एनपीएलमा यसपालि कसले जित्ला कार ? यसरी छानिन्छन् खेलाडी
नेपाल प्रिमियर लिगको उपाधि कुन टिमले जित्ला भन्ने जति चासो छ, त्यो भन्दा कम चासो छैन, यो वर्ष कार कसले जित्ला भन्नेमा ।
एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउँछ । त्यो पनि ५० लाख भन्दा बढी मूल्य पर्ने ओमाडा जे फाइभ प्रो ।
पहिलो सिजन दीपेन्द्रसिंह ऐरीले गाडी जिते । दोस्रो सिजन रोहितकुमार पौडेलले जिते । अहिले धेरैको चासो छ, तेस्रो सिजनको कार चाहिँ कसले पाउला ?
ब्याटिङमा लोकेश बमले प्रभावशाली प्रदर्शन गरेका छन् । बलिङमा रिजन ढकालले विकेटको वर्षा गरेका छन् । अलराउण्ड प्रदर्शनमा दीपेन्द्रसिंह ऐरी र करण केसी अगाडि छन् ।
यो पटक कार चढ्ने सम्भावना सोमपाल कामीको पनि थियो, तर उनको हिसाब बिग्रियो । कार चढ्ने खेलाडीको छनोट कसरी हुन्छ ? अलराउन्ड प्रदर्शन गर्ने खेलाडीले गाडी जित्ला ? कि सर्वाधिक रन बनाउने ब्याटर वा सर्वाधिक विकेट लिने बलरले पनि जित्नसक्छ ?
***
यो सिजन कार पाउनसक्ने खेलाडीबारे भन्नु अगाडि अघिल्ला दुई सिजनको विजेतालाई हेरौं ।
पहिलो सिजन गाडी जितेका थिए, दीपेन्द्रसिंह ऐरीले । त्यो सिजन उपाधि त जनकपुर बोल्ट्स जितेको थियो । सर्वाधिक रन बनाउने नेपाली खेलाडी रोहितकुमार पौडेल थिए । रोहितले २७९ रन बनाएका थिए । धेरै विकेट लिने नेपाली खेलाडी चाहिँ ललित राजवंशी थिए । उनले १७ विकेट लिएका थिए ।
तर गाडी दीपेन्द्रले पाए । किनकी दीपेन्द्रकै कप्तानीमा सुदूरपश्चिम अपराजित रहँदै फाइनलसम्म पुगेको थियो । दीपेन्द्रको व्यक्तिगत प्रदर्शन पनि उत्कृष्ट रह्यो । ९ खेलमा २२७ रन बनाएका उनले ९ विकेट लिएका थिए । उनको फिल्डिङ पनि त्यस्तै रह्यो । उनले प्रतियोगिताभर ७ वटा रन आउट गरेका थिए ।
दोस्रो सिजन गाडी जिते रोहितकुमार पौडेलले । त्यो सिजन लुम्बिनीले रोहितकै कप्तानीमा उपाधि पनि जितेको थियो । धेरै विकेट लिने खेलाडीमा भने सन्दीप लामिछाने र शेर मल्ल थिए । दुबैले १७/१७ विकेट लिएका थिए ।
तर धेरै रन बनाउने नेपाली खेलाडी रोहित आफैं थिए । रोहितले २७६ रन बनाउनुका साथै १० विकेट लिएका थिए । त्यसमा पनि फाइनलमा सुदूरपश्चिमविरुद्ध ह्याट्रिक नै गरेका थिए ।
यसबाट के प्रष्ट हुन्छ भने सर्वाधिक रन बनाउँदैमा वा धेरै विकेट लिँदैमा गाडी पाउने भन्ने होइन । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा खेलेको भूमिकाको मूल्यांकन हुने गर्छ ।
अझ इण्डियन प्रिमियर लिग आईपीएलमा हेर्ने हो भने त उत्कृष्ट खेलाडी छनोट गर्ने अंक प्रणाली नै छ । त्यहाँ चौका, छक्का, विकेट, डट बल र फिल्डिङको योगदानलाई अंकमा रुपान्तरण गरिन्छ ।
त्यसअनुसार प्रत्येक चौकामा २.५ र छक्कामा ३.५ अंक आउँछ । यस्तै प्रत्येक विकेटका लागि ३.५, डट बलका लागि १, प्रत्येक क्याचका लागि २.५ र प्रत्येक स्टम्पिङका लागि २.५ अंक दिइन्छ ।
एनपीएलमा कार पाउने उत्कृष्ट नेपाली खेलाडी छनोटको मापदण्ड यसरी नै सार्वजनिक गरिएको छैन । तर यहाँ पनि ब्याटिङ, बलिङ र फिल्डिङ सबै हेरेर उत्कृष्ट खेलाडी छनोट हुन्छ ।
***
यो सिजन व्यक्तिगत प्रदर्शन राम्रो भएका नेपाली खेलाडीहरुको को– को हुन् भनेर हेरौं ।
व्याटिङतर्फ लोकेश बम अग्रस्थानमा छन् । विराटनगर किंग्सबाट खेलेका लोकेशले लिग चरणका ७ इनिङमा २४२ रन बनाएका छन् । त्यसमा दुई अर्धशतक छ । १६ चौका र १८ छक्का छ ।
त्यसपछि छन् कुशल भुर्तेल । पोखरा एभेन्जर्सका मार्की प्लेयर समेत रहेका कुशलले ७ इनिङमा २३५ रन बनाएका छन् ।
अन्तिम खेलमा त उनी शतक बनाउनबाट मात्र एक रनले चुकेका थिए । उनले बनाएको ९९ रन नै एनपीएलमा एकै इनिङ्समा नेपाली खेलाडीको उच्च स्कोर हो । दुई अर्धशतक बनाएका उनले १५ चौका र १० छक्का समेत हानेका छन् ।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ९ इनिङ्समा २१७ रन बनाएका छन् । उनको उच्च स्कोर ६० हो । तीन अर्धशतक बनाएका उनले १५ चौका र ५ छक्का हानेका छन् ।
अब बलिङतर्फ हेरौं । प्रतियोगितामै सबभन्दा बढी विकेट लिने खेलाडी हुन् रिजन ढकाल । चितवन राइनोजका रिजनले १७ विकेट लिएका छन् । कुल २७ ओभर बलिङ गर्दा उनको इकोनोमी ६.२२ छ । उनको उत्कृष्ट बलिङ चाहिँ १६ रन खर्चेर ४ विकेट लिनु हो ।
रिजनलाई पछ्याएका छन् चितवनकै कमलसिंह ऐरीले । कमलले १३ विकेट लिएका छन् । उनको इकोनोमी ५.५७ छ । त्यस्तै जनकपुर बोल्ट्सका राहुल यादवले पनि समान १२ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ भनेको ३१ रन खर्चेर ४ विकेट लिनु हो ।
त्यसो भए यो सिजन कसले कार जित्छ त ?
माथिको तथ्यांक मात्र हेर्ने हो भने रनका आधारमा लोकेश बम, बलिङका आधारमा रिजन ढकाल भन्न सकिन्छ ।
तर उत्कृष्ट खेलाडीको छनोट यति सजिलो हुन्न । ब्याटिङतर्फ कति रन बनाएको छ मात्र होइन, अर्धशतक र शतक कति छ ? छक्का चौका कति छ भन्ने पनि हेरिन्छ ।
बलिङतर्फ विकेट त महत्वपूर्ण भइहाल्यो । सँगसँगै ह्याट्रिक र ५ विकेट छ भने त्यसको छुट्टै महत्व हुन्छ । डट बलको संख्या र बलिङ इकोनोमीले पनि अर्थ राख्छ ।
फिल्डिङतर्फ रन आउट र क्याच हेरिन्छ ।
अर्को छुटाउन नहुने अनि प्लेयर अफ दि म्याच पनि हो । हालसम्म नेपाली खेलाडीहरु शेर मल्ल, कमल सिंह ऐरी, युनिस बिक्रम सिंह ठकुरी, दीपेन्द्र सिंह ऐरी, राहुल यादव, सोमपाल कामी, त्रितराज दास र करण केसी प्लेयर अफ दि म्याच भएका छन् ।
यहाँ याद गर्नुपर्ने अर्को तथ्य के छ भने हरेक खेलमा म्यान अफ दि म्याच घोषणा गर्नु अघि तीन जनाको सूची तयार पारिन्छ । त्यो सूचीमा परेको आधारमा पनि अंक आउँछ । जस्तो, म्यान अफ दि म्याचको ३ अंक छ भने दोस्रो नम्बरमा पर्नेको २ र तेस्रो नम्बरमा पर्नेको १ एक हुन्छ । यसरी एक–एक हिसाब गरेपछि बल्ल उत्कृष्ट नेपाली खेलाडी घोषणाका लागि सम्भावितहरुको सूची तयार हुन्छ ।
त्यसैले यो सिजन कार कसले जित्छ भन्ने अहिले नै ठोकेर भन्न गाह्रो छ । तर अहिलेसम्मको प्रदर्शन हेर्दा सम्भावित दावेदार भने अनुमान गर्न सकिन्छ ।
ब्याटिङ साइडबाट हेर्ने हो भने लोकेश बम र कुशल भुर्तेल दावेदार हुन् । लोकेशको ठूलो स्कोर छ । उनी विकेट किपर पनि हुन् । तर जति सुस्त हुनुपर्ने हो, त्यो भएको छैन । कुशलको बलिङसँगै फिडिल्ङ पनि छ । तर उनीहरुको माइनस प्वाइन्ट के रह्यो भने दुबैको टिम प्ले अफमा पुग्न सकेन ।
बलिङ डिपार्टमेन्टबाट रिजन नै कारको दावेदार हुन् । अलराउण्ड पर्फर्मेन्सका आधारमा हेर्ने हो भने दीपेन्द्र सिंह ऐरी र करण केसी दावेदार हुन् । उनीहरु दुईमा दीपेन्द्रले धेरै रन बनाएका छन्, तर केसीले विकेट धेरै लिएका छन् । तर स्ट्राइक रेटमा करण अगाडि छन् भने बलिङ इकोनोमीमा दीपेन्द्रको राम्रो छ ।
अनि, करणको टिम काठमाडौं गुर्खाज इमिलिनेटरबाटै बाहिरियो भने दीपेन्द्रको टिम फाइनलमा पुगेको छ । त्यसैले कार कसले जित्छ भन्ने फाइनलमा दीपेन्द्रको प्रदर्शनले पनि निर्धारण गर्नेछ ।
यदि उनको व्यक्तिगत प्रदर्शन राम्रो रह्यो, अझ टिमलाई उपाधि नै दिलाए भने एउटा परिस्थिति हुन्छ । अन्यथा अर्को अवस्था बन्छ ।
उनले पहिलो सिजन नै कार पाइसकेकाले अर्को दाबेदार १९/२० को अवस्थामा छ भने छनोटकर्ताहरुले फरक निर्णय पनि लिन सक्छन् । तर फाइनल अगाडि यत्ति भन्न सकिन्छ, कारको दावेदारमा ब्याटिङबाट लोकेश बम, बलिङ डिपार्टबाट रिजन ढकाल हुन् । अलराउण्ड प्रदर्शनबाट दीपेन्द्र सिंह ऐरी र करण केसी हुन् । कुशल भुर्तेललाई पनि यसमा राख्न सकिन्छ ।
यो पटक कारको दौडबाट नराम्ररी चुकेका खेलाडी चाहिँ सोमपाल कामी हुन् । कर्णाली याक्स प्ले अफमा पुगेको भए सोमपाल कारको बलियो दोवदार हुने थिए ।
लामो समयदेखि राष्ट्रिय टिमबाट खेल्दै आएका सोमपाले सुरुवातमै म्याच विनिङ पारी खेलेका थिए । बलिङ पनि उत्कृृष्ट थियो । सुरुवाती दुई खेल जितेर पनि टिमले त्यो मोमेन्टम कायम राख्न सकेन र लगातार चार खेल हार्न पुग्यो ।
सोमपालकै प्रदर्शन पनि खस्कियो । परिणाम, उनले कप्तानको भूमिका गुमाए । टिम प्ले अफमा पुगेन । अनि व्यक्तिगत रुपमा उनी आफैं उत्कृष्ट खेलाडी बनेर कार जित्ने दौडबाट टाढा हुन पुगे ।
अब लोकेश बम, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी, करण केसी वा कुश भुर्तेलहरु नै सबैभन्दा प्रबल दावेदार हुन् । तर, आयोजकले म्यारिटका बेसमा अन्तिम गेमसम्मको पर्फमेन्सलाई आधार मानेर निर्णय गर्नेछ ।
NPL मा चम्किएका नेपाली रासिद, कसरी भयो बलभन्दा ब्याट पावरफूल ?
एनपीएलको डेब्यूमै सनसनी मच्चाउने राहुल को हुन् ?
NPL फ्रेन्चाइज टिमले यसरी कमाउँछन् पैसा, यो वर्ष नाफा कमाउलान् ?
लिजेन्ड्री अलराउन्डर सकिबले टार्लान् पोखरा एभेन्जर्सको संकट ?



-1793372443.jpeg)

-1793700912.jpeg)


