गभर्नरको गोलचक्कर, कहाँबाट आइपुगे विश्व पौडेल ?

नयाँ गभर्नर नियुक्तिको प्रक्रिया सुरु हुँदा सिफारिस समितिको सदस्य थिए, विश्व पौडेल । अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सर्च कमिटीमा उनी अर्थविद्का रुपमा सदस्य बनेका थिए ।
तर, त्यो समिति बनेको ४८ दिनसम्म गभर्नर सिफारिस गर्न सकेन । बरु ४८ औं दिनमा सिफारिस समितिका सदस्य पौडेल आफैं गभर्नरको रेसमा सबैभन्दा देखिएका छन् ।
कुनै गडबड नभए पौडेल नै राष्ट्र बैंकको गभर्नर बन्न सक्छन् । गभर्नर बन्न कै लागि उनले आइतबार सिफारिस समितिबाट राजीनामा दिएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाबीच पौडेललाई नै गभर्नर बनाउने सहमति भइसकेको छ ।
यही सहमतिको सन्देश पाएपछि पौडेलले सिफारिस समिति छाडेका छन् । अब मन्त्रिपरिषद् बैठकले पौडेलको ठाउँमा कांग्रेसको रोजाइका एकजना अर्थविद् सिफारिस समितिको सदस्य नियुक्त गर्नेछ । त्यसपछि समितिको बैठक बसेर गभर्नरका लागि ३ जनाको नाम सिफारिस गर्नेछ, जसको पहिलो नम्बरमा हुनेछन् विश्व पौडेल ।
कांग्रेसले पछिल्लो समय राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउनुपर्ने अडान लिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मौखिक सहमति जनाएका थिए । तर, भट्टलाई कसैगरी गभर्नर हुन नदिन विभिन्न खेलहरु भए । जसमा सत्तारुढ एमाले र केही स्वार्थ समूहहरुको चलखेल रहेको चर्चा राजनीतिक र आर्थिक वृत्तमा चलिरहेको थियो ।
कायममुकायम गभर्नर निलम ढुंगानाले गुणाकर भट्टले कार्यकारी निर्देशक पदबाट दिएको राजीनामा नै स्वीकृत गरिनन् । कार्यकारी निर्देशक हुँदाहुँदै गभर्नर बन्न नपाइने कानुनी व्यवस्थाका कारण कांग्रेसले कानुनी विवादको जोखिम लिएर भट्टलाई गभर्नर नियुक्ति अघि बढाउन चाहेन ।
निलम ढुंगानाले राजीनामा स्वीकृत नगरेकै कारण कांग्रेस र एमालेबीच मतभेद समेत बन्न पुग्यो । प्रधानमन्त्री र अर्थमन्त्रीको इसारामा गुणाकरको राजीनामा स्वीकृत नभएको बुझाइ कांग्रेसभित्र थियो ।
त्यसैकारण अरु सम्भाव्य नामहरुमा राजनीतिक तहमा छलफल भएको थियो । कांग्रेससँग गुणाकर भट्टबाहेक अर्को भरपर्दो वैकल्पिक नाम थिएन । तर, स्वार्थ समूहहरुले बजारमा विभिन्न नामहरु चर्चामा ल्याइरहे ।
त्यसैले विवाद कम हुने पात्रको खाेजीमा कांग्रेसका अिङ पौडेल अग्रभागमा देखिए । यही पृष्ठभूमिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पौडेल गभर्नर बन्ने सम्भावना बढेको हो ।
उनी २०७९ मा कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा चुनाव लडेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग चुनाव हारे । चुनावअघि सम्म उनी योजना आयोगमा उपाध्यक्ष थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा हालकी परराष्ट्रमन्त्री आरजु राणा निकट रहेका पौडेलको नाम आएपछि अब गभर्नर नियुक्तिको २ महिना लामो गोलचक्कर अन्त्य हुने अनुमान छ । तर, गभर्नर बन्ने योग्यतामा राजनीतिक दलको सदस्यता नरहेको हुनुपर्ने व्यवस्था भएकाले उनको योग्यतामा प्रश्न उठ्नसक्ने सम्भावना भने छ ।
यसपटक गभर्नर नियुक्तिमा स्वार्थ समूहरुहरुबीच सुरुबाटै भीडन्त चल्दै आएको छ । अहिले पनि सत्तारुढ एमाले र नेपाली कांग्रेसको नेतृत्व र प्रभावशाली नेताका आ–आफ्ना गभर्नरका उम्मेदवार छन् । त्यसैले कसलाई गभर्नर बनाउने मात्र होइन, कसलाई गभर्नर बन्न नदिने भन्ने चलखेल समेत खुलमखुला भइरहेको छ ।
विगतमा पनि गभर्नर कसलाई बनाउने भनेर सत्तारुढ दलहरुबीच मतभेद र मतभिन्नता नहुने होइन । तर, यसपटक त कसलाई गभर्नर बनाउने भनेर दलहरुसँगै विचौलिया समूहहरु नै देखिने गरी लागेका छन् । यसले गर्दा गभर्नर नियुक्ति निकै पेचिलो बन्न पुगेको छ ।
****
महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ गते सकिएपछि हाल गभर्नर पद रिक्त छ । राष्ट्र बैंक ऐन–२०५८ अनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अघि नै सरकारले नयाँ गभर्नर नियुक्त गर्नुपर्छ । त्यसको जानकारी दिने गरी सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था ऐनमा छ ।
त्यसैले कानुन अनुसार फागुन २३ मै सरकारले नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्थ्यो ।
तर, मन्त्रिपरिषद बैठकले चैत ११ गते मात्रै सिफारिस समिति गठन गर्यो । जसमा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिमा अर्थविद डा. विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य थिए ।
यो समिति गठनकै विषयमा दलहरुबीच सुरुमै किचलो थियो । त्यसैले चैत १ गतेको मन्त्रिपरिषद बैठकमा तीन जनाको समिति बनाउने छलफल भएको थियो । समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई राख्ने कि नराख्ने भन्नेमा एमाले र कांग्रेसबीच कुरा मिलेन । समिति बनिसकेको विवरण बाहिर आए पनि बल्ल चैत ११ मा औपचारिक निर्णय भयो ।
समिति त बन्यो, तर अर्थमन्त्रीले सिफारिस समितिको बैठक डाक्न आनाकानी गरे । किनकी गभर्नर नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउबा छलफलमै थिए । अर्थमन्त्री पौडेलले बैठक नबोलाएकाले समितिमा छलफल हुने कुरै भएन ।
तर गभर्नर बन्ने दौडमा रहेकाहरु धेरै जना खुलेर लागिसकेका थिए । १८ फागुनमै राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले गभर्नरमा दाबेदारी राख्दै राजीनामा दिए । एमाले महासचिव शंकर पोखरेल निकट उनी त्यही सम्बन्धका कारण गभर्नर बन्न सक्ने आशामा थिए ।
हाल राष्ट्रिय योजना आयोगको सदस्य समेत रहेका श्रेष्ठ पोखरेल लुम्बिनीको मुख्यसचिव हुँदा त्यहाँको योजना आयोगको उपाध्यक्ष थिए ।
नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले पनि गभर्नर बन्नकै लागि राजीनामा दिए । उनलाई कांग्रेस नेताहरु विनोद चौधरी लगायत देउवा निकट अन्य नेताहरुले गभर्नर बनाउने आश्वासन दिएका थिए ।
तत्कालीन डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिना पनि अर्थमन्त्री र प्रधानमन्त्रीकै तहबाट आश्वासन पाएकाले ढुक्क थिइन् ।
यहीबीचमा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री समेत गर्भनरको दाबेदारका रुपमा आए । कांग्रेसको एउटा खेमा राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक रवीन्द्र पाण्डेलाई गभर्नर बनाउनुपर्छ भनेर हिँडेको थियो । अर्को पक्ष कार्यकारी निर्देशक गुणाकर भट्टको पक्षमा थियो ।
यसरी सत्तारुढ दलभित्रै गभर्नर कसलाई बनाउने भन्नेबारे धेरै समूह आ–आफ्नो ढंगले लबिङमा लागे ।
यसका कारण गभर्नर बन्ने लाइनमा दर्जनभन्दा बढी पात्रहरु देखिए । यही बेला अर्थ मन्त्रालयले ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्य नियुक्तिसम्बन्धी मापदण्ड २०७३’ मा संशोधन गर्यो । संशोधन गरेर नियुक्तिका लागि राखिएको ६५ वर्षको उमेर हद हटाइएको थियो ।
यसले गभर्नर नियुक्तिमा भइरहेको ठाडो चलखेल उदांगो पार्यो । गभर्नर सिफारिस समितिको बैठक नबस्दै मापदण्डमा यस्तो संशोधन भएपछि गभर्नर बन्ने दुई पात्रको नाम अग्रभागमा देखियो, पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री र राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक रवीन्द्र पाण्डे ।
किनकी चर्चामा रहेका दाबेदारमध्ये उनीहरु नै ६५ वर्ष नाघेकाहरु थिए । उनीहरुलाई नै सिफारिसमा पार्न यो चलखेल भएको थियो । दुईमध्ये बलियो देखिए, राजेन्द्रकिशोर क्षेत्री । किनभने क्षेत्रीलाई विचौलिया दीपक भट्ट र कोरोना महामारीमा थर्मल गनको कालोबजारी गर्ने समूहले बोकेको थियो ।
यो तिनीहरुकै समूह हो, जो पछिल्ला वर्षहरुमा नियामक निकायमा आफ्ना मान्छे लगेर नियुक्ति दिलाउँदै ‘रेगुलेटेरी क्याप्चर’ गर्ने खेलमा खुलेरै लागेको छ ।
उनीहरुकै चाहनामा धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठ र बीमा प्राधिकरणमा शरद ओझालाई नेतृत्वमा ल्याइएको थियो । यही समूहको अर्को लक्ष्य राष्ट्र बैंक हो । आर्थिक मामिलामा विज्ञता समेत नभएका क्षेत्री उनीहरुकै चाहनाअनुसार गर्भनरको दौडमा आएका थिए ।
यो समूहबाट क्षेत्रीको विकल्पमा डेपुटी गभर्नर निलम ढुंगाना उम्मेदवार थिइन् । ढुंगानालाई चैत २५ गते अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी पनि दिएका थिए । तर, मापदण्ड संशोधनसँगै क्षेत्री र पाण्डे विवादमा परे ।
तर ६५ वर्षे उमेरहद हटाउने अर्थ मन्त्रालयको निर्णयविरुद्ध चैत ३१ मा सर्वोच्चमा रिट पर्यो । अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटमा वैशाख २ मा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै निर्णय कार्यान्वयन नगर्न भन्यो । यसपछि क्षेत्री र पाण्डे दुबै रेसबाट आउट भए ।
प्रधानमन्त्री केपी शर्मा ओली र विष्णु पौडेल डेपुटी गभर्नर निलम ढुंगानालाई नै गभर्नर बनाउनुपर्ने पक्षमा उभिए । प्रधानमन्त्री त पहिलो महिला गभर्नर बनाउने भन्दै ढुंगानालाई साझा उम्मेदवार बनाउन चाहन्थे । तर, विगतमा ओलीकै चाहनामा डेपुटी गभर्नर बनेकी ढुंगानालाई गभर्नर बनाउन कांग्रेस तयार भएन ।
कांग्रेसभित्र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउनुपर्ने मत बलियो थियो । सुरुमा नमानेको एमालेले भट्टको नाममा सहमति जनायो । यसकै आधारमा भट्टले वैशाख ५ मा कार्यकारी निर्देशकबाट राजीनामा दिए ।
यसपछि भट्टलाई राष्ट्र बैंकमा आउन नदिने खेल सुरु भयो । कार्यबाहक गभर्नर निलम ढुंगानाले अहिलेसम्म भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । उनले सार्वजनिक रुपमै आफूले भट्टको राजीनामा स्वीकृत नगर्ने भनेकी छन् ।
उता कार्यकारी निर्देशकलाई गभर्नर बनाउन लागेको भन्दै वैशाख ८ मा सर्वोच्चमा रिट पर्यो । त्यसपछि विगतमा महान्यायधविक्ता कार्यालयले राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई गभर्नर बनाउन नमिल्ने भनेर लेखेको राय बाहिर ल्याइयो ।
२०६१ मा भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा तत्कालीन कार्यकारी निर्देशक युवराज खतिवडालाई गभर्नर बनाउने गरी पहिलो नम्बरमा सिफारिस भएको थियो । तर, यसबारे विवाद भएपछि तत्कालीन मुख्यसचिवले महान्यायधिक्ता कार्यालयसँग राय मागेका थिए, जसमा महान्यायधिवक्ता कर्यालयले कार्यकारी निर्देशकलाई गभर्नर बनाउन मिल्दैन भनेर राय लेखेको थियो । र, खतिवडाको साटो दोस्रो नम्बरमा रहेका विजयनाथ भट्टराई गभर्नर बनेका थिए ।
अहिले त्यही पत्र सार्वजनिक गरेर कार्यकारी निर्देशक गुणाकर भट्ट गभर्नरका लागि योग्य छैनन् भन्ने बनाउन खोजियो । यसपछि कांग्रेस राजीनामा स्वीकृत नभई भट्टको नाम सिफारिस गर्न नहुने पक्षमा अडिग रह्यो ।
राजीनामा स्वीकृत गर्न रोक्ने काम सत्तारुढ दल एमालेकै योजनामा विचौलिया समूहले गरिरहेको बुझाइ कांग्रेस नेताहरुको थियो । त्यही बेला सिफारिस समितिका सदस्य विश्व पौडेल विदेश भ्रमणमा निस्किए ।
पूर्वगभर्नर विजयनाथ भट्टराईले पनि अर्थमन्त्रीलाई राजीनामा बुझाए । गभर्नर सिफारिसमा दलहरुबीच भागबण्डा हुन लागेको, समितिलाई रबर स्ट्याम्प बनाउन खोजेको भन्दै भट्टराईले राजीनामा दिएका थिए ।
यसले गभर्नर नियुक्ति प्रक्रिया पेचिलो मोडमा पुग्यो । सिफारिस समितिमा महाप्रसाद अधिकारी सदस्य भए । उनी आएपछि पनि समितिको बैठक बस्न सकेन । किनभने कांग्रेस राजीनामा स्वीकृत नभई भट्टलाई पहिलो नम्बरमा सिफारिस गर्ने भए निलम ढुंगानाको नाम सिफारिस गर्नै नहुने पक्षमा उभियो ।
तर, प्रधानमन्त्री केपी शर्मा ओली जसरी पनि दोस्रो नम्बरमा निलमको नाम सिफारिस गर्नुपर्ने अडानमा बसे । यही कारण नयाँ सहमतिको आधारहरु खोज्दा विश्व पौडेलको नाममा नयाँ राजनीतिक सहमति बनेको हो ।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार कोभिड कालमा राष्ट्र बैंकले दिएको सस्तो ब्याजदरको पुनर्कर्जाका कारण अधिक लाभ लिएको समूह अहिले आफू अनुकूलको गभर्नर बनाउने खेलमा लागेका छन् ।
उनका अनुसार स्वायत्त हुनुपर्ने राष्ट्र बैंकको गभर्नर नियुक्तिमा राजनीतिक चलखेल नहोस् भनेरै अर्थविद र पूर्वगभर्नर समेत रहेको सर्च कमिटिी बनाउने व्यवस्था गरिएको हो । यो असल अभ्यासलाई आधार बनाएर समितिलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने पूर्वकार्यकारी निर्देशक थापाको मत छ ।
‘मलाई विश्वास छ सबै चलखेलहरु चिरेर राष्ट्र बैंकमा यसपटक पनि योग्य गभर्नर आउनेछन्, यदि त्यसो भएन भने दुर्भाग्य हुनेछ’, उनले भने ।

कुलमान हटाउन मिलेकाहरु किन टाढिंदैछन् ?
-1754496724.jpeg)
मोबिलिटी एक्स्पोमा बिजुली गाडीको बोलवाला, २० लाखसम्म छुट

भारतले अड्कायो मेगा प्रोजेक्ट, फर्किनसक्छ विश्व बैंकको एक खर्ब लगानी

घरजग्गाको मूल्य आधासम्म घटिसक्यो, अझै घट्न सक्छ

नेपालमा २६ अर्बको चिनियाँ लगानीमा भारतको अवरोध
