नेभिगेशन
समाज

क्यामेरादेखि रिसाएका शम्भु थापा

जेठ २१ गते बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो । 

आफ्ना नेताविरुद्ध भ्रष्टाचार मुद्दा परेपछि एकीकृत समाजवादीले आकस्मिक बैठक बोलायो । रौतहटमा रहेका माधव नेपाल पनि काठमाडौं आए । साँझ पार्टी कार्यालयमा उपलब्ध नेताहरुको बैठक बस्यो । 

कानुनी परामर्शका लागि वकिलहरुलाई पनि बोलाइएको थियो । शम्भु थापा त्यही छलफलका लागि एकीकृत समाजवादीको कार्यालयमा गएका थिए । उनीसँगै अर्का वरिष्ठ अधिवक्ता गोविन्द बन्दी पनि पुगेका थिए । 

भ्रष्टाचार मुद्दाबारे एकीकृत समाजवादीले के गर्ला भन्ने आम चासोको विषय भइहाल्यो ।

त्यसैले स्वभाविक रुपमा पत्रकारहरु पार्टी कार्यालयबाहिर जम्मा भए । 

वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दी बाहिर निस्किदै थिए । पत्रकारहरुले फोटो–भिडियो खिचे । 

नेपालप्रेस डटकमका पत्रकार उमेश कार्की शम्भु थापा र गोविन्द बन्दीको फोटो खिच्दै थिए । 

शम्भु थापाले के फोटो मात्र खिच्नुभएको प्रतिक्रिया पनि लिनु न भने । 

उमेशले म त फोटो पत्रकार हो, प्रतिक्रिया साथीहरुले लेलान् नि भने । 

त्यस विषयमा सामान्य विवाद भयो । थापाले हातले क्यामेरामा हिर्काए । 

अरु पत्रकारहरुले प्रतिवाद गरे । एकीकृत समाजवादीका नेता कार्यकर्ताले थापालाई उनको गाडीसम्म लगेर छाडे ।

यो घटनापछि पत्रकार र वकिल आमनेसामने भएका छन् । 

पत्रकार महासंघले शम्भु थापाको व्यवहारलाई अशोभनीय र आपत्तिजनक भनेको छ । 

महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमा भनेका छन्, सार्वजनिक स्थलमा कुनै पनि सार्वजनिक व्यक्तिका बारेमा भिडियो र फोटो खिच्नु तथा प्रश्न सोध्नु पत्रकारको धर्म हो । कसैले पनि यसमा हमला गर्न पाउँदैन । 

सर्वोच्च अदालत बार एशोसिएसनले भने शम्भु थापामाथि नै दुव्र्यवहार भएको टिप्पणी गर्‍यो । 

महासचिव रमन कर्णले शम्भु थापाको वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको काम भएको दाबी गरेका छन् । 

हामीले यसबारेमा शम्भु थापासँग संगत गरेका पत्रकारिता र कानुन क्षेत्रका केही  मानिसहरुसँग कुरा गर्‍यौं । उनीहरुको भनाइ छ, यो तत्कालिन परिस्थितिको उपज हो, नभए शम्भु थापा प्रेसप्रति अनुदार मान्छे होइन । 

उनीहरुलाई पनि लागेको छ, शम्भु दाइले क्यामेरामा चाहिँ नहानेको भए हुन्थ्यो । 

शम्भु थापा किन प्रेसप्रति आक्रामक देखिए त ? 

पत्रकारको क्यामेरामा हानेपछि शम्भु थापाले यसलाई व्यक्तिगत गोपनीयतासँग जोड्न खोजे ।

उनको भनाइ थियो, कम्तीमा अनुमति त लिनुपर्छ नि ।

के त्यहाँ शम्भु थापाको फोटो खिच्न पत्रकारले अनुमति लिनुपर्थ्यो ? 

हुनत हाम्रो कानुनले अनुमतिबिना कुनै व्यक्तिको फोटो खिच्नुहुन्न भनेको छ । 

तर व्यक्ति सार्वजनिक भूमिकामा छ भने उसको बारेमा आम मानिसले थाहा पाउनुपर्छ । यो विषय फेरि नागरिकको सूचनाको हकसँग जोडिएको छ । 

एक कानुन व्यवसायी व्यक्तिको गोपनीयताको हक र नागरिकको सूचनाको हकका विषयमा थोरै मात्र ग्रे एरिया छ । 

अख्तियारले पूर्वप्रधानमन्त्री माथि मुद्दा चलाएको बेला, ती पूर्वप्रधानमन्त्रीसँग छलफल गर्न गएका शम्भु थापाको फोटो खिच्दा गोपनीयताको हक आकर्षित नहुनेमा धेरै कानुन व्यवसायी प्रष्ट छन् । 

यद्यपि शम्भु थापाको पृष्ठभूमि, उनले नेपालको लोकतन्त्र र न्याय क्षेत्रमा गरेको योगदानका कारण कतिपय घटनामा क्षमा दिनुपर्ने मत उनीहरुको छ । 

अर्को कुरा, फोटो खिच्ने व्यक्ति पत्रकार हुन् । अर्थात् उनले निजी प्रयोजनका लागि नभइ आम मानिसलाई सूचना दिने उद्देश्यले नै फोटो खिचेका थिए । 

त्यसैले शम्भु थापाले भनेजस्तो उनको फोटो खिच्नु गोपनीयताको हकसँग जोडिने विषय होइन । 

कानुन व्यवसायीभित्रै पनि शम्भु थापाले त्यस दिन क्यामेरामा हान्नु गलत हो भन्ने मत छ । 

सायद यही कारण कानुन व्यवसायीको छाता संस्था नेपाल बार एशोसिएसनले यसमा औपचारिक धारणा दिएको छैन । बार एशोसिएसनका एक पदाधिकारी भन्छन्, शम्भु थापाले त्यस दिन क्यामेरामा हिर्काउनु गलत हो, तैपनि यो विषयलाई तन्काउनुहुन्न ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज