नेभिगेशन
समाज

शिक्षक आन्दोलनको २६ औं दिन कसरी भयो झडप ? 

काठमाडौंमा २६ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनमा आइतबार भने प्रहरीसँग झडप भयो । 

२०८१ चैत २० गते सुरु भएको आन्दोलन शान्तिपूर्ण थियो । शिक्षकहरु सडकमा भेला भएर नाराबाजी गर्दै माइतीघरदेखि बानेश्वरसम्म आउँथे । त्यसपछि नेताहरुले भाषण गर्थे, सहभागीहरु आआफ्नो समूहमा कोही गीत गाउँथे, कोही नाचगान गर्थे । 

आन्दोलनका क्रममा सडक छेउका विरुवासमेत भाँचिएका छैनन्, फोहोर जथाभावी फालिएका छैनन् । यसबीचमा एक दिन एक जना अभिभावकसँग विवाद भएको थियो भने शनिबार शिक्षकहरुबीच नै विवाद भएको घटना सार्वजनिक भएका थिए । एकाध घटनाबाहेक शिक्षक आन्दोल शान्तिपूर्ण नै थियो ।  

२६ दिनदेखि यसरी चलिरहेको आन्दोलनमा आइतबार भने एक्कासी ६० भन्दा धेरै घाइते भए । प्रहरीले लाठी र पानीको फोहोरा हान्यो ।

शिक्षकहरुको साइडबाट पनि प्रहरीमाथि ढुंगा प्रहार भयो । सार्वजनिक भएका फोटो र भिडियोमा शिक्षकको पोशाक लगाएकै व्यक्तिहरु ढुंगा टिपेर प्रहरीतर्फ जाइलागेको देखियो । 

शिक्षक महासंघको आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीका अनुसार ६० भन्दा धेरै शिक्षक घाइते भएका छन्, जसमध्ये ४० जना अस्पताल नै भर्ना गर्नुपर्ने अवस्थामा छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार ५ जना प्रहरी घाइते भएका छन् । त्यस्तै समाचार संकलन गर्न गएकी प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की पनि घाइते भएकी छन् । उनको आँखामा ठूलो चोट लागेको छ । उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । 

कसरी भयो झडप ? 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता बोहराका अनुसार शिक्षक आन्दोलनकारीहरु अघिल्ला दिनहरुको तुलनामा आज बढी उत्तेजित देखिएका थिए । 

उनीहरु नयाँ बानेश्वरमा बीच सडकमा प्रहरीले बनाएको बार भत्काउन अघि बढेका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई लखेट्न पानीको फोहोरा हानेको थियो । 

नयाँ बानेश्वरमा संघीय संसद भवन रहेकाले प्रहरीले माइतीघरतिरबाट आउने प्रदर्शनकारीलाई एभरेस्ट होटल अगाडि नै रोक्ने गरेको छ ।

शिक्षक महासंघको आन्दोलन परिचालन समिति संयोजक पराजुलीका अनुसार निषेधित क्षेत्रको बार लगाएको ठाउँमा तनावको अवस्था देखिएपछि स्वयंसेवक हरुलाई अगाडि पठाइएको थियो । तर स्वयंसेवक नै कुटिएको उनले बताइन् । 

हेलमेट लगाएका केही व्यक्तिले प्रहरीतिर ढुंगा हानेपछि तनाव बढेको उनको भनाइ छ । ‘त्यसपछि प्रहरीले पानीको फोहोरा हान्यो, फोहोरा हानेपछि सर म्याडमहरु भाग्नुभएको थियो, तर रोडको साइडमा बस्दा पनि प्रहरी गएर लाठी हान्यो’, उनले भनिन् । 

२६ दिनसम्म सडकमा शान्तिपूर्ण प्रदर्शन गर्ने शिक्षकहरुलाई गलाउन नसकेपछि सरकार दमनमा उत्रिएको पराजुलीले बताइन् । 

‘विना हतियार गोजीमा कलम हालेर आएका शिक्षकहरु २६ दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्, उनीहरुलाई गलाएर घर फर्काउने योजनामा राज्य लागेको छ, तर शिक्षकहरु नगलेपछि दमनमा उत्रिएको छ’, उनले भनिन् । 

शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर देशभरका शिक्षक काठमाडौंमा २६ दिनदेखि सडक आन्दोलनमा छन् । शनिबार शिक्षा मन्त्रालयमा औपचारिक वार्ता भए पनि सहमति जुटेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज