सरकार र यातायात व्यवसायीबीच कुरा मिलेन
सरकार र यातायात व्यवसायीबीचको वार्ता सोमबार विना निश्कर्ष सकिएको छ ।
गण्डकी प्रदेशमा राइड सेयरिङ सेवालाई वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीका ४ वटा महासंघ र ४ वटा ट्रेड युनियनले सोमबारदेखि यातायात क्षेत्रमा हड्ताल गरेका छन् ।
यातायात व्यवसायी र मजदुरका ७ बुँदे मागका विषयमा सोमबार बिहानैदेखि सरकार र व्यवसायीबीच छलफल भएको थियो । ७ बुँदामध्ये ६ बुँदामा लगभग सहमति जुटेको दुबै पक्षका वार्ता टोलीका सदस्यहरुले बताएका छन् ।
तर गण्डकी प्रदेश मन्त्रिपरिषदले जारी गरेको राइड सेयरिङ सम्बन्धी नियमावली खारेजीको विषयमा भने सहमति जुट्न सकेन ।
सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव कृष्ण पन्थले ६ वटा माग संघीय सरकारसँग सम्बन्धित भएको र लगभग सहमति जुटिसकेको बताए ।
तर गण्डकी प्रदेश सरकारले जारी गरेको नियमावली खारेजीको विषयमा भने सहमति हुन सकेन । यो विषयमा मंगलबार साढे १० बजेदेखि पुनः छलफल हुने उनले जानकारी दिए ।
‘उहाँहरुको मागमा विमति छैन, कार्यान्वयन गर्न सकिने किसिमकै छन्, ६ वटा मागमा कार्यान्वयन कसरी गर्ने भन्ने मात्र हो, संघीय सरकारले गर्न सक्छ । तर पहिलो माग प्रदेश सरकारसँग सम्बन्धित छ । प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने हुनाले समस्या भएको हो’, सहसचिव पन्थले भने ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पनि गण्डकीको राइड सेयरिङ नियमावली खारेजीमा कुरा अड्किएको बताए । उनका अनुसार उक्त नियमावली तत्काललाई स्थगित गरे पनि यातायात व्यवसायी आन्दोलन फिर्ता लिन तयार छन् ।
सिटौलाले आफूहरुले राइड सेयरिङको विरोध नगरेको, तर निजी नम्बर प्लेटका सवारी साधनलाई यात्रु बोक्न दिएमा सार्वजनिक यातायात ध्वस्त हुने बताए ।
राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी


-1761836913.jpg)






