नेभिगेशन
समाज

त्रिवि उपकुलपतिमा ३ जना सिफारिस, प्रधानमन्त्रीले कसलाई रोज्लान् ? 

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त नेतृत्वमा रहेको सिफारिस समितिले प्रा.डा दीपक अर्याल, प्रा.डा. खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गरेको छ । 

उपकुलपतिमा सिफारिस भएका दीपक अर्याल त्रिविको जल तथा मौसम केन्द्रीय विभागका विभागीय प्रमुख भइसकेका प्राध्यापक हुन् । उनी हाँस्यब्यंग्य निबन्धकार भैरव अर्यालका छोरा हुन् ।

कम विद्यार्थी र चर्चा कम हुने जल तथा मौसम विभागका प्राध्यापक हुनाले त्रिवि बाहिर उनलाई कमैले चिन्छन् । तर उनलाई नजिकबाट चिन्नेहरु प्राज्ञिक छवि भएको र कामप्रति लगाव भएको प्राध्यापक मान्छन् । स्वच्छ छविका उनले धेरै नियुक्तिको अवसर पनि पाएका छैनन् ।

केसी हाल त्रिविको उपकुलपति छन् । यसअघि केशरजंग बराल उपकुलपति हुँदा रेक्टर रहेका बराल ३ महिनाका लागि कुलपति नियुक्त भएका थिए । उनको अवधि साउन पहिलो हप्ता सकिँदैछ । उनी त्रिविको अन्तर्राष्ट्रिय मामिला तथा कुटनीति विषयका प्राध्यापक हुन् ।  

उपकुलपतिमा सिफारिस विनिल अर्याल त्रिविकै विज्ञान तथा प्रविधि अध्ययन संस्थानका पूर्व डिन हुन् । भौतिकशास्त्रका प्राध्यापक अर्याल त्रिविको भौतिक शास्त्र विभागमा दुई पटक विभागीय प्रमुख पनि भइसकेका हुन् ।

त्रिविको गोल्ड मेडलिस्टसमेत रहेका अर्याल अध्ययनशील मानिन्छन् र हालसम्म विवादमा पनि परेका छैनन् ।

सिफारिस भएका तीनै जना एमाले निकट हुन् । त्रिवि स्रोतका अनुसार हालका उपकुलपति केसी दोहोरिने सम्भावना कम छ । विनिल अर्याल र दीपक अर्यालमध्ये एक जना उपकुलपति हुने सम्भावना छ । यी मध्ये प्रधानमन्त्रीले दीपक अर्याललाई उपकुलपति बनाउने सम्भावना रहेको एमाले निकट स्रोतको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज