नेभिगेशन
समाज

नेपाल बैंकका अध्यक्षविरुद्ध ३ वटा भ्रष्टाचार मुद्दा, घुस लिएर ऋण मिलाइदिएको आरोप

नेपाल बैंक लिमिटेडबाट ऋण लिन ऋणीले अध्यक्षलाई घुस बुझाएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले ऋण मिलाइदिन्छु भनेर घुस लिएको फेला पारेको छ । 

अख्तियारले तीनवटा फरक घटनामा तत्कालीन अध्यक्ष अधिकारीले घुस लिएको दाबी गर्दै सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलका अनुसार तनहुँको आँबुखैरेनीको अकलादेवी ट्रेडर्सलाई २५ करोड ऋण मिलाइदिन अध्यक्ष अधिकारीले ५० लाख रुपैयाँ घुस लिएका थिए । 

अकला देवी ट्रेडर्सलाई बैंकमा धितो राखेर २५ करोड रुपैयाँ ऋण लिन दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ र नारायणप्रसाद बरालले नेपाल बैंकको प्रधान कार्यालय न्यूरोड, कालीमाटी र डुम्रे शाखामा प्रक्रिया अघि बढाएका थिए । तर उनीहरुले ऋण पाएनन् । त्यसपछि उनीहरु बैंक सञ्चालक समितिका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसमक्ष पुगेका थिए । 

अधिकारीले २५ करोडको २ प्रतिशत अर्थात् ५० लाख रुपैयाँ दिएमा ऋण मिलाइदिन्छु भनेको अख्तियारको भनाइ छ । अकला देवी ट्रेडर्सका तर्फबाट ऋण लिनेहरु त्यति रकम दिन तयार भएका थिए । त्यसपछि उनीहरुले पटक पटक गरी बैंकमार्फत रकम बुझाएका थिए । 

उनीहरुले पटक पटक गरेर त्यति रकम बैंक खातामा जम्मा गरेका थिए । अख्तियारका अनुसार अधिकारीले पहिले आफूबाहेक अरुनै व्यक्तिको नाममा जम्मा गर्न लगाउँथे । त्यसपछि पनि ३–४ जनाको बैंक खातामा सार्दै सार्दै आफ्नो खातासम्म रकम ल्याउन लगाएको पाइएको छ । 

अख्तियारले अकलादेवी ट्रेडर्सको ऋणको घटनामा बैंकका अध्यक्ष अधिकारीसँगै ऋणका लागि घुस दिन तयार दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ र नारायणप्रसाद बरालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै बैंक खातामा रकम स्थानान्तरण गर्न भूमिका खेलेका सन्तोष सुवेदी र लक्की खान भन्ने खुस नसिब अन्सारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अधिकारीलाई नेपाल बैंक सञ्चालक समिति बैठकले २०८० असोज २ गते अध्यक्ष चुनेको थियो ।  उनले असोज ४ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । 

अध्यक्ष अधिकारीले रुपन्देहीको सिद्धार्थनगर–१ बेलहियामा भुसाल हस्पिटालिटीलाई होटल बनाउन ऋण दिन पनि घुस लिएको अख्तियारको दाबी छ । भुसाल हस्पिटालिटीको र्‍याडिसन प्रोजेक्टले रुपन्देहीमा होटल बनाउन १ अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६४ रुपैयाँ ऋण लिन नेपाल बैंकमा कागजात पेश गरेको थियो । 

त्यसपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र उनका छोरा अंकित भुसालले नेपाल बैंकका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसँग पटक पटक ह्वाट्सएपमा कुरा गर्ने र भेटघाट गर्ने गरेका थिए ।

अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलका अनुसार अधिकारीले ऋण मिलाइदिन १९ लाख रुपैयाँ घुस मागे । यसको जिम्मा भने लक्की भन्ने खुस नसिब अन्सारीलाई दिए । 

भुसाल हस्पिटालिटीका बालकृष्ण भुसाल र अंकित भुसालले पटक पटक गरेर यो रकम बुझाएका थिए । अख्तियारले घुसबापत पाएको रकमको चेक साटेको र रकम बैंक खातामा ट्रान्सफर गरेको विवरण अधिकारीको कोठाबाटै बरामद गरेको जनाएको छ । 

यो प्रकरणमा पनि अख्तियारले नेपाल बैंकका तत्कालिन अध्यक्ष अधिकारी, खुस नसिब अन्सारी र घुस दिन तयार हुने बालकृष्ण भुसाल र अंकित भुसालविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । 

नेपाल बैंकका तत्कालिन अध्यक्ष अधिकारीले ऋण मिलाइदिएको अर्को घटनामा पनि ५ लाख रुपैयाँ घुस लिएको अख्तियारले फेला पारेको छ । काठमाडौंको हिमाल तराई कन्स्ट्रक्सन प्रालिलाई नेपाल बैंकबाट ६ करोड रुपैयाँ ऋण मिलाइदिन उनले सो रकम घुस लिएको अख्तियारको दाबी छ । 

हिमाल तराई कन्स्ट्रक्सनले ६ करोड रुपैयाँ ऋण लिन प्रक्रिया अगाडि बढाएको थियो । ऋण लिने प्रक्रियाका लागि रमेश आचार्य नामका व्यक्तिले राजमान तामाङलाई अधिकारीसँग भेट गराइदिएका थिए । 

त्यसपछि अधिकारी र आचार्यले एसएमएस, फोन र ह्वाट्सएपबाट तामाङसँग ६ करोडको १ प्रतिशत ६ लाख रुपैयाँ घुस मागेका थिए । त्यसपछि राजमानले रमेश आचार्यको खातामा ५ लाख रुपैयाँ दिएको अख्तियारले जनाएको छ । 

पछि त्यो रकम रमेशले नेपाल बैंकका अध्यक्ष अधिकारीको खातामा जम्मा गरेका थिए । यो घटनामा अख्तियारले अधिकारी र आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज