नेभिगेशन
समाज

सर्बस्व गुमाएकी बुटीले बास मागिन्, सचीले सिंगो गाउँलाई नै आश्रय दिइन्

भोटेकोशीमा बाढी आएको केही दिनपछि बाढीबाट ज्यान जोगाएका रसुवाका बासिन्दा सुरक्षित ठाउँ खोज्दै नुवाकोट सदरमुकाम बिदुरतिर आइरहेका थिए । धेरैले त्यहीँका विद्यालय र सार्वजनिक भवनहरुमा आश्रय लिइरहेका थिए । 

नुवाकोटको बट्टारमा हिमालयन एकेडेमी नामको निजी स्कुल चलाइरहेकी सचि चित्रकार आफ्नै स्कुलमा थिइन् । एक महिला आएर उनीसँग आश्रय मागिन् ।

बाढीमा श्रीमान, घर र माइतीपट्टि गरी १२ जना आफन्त गुमाएको र उनीहरुको अन्तिम संस्कार गरेर फर्किएको भन्दै उनले बास मागेकी थिइन् । बाढीका कारण विद्यालयमा पढाइ बन्द थियो । स्कुलमा होस्टल पनि चलिरहेकाले भान्सा कोठा र केही मान्छे सुत्ने ठाउँ पनि थियो । 

सचिले ती महिलालाई आश्रय दिइन् । त्यहाँ आश्रय लिन पुगेकी थिइन् उत्तरगया गाउँपालिका खाल्टेकी बुटी तामाङ । उनी गाउँको वडा सदस्य समेत थिइन् । खाल्टे गाउँ बाढीका कारण धेरै मानवीय क्षति हुने गाउँमध्ये एक हो ।

यहाँका हरेकजसो परिवारले परिवारको कुनै न कुनै सदस्य गुमाएको छ । कति बालबच्चा टुहुरा भएका छन् । कति ज्येष्ठ नागरिक सहाराविहीन भएका छन् । 

सचिले स्कुलमा बास दिन मञ्जुरी दिएपछि बुटी बाढीबाट जोगिएका अरु गाउँलेलाई पनि बोलाइन् । अहिले यो स्कुलमा आश्रय लिनेको संख्या १७० नाघिसकेको छ । जसमा ७० भन्दा धेरै बालबालिका छन् । 

२०७२ सालको भूकम्प अगाडिसम्म खाल्टेमा बाक्लो बस्ती थिएन । भूकम्पबाट घर भत्किनुका साथै गाउँमा बस्न असुरक्षित भएपछि रसुवाका मैलुङलगायतका केही गाउँका बासिन्दा खाल्टेमा आएर बसेका थिए । 

खाल्टेमा सरकारी जग्गामा बसेका उनीहरुले पक्की घर पनि बनाउन सकेका थिएनन् । टहरामै बसेका थिए । अहिले बाढीले त्यहाँको थातथलो पनि सबै बगाइदियो । त्यसैले खाल्टेका बासिन्दा नुवाकोटमै अस्थायी आश्रयमा बसेर सुरक्षित बसोबासस्थलको खोजीमा छन् ।

केही दिनपछि त विद्यालय खोल्नुपर्छ, सचिले आफ्नै विद्यार्थीलाई पढाउनुपर्छ, अनि होस्टलमा राख्नुपर्छ । यी बाढीपीडितलाई त्यतिबेला कहाँ पठाउने भन्ने उनलाई चिन्ता छ । बुटीलाई पनि स्कुल छाडेर अन्यत्र कहाँ जाने र गाउँलेलाई कहाँ लैजाने भन्ने चिन्ता थपिएको छ । 

बाँकी कुरा भिडियोमा हेर्नुहोस् : 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज