नेभिगेशन
समाज

मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना

नेपालको मौसम पूर्वानुमान गर्ने निकायले असोज ९ देखि ११ गतेसम्म देशका धेरै ठाउँमा पानी पर्ने, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षासम्म हुने भन्दै सचेत रहन आग्रह गरेको छ । 

उत्तरी अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपासमा रहेको छ । यो मौसम प्रणाली थप शक्तिशाली बन्दै डिप डिप्रेसन अर्थात बलियो न्यून चापीय क्षेत्र भएर पश्चिम तथा उत्तर पश्चिम दिशातिर सर्ने देखिन्छ । 

त्यही मौसम प्रणालीका कारण नेपालमा बुधबारदेखि नै पानी पर्न थाल्नेछ । अनि असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा भारीदेखि अतिभारीसम्म वर्षा हुन सक्नेछ । 

त्यसबाहेक पूर्वी पहाड, काठमाडौं उपत्यका, कर्णाली र सदूरपश्चिमका पहाडी जिल्लामा पनि ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले सोमबार एक बुलेटिन जारी गरी वर्षाका कारण बाढी, पहिरो र ग्रेगानसहितको बाढी आउने सम्भावना रहेको औंल्याएको छ । शहरी क्षेत्र र तराईमा डुवानको जोखिम पनि छ । 

त्यसैले कृषि कार्य गर्न, घुमफिर गर्न, नदी आसपासका क्षेत्रमा निर्माण कार्य गर्न र यातायातका साधनमा आवतजावत गर्न पनि सावधानी अपनाउनुपर्नेछ । 

कतिपय ठाउँमा धानबाली भित्र्याउने समय भएकाले सचेत हुन पनि भनेको छ । 

मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गरेपछि राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पनि विज्ञप्ति जारी गरेर केही सतर्कता अपनाउन भनेको छ । 

अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न भनेको छ । 

संघीय सरकारका निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवकलाई आम सर्वसाधारणलाई सूचित गर्न र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । 

जोखिम भएका राजमार्ग र सडकहरुमा डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न पनि आग्रह गरेको छ । 

जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकहरुले जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घर परिवारलाई विपद प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । 

आकस्मिक बाढी आउन सक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान, खोला नदी किनारका बस्तीका बासिन्दाहरु बढी चनाखो हुन पनि भनेको छ । 

bipad-1789997507.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज