गण्डकीको राइड सेयर नियमावली स्थगित, यातायात व्यवसायीको माग पूरा
गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग अनुसार राइड सेयरसम्बन्धी नियमावलीको कार्यान्वयन स्थगित गरेको छ ।
गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमलकुमार अधिकारीले मंगलबार एक विज्ञप्ति जारी गरी राइड सेयरसम्बन्धी नियमावलीका प्रावधान कार्यान्वयन स्थगित गरेको जानकारी गराएका छन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता गराउन राइड सेयरिसम्बन्धी नियमावली कार्यान्वयन नगर्न अनुरोध भएकाले एक महिनाका लागि स्थगित गरेको उल्लेख गरेका छन् ।
गण्डकी प्रदेश मन्त्रिपरिषदले राइड सेयरसम्बन्धी नियमावली जारी गरेपछि यातायात व्यवसायीले ७ बुँदे माग राखेर देशब्यापी हड्ताल गरेका थिए ।
सोमबार संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा भएको वार्तामा यातायात व्यवसायीले गण्डकीको राइड सेयरसम्बन्धी नियमावली कार्यान्वयन स्थगित गर्नुपर्ने आफ्नो बटम लाइन सुनाएका थिए ।
त्यसअनुसार मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गण्डकी सरकारलाई पत्र लेखेर उक्त नियमावली कार्यान्वयन स्थगित गर्न अनुरोध गरेको थियो ।
गण्डकी सरकारले राइड सेयरसम्बन्धी नियमावली जारी गरेपछि यातायात व्यवसायीसँग वार्ता गर्न समिति नै बनाएको तर उनीहरु वार्तामा नआई हड्तालमा उत्रिएको जनाएको छ ।
प्रदेश सचिव अधिकारीले एक महिनाका लागि नियमावलीको व्यवस्था कार्यान्वयन स्थगित हुने र त्यस बीचमा यातायात सम्बन्धी महासंघ र संघ संगठनलाई वार्तामा आउन आह्वान गरेको छ ।
हेर्नुहोस् गण्डकीको भौतिक पूर्वाधार मन्त्रालयको प्रेस विज्ञप्ति


ललितपुर–२ का मतदाता नयाँ खोज्दै छन् कि पुरानै ?
किन राखियो बागमतीमा लहरै ड्रम ?
काठमाडौंमा रातिराति लुटपाट मच्चाउने गिरोहको कथा
खोला किनारको मापदण्डबारे सर्वोच्चले उल्ट्यायो आफ्नै फैसला
'कोरिया गएको साथीले ८० लाखमा घडेरी किन्यो, म १० लाख ऋणमा छु'







