नेभिगेशन
समाज

सानो पाइलाबाट रविको नाममा डेढ करोड ऋण, हकवालामा निकिता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित २९ जना विरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर भएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धान अनुसार लामिछानेको नाममा सानो पाइला सहकारीबाट डेढ करोड रुपैयाँ ऋण निकालिएको थियो । 

२०७८ साउन १८ गते रवि लामिछाने सानो पाइला सहकारीको सदस्य बनेको देखिएको छ । त्यसै दिन वचत खाता खोलेर १ लाख रुपैयाँ सेयरवापत जम्मा गरिएको छ । 

अनि ऋणी खाता पनि त्यसै दिन खोलिएको छ । त्यसको भोलिपल्ट २०७८ साउन १९ गते लामिछानेको नाममा १ करोड ५० लाख रुपैयाँ ऋण स्वीकृत भएको छ । 

लामिछानेको नाममा ४ वर्षका लागि १२ प्रतिशत दरमा ऋण लिएको देखिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । 

जसमा रवि लामिछानेको ठेगाना बागमती काठमाडौं लेखिएको छ भने हकवालामा निकिता पौडेल लेखिएको छ । 

प्रहरीले हकवाला निकिता पौडेल लेखिएकाले उक्त ऋणी गोर्खा मिडिया प्रालिका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने नै भएको दाबी गरेको छ । 

रवि लामिछानेलाई दिएको ऋण त्यसै दिन २०७८ साउन १९ गते गोर्खा मिडिया प्रालिको खातामा जम्मा भएको देखिएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । 

त्यसको झण्डै १ वर्षपछि २०७९ साउन ११ गते लामिछानेको नाममा आएको ऋण १ करोड ५० लाखको सावा ब्याज १ करोड ८६ लाख ९४ हजार ६०४ रुपैयाँ ऋण गितेन्द्रबाबु राईको नाममा ट्रान्सफर गरेको देखिएको पनि प्रहरीले उल्लेख गरेको छ । 

गोर्खा मिडिया नेटवर्कमा सानो पाइला सहकारीबाट १० करोड ६ लाख ९४ हजार रुपैयाँ लगिएको पाइएको छ । 

सहकारी ठगीमा रवि लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही, चितवन र पर्सामा मुद्दा परेको छ । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जसलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ । 

हाल रवि रुपन्देहीको भैरहवास्थित कारागारमा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज