशुली थ्री बी मा आयोजनाकोृ कार्यालय र निवास रहेको ठाउँ पहिचान भइसकेको छ । त्यहाँ थप काम भइरहेको छ ।
नेपाली सेनाका अनुसार मौसमका कारण काम रोकिएको बाहेक लगातार काम भइरहेको छ ।
उद्दारमा विदेशी सहयोग किन लिइएन ?
गृहमन्त्री सुदन गुरुङले उद्दारमा विदेशी सहयोग नलिएको आरोपको भने खण्डन गरे । उनका अनुसार सरकारले विदेशी सहयोग नलिने भनेकै छैन । नेपाली सेनाको नेतृत्वमा चीन र भारतको टोलीले पनि उद्दारको काममा साथ दिइरहेको उनले बताए । अहिले पनि केही सुरुङहरुमा चिनियाँ टोलीले नेपाली सेनासँगै काम गरिरहेको छ ।
निजी हेलिकप्टरलाई किन उड्न दिइएन ?
गृहमन्त्री गुरुङका अनुसार हेलिकप्टरमा भने एकद्वार प्रणाली लगाएकै हो । किनकी रसुवाको बाढी प्रभावित क्षेत्र रसुवागढी, टिमुरे, स्याब्रुवेशीको नदी किनार क्षेत्र धेरै नै साँघुरो छ ।
यहाँ धेरै हेलिकप्टर उडाउँदा झन् जोखिम हुन्छ । ‘रिस्की एयर स्पेसमा धेरै हेलिकप्टर चलाउँदा पूर्वसावधानी अपनाउनै पर्छ । त्यसैले हेलिकप्टरमा वान डोर पोलिसी गरेकै हो’, उनले भने ।
सरकारले बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर मात्र चलाउन दिएको थियो । निजी हेलिकप्टर प्रयोग गर्न दिएको थिएन । सरकारको यो निर्णयका कारण निजीस्तरबाट हुन सक्ने उद्दारमा ढिलाइ भएको गुनासो आएको थियो ।
व्यक्तिगत राहत बाँड्न किन नदिएको ?
सरकारले राहत तथा उद्दारमा सबैभन्दा नजिकको सरकार स्थानीय सरकारसँग पनि समन्वय नगरेको आरोप लागेको छ । गृहमन्त्री गुरुङका अनुसार स्थानीय तहसँग समन्वय भइरहेको छ । तर बाढीका कारण धेरै जनप्रतिनिधि आफैं सम्पर्कमा आउन नसकेका कारण समन्वय हुन नसकेको हो ।
तर उद्दार र राहतमा सरकारले एकद्वार प्रणाली नलगाएको, जोसुकै पनि उद्दार गर्न जान सक्ने र राहत लिएर जान सक्ने उनले बताए ।
कति खतरनाक छ भोटेकोशीको शिरमा बनेका दुई ताल ?
त्रिशुली थ्री ए को जटिल रेस्क्यू अपरेशन
थ्रीडी फोटो सार्वजनिक गर्दै चीनले भन्यो : बाढीको स्रोत नेपाली भूमि
चीनबाट आयो ताल फुटेको सूचना, पुनः बाढीको सम्भावना






