नेभिगेशन
समाज

केआईआईटीमा अर्की नेपाली विद्यार्थीको शंकास्पद मृत्यु

भारत उडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्ष्टिच्युट अफ इन्ड्रस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली छात्रा सर्लाहीकी भएको खुलेको छ । 

बी टेक कम्प्युटर साइन्सको पहिलो वर्षमा अध्ययनरत प्रिसा होस्टलको आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन् । 

प्रिसाको स्थायी ठेगाना सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ८  हो । परिवारमा बुबा, आमा र छोरा छोरी गरी चार जना थिए । प्रिसाका बुबा जागिरको सिलसिलामा वीरगञ्ज बस्ने भएकाले सुरुमा उनको ठेगाना वीरगञ्ज भनेर आएको थियो । 

तर स्थायी बसोबास कबिलासीमा रहेको छ । वडाध्यक्ष वीरेन्द्रप्रसाद साहका अनुसार घटनाबारे खबर पाएलगत्तै शुक्रबार विहान परिवारका सदस्यहरु उडिसातर्फ लागेका छन् । 

भुवनेश्वरका पुलिस कमिस्नर सुरेश देवदत्त सिंहका अनुसार उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो र कोठा भित्रबाट लक गरिएको थियो । 

यो घटनालाई प्रहरीले अस्वभाविक मृत्युको रुपमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीले होस्टलमा बस्ने अरु विद्यार्थीहरुसँग प्रिसाको बारेमा सोधपुछ गरिरहेको छ ।

अहिले प्रिसाको शव भुवनेश्वरकै एम्स अस्पतालमा राखिएको छ । नेपालबाट परिवारका सदस्य पुगेपछि पोस्टमार्टम सुरु हुनेछ । 

यो कलेजमा ३ महिनाको बीचमा दुई नेपाली छात्राको शंकास्पद मृत्यु भइसकेको छ । गत फेब्रुअरी १६ मा रुपन्देहीकी २० वर्षकी प्रकृति लम्सालको मृत्यु  भएको थियो । उनी बीटेक कम्प्युटर साइन्सको तेस्रो वर्षमा अध्ययनरत थिइन् । 

भारतको समाचार च्यानल एएनआईसँग कलेजका एक नेपाली छात्रले बताए अनुसार प्रकृति र प्रिसा दुबै एउटै विषय पढ्ने र होस्टलको एउटै फ्ल्याटमा बस्ने विद्यार्थी हुन् । 

प्रकृतिको मृत्युको घटनाको राम्रोसँग अनुसन्धान नभएकै कारण अर्की नेपाली छात्राले पनि ज्यान गुमाउनुपरेको उनले बताएका छन् । 

नेपाली विद्यार्थीहरुले प्रिसाको मृत्युको सत्यतथ्य छानबिनको माग गर्दै प्रदर्शन गरेका छन् । 

परराष्ट्रमन्त्री आरजु राणा देउवाले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धानका लागि कुटनीतिक पहल सुरु गरेको बताएकी छन् । 

उनले नेपालस्थित भारतीय दूतावास, भारत सरकार र ओडिसा सरकार मार्फत घटनाको छानबिनका लागि आग्रह गरेको बताएकी छन् । 

भारतस्थित नेपाली राजदूत डा. शंकर शर्माले भारतको परराष्ट्र मन्त्रालय, ओडिसा सरकार र कलेज प्रशासनसँग आफू सम्पर्कमा रहेको र छानबिनका लागि आग्रह गरेको बताएका छन् । 

प्रकृति लम्सालको मृत्युको कारण सँगै पढ्ने केटासाथीले दिएको यौन हैरानीलाई मानिएको थियो । 

लम्सालले आफूमाथि भएको लैंगिक हिंसाबारे कलेजमा उजुरी गरेकी थिइन् ।

तर कलेजले बेवास्ता गरेका कारण उनले आत्महत्या गरेको नेपाली विद्यार्थीहरुको दाबी थियो । उनको मृत्युपछि नेपाली विद्यार्थीहरुको प्रदर्शन र सरकारको कुटनीतिक पहलपछि प्रहरीले आरोपी अद्विग श्रीवास्तवलाई पक्राउ गरेको थियो । 

कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिने नेपाली विद्यार्थीहरुलाई होस्टलबाट निष्कासन गरेको थियो । 

यो घटनालाई लिएर भारत र नेपाल दुबैतिर विरोध भएपछि कलेज प्रशासनले माफी माग्नुका साथै घटनाको छानबिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो । 

त्यसैले यो कलेजमा विदेशी विद्यार्थी अझ विशेष गरी नेपाली विद्यार्थीको सुरक्षालाई लिएर प्रश्न उठेको थियो । तर ३ महिनामै अर्को एक नेपाली विद्यार्थीले ज्यान गुमाएकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज